जलथल विविधता- विविधा - कान्तिपुर समाचार
जलवायु परिवर्तन विशेष

जलथल विविधता

वनमा बाहिरबाट लगेर वृक्षरोपण गरिरहनुपर्दैन । उम्रेका बिरूवा हुर्काउन सके जंगल भरिन्छ । सालको एउटै रुखले एकै वर्षमा दसौं हजार बिरूवाका लागि बीउ दिन्छ । तीमध्ये आधाभन्दा कम मात्रै उम्रिए भने केही हजार बिरूवा तयार हुन्छन् । तिनलाई व्यवस्थित गरे पुग्छ ।
कमल मादेन

करिब ५३ सय हेक्टरमा फैलिएको झापास्थित जलथल जंगलमा पाइएका जैविक विविधताबाट विशेषतः वनस्पति अध्येयताहरू अचम्ममा छन् । किनभने केही वर्षयता त्यहाँ मुलुकमा अन्यत्र कतै नभेटिएका वनस्पति उल्लेख्य मात्रामा भेटिए । अर्को कुरा, यो तराई क्षेत्रमा रहेको जंगल हो तर पहाडी भेगमा मात्र पाइने रूख प्रजाति बग्रेल्ती छन् । त्यो भनेको वनस्पतिसम्बन्धी मौजुदा तथ्यांकमै नयाँ जानकारी हो ।

क्यास्टानोप्सिस् इन्डिका र क्यास्टानोप्सिस् ट्राइबुलोइड्स वैज्ञानिक नाम भएको धाले र मसुरे कटुस जलथलमा पाइन्छ । नेपालको वनस्पतिसम्बन्धी पुस्तकमा अघिल्लो र पछिल्लो प्रजाति समुद्री सतहबाट क्रमशः ४५०–२३०० मिटर र १२००–२९०० मिटर उचाइसम्म हुन्छ भन्ने लेखिएका छन् । जब कि जलथल जंगल समुद्र सतहबाट ७० देखि १०० मिटरसम्म उचाइ हो । अब यी २ प्रजाति नेपालमा ७० मिटर भौगोलिक उचाइसम्म पाइन्छ भन्ने तथ्य लेखिनुपर्ने भएको छ ।

स्किमा वालिचियना भनिने वनस्पतिलाई हामी चिलाउने भन्छौं । यो रूख समुद्र सतहबाट ९००–२१०० मिटर भू–सतह उचाइमा पाइन्छ भन्ने लेखिएका छन् । त्यो पनि जलथल जंगलमा प्रशस्त छ । चीनमा यो रूख अक्सर ८०० देखि १८०० मिटर भू–सतहसम्म हुँदो रहेछ । त्यहाँ कतैकतै ३०० देखि २७०० मिटरमा रहेको जनाइएको छ । जलथलमा पाइने एक अर्को पहाडी भेगको पाइने रूख पनिमौवा हो । यो इंगेल्हार्डिया जातिअन्तर्गतको वनस्पति हो । इंगेल्हार्डिया जातिमा जम्मा ११ प्रजाति दक्षिण र दक्षिणपूर्व एसियामा मात्र पाइन्छ । नेपालमा पाइने मौवाको वैज्ञानिक नाम इंगेल्हार्डिया स्पिकाटा हो । यो प्रजाति वनस्पति विभागले सन् २०१९ मा प्रकाशन गरेको अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोलम २ मा ४००–१९०० मिटर भौगोलिक उचाइसम्म पाइने लेखिएको छ ।

