पशु अधिकारका पक्षमा

उमा भण्डारी

काठमाडौँ — दृश्य १ : म कपन मिलनचोकको तरकारी बजारमा बस्छु । मेरो घरको पल्लोपट्टि ४ घरजति पर मासुपसल छ । त्यहाँ जिउँदो खसीबोका ल्याएर बाँधिएको हुन्छ । ती खसीबोका दिनैभरि, रातैभरिको धेरैजसो समय कराइरहेका हुन्छन् ।

साथी भएको बेला अलि चुप लाग्दारहेछन् क्यारे, एक्लै भए भने त ज्यान फालेर कराउँछन् । अफिस जाने बेलामा म ती खसीबोकाको हालत एकपटक हेरेर जान्छु । हरियो स्याउला त राखिदिएकै हुन्छ, तैपनि ती कराइरहेका हुन्छन् । थाहा छैन तिनले आफू हुर्किएको खोरबाट छुटेपछि कति दिन कति रात कराएर यहाँ आइपुगे, अनि अब कति दिन कति रात कराएपछि मर्न पाउने हुन् । यस्तो दृश्य देख्दा मेरो मन चुँडिएर आधी हुन्छ ।

दृश्य २ : मासुपसल छिचोल्ने बित्तिकै तरकारी बजार आउँछ । त्यहाँ ठूलै तरकारी बजार छ, जहाँ गोपीकृष्णदेखि फैका अनि महाकालसम्मका मान्छेहरू तरकारी किन्न आउँछन् । त्यो तरकारी बजारको छेउछाउमा अत्यन्तै कृषकाय, बाहिरैबाट करङ गन्न मिल्ने गाईका बाछा यताउता चहारिरहेका हुन्छन् । तिनको शरीर देख्दा यस्तो लाग्छ, तिनले जन्मिएपछि एक हप्ता पनि आमाको दूध चुस्न पाएनन् । सबै दूध कुम्ल्याउन पल्केको पशुपालकले उसलाई लगेर घाम र झरी, बर्खा र हिउँदको सकस काट्न छोडिदियो । ती बाछाहरू बेच्न राखेको सागपात तान्न जान्छन्, कहिले मिल्किएको वा कुहिएको पात पाउँछन्, नत्र भने पिटाइ मात्रै । उसले पिट्छ, उसले पिट्छ, तिनीहरू न मर्नसकेका छन्, न राम्रोसंँग बाँच्नसकेका छन् । सडकमा जथाभावी बसेका छन्, हिँडेका छन् । यी बाछाहरूको विजोक देख्दा लाग्छ, अघिका खसीबोका पो भाग्यमानी हुन् कि । आफन्तको विछोडले छटपटिनुपरे पनि काटिने बेलासम्म खाना त खान पाएका छन् ।

दृश्य ३ : तरकारी बजारकै आसपासमा कहिलेकाहीं देखिने अर्को दृश्य हो, जिउँदो कुखुराको खुट्टामा डोरीले बाँधेर उल्टो पारेर साइकल वा मोटरसाइकलमा राखेर दौडाउने । त्यो दृश्य देख्ने बित्तिकै म त्यो कुखुरा घिच्याउने व्यक्तिको अनुहारमा हेर्छु । मलाई त्यो जत्तिको दुःखी मान्छे कोही लाग्दैन, जसले जिउँदो जनावरलाई यति दुःख दिएर आफ्नो जीविका चलाउनपर्छ । मलाई किन हो किन संसारमा प्राणीमाथि योभन्दा क्रूर तवरको अर्को कुनै अत्याचार हुन्छ जस्तो लाग्दैन । अनि बर्डफ्लु लागेका भनेर हजारौं जिउँदा कुखुरा खाल्टामा मिल्काएको दृश्य झल्झली सम्झन्छु । त्यसै रिँगटा लागेर आउला जस्तो हुन्छ । मलाई मात्रै त्यस्तो किन हुन्छ होला ?

