कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामीले नदेखेको हिरा

नेत्र आचार्य

काठमाडौँ — ‘अफ्रिकामा हिरा खानीको कामदारले हिराको सानो टुक्रा निलेर खानी बाहिर निस्कन सक्यो भने जीवनभर धनी हुन्छ रे । म पनि नेपालबाट हिराको सानो टुक्रा लिएर बाहिर निस्केको हुँ । त्यही पुँजीले म धनी भएको छु । तपाईँहरू हिराको खानीमा हुनुहुन्छ । तपाईँहरूले जुन दिन हिरा चिन्नु हुन्छ, त्यही बेलादेखि समृद्ध बन्नु हुनेछ ।’

हामीले नदेखेको हिरा

अमेरिकाको सान डियागो स्टेट युनिभर्सिटीका प्राध्यापक स्थानेश्वर तिमल्सिनाद्वारा राजधानीमा हालै आयोजित अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनमा व्यक्त यस भनाइको खास अर्थ छ । नेपाल संस्कृत र संस्कृतिमा धनी छ, त्यसलाई चिन्नसके हामी लाभान्वित हुने थियौं भन्ने उनको आशय थियो ।


संस्कृतमा आर्जन गरेको ज्ञानलाई अंग्रेजी भाषामार्फत विश्वलाई बताउनसकेको हुँदा आफूले अमेरिकाका कैयौं विश्वविद्यायलमा सम्मानपूर्वक प्राध्यापन गर्ने मौका पाएको उनको भनाइ थियो । त्यही सम्मेलनमा अर्का वक्ता थिए, विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयका रिलिजियस डिपार्टमेन्टका प्रमुख प्राध्यापक दिवाकर आचार्य ।


उनले पनि नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत पढेको हुँदा अक्सफोर्डमा प्राध्यापन गर्ने अवसर पाएको बताए । यस अघि उनी जर्मनीको एक विश्वविद्यालय र जापानको क्योटो विश्वविद्यालयमा संस्कृत सम्बन्धी विषय प्राध्यापन गर्थे ।


यी दुई प्राध्यापक तीनदिने संस्कृत सम्मेलनका मुख्य आकर्षण थिए । हुन पनि, बेलायतस्थित उक्त प्रतिष्ठित विश्वविद्यायलमा प्राध्यापकमा नियुक्त हुने प्रथम नेपाली आचार्य नै हुन् । उनले अक्सफोर्ड विश्वविद्यालय नेपालमा ‘नेपाल स्ट्राटेजी’ बनाएर काम गर्न उत्सुक रहेको बताए ।


दुवै प्राध्यापकले नेपालको संस्कृत विधासँग सम्बन्धित प्राज्ञिक विकासको प्रचुर सम्भावना देखाए । स्वदेशको प्राज्ञिक विकासमा काम गर्ने इच्छा र तत्परता दुवै प्राध्यापकले प्रकट गरे । उनीहरूले ‘नेपालमा प्राज्ञिक विकासका लागि काम गर्न धेरै अड्चन रहेको’ भने औंल्याए ।


नेपालमा संस्कृत अध्ययन ज्यादै परम्परागत शैलीको छ । नेपालमा एउटा संस्कृत विश्वविद्यालय छ, अन्य विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पनि संस्कृतसँग सम्बन्धित विभाग र विषयहरू अध्ययन, अध्यापन हुन्छ । तर हाम्रा विश्वविद्यालय पुरानो पाठ्यक्रमबाट बाहिर निस्कनसकेका छैनन् । संस्कृत केवल भाषा होइन, परम्परा हो । संस्कृतमा योग पनि छ, आयुर्वेद पनि छ ।


शिल्पशास्त्र, दर्शन, तन्त्र, साहित्य, अध्यात्म, विज्ञान सबै छ । संस्कृतमा ग्रह गणित सम्बन्धी विषय ज्योतिष, भवन निर्माण कला र वास्तुशास्त्र पनि छ । तर नेपालमा संस्कृतलाई कर्मकाण्डीय प्रयोजनमा या स्वस्ती वाचनमा सुनिने भाषाका रूपमा मात्र बुझिन्छ । यो संकुचित सोच एउटा ठूलो समस्याका रूपमा छ ।