वनस्पति विविधता ः बोटानिक गार्डेन्स कन्जरभेसन इन्टरनेसनलले सन् २०२१ मा प्रकाशित गरेको स्टेट अफ द वर्ल्डस् ट्रिज शीर्षक पुस्तकमा संसारभर जम्मा ५८,४९७ रूख प्रजाति रहेको लेखेको छ । तीमध्ये ३० प्रतिशत लोप हुने खतरामा र कम्तीमा १४२ प्रजातिका रूख लोप भएको जनाइएको छ (पृष्ठ ३)। पुस्तकका अनुसार रूख प्रजाति संख्या २६ सयभन्दा बढी हुने विश्वभर १६ वटा देश छन् । तीमध्ये ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, मलेसिया र चीनमा क्रमशः ८८४७, ५८६८, ५७१६, ५४२२ र ४६०८ प्रजाति छन् । १६ औं स्थानमा रहेको भारतमा २६०३ प्रजाति र नेपालमा ६२१ प्रजाति रहेको जनाइएको छ ।

फरेस्ट एक्सन नेपाल नामक संस्थाका लीलानाथ शर्माले सन् २०२१ मा जलथल जंगलमा रूख समूहको मात्रै १५० प्रजाति भेटे । यस क्रममा शर्माले रोयल बोटानिकल गार्डेन इडिन्बर्घका वनस्पति विज्ञ भाष्कर अधिकारी, मार्क एफ. वाट्सन र कोलिन पेन्ड्रीसँगको सहकार्यमा गरेको अध्ययनमा नेपालका निम्ति ७ रूख प्रजाति नयाँ भेटेका छन् । थपिएको संख्या नेपालका निम्ति निकै गतिलो तथ्यांक हो । यसबाट माथि उल्लिखित तथ्यांकलाई आधार मान्दा नेपालमा रूख प्रजाति संख्या ६२८ पुग्छ । जलथल जतिको सानो जंगलमा नेपालमा पाइनेमध्ये एक चौथाइ रूख प्रजाति रहनु झापा बासिन्दाका निम्ति निश्चय नै सुखद जानकारी हो ।

लीलानाथ शर्मा र योगेन्द्रविक्रम पौडेलले जलथल जंगलमा विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीअन्तर्गत इन्डेन्जर्ड समूहमा परेको एक रूख प्रजाति फेला पारेका छन् । तर, यो नेपालका निम्ति नयाँ भने होइन । स्थानीय बासिन्दाले यसलाई भाटे काठ भन्दा रहेछन् । पैंयुँ जातिअन्तर्गतको यो रूखको वैज्ञानिक नाम प्रुनस् सेलानिका हो । पंक्तिकार यसको बोटमा गत चैत महिनामा पुगेको थियो । त्यसबेला, यो फुलेको अवस्थामा थिएन । यो नेपालको तराई क्षेत्रमा पाइने रूखमध्ये आईयूसीएनको रातो सूचीअन्तर्गत पर्ने एक मात्र इन्डेन्जड अर्थात् संकटापन्न रूख प्रजाति हो । यसको नमुना बेलायतका जेडीए स्टेन्टनले पूर्वीर् नेपालबाट संकलन गरेको अभिलेख पाइन्छ, तर त्यो नमुना नेपालमा संग्रह रहेको अवस्था छैन । योसहित फरेस्ट एक्सन नेपालले जलथल जंगलमा विश्व प्रकृति संरक्षण संघको रातो सूचीमा रहेका जम्मा १३ प्रजाति फेला पारेको छ (हेर्नुहोस तालिका) ।

जन्तु विविधता : जलथल जंगलमा खोलासहित सिमसार निकै छन् । तर, प्राकृतिक पोखरीहरू पुरिँदै गएको अवस्था छ । केही पुरिएर मैदान हुने क्रममा छन् । यस्तै केही पोखरीलाई फरेस्ट एक्सनले केही मात्रामा पुनर्जीवित गर्ने काम गरेको छ । जलथल जंगलमा भएका यस्ता पोखरीमा रहेका कछुवाका बारेमा एकदमै कम जानकारीमा आएको छ । देउनी खोलाछेउ सगरमाथा भनिने ठाउँ नजिक जमिनमा रहने कछुवा त्यहाँको जंगलमा पाइन्छ भनेर साइनबोर्ड राखेको छ । त्यो कछुवा त विश्व प्रकृति संरक्षण संघले विश्वमै क्रिटिकल्ली इन्डेन्जर्ड अर्थात् अति संकटापन्न अवस्थामा सूचीकृत गरेको इन्डोटेस्टुडा इलोंगाटा हो ।

