म्ह पूजा देहप्रतिको आदरभाव- अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्ह पूजा देहप्रतिको आदरभाव

म्हः पूजाबाट शारीरिक, मानसिक र बौद्धिक शक्ति वृद्धि हुने र सत्कर्ममा चित्त लाग्ने विश्वास गरिन्छ ।
तुला तिमिल्सिना

नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पहिचानको पर्व म्हः पूजा आउने गर्छ । कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि (कछलाथ्व पारु) अर्थात् हलि तिहारको दिन यो पर्व मनाउने गरिन्छ । यसबेला आफ्नै शरीरको पूजा गर्दै आत्माशुद्धि पारिन्छ । यसले शरीरमा शान्ति प्रदान गर्छ । शरीरमा शान्ति भए मात्रै परिवार र समाजमा शान्ति छाउँछ ।

नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरिन्छ । यसबाट आत्मतत्त्वको बोध र स्वतत्वको उजागर हुने मान्यता छ । म्हः पूजाले सकारात्मक र जनउपयोगी काम गरे देवताझैं पूजनीय बन्न सकिन्छ भन्ने भाव दिन्छ ।

मानव शरीर जल, स्थल, वायु, आकाश र तेज जस्ता ५ प्राकृतिक तत्त्वहरुबाट बनेको हुन्छ । शरीरमा भएको रगतलाई जल, मासुलाई स्थल, श्वास प्रक्रियालाई वायु, शरीरभित्रको खाली भागलाई आकाश र पाचन शक्तिलाई तेज तत्त्वको रुपमा मानिन्छ । पूजामा दिने विभिन्न सगुन जस्तो कि माछाले जल, मासुले स्थल, बाराले वायु, अण्डाले आकाश र रक्सीले तेजतत्त्वको प्रतिनिधित्त्व गरेको हुन्छ । स्वस्थ शरीरमा पाँचै तत्त्वहरुले काम गरिरहेका हुन्छन् । कुनै एकले काम गरेन भने शरीर परिपूर्ण हुँदैन । त्यति मात्रै होइन, शरीर भित्रका तत्त्वहरु बाहिरका पञ्चतत्त्वसँग संयोजन हुनुपर्छ । यही दर्शनलाई आधार मान्दै म्हः पूजामा ५ चिजलाई महत्त्व दिइएको पाइन्छ । यस बेलामा मण्डपहरु पनि ५ ओटै बनाइन्छन् ।

नेपालका आदिवासीहरु निश्चित स्थानमा बसोबास गर्दै आएका छन् । त्यसैगरी नेवार समुदायको बसोबास पाल्पा, दोलखा, चित्लाङ, बनेपा, धुलिखेल लगायत विशेषगरी काठमाडौं उपत्यकामा रहेको छ । इतिहासअनुसार काठमाडौं उपत्यका तालको रुपमा थियो । महाचीनबाट आएका मञ्जुश्रीले यहाँको पानी चोभारबाट बगाएका थिए । त्यसपछि यो बसोबासयोग्य जमिन बन्यो । यहाँ नेवारी समुदायको बसोबाससँगै उनीहरुकै सभ्यता पनि सुरु भएको मानिन्छ । उनीहरुले नै मठ, मन्दिर, पाटी पौवाको निर्माण गरे । आफ्ना संस्कार र संस्कृतिका कला, जात्रा र चाडपर्वको थालनी गरे । म्हः पूजा पनि मनाउन आरम्भ भयो । यो पर्व कहिलेदेखि सुरु भएको यकिन नभएपनि लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ । बौद्धविद्वानहरुका अनुसार भने म्हः पूजा भगवती लक्ष्मीकरा (ई.७२९) बाट सुरु भएको हो । किंवदन्ती अनुसार परापूर्वकालमा ठूलो दैविक आपत्ति आइलागेको थियो । धेरै धन र जनको नोक्सान भयो । त्यसबाट जीवित रहेका नेवारी समुदायले आत्मसुरक्षाका लागि शरीरको पूजा (म्हःपूजा) गर्ने चलन चलाए भन्ने पनि विश्वास गरिन्छ ।