दृश्य ४ ः आजभन्दा ३ महिनाअघि गोपीकृष्ण हलबाट धोवीखोलाको किनारै–किनार मैतीदेवीतिर जाँदा कालोपुल तरेपछि बाटोमा सानो कुकुरको छाउरो कुदेर आयो । सफा सडकमा मोटरसाइकलमा कुदिरहेको बेला अकस्मात आएको कुकुरको छाउरोलाई जोगाउन खोज्दा मोटरसाइकल चालक र उनका पछाडि बसेका व्यक्तिहरू पछारिए । पछाडि बस्ने महिला उछिट्टिएर सडक पेटीको धारमा घोप्टिन पुगिन् । उनको देब्रे घुँडा र पाखुरा नराम्रोसँंग ठोक्कियो ।

रुँदै र चिच्याउँदै गरेकी उनलाई पछिपछि आएको ट्याक्सीको ड्राइभरले काठमाडौं मोडल अस्पताल पुयाए । धन्न ती महिलाको हड्डी टुक्रा–टुक्रा भएनछ । ती महिला कोही नभएर म आफै थिएँ । अहिलेसम्म पनि मेरो घुँडा विसेक भएको छैन । खन्च्याङ–खन्च्याङ गरेर हिँड्नुपर्छ । छाडा कुकुरले वास्तवमै सवारी चालकलाई दिनु दुःख दिएका छन् । तिनले जथाभावी बाटो काटेर कहिले आफैं अकालमा मर्छन् वा घाइते हुन्छन्, कहिले सवारी चालकलाई घाइते बनाउँछन् ।
दृश्य ५ ः रत्नराज्यलक्ष्मी क्याम्पसको आसपास खसीबजारतिर जानुपर्छ, खसीबोका तानेको, घिच्याएको र नमान्दाखेरि पिटेको अति कारुणिक दृश्य देख्नुपर्छ । कतिपय खसीबोका त हेर्दा मोटाघाटा देखिन्छन्, कतिपय भने पिट्ने मान्छे जति दुब्लो छ, ती पनि त्यत्तिकै मरन्च्याँसे देखिन्छन् । मनमा खसीबोका र त्यसलाई डोर्‍याउने दुबैप्रति एकैपटक दया उम्रेर आउँछ । यस्तो लाग्छ, त्यो मान्छेको परिवार यिनै दुब्ला खसीबोकाको आम्दानीमा मात्रै बाँचेको छ । उसले यसो गरेन भने उसका छोराछोरी भोकै पर्छन् । यस्तो दृश्य देख्दा कुटाइ खाने खसीबोका र कुट्ने मान्छे दुबैप्रति सहानुभूति पलाउँछ । यति सोच्न मनलाग्छ, ती खसीबोकालाई एउटा राम्रो सवारी साधनमा राखेर ल्याएको भए दुबैले यति दुःख पाउँदैनथे ।

दृश्य ६ : केही साताअघि भीरबाट मिल्काइएका गाईहरू मरेका दृश्य देखाइयो । कताबाट कसले पठायो, कसले खसाल्यो, कसरी मारे भनेर निकै बहस चल्यो । त्यो क्रम अझै रोकिएको छैन । तराई क्षेत्रमा छाडा गाईवस्तुले अन्नबाली सखाप पारेको र खेतमै छाप्रो हालेर खबरदारी गर्नुपरेको समाचार पत्रपत्रिकामा आउने गरेको छ । कतिपय स्थानमा छाडा चौपाया अहिले परिवार तथा समाजको टाउको दुखाइ हुने गरेको छ ।

समाधान के होला ?

१. व्यवस्थित वधशालाको निर्माण : माथि उल्लेखित सबै दृश्य र घटनाहरूले नेपालमा पशु अधिकारको दुरवस्थाप्रति इंगित गर्छ । पशुवध मासु आपूर्तिको लागि आवश्यक भए पनि तिनको निर्ममतापूर्वक गरिने वधचाहिँ अक्षम्य छ । म बेलायतमा जाँदा मैले आफ्नी बेलायती साथीलाई सोधेको थिएँ, यी ठूलठूला ट्रकमा के राखेर कुदाएका हुन् ? उनको जवाफ वधशालातिर ओसारेका गाई वा भेडाहरू होलान् । सम्झेँ, म्यानचेस्टरबाट टाढाको ठाउँ रिचमन्ड जाँदा लाखौं भेडा एउटै चौरमा चरिरहेको देखेकी थिएँ, तिनको ओसारपसार यसरी हुँंदोरहेछ भनी थाहा पाएँ ।