फरेस्ट एक्सन नेपालसम्बद्ध अस्मित सुब्बाले जलथल जंगलमा इन्डोटेस्टुडा इलोंगाटाको तस्बिर यसै वर्ष खिचेको प्राप्त गरेका छन् । त्यहाँ विश्वमै अति संकटापन्न अवस्थामा रहेको जन्तु पाइन्छ भन्ने पुष्टि भएको छ । यसले त्यो जंगल क्रिटिकल्ली इन्डेन्जर्ड अवस्थामा रहेको जन्तुको बासस्थान भएको प्रस्ट्याउँछ । हर्पेटोफाउन्ना विज्ञ प्रा.डा. कालुराम खम्बुका अनुसार जलथल नजिक इन्डियन पिकक् सफ्टसेल टर्टल र इन्डियन फ्लास्सेल टर्टल पनि पाइन्छ । यो दुवै प्रजाति आईयूसीएनको क्रमशः इन्डेजर्न्ड र भल्नेरबल सूचीमा सूचीकृत छन् । यसले जलथलको सिमसार क्षेत्र कछुवाका निम्ति अत्यन्तै महत्त्वपूर्ण हो भन्ने पुष्टि गर्छ । संरक्षणको आधारमा इन्डियन पिकक् सफ्टसेल टर्टल र हात्ती एकै सूची अर्थात् इन्डेजर्डअन्तर्गतका हुन् । जलथल जंगल हात्तीको बासस्थान नै हो ।

नेपालमा पछिल्लो ५४ वर्षयता नदेखिएको वन्यजन्तु इन्डियन सेभ्रोटिन हो । आकार सानो र थुतुनो मुसाको जस्तो भएकाले यसलाई माउस डियर (मुसे मृग) पनि भनिन्छ । रातमा विचरण गर्ने र उज्यालोमा झाडीमा लुकेर रहने यो लजालु स्वभावको जन्तु हो । ३० सेन्टिमिटर अग्लो र ५५ सेन्टिमिटरसम्म लामो हुने यो जन्तुलाई जलथल जंगल आसपासका आदिवासी मेचे समुदायले मछैलाइछट भन्छन् । यो अझै जलथल जंगलमा बचेको हुन सक्ने सम्भावना छ । स्थानीय बासिन्दाका अनुसार यो जन्तु त्यहाँ करिब एक दशकअघिसम्म फाट्टफुट्ट पाइन्थ्यो । अभिलेखमा भने यो जन्तु नेपालमा अन्तिम पटक बारा जिल्लामा सन् १९६८ मा पाइएको थियो । नेपालको तराईका अन्य जिल्लामा जस्तै जलथल जंगल विश्वमै अत्यधिक अवैध व्यापारका कारण विगत १० वर्षमा ९० प्रतिशत संख्या घटेको चाइनिज प्याङ्गोलिन (सालक) को बासस्थान हो । यसरी संख्या घटेको कारण आईयूसीएनले यसलाई रातो सूचीअन्तर्गत क्रिटिकल्ली इन्डेन्जर्डमा समावेश गरेको छ ।