लक्ष्मीपूजाको भोलिपल्ट पर्ने म्हः पूजाका दिन नेपाल सम्वत् परिवर्तन हुने गर्छ । यस दिन नेवार समुदायमा न्हू दँया भिन्तुना (नयाँ बर्षको शुभकामना) आदनप्रदान गरिन्छ । नेपाल सम्वत्‌का प्रवर्तक शंखधर साख्वा हुन् । उनले जनताको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएका थिए । यस खुशियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवले वि.सं. ९३७ मा नेपाल सम्वत् सुरु गरेको इतिहास छ । त्यसैले विक्रम सम्वत् नेपाल सम्वत् ९३७ वर्ष पछि छ । यो सम्बत् राणा प्रधानमन्त्री चन्द्रशमसेरको पालासम्म सरकारी कामकाजमा चलेको थियो ।

यसैदिन हलि तिहार पर्छ । कृषि कार्यमा प्रयोग गरिने कुटो, कोदालो, कोदाली र हलोको पूजा हुन्छ । कृषिप्रधान हाम्रो देशमा खेतबारी जोत्ने गोरुको पनि पूजा गरिन्छ । त्यसैले यस दिनलाई गोरु तिहार पनि भनिन्छ । लक्ष्मीपूजाको दिन दिदीबहिनीले भैलिनी खेल्छन् भने यसदिन दाजुभाइले देउसी खेल्ने चलन छ । देउसी भैलोले रमाइलो गर्नुको साथै टोल र छरछिमेकमा द्वेष हटाउन र सद्भाव बढाउन सहयोेगी बनेको छ ।

त्यसैगरी द्वापरयुगमा श्रीकृष्णले गोबर्धन पर्वत उचालेर वृजबासीलाई जोगाएकोे स्मरणमा गोबर्धन पूजासमेत गरिन्छ । शास्त्रानुसार इन्द्रले भारी पानी वर्षाएर वृजबासीलाई आकुलव्याकुल बनाएको बेलामा श्रीकृष्णले आफ्नो कान्छी औंलाले पर्वत नै उचालेर ओत दिएका थिए । यसबाट इन्द्रको शेखी झरेको थियो । त्यसैले नेवारी समुदायको म्हः पूजाले पनि गोबर्धन पूजाकोझैं आफ्नो क्षमता प्रदर्शन गर्ने भाव देखाउँछ ।

म्हः पूजाका दिन बिहानै घर कोठाचोटा र वरिपरि सफा गरिन्छ । नुवाइधुवाई गरेर शरीर शुद्ध बनाइन्छ । परिवार मिलेर विभिन्न खाद्य परिकारहरु तयार पारिन्छन् । रातो माटोले पोतेर मण्डप बनाउने ठाउँमा सफा सुग्घर गरिन्छ । कमलको पात आकृतिको आठपाते मण्डपमा जल, पोताय् (सेतो रङ) र तेलका ३ वटा मण्डपहरु बनाइन्छ । त्यसलाई चामलको पिठो, कालो भटमास, चामल, लावा, मासको दाल र धानले सजाइन्छ । केरा, स्याउ, मौसम, बिमिरो, भोगटे, सुन्तला बयरलगायत फलफूलहरु पनि चढाइन्छ । नयाँ कुचो, नाङलो, कलश, सुकुन्डा, लोहोरोलाई देवताको प्रतिकको रुपमा राखिन्छ । फूलको माला र धुप बत्तीले मण्डप सजिसजाऊ पारिन्छ ।

