नाम नसम्झिनु समस्या हो र !

न्युयोर्क टाइम्स

काठमाडौँ — धेरै मानिसलाई अरू व्यक्तिको नाम सम्झन कठिन हुन्छ । दशकौंको अनुभवले मलाई यो सिकाएको छ । विशेष गरेर एक–दुईपटक भेटेको मानिसको नाम सम्झन कठिन हुने गर्छ । मेरो सम्झना शक्ति यति कमजोर छ कि सामान्य परिचितहहरू मात्रै होइन, राम्रोसँग चिनजान भएकाहरूको पनि म नाम बिर्सिन्छु । कहिलेकाहीं त आफ्नो प्रेमीको आमाको नाम पनि बिर्सिन्छु । 

यस्तो अवस्थामा चिकित्सकीय सल्लाह नै लिनुपर्छ । जसलाई मेडिकलको भाषामा एनोमिक एफासिया वा डिसोम्निया भनिन्छ । यो मेरो जीवनमा अभिन्न अंग नै भइसकेको छ । कतिपय अवस्थामा त यसले मेरो सामाजिक जीवनमा धेरै तनाव थपिदिन्छ ।

धेरै मानिस आफ्नो नाम बिर्सिएकोमा चिढिन्छन् । उनीहरूको अहम्ताले गतिलै प्रहार गरिदिन्छ । केही व्यक्ति भने यस्तो समस्या लुकाउनका लागि पहिल्यै ‘म नाम सम्झिने मामिलामा कमजोर छु’ भनेर हात उठाउँछन् । मलाई भने विगतका केही पनि कुरा सम्झन कठिन हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन बिर्सनै हुँदैन, त्यसलाई सम्झिनैपर्छ ।

सन् २००७ मे महिनाको एक दिन यस्तो घटना भयो, जसले ठूलो गडबड गर्‍यो । तर राम्रो पनि भयो । म त्यस दिनलाई सधैं हिजोको दिन जस्तैगरी सम्झन्छु । म युनियन स्क्वायरमा एक फोटोग्राफर र तीनजना मोडलका साथमा फेसन सुट गरिरहेको थिएँ । काममा जाँदा सर्ट लगाउने सम्बन्धी विवादास्पद विषयमा फोटोसुट भइरहेको थियो । विभिन्न कारणले मलाई केटाहरूको ध्यान आफूतर्फ खिच्नुपर्ने थियो । तर मलाई कसैको नाम याद थिएन । जब घामसँगै मेरो तनाव पनि बढ्यो, मेरो धैर्यको बाँध भत्कियो ।

‘अब हेर, यसो गरौं म तिमीहरू सबैलाई स्टिभ भनेर बोलाउँछु । जब स्टिभ भन्छु, तब सबैजना क्यामेरातर्फ फर्किनु,’ मैले भनेँं । त्यसका साथै मलाई डर पनि लाग्यो । अब यिनीहरूले आफ्नो एजेन्टलाई फोन गरेर मेरो पागल व्यवहारको गुनासो गर्ने भए भनेर । धन्न, त्यसो भएन । तीनैजना त्यो सुनेर हाँसे । त्यस दिनका लागि हामी सबैजना स्टिभ भयौं । फोटोग्राफर स्टिभ, म स्टिभ र अरू सबै स्टिभ । जब फोटोसुट सकियो, मैले त्यसबारे धेरै केही सोचिन ।

अर्को दिन मलाई लाग्यो, मेरो समस्याको समाधान यो हुनसक्छ । जुन कुरा मैले अनायासै गरेंँ, त्यसले मलाई धेरै सहयोग गर्न सक्थ्यो । व्यावहारिक र मानसिक रूपमा पनि । त्यसपछि मैले सबैलाई स्टिभ भनेर सम्बोधन गर्न थालेँं । चिनेजानेकालाई पनि स्टिभ, अपरिचितलाई पनि स्टिभ । किन स्टिभ नै भन्ने त ? थाहा छैन । अनायासै निस्कियो । मैले धेरै महान व्यक्तिहरूलाई पनि स्टिभ्स नै भन्ने गरेको छु– म्याक्विन, हकिङ, सोनडेहिम ।

र यसका साथै मैले हलिउडमा यस्तो संस्कृतिका बारेमा पनि थाहा पाएँ, जहाँ केटीहरू नाम थाहा नभएको व्यक्तिलाई स्टिभ नै बनेर बलाउँदा रहेछन् । त्यसो गर्दा सबै पुरुषले राम्रैसँग प्रतिक्रिया दिएको देखेंँ । १२ वर्षको दौरान एकजना पुरुषले मात्रै आफूलाई स्टिभ नभन्न आग्रह गरेको मैले पाएको छु । अर्को एकजना पनि जोड्ने हो भने मेरो बुबालाई पनि स्टिभ भनेर बोलाएको मन पर्दैन ।