अनि यहाँ मासुको लागि जनावर कसरी मारिन्छ भनी सोध्दा उनले भनेकी थिइन्, खासमा मलाई थाहा छैन, तर सकेसम्म कम पीडा दिएर मारिन्छ भन्नेचाहिँ थाहा छ । हुनसक्छ, तिखो छेड्ने वा काट्ने मेसिनले मारिन्छ । जिउँदो पशु मेसिनमा राखिदिएपछि सबै अंग छुट्टिएर प्याकेटमा बाहिर आउँछ । उनको जवाफले मलाई अलि शान्ति मिलेको थियो । हाम्रो देशमा दसैं चाड नजिकिँदैछ । हामी पशुबलिका हिमायतीहरू हिमाली तथा पहाडी भेगबाट हप्तौं खेदाएर ल्याइएका बोका तथा भेडाच्याङ्ग्रा जिउँदै घरसम्म पुयाएर त्यसको बलि दिएर धर्म हुन्छ, देवी खुसी हुन्छिन् भनी मान्छौं तर ती अबोध जनावरले खप्नुपर्ने शारीरिक तथा मानसिक कष्टको ख्याल गर्दैनौं । यति धेरै मासुको खपत हुने भएपछि देशका बिभिन्न स्थानमा आधुनिक वधशाला स्थापना गरेर मासुका प्याकेटमात्रै सहर पुर्‍याए पनि त हुँदो हो । महिनौं हिँडाएर हिमाली जिल्लाका च्याङ्ग्रा वा चितवनका कुखुरा काठमाडौं पुर्‍याउनुभन्दा त उतैतिर वधशालाको निर्माण गरेर प्याकेटको मासुचाहिँ काठमाडौं पुर्‍याए कसो होला ? जिउँदो जनावर घुमाउनुको सटट सफा र स्वस्थ मासु नै घुमाए हुन्न र ?

२.बलिप्रथामा सुधार : हामी लोकतान्त्रिक गणतन्त्रमा छौं । हिजोका राजा–रजौटाको कालमा सांस्कृतिक प्रयोजनका लागि राँगा वा बोकाको बलि दिनु स्वाभाविक थियो होला । तर अहिले तर अहिले यस्ता संस्कारको पुनरावलोकन गर्ने बेला भएको छ । गुठीको जग्गा विघटन गर्न तम्सिने सरकारले यस्ता कुरामा पनि विचार–विमर्श गर्थ्यो कि ? पशुबलिका नाममा हामी धर्म गरिरहेका छौं कि पाप एकपटक चर्कै बहस उठाउनुपर्ने होइन ? अनि देश क्रिस्चियानीकरण भयो भनेर छटपटिने पण्डित महोदयहरूले पनि बलि संस्कारमा परिमार्जन गर्नपर्ने कुनै स्थान देख्छन् कि ? महिला तथा दलितलाई नियन्त्रण गरेर शासन गरेजस्तै अबोध जनावरमाथिको हिंसालाई स्वीकार्य बनाइराख्नमै उनीहरूले आफ्नो अस्तित्व सुनिश्चित भएको देख्छन् भने त के भन्नु र खै ?

३.गौशाला निर्माण :छाडा गाईबाछा वास्तवमा बोझ होइनन्, यदि यिनको उचित रेखदेख गर्ने गौशालाको निर्माण भयो भने । गाईको मलमूत्रबाट मात्रै पनि लाखौं आम्दानी गर्न सकिन्छ । मार्भिन ह्यारिसले इन्डियाका छाडा गाईगोरुको अध्ययन गरेर किन हिन्दुले गाई पूजा गर्छन् भनी अनुसन्धान गरेका थिए र उनको निष्कर्ष के थियो, छाडा गाईगोरुले गर्ने हानि–नोक्सानीभन्दा बढी फाइदा दिन्छन् । त्यसैले कृषिप्रधान हिन्दु समाजले गाईवस्तुलाई आमासरह मानेर संरक्षण गर्छ । तर अहिले कृषिप्रधानबाट रेमिटान्सप्रधान हुनलागेको हाम्रो मुलुकलाई छाडा चौपाया समस्या बन्नु अस्वाभाविक होइन् । यसको समाधान भनेको पशुको मालिकलाई जिम्मेवार बनाउनु र कथाचित सडकमा देखिएमा गौशालाको निर्माण गर्नु नै हो । यसतर्फ स्थानीय सरकार क्रियाशील हुनु आवश्यक छ ।

४.बन्ध्याकरण : भुस्याहा कुकुरको समाधान गर्न तिनको बन्ध्याकरण नै उपयुक्त समाधान होला । कुकुराश्रम पनि खोल्न सकिन्छ कि । खासमा भन्ने हो भने मानवको जस्तै जनावरको पनि जन्मदर्ता, इन्स्योरेन्स तथा मृत्युदर्ता गराउने परिपाटीको सुरुआत हुने हो भने ती जनावर सडकसम्म आइपुग्ने समस्यामा धेरै नै कमी आउँछ । विकसित देशहरूमा जनावरलाई परिवारको सदस्यजस्तै माया–ममता दिएर पालेको, औषधि–उपचार गरेको र मृत्यु संस्कार गरेको पनि देखिएको छ । उनहरूले गरेका राम्रा कामको फोटोकपी हामी पनि गरौं न । हामी पनि जनावरप्रति दयालु भाव राखौं र सभ्यताको परिचय दिऔं ।