म्हः पूजा साँझमा सुरु हुन्छ । मण्डलालाई अगाडि पारेर जेष्ठताको क्रमसँगै परिवारका सदस्यहरु लस्करै बस्छन् । बस्दा पूर्व वा पश्चितिर फर्कनु पर्छ । यो पूजा नकीं (घरकी मूल महिला) ले गर्ने परम्परा छ । चामलको पिठोबाट बनाइएको गणेशबाट आरम्भ गरी आफ्नो शरीरलाई विशेष पूजा गरिन्छ । यसबेला पुरुषको दायाँ र महिलाको बायाँ कञ्चटमा टीका लगाउने चलन छ । त्यसपछि सगुन र भोज खाने गरिन्छ । म्हः पूजाबाट शारीरिक, मानसिक र बौद्धिक शक्ति बृद्धि हुने र सत्कर्ममा चित्त लाग्ने विश्वास गरिन्छ ।

प्रकाशित : कार्तिक ९, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

प्रकृति र प्राणी

वातावरणसँग, जीव र वनस्पतिको अन्तरसम्बन्ध रहेको हुन्छ । वातावरणीय सन्तुलन कायम गरी भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । 
तुला तिमिल्सिना

काठमाडौँ — प्राणीहरूको जन्म वातावरणमा हुन्छ र वातावरणमै हुर्कन्छन् । उनीहरू वातावरणमा जिउँछन् र वातावरणमा नै विलीन हुन्छन् ।वातावरणसँग प्राणीको गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ । त्यसैले वातावरणलाई विश्वले दिवसकै रुपमा मनाउन थाल्यो ।

विश्वव्यापी रुपमा यो दिवस जुन ५ मा मनाइने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म स्टक होममा विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । त्यसको एक वर्षपछि सन् १९७३ देखि जुन ५ मा यो दिवस मनाउन थालिएको हो ।विचमा केही वर्ष छुटे पनि वातावरण दिवस मनाउने क्रम चलिरहेको छ; चलिरहने छ ।

यसको उद्देश्य वातावरण संरक्षका लागि विश्वभर राजनीति र सामाजिक जनचेतना जगाउनु हो । यसको मूलभूत लक्ष्य भनेको स्वच्छ वातावरण पुस्तान्तरण गर्नु र भावी सन्ततीलाई प्रकृतीप्रेमी हुन सिकाउनु नै हो । वातावरण दिवसका अवसरमा वातावरणका समस्या समाधान र संरक्षणका लागि जागरण र चेतना जगाउने अभियानका कार्यक्रमहरू हुन्छन् ।

वार्षिक रुपमा मनाइने वातावरण दिवसमा समसामयिक नारा तयार गरिन्छ । सन् १९७३ मा ‘वातावरण बचाऊँ र जीवयुक्त पृथ्वी बचाऊँ’ भन्ने नारा थियो; यसपालि सन् २०२२ को ‘केवल एक पृथ्वी’ भन्ने छ । विश्व वातावरण दिवसको जिम्मेवारी भने स्विडेनले लिएको छ । यसैगरी हाम्रो देश नेपालले पनि यस अवसरमा संयुक्त राष्ट्रसंघसँग मिल्दो नारा तयार पार्ने गर्छ । २०७६ सालको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक पुनःस्थापना’ थियो भने यस वर्षको ‘पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने छ ।

जीवन र प्रकृतिबीच गहिरो अन्तरसम्बन्ध रहेको हुन्छ । स्वच्छ वातावरण भएन भने प्राणी जगतको अस्तित्व संकटमा पर्दै जान्छ । वातावरणमा माटो, हावा र पानी रहेका हुन्छन् । यिनै तत्त्वहरूको कारणले जीव र वनस्पतिको अस्तित्व रहेको हुन्छ । यी तत्त्वहरू असन्तुलित भएमा मानव र अन्य प्राणीलाई बाँच्न मुस्किल हुन्छ ।