योग विषयका ग्रन्थहरू महर्षि पतञ्जली, घेरण्ड ऋषि, स्वात्माराम आदि ऋषिले हजारौं वर्षपूर्व संस्कृत भाषामा रचना गरेका थिए । योग विधाका विविध पक्षहरू छन्, जस्तो– दर्शन, अध्यात्म, मनोविज्ञान, स्वास्थ्य, संस्कृति । तर हामीले योग भन्नाले आसनमात्र बुझ्यौं । शारीरिक आसन अभ्यास गरेर शरीर चुस्त बनाउने कसरतका रूपमा योग सीमित रहन गयो । विश्वविद्यालयहरूले योगका अन्य बृहत्तर महत्त्वका पहलुहरूमा अध्ययन, अनुसन्धानको आरम्भ नै गरेनन् ।


योगलाई मनोविज्ञानसँग जोडेर अध्ययन, अनुसन्धान गर्ने पाठ्यक्रम विकसित गर्ने सम्बन्धमा सोचसमेत बनेको छैन । योगलाई समाज दर्शनसँग जोडेर अध्ययन, अनुसन्धान गर्ने पहल नै भएको छैन । नेपालका विश्वविद्यालयहरू दशकौं पुरानो पाठ्यक्रमबाट बाहिर निस्कन चाहेनन् वा सकेनन् । जसले गर्दा योग विधा नै संकुचित भयो ।


योगाभ्यास मार्फत आध्यात्मिक साधना या आत्मोन्नति गर्ने उत्सुकता पहिलाका ऋषिमुनिहरूमा थियो । तर वर्तमान समयमा योगासन सिकिनसक्दै योग प्रशिक्षक हुने हतारो भएको देखिन्छ । योगको परिभाषासम्म नबुझेका र बुझ्नसमेत उत्सुकता नभएका व्यक्तिहरू धमाधम योग प्रशिक्षक भइरहेका छन् ।


हामी योगाभ्यास गरिरहेका छौं, तर कहीं पुगिरहेका छैनौं । योगका नाममा के सिकाइँदैछ, सम्बन्धित निकाय या विश्वविद्यालयले अनुसन्धान गर्न आवश्यक भइसकेको देखिन्छ । अष्टांग योगमा आठ चरण छन् । ती सबैको साङ्गोपाङ्ग अनुशीलन गर्दा मानिसको व्यक्तिगत जीवन स्वस्थ एवं समृद्ध हुन्छ, सामाजिक सम्बन्धहरू सुन्दर हुन्छन् र आध्यात्मिक उन्नति पनि आरम्भ हुन्छ । योग जस्तै तन्त्र, साहित्य, शिल्पशास्त्र पनि व्यावहारिक विधा हुन् ।


यी विषय जागिर खानमात्र पढिने विषय होइनन् । यी विषय पढेर स्वतन्त्र रूपले जीविकोपार्जन गर्न सकिन्छ । आफ्नो व्यक्तित्व सुन्दर बनाउने चेष्टा गर्न सकिन्छ । यस्तो चेष्टा कहीं कतै पैदा भएको देखिएको छैन । तन्त्रको अध्ययन, अभ्यास र अनुसन्धान त्यसैगरी संकुचित भएको छ । समग्रमा संस्कृतसँग सम्बन्धित विषयहरू पढ्ने र पढाउने मात्र सीमित भएका छन् ।


पढेको विद्वान पैसामुखी हुनु अर्को समस्या हो । प्राध्यापक तिमल्सिनाका अनुसार अमेरिकामा एउटा प्राध्यापकले ठूलो घर बनाएको वा अकुत धनसम्पत्ति जोडेको देखिँंदैन । प्राध्यापक वा विद्वानका लागि विद्वता नै धन हो । उसले दिइरहेको सेवा र गरिरहेको अनुसन्धानमा नै ऊ रमाइरहेको हुन्छ ।


