कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलिकता हराएको शिक्षाका कारण पहिचान गुमाउदै नयाँ पुस्ता

सुदर्शन पौडेल

काठमाडौँ — कोभिडपश्चातको अवस्थामा नेपाली समाजले आफ्ना पुरातन ज्ञान र सीपहरुलाई प्रारम्भिक शिक्षादेखि व्यावसायिक तालिमको माध्यमबाट जगेर्ना गर्नुपर्ने टड्कारो खाँचो महसुस गरेको छ । यसो भन्दैमा हाल विज्ञानको विकासबाट प्राप्त भएका उपलब्धिहरूलाई बिर्सनुपर्छ भनिएको होइन ।

मौलिकता हराएको शिक्षाका कारण पहिचान गुमाउदै नयाँ पुस्ता

विज्ञानले मानव जीवनयापनका क्रममा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा साधन वा माध्यमको रुपमा सहयोग गरेको हो । तर‚ त्यसलाई नै सबैथोक भएको ठान्ने मनोवृत्तिले प्राकृतिक विपत्तिको अवस्थामा मानिस निरीह भएको महसुस भयो ।

कोभिडको रोकथामका लागि विश्वव्यापी रुपमा सुझाइएका उपाय (बारम्बार साबुनपानीले हातधुने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने र मास्कको प्रयोग गर्ने) बारेमा हाम्रा प्राचीन ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ । हामीले त्यस्ता अन्य कयौं ज्ञान र सीपहरूको उपादेयताको सन्दर्भ खोजबिन गर्नुको सट्टा रुढि भन्दै हेला गर्‍यौं । महामारीपश्चात नयाँ सामान्यीकरणका लागि आममानिसलाई अभ्यस्त बनाउँदै गर्दा त्यस्ता ज्ञान र सीप निकै उपयोगी हुनसक्ने सम्भावना थियो । हाम्रै देशका विभिन्न जातजाती र क्षेत्रमा प्रचलनमा रहेका केही मौलिक ज्ञान र सीपहरूलाई युवाहरूले अनुसरण गरेको पाइँदैन । यसो हुनुमा हाम्रो घरपरिवार र समाजले अंगीकार गरेको सामाजिक-सांस्कृतिक र शिक्षा नीतिहरू जिम्मेवार छन् ।

आजकालका अभिभावक र उनीहरूका सन्तानबीच ठूलो संघर्ष चलेको देखिन्छ । बच्चा आफ्नो ईच्छाअनुसारका काममा लाग्न चाहन्छ तर पुरानो पुस्ता आफूले चाहेअनुसार काम गरोस् भन्ने चाहन्छ । यो द्विविधाका कारण उनीहरू न त आफूले चाहेको क्षेत्रमा दत्तचित्तका साथ लाग्न पाइरहेका छन्, न त अभिभावकले थोपरेको भूमिकामा अब्बल नै सावित हुन सकेका छन् । यो द्विविधाको उचित समाधान खोजिनुपर्ने हालको चुनौती हो । पुर्खाले जर्गेना गरेका परम्परागत ज्ञान र सीपहरूबाट नयाँ पुस्ताको रुची कम भएकाले ती क्रमिक रुपमा विलुप्त हुँदैछन् । यस्ता ज्ञान र सीपहरूको कुनै औपचारिक पढाइ पनि हुँदैन । यदाकदा केही प्राथमिक विद्यालयमा त्यस्ता मौलिक ज्ञान र सीपहरूको जगेर्ना गर्ने झिनो प्रयास भएता पनि उच्च शिक्षामा निरन्तरता नहुँदा त्यसअनुसारको पेशा/रोजगारी गर्ने सहज अवस्था छैन ।

साक्षर स्नातक उत्पादन
नेपालमा विश्वविद्यालयको शिक्षा हासिल गरेका अधिकांश ग्य्राजुयटहरू बेरोजगार छन् । त्यसको मुख्य कारण शिक्षा साक्षरतामा मात्रै सीमित हुनु हो । शिक्षाको प्रमाणपत्र भएपछि जागिर खानुपर्ने, आफ्ना पुर्खाको काम (शारीरिक श्रम पर्ने काम‚ जस्तैः खेती किसानी, लघु उद्यम) गर्न नचाहने प्रवृत्ति छ । यदाकदा यस्तो काममा लाग्नेलाई परिवार वा समाजले पनि इज्जत दिँदैनन् । फलस्वरुप कतिपय उच्च शिक्षाका प्रमाणपत्रधारीहरू अध्ययनको विषय र शैक्षिक योग्यताअनुसार नमिल्दो काममा लागेको पाइन्छ । कतिपय अवस्थामा साधारण साक्षरहरूका लागि छुट्याइएका काममा समेत उच्च शिक्षा हासिल गरेकाहरू प्रतिस्पर्धा गर्दछन् ।