हावामा धुँवा, धुलो र विषालु ग्याँसहरू मिसिने क्रम बढ्दो छ । यसले गर्दा वायू प्रदूषित भई कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन र मिथेनजस्ता घातक ग्यासहरू वायुमण्डलमा बढिरहेको छ । यसले पृथ्वीको तापक्रम बढ्दै जाँदा ओजन तहको विनाश हुन्छ । सूर्यको परावैजनी विकिरणलाई ओजन तहले रोक्ने गर्छ । यदि यो विकिरण सिधै पृथ्वीसम्म आउने हो भने क्यान्सर, प्लेगजस्ता घातक रोगले सताउने र अपांगता भएका बच्चाहरू जन्मने चेतावनी वैज्ञानिकहरुले दिँदै आएका छन् ।

विश्वमा नै वातावरणलाई दूषित बनाउने क्रम बढ्दो छ । तालहरूमा ढल मिसाइएका छन् । अस्पताल, कलकारखानाबाट निस्किएका फोहोर र खेतीमा हालिएका कीटनाशक औषधि खोलानाला हुँदै समुद्रसम्म पुग्ने गरेका छन् । सवारीसाधन र कलकारखानाबाट आउने आवाजमा कमी आएको छैन । यसले कानको श्रवण शक्तिदेखि मानसिक र स्नायु प्रणालीमा समेत असर पुग्ने विज्ञहरू बताउँछन् । जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा खडा भएको छ । पृथ्वीको बढ्दो तापक्रम, बेमौसममा भारी वर्षा र तीव्र रुपमा चल्ने हावाहुरीले प्राणीलाई असर पुर्‍याउने क्रम बढेको छ ।

नेपाललगायत विश्वका सबै मुलुकमा यस्ता असरहरू देखा परेका छन् । बेलाबेलामा अम्लीय वर्षा, आधिबेहरी, बाढीपहिरो र सुनामीले क्षति पुर्‍याउने गरेको छ । मरुभूमीकरणले अन्नबालीमा कमी आई खाद्यान्नमा संकट आउने स्थिति देखा परेको छ । मुहान सुक्दा पानीको हाहाकार बढ्दो छ । विश्वमा वातावरणीय चुनौती दिन प्रतिदिन चुलिँदो छ । पृथ्वीमा रहेका प्राणी, वनस्पति र निर्जीव वस्तुहरूको अन्तरसम्बन्ध रहेको जैविक विविधतामा संकट देखा पर्न थालेको छ ।

ती वातावरणीय समस्या र चुनौतीको समाधानका लागि योजना र कार्यक्रम तर्जुमा गरीे निराकरणतर्फ लाग्न जरुरी भइसकेको छ । रुख बिरुवालाई माया गरेर हुर्काउन र पानीको स्रोतलाई जर्गेना गर्न अग्रसर हुनुपरेको छ । विकास गर्दा पर्यावरणमैत्री हुनुपर्छ, नत्र त्यसले विनाश ल्याउँछ ।

अर्गानिक खेतीमा जोड दिने, सिमसार क्षेत्र संरक्षण गर्ने, वर्षाको पानी संकलन गरी प्रयोग गर्ने, डोजर र स्क्याभेटरको प्रयोग कम गर्ने, फोहोर मैलाबाट कम्पोस्ट मल बनाएर खेतीमा प्रयोग गर्ने रप्लास्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याउने कामलाई आजैबाट सुरु गर्नुपर्छ । नविकरणीय ऊर्जाको स्रोतमा जोड दिने, विद्युत् र सोलारको अधिक प्रयोगमा लाग्नुपरेको छ ।

पर्यावरण प्रदूषण गर्नेलाई दण्ड-सजाय, संरक्षण गर्नेलाई पुरस्कार दिने व्यवस्था लागू हुनुपर्छ । जलवायू परिवर्तनको असर, वातावरण संरक्षणको महत्त्व र उपायहरूबारे जनचेतना फैलाउन जरुरी छ । सबै मिलेर वातावरणीय सन्तुलन कायम गरी भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने प्रण गर्नु आजको आवश्यकता हो । गिनिज बुक्स अफ वर्ल्डस् रेकर्डमा दर्ता भएको मेलानकोली गीतले पनि वातावरण जोगाउन यही संकेत गर्छ ।

