कालोबजारी नियन्त्रणमा सचेत हुन उपभोक्तालाई विज्ञहरूको सुझाव

काठमाडौँ — दैनिक उपभोग्य बजारमा हुने अनियमितता, ठगी र अगाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाहरूले सुझाव दिएका छन् ।

उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरूले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए ।
दसैं, तिहार, छठलगायत चाडपर्वमा मात्रै नभएर अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी नियकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरूको सुझाव छ ।
कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औंल्याए । उनले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए ।
पूर्वसचिव बास्कोटाले भने,'बजारमा दण्डहीनताको अवस्था बढेको छ । यसको मारमा उपभोक्ता छन् । त्यसैले उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ ।' उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मीति, मूल्य सूचीलगायत विषयमा सचेत हुनुपर्ने बताए ।
पूर्वसचिव डा हरी दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी नियकाले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाई वर्षभर सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।
वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागिपरेको भन्दै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक हित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवम् संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कृषि बाली व्यवसाय प्रवर्द्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियानता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र बिक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मीहरू लाग्नुपर्नेमा जोड दिएका थिए ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफै सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।
उपभोक्ता जागरण अभियानको नयाँ कार्यसमिति
साधरणसभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमिति समेत चयन भएको छ । मञ्चको उपाध्यक्षहरूमा सुशीला कुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणि पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सहसचिवमा बद्री विशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाईं तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन् ।
साधारणसभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईंको प्रतिवेदन पारित गरेको थियो ।
