कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजिटल मित्रता

स्टेफेन टी आस्मा

काठमाडौँ — ‘म केही मिनेटमा आइहालेँं,’ मेरो १५ वर्षीय छोरो आफ्नो कोठाबाट चिच्यायो, ‘म साथीसँग एक्सबक्स (भिडियो गेम) खेलिरहेको छु । ‘को हो, तिम्रो साथी ?’ मैले सोधेंँ । ‘उसको नाम स्कुजबल हो ।’ ‘ए, स्कुजबलको वास्तविक नाम के हो ?’ मैले उसको साथीबारे थप बुझ्न चाहेंँ ।‘मलाई थाहा छैन,’ उसले थोरै झिँजो मान्दै उत्तर फर्कायो ।

‘ऊ कहाँ बस्छ त ?’ मैले प्रश्न सोध्न छोडिन ।

‘खै, कतै क्यानाडातिर होला... हैन, फ्रान्स पो हो कि क्या हो । खासमा मलाई थाहै छैन । तर ऊ जहाँसुकैको भए पनि अब के मतलब, स्कुजबल खेल छोडेर बाहिरी सक्यो र उसको स्थानमा बट आयो ।’


‘त्यो त झुर भयो,’ मैले उसको कुरालाई आत्मसात गरेझैं गरेर भनेंँ, ‘तिम्रो साथीलाई आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता) ले प्रतिस्थापन गर्‍यो ?’

‘त्यसले केही मतलबै राख्दैन ड्याड । त्यस्तो भइरहन्छ । खेल चलिरहन्छ ।’


मेरो छोरालाई ऊसँग वास्तविक मान्छे खेलिरहेको छ वा कुनै बट भन्ने कुराले खासै असर गर्दैन । हिजोआज अनलाइन गेम खेल्ने सबैले त्यस्तै सोच्छन् । उनीहरू आफूसँग खेलिरहेको व्यक्तिलाई साथी भनेर सम्बोधन त गर्छन्, तर उनीहरू बीचको सम्बन्ध क्षणिक हुन्छ । मेरो छोरा र स्कुजबल वास्तविक साथी होइनन् । त्यो मेरो लागि चासोको विषय हो ।

इन्टरनेटको युग सुरु हुनु पहिले हामी हुर्किंदै गर्दा साथीहरूबीच हुने सम्बन्ध, इन्टरनेटको युगमा हुर्किंदै गरेको मेरो छोराले बिर्सने भयो भन्ने मेरो चिन्ता हो । त्यो मेरोमात्रै चासोको विषय भने पक्कै होइन ।


मान्छेको इतिहास खोतल्ने हो भने पनि ‘राम्रो जीवन’का बृहत पक्षबारे बुझ्न मित्रता जीवनको अत्यावश्यक अंग भएको देखिन्छ । त्यो जान्न हामीले हजारौं वर्ष पुराना दन्त्यकथा वा पौराणिक कथाहरू पुनः पढे पनि हुन्छ ।


हरेक वर्ष विभिन्न तरिकाबाट हाम्रो जीवन ‘डिजिटल स्पेस’ (सूचना प्रविधि क्षेक्र) मा केन्द्रित हुँदै गएको छ । सामान्यतया किशोरावस्थाको एक व्यत्तिले दैनिक ९ घन्टासम्म अनलाइनमा बिताउँछ । मेरो कलेजका नयाँ विद्यार्थीले त १२ घन्टासम्म स्क्रिन हेर्ने गरेको बताउँछन् । अहिले प्रायः गृहकार्य पनि अनलाइन नै गर्न र बुझाउन मिल्छ ।


२०१८ को पीयु रिपोर्टका अनुसार १८ देखि २९ वर्ष उमेर समूहका लगभग ९० प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्छन् । केटाकेटीहरूको बढ्दो इन्टरनेट लतबारे २०१६ मा अमेरिकी बालरोग विशेषज्ञ प्रतिष्ठानले एउटा विज्ञप्ति नै जारी गरेको थियो । ‘धेरै अनलाइनमा बस्ने बालबालिका इन्टरनेटको कुलतमा फँस्ने सम्भावना छ । त्यसमा पनि धेरै अनलाइन गेम खेल्नेहरूमा अनेकौं समस्या देखिने सम्भावना रहन्छ ।’