प्रकाशित : आश्विन १८, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

सिकाइ उपलब्धिका चुनौती

उमा भण्डारी

नयाँ शैक्षिक सत्र सुरु भएको एक/डेढ महिनादेखि नै विद्यालयले परीक्षा लिन सुरु गर्छ । अनि सुरु हुन्छ, विद्यार्थी र अविभावकको तनाव खेप्ने दिन । कतिपय परिवारमा आमाबाबु र छोराछोरीबीच द्वन्द्व चर्कन्छ । अहिलेका छोराछोरी टसको मस गर्दैनन् । उनीहरूसँग जति तर्क कसैसँग हुँदैन ।

आश्चर्य लाग्छ, उनीहरूको त्यो ‘डिफेन्ड’ गर्ने तागत देख्दा । तर पनि औपचारिक अध्ययनमा भने उनीहरूलाई राम्रो अंक ल्याउन कठिन परिरहेको हुन्छ ।
पढाइमा कमजोर हुँदैमा वा घरको काम नसघाउँदैमा छोराछोरीले केही सिकेनन् भन्नेचाहिँ होइन । आमाबाबुको कमी–कमजोरी, विद्यालयको परिधि र साथीहरू कोसँग कसरी डिल गर्नुपर्छ, सिकेका हुन्छन् । कुन च्यानलमा कति बजेकुन कार्यक्रम आउँछदेखि मनपर्ने हिरो/हिरोइनको लभ अफेयर र ब्रेकअपबारे कण्ठै हुन्छ । भलै, देशको प्रधानमन्त्री वा राष्ट्रपतिको नाम थाहा नहोस् ।

कारण
औपचारिक सिकाइमा कमजोरी हुनुका विविध कारण हुनसक्छन् । तीमध्ये केही कारण यस प्रकार छन् ।
१. व्यस्तता : शिक्षाविद विद्यानाथ कोइरालाका अनुसार विद्यार्थी पढाइमा कमजोर हुनुको कारण बेवास्ते आमाबाबु, नियन्त्रणमुखी विद्यालय प्रणाली र उन्मुिक्त खोज्ने प्रवृत्तिका केटाकेटी हुन् । यी तीनबीच तालमेल ल्याउनसके बालबच्चाको सिकाइ क्षमतामा वा रुचिमा परिवर्तन गर्न सकिन्छ । शिक्षाविद कोइरालाले भनेजस्तै आमाबाबुको व्यस्तता केटाकेटी निराश पार्ने पहिलो कारण बनेको देखिन्छ । हरेकजसो परिवारका आमाबाबु कमाइ गर्न गएका हुन्छन् । छोराछोरी घरमा आउँदा उनीहरू घरमा हुँदैनन् । छोराछोरी माथिको निगरानी कम हुने बित्तिकै उनीहरूको मनोमानी बढ्दै जान्छ ।

२. गलत सोचाइ : आमाबाबु घरमै भए पनि कतिपय परिवारमा छोरीछोरालाई समय दिनु जरुरी ठान्दैनन् । पैसाको बिटो तेर्स्याएर पढ्न पठाएकै छ, अरु के गर्नुपर्‍यो भन्ने मान्यता हुन्छ । छोराछोरीको पढाइलाई पैसासँग तुलना गरेर समस्या समाधान हुँदैन । कतिपय परिवारमा नियन्त्रणमुखी अवधारणा पनि छ । हिजोको जस्तो धेरै दाजुभाइ, दिदीबहिनीको जमातमा हुर्किन नपाएको एक्लो बच्चालाई बाबुआमाले पनि उसको रुचिमैत्री व्यवहार गरेन भने ऊ साँच्चिकै एक्लिँंदै जान्छ । अनि उसले बाबुआमालाई शत्रु देख्न थाल्छ ।

३. घरायसी क्रियाकलाप : कतिपय अभिभावक आफै पनि मोबाइल वा टीभीको किरो हुन्छन् । यस्ता किराले भनेको कुरा उनीहरूका छोरीछोराले सुन्ने कुरै भएन । गृहकार्य किन नगरेको भन्यो भने तपाईंलाई मोबाइल हेर्न मनलाग्छ, हामीलाई चाहिँलाग्दैन भनिहाल्छन् । उनीहरूसँग रेडिमेड जवाफ हुन्छ ।