सप्तकोसीपूर्वको चारकोसे झाडीमा घोडगधा पाइन्न । तर, जलथल जंगलमा भने अझै पाइन्छ । कुकुरले लखेटेर ल्याएको पोथी गोडगधा दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिको कार्यालय हाताभित्र गत साल राखिएको थियो । आईयूसीएनको रातो सूचीमा परेको यो वन्यजन्तु यसैको अभिलेखमा कोसीपूर्व अझै पाइन्छ भन्ने जानकारी भेटिँदैन । पोहोर साल जलथल जंगलमा वन्यजन्तु सिकार गर्नेको पहुँच गतिलो रहेको चर्चा सुनिएको थियो । त्यहाँ किस्सा नै बनेको थियो– जलथल जंगलमा मारेको बँदेल चौकीमा पुगेपछि बंगुरमा परिणत हुन्छ । त्यसपछि आरोपी सजिलै छुट्छ ।

सामुदायिक वन र वृक्षरोपण : जलथल जंगलको उत्तर, पश्चिम, दक्षिण र पूर्वतर्फ क्रमशः हल्दीबारी, बाह्रदशी र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिका पर्छ । नेपाल सरकारको डिपार्टमेन्ट अफ फरेस्ट्स रिसर्च एन्ड सर्भेले सन् २०१८ मा प्रकाशन गरेको ‘फरेस्ट कभर म्याप्स अफ लोकल लेभल (७५३) अफ नेपाल’ भोलम वन पुस्तकअनुसार उल्लिखित पालिकाहरूमा क्रमशः ४७.२५, ०.२, ४.८७ र ३.४७ वर्ग किलोमिटर जंगल छन् । त्यसमध्ये भद्रपुर नगरपालिकामा रहेको दुई तिहाइ जति जंगल जलथलमा पर्दैन । यसले करिब ८८ प्रतिशत जलथल जंगल हल्दीबारी गाउँपालिका पर्ने देखिन्छ । यो जंगलमा करिब २२ वटा सामुदायिक वन उपभोक्ता समिति छन् ।

समग्र सामुदायिक वन उपभोक्ता समिति वनका जैविक विविधता चिन्ने हैसियतमा कतै पनि छैन । उनीहरूको मुख्य ध्येय भनेको काठ हुने रूख हुर्काउने हो । पहिले अत्यधिक रूख कटान गरी खाली भएका ठाउँमा हिजोआज मिचाहा प्रवृत्तिको लहरे वनमारा फैलिएको छ । त्यहाँका बासिन्दा उक्त लहरालाई प्याँग्री भन्छन् । यो लहराले जंगलको धेरै भाग गिजोलेको छ । फरेस्ट एक्सनले उपभोक्ता समितिसँग मिलेर यो लहराको प्रभाव कम गर्न केही काम गरेको छ । तर, यो सितिमिति नियन्त्रण गर्न सकिने वनस्पति होइन । उसले २/३ वटा उपभोक्ता समितिलाई प्याँग्रीलाई मुख्य रूपमा प्रयोग गरी जैविक मल बनाउन प्रविधि र आर्थिक सहयोग गरेको देखिएको थियो । कचनकवलतर्फको केही सामुदायिक वनले जंगलभित्र रहेको खाली ठाउँमा टिक, मसलालगायतका आयातित बिरुवा लगाएका छन् । प्राकृतिक जंगलमा यस्ता आयातित वनस्पति लगाउनु भनेको त्यहाँको जैविक विविधता मास्नुसरह हो ।

वनजंगलभित्र वृक्षरोपण गरिरहनु पर्दैन । उम्रेका बिरुवा हुर्काउन सके आफैं जंगल भरिन्छ । बरु, बाक्ला बिरुवाहरू छाँट्न र गोडमेल गर्नुपर्छ । सालको एउटै रूखले एकै वर्षमा दसौं हजार बिरुवाका लागि बीउ दिन्छ । तीमध्ये आधाभन्दा कम मात्रै उम्रिए भने केही हजार बिरुवा तयार हुन्छन् । तिनलाई व्यवस्थित गरे, वृक्षरोपण गर्नु पर्दैन ।