सिलिकन भ्यालीका ३२ प्रतिशत व्यावसायिक प्राविधिक विज्ञसमेत आउँदो दशकमा डिजिटल जीवनले हाम्रो मानसिक स्वास्थ्यलाई असर गर्नेमा चिन्तित छन् ।


सन् २००५ तिर मानिसहरूले उनीहरूको साथीको संख्या तीन जनाबाट घेटर दुईमा झरेको बताएका थिए । २००६ को अन्त्यतिर गरिएको एक अध्ययनका २५ प्रतिशत सहभागीले आफूले पूर्णरूपमा विश्वास गर्ने कोही नरहेको जानकारी दिएका थिए । हालसालै गरिएको अर्को अनुसन्धान अनुसार उक्त प्रवृक्ति बढ्दो त्रममा छ भने किशोरावस्थामा रहेकाहरूबीच हुने आत्मीयतालाई कार्यकुशलताले प्रतिस्थापन गरेको छ ।


आत्मीयतामा देखिएको कमीप्रति इन्टरनेट युगमा हुर्किरहेका युवाहरूलाई कुनै चिन्ता वा चासो छैन । उनीहरू आफूले अनलाइन ‘साथी’को बृहत सामाजिक सञ्जालबाट सहयोग प्राप्त गरिरहेको बताउँछन् । वास्तवमा उनीहरू त्यस्ता मित्रहरूको भर परिरहेका छन्, जसलाई उनीहरूले न कहिले भेटेका छन् न भेट्ने सम्भावना नै रहन्छ । डिजिटल रूपमा प्राप्त गरिरहेको हौसला र समर्थनलाई उनीहरूले वास्तविकतासँग दाँजेर व्याख्या गरिरहेको देखिन्छ ।


के यी युवाहरूलाई आफूले के गुमाइरहेको छु भन्ने भान छ होला त ? त्यसले केही अर्थ राख्ला ?


सामाजिक एक्लोपन जापानमा निकै बढेको छ । त्यहाँका लगभग ५ लाख युवा ‘हिकिमोरी’ (घरबाट कहिल्यै

बाहिर ननिस्कने) जीवनयापन गर्छन् । यस्तै बेलायतमा पनि बढ्दो एक्लोपनको समस्याका कारण सरकारले ‘एक्लोपना मन्क्री’ नै नियुत्त गरेको छ । नयाँ सर्वेक्षणका अनुसार ८६ प्रतिशत बेलायती र अमेरिकी नागरिक

बढ्दो प्रविधि प्रयोगलाई नै एक्लोपन बढ्नुको प्रमुख कारक मान्छन् ।


मित्रता सम्बन्धी सुरुको दार्शनिक व्याख्या अरस्तुबाट गरिएको पाइन्छ । उनले ‘निकोमाचियन इथिक्स’ मा सुख र स्रोतमा आधारित मित्रता सहजै कायम हुने तर ती टिकाउ नहुने उल्लेख गरेका छन् । गहिरो मित्रतामा भने एकअर्काको सुख–दुःखको ख्याल गरिने र त्यसमा लाभको कुनै स्थान नरहने उनले बताएका छन् । त्यो भनेको स्वार्थरहित मित्रता हो । यस्तो गहिरो मित्रता भने जीवनमा केहीसँग मात्रै हुन्छ । किनकि यस प्रकारको मित्रताका लागि धेरै समय र मिहेनत लाग्छ । उनीहरूका लागि समय पनि दिनुपर्छ र केही त्याग पनि गर्नुपर्छ ।


कक्षामा सँगै पढ्ने वा कार्यालयमा सँगै काम गर्नेहरू पनि मित्र हुन सक्छन् । साथै एउटै टिमबाट खेलकुदमा प्रतिस्पर्धा गर्नेहरू, सांगीतिक समूहका संगीतकर्मी, धार्मिक क्रियाकलापका सहभागीहरू वा सैनिकहरू पनि मित्र हुन सक्छन् । यी सबै उदाहरणका आधारमा मित्रता कायम गर्न तीनवटा मामदण्ड आवश्यक पर्छ : एकै अनुभव, एकअर्काप्रति जवाफदेहिता तथा समान सोच र मानसिक एकरुपता ।