शिक्षाको गुणस्तर निरन्तर ओरालो लाग्नुको मुख्य कारण आधुनिक शिक्षा जीवन र जगतको बारेमा चिन्तन मनन गर्नेभन्दा परीक्षामूखी हुनु हो । हाम्रो सन्दर्भमा आफ्नै परिवेशमा लेखिएका पाठ्यपुस्तक कम छन् । कतिपय शिक्षकहरू विद्यार्थीले प्रश्न सोधेको रुचाउँदैनन्‚ न त त्यस्ता प्रश्नको उत्तर खोज्न सघाउँछन् । निजी क्षेत्रका स्कुल कलेजहरू जसरी पनि आफ्ना विद्यार्थीहरू बढी नम्बरका साथ उत्तीर्ण होऊन् भन्ने ध्याउन्नमा लाग्छन् । विद्यार्थीलाई यन्त्रको रुपमा व्यवहार गर्ने तथा मौलिकता मरेको शिक्षाले भविष्यमा आउनसक्ने अवसर र चुनौतिको सामना गर्नसक्ने दक्ष नागरिक तयार पार्न सक्दैन ।

अहिलेको शिक्षा प्रचारमुखी भएको छ । समाजको सर्वाङ्गिण अध्ययन गरी पाठ्यक्रम बनेको हुन्थ्यो भने यसको उपयोगिता बढी हुन्थ्यो । व्यवहारिक र जीवन उपयोगी विषय चयन गरी त्यसको गहिराइसम्म पुगेर अध्ययन गराउन सकियो भने विद्यार्थीहरू समाजलाई बुझेर त्यसको विकासमा योगदान दिन योग्य हुन्थे । पुरानो शिक्षामा रहेको राष्ट्रिय विकास सेवाजस्ता सफल शैक्षिक गतिविधिलाई घोकन्ते शिक्षाले प्रतिस्थापन गर्‍यो । पाठ्यपुस्तक बाहेकका विविध पुस्तक बढ्ने कुरालाई प्रोत्साहन गरिएन । सीमित व्यक्तिहरूको इच्छामा भर पर्ने स्कुल तथा उच्च शिक्षाका कारण हालको शिक्षा डोजरे विकासजस्तो भएको छ ।

अग्रजको सामिप्यबाट सिकाइ
मेरो पुस्ता बाजेबज्यैको स्याहार सुसारमा हुर्केको पुस्ता हो । घरमा मानिसहरूको आवतजावत भइरहन्थ्यो; त्यहाँका संवाद, आतिथ्य सत्कार र एकअर्का प्रतिको व्यवहार, चालचलनआदीले धेरै कुरा सिकिन्थ्यो । आजकल घरमा त्यो वातावरण छैन । अधिकांश बच्चाहरू अग्रज पुस्ताभन्दा निकै टाढा एकल परिवारमा हुर्कंदै छन् । उनीहरू फुर्सदमा टोल/छिमेकका अन्य बालबालिकासँग खेल्ने, कुद्नेभन्दा मोबाइल वा कम्प्युटरमा गेम खेलेर भर्चुअल रियालिटीमै रमाउँछन् । सामाजिक सञ्जालमा सक्रिय भएर समय बिताउँछन् । त्यसैले परिवारको दुःखभन्दा साथीको दुःखमा बढी चिन्तित हुन्छन् उनीहरू ।

केही महिनाअघि एक स्कुलका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका बारेमा छलफल गर्ने क्रममा आफ्ना बाजेबज्यैको बाल्यकाल र युवावस्थाको वर्णन गरी लेख तयार पार्न लगाएको थिएँ । मेरो विश्वास थियो‚ यस्ता गतिविधिले बच्चाहरूले आफ्नो पुर्खाप्रति गर्व गर्न थाल्ने छन् । उहाँहरूका अनुभवबाट जीवन उपयोगी ज्ञान सिक्ने छन् । तर‚ अधिकांश विद्यार्थीहरूले या त बाजे पुस्तालाई भेट्नै नपाएको वा उहाँहरूको बारेमा अरुबाट पनि केही जानकारी नपाएको बताए । केही बाजे पुस्ताबारे जानकारी अरु समक्ष बाँड्न चाहेनन् । उनीहरूको हाउभाउले बुढो पुस्ताप्रति लाज झल्किन्थ्यो । यो अवस्थाका लागि हाम्रो सामाजिक र राजनीतिक परिवेश जिम्मेवार छ ।

आयातित भाषा र संस्कृति अनुशरण गर्नुलाई विकासको मानक मानेको समाजमा शिक्षा तथा सामाजिक व्यवहार पनि त्यसैअनुसार विकास हुँदै आएको पाइन्छ । यस किसिमका गतिविधिले अधिकांश बालबालिकाहरू अघिल्लो पुस्तासँग भावनात्मक रुपमा टाढा हुँदै गएको देखिन्छ । यो क्रम सहरमा धेरै र ग्रामीण क्षेत्रमा पनि क्रमिक रुपमा विस्तार हुँदैछ । फलस्वरुप नयाँ परिवेशमा परिवारको मूल्य मान्यतालाई वस्तुपरक भई बुझ्ने, आत्मसात् गर्ने र राम्रोका लागि योगदान गर्नुपर्नेमा अन्यथा हुँदै छ ।