जलथलमा अत्यन्त दुर्लभ वनस्पति पाइन्छन् । तीमध्ये धेरै खान हुने मीठो फल फल्नेछन्, कुनै औषधिजन्य छन् । बाँदरझुला, ढेडु झुला, थाकल, औंट्यांगा (ठाइडिठ), लटहर, रामगुवा, बर्मिज कुसुम, वन सुन्तला, ठेम्फर, ग्यान्टे, वन फर्सी आदि त्यहाँ पाइन्छन् । तर, बाँदरझुलाको बाहेक अन्यको बिरुवा अत्यन्त कम संख्यामा छन् । लटहरको बिरुवा त शून्य बराबरको स्थिति छ । सामुदायिक वन उपभोक्ता समितिले दुर्लभ वनस्पतिका लागि वृक्षरोपण गर्ने नीति तर्जुमा गर्नुपर्छ । यसो गर्न सके भोलिका दिनमा अन्यत्र मासिएका वनस्पति हेर्न त्यहीं पुग्नुपर्छ । जलथल जंगल वनस्पति अध्येयताका लागि भर्खरै थाहा हुँदै गरेको अनुपम स्थल छँदै छ, भोलि पनि यसको महत्त्व यसरी नै रहने बनाउन लाग्नुपर्छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा १७८ वर्षपछि फेला परेको चरा

अध्येताहरूमा कुनै चराबारे राम्ररी खोज–अनुसन्धान नगरी नेपालबाट लोप भयो भनेर लेखिहाल्ने चलन बसेको छ, जुन मनासिब होइन ।
कमल मादेन

झापाको काँकरभिट्टाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेल यही माघ १७ गते इलामको रोङ गाउँपालिकामा आफूले नचिनेको वर्बलर समूहको एउटा चराको फोटो खिचे । निकै खोजबिनपछि उनी त्यो चरा ब्राउन बुस वर्बलर हो भन्ने निष्कर्षमा पुगे । यो चरा नेपालमा ब्रायन हड्सनपछि अरूले अहिलेसम्म भेटेको छैन भनी लेखिएको छ ।

खरेल चराविज्ञबाट पनि यो चरा ब्राउन बुस वर्बलर हो भनी पुष्टि गर्न चाहन्थे । त्यसपछि चराको फोटो केही विज्ञलाई पठाए । तीमध्ये केहीले त्यो चरा ह्वाइट बेलिड रेडस्टार्ट भनिने प्रजातिको पोथी हो भन्ने ठहर्‍याए । यसबीच मैले ब्राउन बुस वर्बलरका बारेमा लेखिएको पहिलो सामग्रीसहित यसबारे अन्य जानकारी अध्ययन गरेँ, जसबाट यो चरा ब्राउन बुस वर्बलर नै हो भन्ने ठहर भयो । बरु, यसबारे जानकारी केही अधुरो र अस्पष्ट पाइयो ।

बीसौं र एक्काइसौं शताब्दीमा उक्त चराका बारेमा जेजति लेखिएका छन्, ती सबैमा यो ब्रायन हड्सनले नेपालबाट सन् १८४५ मा विश्वका निम्ति ‘डिस्कोभर्ड’ गरेका हुन् भनी लेखिएको छ । तर, यो चरा हड्सनले सन् १८४४ मा डिस्कोभर्ड गरेका हुन् । अर्को कुरा, कुनै जन्तु वा वनस्पति कुन प्रजातिको हो भन्ने व्यापक सन्देह उब्जियो भयो भने त्यसको निर्क्योल गर्ने विधि हो— त्यो प्रजाति डिस्कोभर्ड गर्दा त्यसबारे विवरण तयार गर्न प्रयोग गरिएको नमुना अध्ययन गर्नु । यस्ता संगृहीत नमुनालाई होलोटाइप स्पेसिमेन भनिन्छ । वनस्पति र जन्तुका अधिकांश होलोटाईप स्पेसिमेन विश्वका विभिन्न संग्रहालयमा छन् । त्यस्ता नमुनालाई संग्रहालयको मुख्य सम्पत्ति नै मानिन्छ । दुर्भाग्य नै भन्नुपर्छ, चराको हकमा नेपालमा डा. हेमसागर बरालले विश्वका निम्ति डिस्कोभर्ड गरेको एउटा चरा उप–प्रजातिको नमुना मात्र काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा छ ।