४. पारिवारिक कलह : घरपरिवारमा श्रीमान/श्रीमती बीचको कलह अहिलेको समाजको अभिन्न दिनचर्या भइसकेको छ । जुन घरमा लैंगिक विभेदजन्य झैझगडा बढी हुन्छ, त्यो घरका बालबच्चा यसै पनि पीडित हुन्छन् । बाबुआमाको झगडाबाट छोराछोरीले कस्तो संस्कार सिक्छन् ? मेरा आमाबाबु खराबै हुन् भन्ने कुरा मनमा गढेको हुन्छ, जसबाट छुट्कारा पाउन वैकल्पिक मार्ग खोज्छन् । कतिपय अवस्थामा आमा वा बाबुमध्ये एउटाको पक्ष लिने र अर्कोलाई घृणा गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।

५. साथीभाइको संगत : साथीभाइको संगतले पनि बालबच्चाको सिकाइ प्रक्रियामा सकारात्मक वा नकारात्मक प्रभाव पार्छ । पढ्ने साथीको संगतमा रहेका केटाकेटीले कालान्तरमा आफ्नो सिकाइलाई सकारात्मक बाटोतिर हिँडाउन सक्छन् । उनीहरूको आनीबानीमा पनि त्यस्तै खालको परिवर्तन देखिन सक्छ । कतिपय अवस्थामा त राम्रो पढाइमा राम्रो गर्दै गएका केटाकेटी पनि गलत बाटो समातेका साथी सर्कलमा परेर बाटो परिवर्तन गर्न पुग्छन् ।

६. पढेर के हुन्छ भन्ने मानसिकता : अहिलेको समयमा पठित बेरोजगारहरू टन्नै छन् । हरेक घरपरिवारमा उच्चशिक्षा हासिल गरेका व्यक्तिसमेत प्रमाणपत्र दराजमा थन्क्याएर अनेकतिर बाँच्नका लागि अनेकतिर भौंतारिनुपरेको सत्य हाम्रै समाजमा देखिएको छ । यसले गर्दा हाम्रा बच्चाहरूले पनि पढाइमा आफ्नो भविष्य नदेखेका हुनसक्छन् ।

पढेर के हुन्छ र ? फलानो त्यत्तिकै छ । के खान पढ्नुपर्‍यो भन्ने सोचाइ आउने गर्छ । यस्ता सोचाइलाई चिर्न पढेर के हुँदैन र भन्ने अनुभूति दिलाउन सक्नुपर्छ । यसका लागि सैद्धान्तिकको साथै व्यावहारिक शिक्षालाई महत्त्व दिनुपर्छ ।
समाधान
शिक्षाविद विद्यानाथ कोइरालाका अनुसार हाम्रो शिक्षा प्रणाली व्यावहारिक, केही लचिलो र पारिवारिक प्रणाली केटाकेटीमैत्री हुने हो भनेसी प्लस वा अव्यावहारिक भनिएका केटाकेटीहरू पनि त्यति ठूलो समस्या होइनन् । त्यसकोलागि विद्यालय वा अविभावक दुबैले केहीप्रयत्न गर्नुपर्छ ।

प्रविधिमा आधारित गृहकार्य : अहिलेका किशोरी–किशोरलाई पढाइभन्दा प्यारो लाग्ने धेरै साधन विकास भइसकेका छन् । तीमध्ये मोबाइल वा टीभी प्रमुख हुन् । मोबाइल नभइकन अहिलेका केटाकेटी टिक्नै सक्दैनन् । प्रविधिको युगमा यो अपरिहार्य पनि भइसकेको छ । मोबाइलबाट पनि उनीहरूले धेरै ज्ञान हासिल गरिरहेका हुन्छन् । यदि कुनै विद्यार्थी मोबाइलमै बढी रुचि राख्छ, गेम खेल्छ वाकार्टुन हेर्छ भने उसलाई त्यसैबारे गृहकार्य दिए कसो होला ?