महिलाहरूसँग भने मेरो अनुभव भिन्न छ । उनीहरूसँग कुराकानी गर्दा म घरिघरि नाम परिवर्तन गर्छु– र्‍याचेल, स्टेफिनी, केली, सारा, क्रिस्टिन । एक–दुई सातापछि मैले जे नाम भनेर बोलाएको भए पनि उनीहरूको एउटै गुनासो हुन्छ– ‘मलाई तिमी त्यो नामले नबोलाऊ, म त्यो नाम गरेको केटीलाई फिटिक्कै मनपराउँदिन ।’

एकपटक ‘साउथ पार्क’ ले मेरो उद्धार गरेको छ । वर्षौं अघि मेरो पूर्वप्रेमी र मैले एकअर्कालाई ‘चुप लाग विन्डी’ भन्ने थेगो बसाल्यौं । त्यो विन्डी भन्ने नाम पनि अनायासै आएको थियो र त्यो नै मुखमा झुन्डियो ।

कसैलाई विन्डी वा स्टिभ भनेको मनपर्छ, कसैलाई त्यो नाम सुन्यो कि रिस उठ्छ । कसैको त्यो नामसँग राम्रो याद जोडिएको छ भने कसैलाई त्यो सुन्न पनि मन लाग्दैन । जेसुकै भए पनि विन्डी र स्टिभ सफल रहे । धेरैले ती नामलाई आत्मसात नै गरे । यो प्रयोगले एउटा कुरा सिकायो । धेरैलाई नाम सम्झन झन्झट लाग्छ । पहिलो पटक भेट्दा नाम, पेसा, घरको ठेगाना बताउन धेरैलाई अप्ठेरो लाग्छ । यस्तोमा स्टिभ र विन्डी जस्ता नामले राम्रो काम गर्न सक्छन् ।

नाम नबताउने हो भने धेरै कुरा नबताउँदा हुन्छ । र तपाईं दुवै जनालाई चित्त बुझेको कुरामा सिधै प्रवेश गर्न पाउनुहुन्छ । यो भनेको कार्यालय जाने जुत्ता खोलेर आरामदायी स्पोर्ट्स जुक्ता लगाए जस्तै हो ।

दर्जनौं व्यत्तिले मलाई स्टिभ भनेर बोलाउँछन् । सयौं व्यक्तिले यो स्टिभ योजना आफूले पनि प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर सोधेका छन् । यो जसले प्रयोग गरे पनि हुन्छ । मुर्खतापूर्ण रूपमा सुरु गरेको सम्बोधनले अहिले एउटा उत्साहजनक अभियानकै रूप लिन थालेको छ । कुनै दिन यस्तो आओस्, जहाँ कसैले कसैको नाम नै सम्झन नपरोस् ।

तपाईं मलाई डेभिड भनेर बोलाउन चाहनुहुन्छ भने बोलाउनुस्, तर मलाई डेभिड भनेर नबोलाकै राम्रो ।

डेभिड कोलम्यान (न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

मोदीका तीन नयाँ हस्ती 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका गठन गरेको मन्त्रिपरिषद्मा पूर्वप्रशासकदेखि गायकसम्मले मौका पाएका छन् । मोदीले बिहीबार ३३ मन्त्री र २४ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका हुन् । 

नवगठित मन्त्रिपरिषद्मा पूर्वअनुमान गरेअनुरूप नै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोदीका निकट विश्वासपात्र शाह उनी गुजरातको मुख्यमन्त्री हुँदा गृहमन्त्री थिए । यी दुईबीच दुई दशक लामो घनिष्ठ सम्बन्ध छ । त्यसैगरी वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री राजनाथ सिंहलाई यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लोकसभा चुनावमा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले रक्षा मन्त्रालयसँग सम्बन्धित रफाल लडाकु विमान खरिद प्रकरणलाई प्रमुख मुद्दा बनाइएको थियो । उक्त खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको कंग्रेसले दाबी छ । त्यसैले सिंहका सामु रफाल लडाकु प्रकरणलाई पारदर्शी रविश्वसनीय ढंगले अवतरण गराउन चुनौती छ ।

मोदी सरकारको विदेशमन्त्रीमा पूर्वविदेशसचिव सुब्रमण्यम (एस) जयशंकरलाई चयन गरेपछि भने धेरै आश्चर्यमा परेका छन् । करिअर डिप्लोम्याट जयशंकर भूराजनीतिक मामिलामा विशेष दख्खल राख्छन् । उनको चयनलाई मोदीको भारतलाई विश्व राजनीतिमा प्रमुख शक्तिका रूपमा उभ्याउने रणनीतिका रूपमा हेरिएको छ ।

जयशंकर अमेरिका र चीनका लागि राजदूत रहिसकेका छन् । दुई वर्षअघि भारत र चीनबीचको दोक्लाम विवाद सुल्झाउन जयशंकरले प्रमुख भूमिका खेलेको बताइन्छ । यसअघि उनी भारतको बहुराष्ट्रिय कम्पनी टाटा समूहको ग्लोबल कर्पोरेट अफेयर्स प्रेसिडेन्ट थिए ।