जल, जमिन, जंगल हुन्, प्रकृतिका सम्पदा ।

आजैदेखि सोचौं, बुझौं, बुझाऔं सबलाई यी कुरा ।।

नेपालको संविधानले पनि स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ जस्ता ऐन कानुनहरू बनेका छन् ।

स्वस्थ्य वातावरणका लागि जनचेतना अभिवृद्धि गरी विश्व वातावरणमैत्री, प्रकृतिसँग मेलमिलाप, हरियाली जीवनशैलीमा जोड दिन सके प्राणीको सन्तुलित दीर्घ जीवन कायम रहन्छ । अब वातावरण मापदण्डसहित नियमन र नियन्त्रण गर्न अग्रसर हुनुपर्छ ।

विश्वसामु देखा परेका वातावरणीय समस्या र चुनौतीबाट नेपाल पनि अछुतो छैन । हाम्रा कयौं धार्मिक परम्परा र सामाजिक चालचलन वातावरणमैत्री पनि छन् । यिनीहरूलाई दैनिक जीवनमा अनुसरण गर्नाले वातावरण संरक्षणमा योगदान पुग्दछ ।

धार्मिक रुपमा वरलाई ब्रह्मा, पिपललाई विष्णु, समीलाई शिवको रुपमा पुजिने र देवीको रुपमा लाँकुरीको रुख लगाउने चलन छ । गौतम बुद्धले पिपलको रुखमुनि बोधिसत्त्व तथा ज्ञान प्राप्त गरेका हुनाले बौद्ध धर्ममा पनि पिपललाई महत्त्वका साथ लिने गरिन्छ । कतिपय स्थानमा मरेर गएका मानिसको चिनोको रुपमा वरपीपल रोप्ने चलन छ । कतिपयले आमा बाबुको सम्झनामा वरपीपल लगाएर चौतारो बनाउने गर्छन् ।

जीव र वनस्पति दुवैलाई श्वासप्रश्वासका लागि चाहिने अक्सिजन भनेको वनस्पतिले दिउँसो खाना बनाउने प्रक्रिया फोटोसेन्थेसिसबाट प्राप्त हुन्छ । वरपीपलले उम्रने बेलामा रातिमा समेत अक्सिजन निकाल्ने गर्दछ । त्यसैगरी मरुभूमिमा पाइने घिउकुमारी र केतुकीले पनि रातमा अक्सिजन निकाल्ने गर्छन् । वर‚ पीपल, समी र तुलसी धेरै अक्सिजन दिने बोटबिरुवा हुन् । एउटा वरले अन्य रुखभन्दा करिब १० गुणा बढी अक्सिजन दिन्छ । वर-पिपलका जराहरू टाढाटाढासम्म फैलिएर जमिन भत्काउने भएकाले चौतारा, भन्ज्याङ, मठ मन्दिरको आसपासमा रोपे पनि घर नजिक रोप्ने गरिँदैन ।

वर-पीपलको छहारीमा वरपरको भन्दा करिब ४ डिग्री सेन्टीग्रेड तापक्रम कम हुने तथ्य छ । यसले ध्वनीलाई ७ गुणाले घटाउन सहयोग पुर्‍याउँछ । वर-पीपलले माटोको उर्वरापन बढाउँछ; भूक्षय रोकेर वन जंगल जोगाउन सहयोगी हुन्छ; त्यसैले हामी पनि धर्म कमाउन र वातावरण संरक्षण गर्न जीवनमा एक जोडी बर पीपल लगाउने सोच गर्ने हो कि !

प्रकाशित : जेष्ठ २२, २०७९ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×