यसकारण, देवेन खरेलले खिचेको चरा ब्राउन बुस वर्बलर हो या ह्वाइट बेलिड रेडस्टार्टको पोथी हो भनेर पर्गेल्न ती दुईका होलोटाइप स्पेसिमेन अध्ययन गर्न सम्भव भएन । यसपछि दोस्रो भरपर्दो उपाय ती प्रजाति डिस्कोभर्ड गर्दा होलोटाइप स्पेसिमेनका आधारमा तयार गरिएको विवरण मात्र रह्यो । संयोगले भनौं, ब्राउन बुस वर्बलरबारे होलोटाइप स्पेसिमेनका आधारमा हड्सनले लेखेको सामग्री हेर्न पाइयो ।

हड्सनको अभिलेख
ब्रायन हड्सनले ब्राउन बुस वर्बलरको वैज्ञानिक नामकरण ट्रिबुरा लुटिओवेन्ट्रिस गरेका थिए । अचेल यसको वैज्ञानिक नाम नयाँ जुराइएको छ— लोकुस्टेल्ला लुटिओभेन्ट्रिज । यस्तै, यसको कमन नाममा बुस हटाएर ब्राउन ग्रासहोपर–वर्बलर गरिएको छ । हड्सनलिखित यो चराबारे विवरण सन् १८४४ मा प्रकाशित भएको ‘प्रोसिडिङ्स अफ द जुलोजिक सोसाइटी अफ लन्डन,’ पार्ट १२ शीर्षक पुस्तकको पृष्ठ ३०–३१ मा छ । यसअनुसार, यो चरा ओलिभ–ब्राउन रङको हुन्छ । ओलिभ भन्ने वनस्पति हुन्छ, जसको फल पाक्दा फलाममा खिया लागेको जस्तो रङ हुन्छ । तर, पोथी ह्वाइट बेलिड रेडस्टार्टमा यस्तो रङ हुन्न । त्यो दस्तावेजमा चराको रङ लुटियस लस्चर अर्थात् हल्का सुन्तले हुन्छ भनी लेखिएको छ । आँखामाथि हल्का सेतो घेरा हुने र ठुँडो (चुच्चो) डस्की ब्राउन अर्थात् हल्का अँध्यारो खैरो हुने जनाइएको छ, जबकि पोथी ह्वाइट बेलिड रेडस्टार्टको हल्का कालो हुन्छ । खुट्टा कार्नियस अर्थात् मासुजस्तो हुन्छ । उक्त पुस्तकमा लेखिएका योसहित अन्य विवरण खरेलले खिचेको फोटोसँग मिल्छन् ।