वास्तविक पात्रबारे : गृहकार्य दिन सकिने अर्को सन्दर्भ उनीहरूलाई मनपर्ने, उनीहरूलाई साह्रै जाती वा आदर्श लाग्ने वास्तविक जीवनका पात्रको बारेमा लेख्न दिने र ती पात्रका कुन–कुन कुराबाट उनीहरू प्रभावित भएका हुन्, सो उल्लेख गर्न लगाउने । यसो गर्दा उनीहरूभित्र दबिएर बसेका कुण्ठा विस्तारै प्रकट हुन्छ ।

घरायसी कामबारे : गृहकार्य दिन सकिने अर्को विषय हो, घरायसी कामबारे खोजखाज गरेर लेख्ने । जुन विद्यार्थीलाई किताब पल्टाउनै मनलाग्दैन, उसलाई त्यही किताब पढ भनेर विवश बनाउनुभन्दा घरमा आमाले खाना कसरी पकाउनु हुँदोरहेछ, के–के सामान चाहिँदो रहेछ, पकाउन कतिबेर लाग्ने रहेछ, कति मात्राको खाद्य सामग्री चाहिने रहेछ, सबै उतार्ने खालको परियोजना कार्य गर्न दिए हुन्छ ।

करेसाबारी छ भने त्यतातिर के–के पाइन्छ सोधखोज गर्न लगाए हुन्छ । अलि उमेर पुगेका विद्यार्थीलाई घरमा खाना पकाउने गृहकार्य दिए हुन्छ । सिरकको खोल नाप्ने, तन्नाको साइज नाप्ने, घरका सामान सफा गर्ने वा टल्काउने उपाय पत्ता लगाउने, खाद्य भण्डारण तरिका बुझ्ने आदि ।

यस्तो गृहकार्य दिँदा छात्र र छात्रा दुबैलाई सकेसम्म एकै प्रकारको कार्य दिन सकिन्छ, जसले गर्दा छोरी र छोरा बीचको लैंगिक खाडल पुरिन मद्दत गर्छ । यसो गर्दा बाबुआमा पनि छोराछोरीसँग सम्मिलित हुन पाउँछन् । घरको काम पनि सघाइन्छ ।

सानाबाट ठूलाले सिक्ने : बाबुआमा तथा शिक्षक/शिक्षिकाले छोराछोरी वा विद्यार्थीबाट सिक्ने बानीको विकास गरेमा विद्यार्थीमा आत्मजागरुकताको विकास हुन्छ । सानाले सिकेका कुरालाई महत्त्व दिने हो र सिक्न खोज्ने हो भने पुस्ता बीचको दूरी कम हुन्छ । कम्तीमा पनि हप्ताको एकपटक सानाले जानेका प्रविधि, पढाइ, उनीहरूले भोगेका अनुभव सुन्ने र आफू सानो हुँदाको अनुभव उनीहरूलाई पनि सुनाउने गरे केटीकेटाहरू निकै खुसी हुन्छन् ।

व्यावहारिक गतिविधि सम्बन्धी : व्यावहारिक जीवनमा उपयोगी हुने विद्युतीय साधनहरू, बिजुलीका बल्बहरू फेर्ने, पानीधाराका पाइपहरू मर्मत गर्ने, मोबाइल र ल्यापटप मर्मत गर्ने, बेसिनमा जमेको पानी पाइपबाट निकास गराउने, कुहिने र नकुहिने फोहोर छुट्याउने, गमला वा करेसाबारीमा तरकारी खेती गर्ने, तरकारी केलाउने, सर्टको टाँक सिलाउने, प्रेसर कुकरहरू मर्मत गर्ने, इमर्जेन्सी फोनकल संकलन गर्ने लगायतका काम विद्यालयले परियोजना कार्य अन्तर्गत गराउन सक्छ, जसले गर्दा विद्यार्थीहरूले दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्छन् । यसले उनीहरूमा व्यावहारिक ज्ञानको आत्मविश्वास बढ्छ ।

घुमघामको वातावरण : घरमा पनि बाबुआमाले आफ्ना बालबच्चालाई फरक–फरक स्थानमा घुमाउन लैजान सक्छन् । यसो गर्दा बालबच्चामा नयाँपन आउँछ र पढ्ने स्फुर्ती पनि बढ्छ । घुमेका ठाउँबारे लेख्न वा चित्र बनाउन लगाउन पनि सकिन्छ ।

उनीहरूले गरेका ससाना कुरालाई पनि ताली बजाइदिने, स्यावास भन्ने, उनीहरूलाई खान मनलागेका खानेकुरा, लाउने कुरा किनिदिने, घरायसी समस्याबारे अवगत गराउने गर्नाले पनि कालान्तरमा केटाकेटीहरू सकारात्मक सिकाइतर्फ अग्रसर हुन सक्छन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्