जनवरी २०१८ मा परराष्ट्र सेवाबाट अवकाश पाएको केही महिनाभित्रै शंकर टाटामा आबद्ध भएका थिए । मनमोहन सिंहको दोस्रो मन्त्रिपरिषद्मा उनी अमेरिकाका लागि भारतीय राजदूत भएका थिए । त्यसताका उलने भारत र अमेरिकाबीच आणविक सम्झौता गराउन अहंभूमिका खेलेका थिए ।

अर्थमन्त्रीमा निर्मला सिथारमणको चयनलाई पनि रोचक मानिएको छ । स्वतन्त्र भारतमा अर्थमन्त्रीको जिम्मेवारी पाउने इन्दिरा गान्धीपछि उनी दोस्रो महिला हुन् । अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका अरुण जेट्लीले स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेपछि निर्मलाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । अघिल्लो कार्यकालमा उनले केही समय वाणिज्य र पछि रक्षा मन्त्रालय सम्हालेकी थिइन् ।

पछिल्लो समय केही सुस्त देखिएको भारतीय अर्थतन्त्र गति दिनु उनको प्रमुख चुनौती हुनेछ । भारतीय तथ्यांक विभागका अनुसार गतवर्ष भारतको कुल गार्हस्थ उत्पादनको वृद्धिदर पछिल्लो पाँच वर्षयताकै न्यून अर्थात् ६.८ प्रतिशत थियो । यसअघि सन् २०१३/१४ उक्त वृद्धिदर ६.४ प्रतिशत मात्र थियो ।

त्यसैगरी बेरोजगारी दर पनि चिन्ताजनक ढंगले बढेको देखिन्छ । विभागद्वारा जारी पछिल्लो तथ्यांकअनुसार गत वर्ष कुल श्रमशक्तिको ६.१ प्रतिशत बेरोजगार थियो । जुन विगत ४५ वर्षयताको सबैभन्दा बढी भएको विभागले जनाएको छ ।

बिहीबार मन्त्री भएकामध्ये केहीले पुरानै मन्त्रालय पाएका छन् । यसमध्ये केही मोदीका विश्वासपात्र र केही अघिल्लो कार्यकालमा राम्रो काम गर्ने भनेर चिनिएका अनुहारहरू बढी छन् । मोदी निकट मानिने पीयूष गोयललाई रेल तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । गोयल यसअघि पनि रेलमन्त्री नै थिए ।

नीतिन गडकरी र धर्मेन्द्र प्रधान अघिल्लो मन्त्रिपरिषद्मा राम्रो काम गर्नेमध्येमा पर्छन् । प्रधानले अघिल्लो कार्यकालमा जस्तै यसपटक पनि पेट्रोलियम, प्राकृतिक ग्यास र स्टिल मन्त्रालय पाएका छन् । त्यसैगरी गडकरीलाई यसपटक पनि सडक, यातायात र हाइवे मन्त्रालयको जिम्मेवारी दिएको छ ।

पटनासाहिब लोकसभा सिटमा बलिउड अभिनेता शत्रुघ्न सिन्हालाई भारी मत अन्तरले पराजित गरेका रविशंकर प्रसादले पुनः सञ्चार, कानुन तथा सूचनाप्रविधिको जिम्मेवारी पाएका छन् । यसअघि पनि मन्त्री रहेका रामविलाश पासवान, हरसिम्रत कौर बादल, थवार चन्द गेहलोत र मुख्तार अब्बास नक्वीले मोदीको दोस्रो कार्यकालमा पनि मन्त्री बन्ने अवसर पाएका छन् ।

यसअघि राज्यमन्त्री रहेका गिरिराज सिंह र गजेन्द्र सिंह शेखावत यसपटक क्याबिनेट मन्त्री बनेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका चर्चित विद्यार्थी नेता कन्हैया कुमारलाई बेगुसराय लोकसभा क्षेत्रबाट पराजित गरेका गिरिराज सिंहले जलशक्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनकै गढ मानिएको अमेठीको लोकसभा क्षेत्रमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीलाई पनि मन्त्री बनाइएको छ ।

अघिल्लो मन्त्रिपरिषद्मा इरानी टेक्सटाइल मन्त्री थिइन् । यसपटक उनले प्रभावशाली मन्त्रालय पाउने चर्चा चले पनि महिला तथा बालबालिका विकास र टेक्सटाइल मन्त्रालयकै जिम्मेवारी दिइएको छ । सिथारमण, इरानी र कौरसहित ६ जना महिलाले मोदी सरकारमा मन्त्री बन्ने अवसर पाएका छन् । हालै सम्पन्न ५४३ सदस्यीय चुनावमा ७८ जना निर्वाचित भएका थिए ।

मोदी सरकारमा बलिउड
गायक बाबुल सुप्रियले पनि मौका पाएका छन् । पश्चिम बंगालबाट निर्वाचित सुप्रियलाई हेभी इन्डस्ट्री र पब्लिक इन्डस्ट्र्रिजको जिम्मेवारी दिइएको छ । हालै सम्पन्न चुनावमा भाजपालाई पश्चिम बंगालमा अहिलेसम्मकै सबैभन्दा बढी १८ सिट जिताउन उनको प्रमुख भूमिकारहेको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्