सन् १८४५ मा प्रकाशित ‘जर्नल अफ द एसियाटिक सोसाइटी अफ बंगाल,’ भोल्युम १४ को पृष्ठ ५८४ मा एक ठाउँ अर्कै चराको प्रसंगमा ट्रिबुरा लुटिओवेन्ट्रिस नाम उल्लेख छ । त्यसमा ब्राउन बुस वर्बलरको थप विवरण छैन । यस्तै, सन् १८४६ मा प्रकाशित ‘क्याटलग अफ द स्पेसिमेन्स एन्ड ड्रविङ्स अफ म्यामलिया एन्ड बर्ड्स अफ नेपाल एन्ड टिबेट’ शीर्षक पुस्तकको पृष्ठ ६४ मा पनि ट्रिबुरा लुटिओवेन्ट्रिस लेखिएको छ । यसमा चराको रङबारे मात्र द लुटियस–बेलिड लेखिएको छ । यसले चराको पेटतर्फको रङ ओरेन्ज–एल्लो वा ग्रिनिस थेल्लो भएको जनाउँछ, जुन खरेलले खिचेको फोटोसँग मिल्छ, जबकि ह्वाइट बेलिड रेडस्टार्टको पोथीको पेटमा हल्का सेतो रङ हुन्छ । पखेटाको अगाडितिरको र टुप्पोको प्वाँख कुनैकुनैमा हल्का कालो देखिन्छ । भाले ह्वाइट बेलिड रेडस्टार्टको पेट प्रस्टै सेतो र शरीर हल्का नीलो–कालो हुन्छ । ब्राउन बुस वर्बलर र ह्वाइट बेलिड रेडस्टार्टका खुट्टाको रङ निकै भिन्न हुँदो रहेछ । अघिल्लोको रङ हड्सनले उल्लेख गरेजस्तै, पछिल्लोको भने खरानी रङको र पन्जासहित औंला हल्का कालो छालाजस्तो देखिन्छ ।

वर्बलर चरा
चरा अध्येताका निम्ति वर्बलर भनेको चराको गन्जागोल समूह हो । अर्थात्, ठ्याक्कै चिन्ने खासै कुनै विशिष्टता नहुनु । सामान्यतया कुनै पनि सानो सङ बर्ड्स (गीत गाउने) प्रजातिलाई वर्बलर भन्ने गरिन्छ । चराको वर्गीकरण अनुसार, प्यास्रिफर्मिस अडर अन्तर्गतका केही परिवारमा समूहकृत गरिएका साना चराहरू — जसले बगैंचा, रूख भएका ठाउँ तथा चिस्यानहरूमा सक्रिय रूपमा कीरा खोजी खान्छन् — लाई वर्बलर भनिन्छ । यस्ता चरा सयौं प्रजातिका छन् । यी चराहरू लिफ वर्बलर, बुस वर्बलर, ग्रास वर्बलर, मार्स एन्ड ट्री वर्बलर, ट्रियु वर्बलर आदि हुँदा रहेछन् । क्रिस्टोफर हेल्मद्वारा सन् २०१० मा प्रकाशित ‘रिड एन्ड बुस वर्बलर्स’ शीर्षक पुस्तकको पृष्ठ १७८–१८१ मा ब्राउन बुस वर्बलरको चर्चा छ । उक्त पुस्तकमा यो चराको रङ हड्सनले उल्लेख गरेजस्तै छ । यसमा थप यो चराको चिउँडोबारे क्रिमी ह्वाइट चिन लेखिएको छ । तर, पोथी ह्वाइट बेलिड रेडस्टार्टको चिउँडो खरानी रङको देखिन्छ । खुट्टाको रङ पिन्किस ग्रे हुने उल्लेख छ ।

सन् २०२१ मा क्यारोल इन्स्किप र अरूहरूले लेखेको एउटा सामग्रीमा यो चरा नेपालमा लोप भएको उल्लेख छ । तर त्यस्ता नभई यसबारे राम्ररी अध्ययनचाहिँ नभएको हो । नेपालका चरा अध्येताहरूले देवेन खरेलले माघ १७ गते खिचेको फोटोसहित माथि उल्लिखित सामग्रीको मूल पाठ खोजेर अध्ययन गर्नु अत्यावश्यक छ । अध्येताहरूमा कुनै चराबारे राम्ररी खोज–अनुसन्धान नगरी नेपालबाट लोप भयो भनेर लेखिहाल्ने चलन बसेको छ । चरा अध्येताले नदेख्नेबित्तिकै नेपालमा लोप भयो भनेर लेख्नु मनासिब होइन । अध्येताहरूले वास्तविकतामा आधारित भएर लेख्नुपर्छ । तथ्यांकको वास्तविकता भनेको स्थलगत रूपमा गहन खोज–अनुसन्धान हो ।

प्रकाशित : माघ २३, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×