कसैले पनि (भौतिक, आर्थिक, संवेगात्मक) योगदान वा सहअस्तित्वबिनाको सहुलियत वा सम्मान खोज्नु जायज हुँदैन । सामाजिक मूल्य मान्यता निर्वाहमा यस्ता उत्ताउलो र अशोभनीय व्यवहारहरू परिवार र समाजमा बढ्दै गएको पाइन्छ । यस्ता गतिविधि बढ्दै गएमा निकट भविष्यमा पारिवारिक विग्रह थप बढेर जानेछ ।

बच्चादेखि युवा अवधिमा सिकेका परम्परागत ज्ञान सीपले उनीहरूको पेशा व्यवसायको स्थापनादेखि मौलिक पहिचानको विकासका लागि समेत निकै उपयोगी हुन सक्छ । किनभने त्यस्तो अवस्थामा जिज्ञासु मन हुन्छ र अठोट गरेको प्राप्ति गर्न प्रतिबद्धता पनि हुने गर्दछ । त्यस समयमा अधिकांश परिवारमा बच्चालाई परम्परागत ज्ञान र सीपबाट टाढै राखिन्छ र बाह्य कुरालाई बढी महत्त्व दिइन्छ । ताकी आफूले भोगेको दुःख आफ्ना सन्तानले भोग्नु नपरोस् । फलस्वरुप खेतको आलीदेखि खानाको थालीमा धेरै बदलाव आएको छ । रैथाने बीउ नष्ट हुँदै गएका छन् । खाद्यान्नमा गुणस्तर खस्किन थालेको छ । पकाउने विधिका कारण पोषण नष्ट हुँदै गएको छ । भान्छाबाट पिर्का बाहिरिएको छ । आजकल कतिपय घरमा धेरै छाक चुलो बल्दैन । स्वाद फेर्ने वा रमाइलो गर्ने बाहानामा रेस्टुरेन्टमा खाना खाने प्रचलन बढेको छ ।

विभिन्न अवसरमा व्रत बस्ने चलन हराउँदै गएको छ । केही दिन वा साताको अन्तरालमा व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हुन्थ्यो । तर‚ आजकाल खान नजानेर पोषण नै हानिकारक बन्दैछ । परम्परागत विधिबाट तयार पारिने गुन्द्री, सुकुल, राडिपाखीको आसनले स्वास्थ्यमा पुर्‍याउने फाइदालाई डनलपले प्रतिस्थापन गर्दैछ । घाममा बसेर तेल मालिस गर्ने प्रचलनलाई पाउडरले प्रतिस्थापन गरेको छ । सानातिनादेखि गम्भीर बिरामी पर्दा उपचार गरिने विधिहरू दन्तेकथामा सीमित भएका छन् । यी र यस्तै कुराले हामी फरक थियौं । अहिले हाम्रो पहिचान खोज्नुपर्ने बेला आएको छ । यसका लागि मुख्य जिम्मेवार हामी व्यक्ति स्वयं नै हौं । र, यो बाटोमा समाजलाई डोर्‍याउँदै लैजाने राज्य संयन्त्र पनि दोषी छ ।

अन्तमा, हामी आफ्नो पहिचानका लागि नयाँ उपायहरूको खोजीमा छौं । यस्तो पहिचानको खोजी लवाइखवाइदेखि व्यापार-व्यवसायसम्म विस्तारित भएको छ । सामाजिक‚ आर्थिक र सांस्कृतिक पक्षमा तुलनात्मक रुपमा पिछडिएको समाजमा आज पनि परम्परागत ज्ञान र सीपहरू सीमित रुपमा भए पनि बचेको हुनसक्छ । यस्तो अवस्थामा ती समाजका ज्ञान र सीपलाई टपक्क टिपेर त्यसबारे अध्ययन-अनुसन्धान गरी परिवर्तित अवस्थामा उपयोगी हुने गरी ज्ञान र सीपको विकास गर्नु जरुरी छ । यसका लागि शिक्षक र विद्यार्थीहरूले पाठ्यक्रमभित्रै रहेर व्यक्ति र उसले बाँचेको सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थाको अध्ययन र त्यसमा अन्तरनिहित राम्रा पक्षलाई अनुशरण गर्ने र सुधार्नुपर्ने पक्षहरूको बारेमा जनमत तयार पार्न उत्प्रेरित गर्ने शिक्षा नीति निर्माण र त्यसको कार्यान्वयनको खाँचो छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?