हामी अनलाइनमा भेट भएका साथीसँग अनुभव साटासाट गर्न त सक्छौं, तर वास्तविक रूपमा भेटेर गरिने भलाकुसारीभन्दा त्यो सम्बन्ध निकै कमजोर हुन्छ । अनलाइन गेमले मित्रताको सम्बन्धलाई प्रगाढ त बनाउन सक्ला, तर के त्यो सम्बन्धको गाँठो कति दह्रो होला ?


मित्रता कायम गर्न सँगै हुन, केही गर्ने (त्याग) भावना हुन अत्यावश्यक हुन्छ । सामाजिक सञ्जालमा सँगै हुनु र केही गर्ने भावना दर्शाउनु भनेको निम्छरो सम्बन्धमात्रै हो ।


सबैभन्दा महत्त्वपूर्ण त सामाजिक सञ्जालमा वा डिजिटल रूपमा विकसित भएको मित्रतालाई कुन हदसम्म विश्वास गर्ने भन्ने पनि हो । सामान्यतया नत त्यहाँ कसैको यकिन वास्तविकता थाहा पाउन सकिन्छ, न त्यसको कुनै रूप, आकार, प्रकार वा गन्ध नै हुन्छ । वास्तविक सम्बन्ध भनेको जैविक र मनोवैज्ञानिक हुन्छ ।


जसमा सशरीर उपस्थितिको आवश्यकता रहन्छ । भावनात्मक रूपमा प्रगाढ सम्बन्धले अक्सिटोसिन र इन्ड्रोपिन भन्ने रसायन मस्तिष्कमा पैदा गर्छ, जसले सुखद अनुभूति दिन्छ । त्यसले नै सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्छ ।

आगामी दिनमा डिजिटल प्रविधिले पनि त्यस प्रकारको सुख अनुभूति गराउन नसक्ला भन्न सकिन्न । तर बिरामी पर्दा अस्पताल लगिदिन, औषधि खुवाउन वा खानेकुरा ल्याइदिन त वास्तविक मित्रकै आवश्यकता हुन्छ ।


मैले मेरो विद्यार्थीहरूलाई उनीहरू बिरामी पर्दा सुप ल्याइदिने साथी भए–नभएको बारे सोधेको थिएँ । उनीहरूले मेरो कुरा हाँसोमा उडाइदिए । उनीहरूले कसैलाई भन्नुभन्दा अनलाइन अर्डर गर्ने बताए । यो पनि वास्तविकता नै हो ।

अन्त्यमा सत्य के हो भने डिजिटल जीवनले मानिसहरूको जीवन जिउने तरिकालाई केही सहज बनाउन सक्ला, तर त्यसले एक्लोपना बढाउँदै लैजान्छ । उक्त डिजिटल स्पेसमा हुने मित्रता क्षणिक हो र वास्तविक जीवनमा अप्ठेरो पर्दा त्यो काम लाग्दैन ।


आस्मा कोलम्बिया कलेज, सिकागोको दर्शनशास्त्रका प्राध्यापक हुन् ।

न्युयोर्क टाइम्सबाट अनुदित । प्रकाशित : चैत्र १६, २०७५ ०७:५४

प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाको लगातार चौथो जित

एजेन्सी

अबुधाबी — अस्ट्रेलियाले चौथो वान डेमा शुक्रबार राति पाकिस्तानलाई ८० रनले हराएको छ। उसले ५ खेलको सिरिजमा ४-० को अग्रता लिएको छ । 

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६६ रन बनायो । त्यसमा एरोन फिन्चले सर्वाधिक ९० रन बनाए ।

जवाफमा पाकिस्तान ४४।४ ओभर मात्र टिक्यो र १ सय ८६ रन बनाएर अलआउट भयो ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×