नेपालमा जुनसुकै पेसा गर्नेको सफलता या असफलता उसले कति धन कमाएको छ भन्ने कुराले तय गरेको जस्तो देखिन्छ । संस्कृतमा एउटा सूक्ति छ ः ‘काकोऽपि जीवति चिराय वलिं च भुङ्क्ते’ अर्थात् चुच्चोको भरमा एउटा पेट त कागले पनि पालिरहेकै हुन्छ । संस्कृत जस्तो अद्भुत विधा पढेको विद्वान पनि पैसा कमाउने, पेट पाल्ने कुरामा मात्रै सीमित रहनु र फराकिलो विश्वदृष्टि बनाउन नसक्नु संस्कृतको प्राज्ञिक विकासका लागि भयानक रोग हो ।


संस्कृतको परिचय टाउकोमा शिखा हुनु र काँधमा जनै हुनुसँग जोडिएको पाइन्छ । संस्कृत एउटा विशाल धरोहर भएको सभ्यता हो । कालक्रममा शिखा र जनैमा यसको परिचय संकुचित हुनु आश्चर्यजनक छ । संस्कृतलाई कुनै जाति विशेषको पक्षपोषण गर्ने भाषाका रूपमा समेत अतिरञ्जना गरिएको पाइन्छ ।


विधालाई यसरी संकुचित बनाउने या अतिरञ्जना गर्नेहरूले मध्यदिनमा आँखा छोपेर अँध्यारो भएको छल गरिरहेका छन् । केही व्यक्तिगत स्वार्थ र चिन्ताले उनीहरू यसो गरिरहेका छन् । कुनै कविले भनेका थिए, ‘मृत्कुम्भबालुका रन्ध्र पिधान रचनार्थिना । दक्षिणावर्त शंखोऽयं हन्तः चूर्णिकृतो मया ।’ अर्थात् माटे घैंटोको प्वाल टाल्न अमूल्य शंख फुटालेंँ, अहो मैले गल्ती गरेंँ । ती संस्कृत कविको उक्ति संस्कृतको विरोध गर्नेहरूका सम्बन्धमा विलकुलै चरितार्थ हुन्छ ।


संस्कृतको प्राज्ञिक विकासमा बाधा बनेको अर्को झनै भयानक रोग के छ भने संस्कृत अध्ययन, अध्यापन घोकन्ते विद्याका रूपमा सीमित बनाइएको छ । संस्कृत भाषामा धाराप्रवाह बोल्नु नै विद्वता या महानता ठान्ने मानसिकता प्राज्ञिक जगतमा व्यापक छ । संस्कृत भाषामा निहित ज्ञानराशिलाई अध्ययन, चिन्तन, मनन गरी प्रचलित भाषामा विश्वभर विस्तार गर्नसके मात्र संस्कृतको रक्षा हुनसक्छ, हाम्रो संस्कृतिको रक्षा हुनसक्छ ।


हामीले संस्कृत वाङ्मयको सागरमा डुबुल्की मारेका छौं र हामीले फेला पारेका रत्नहरूको महिमा अंग्रेजी भाषामार्फत विश्वलाई सुनाउन सक्छौं भने समृद्धि हाम्रो घरद्वारमै छ । अक्सफोर्ड विश्वविद्यालय ‘नेपाल अध्ययन’ शीर्षकमा विशिष्ट रणनीति नै बनाएर अनुसन्धान गर्न उत्सुक छ ।


हामीले विदेशी विश्वविद्यालयलाई नेपालमा काम गर्न कठिन बनाउने नीतिगत अड्चनहरू कहिले समाधान गर्छौं ? हामी परम्परागत पाठ्यक्रमबाट कहिले बाहिर आउँछौं ? हामीले कहिले समकालीन चासोका विषयहरूलाई संस्कृतको माध्यमबाट सम्बोधन गर्न सक्छौं ? हामीले हामीसँग रहेको हिरा कहिले चिन्छौं ?


[email protected]

प्रकाशित : चैत्र १६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?