कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

‘नेपालको उत्कृष्ट पक्ष महिला सहभागिता हो’

यस वर्ष मुस्ताङ जानुपर्ने भएको छ । किनभने, मुस्ताङलाई न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने स्थानका रूपमा सूचीकृत गरेको छ

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक हो, पाकिस्तान । पाकिस्तान र नेपालबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् १९६३ मा दुवै मुलुकले एकअर्को देशमा दूतावास खोल्ने निर्णय गरेलगत्तै नेपालले इस्लामावाद र पाकिस्तानले काठमाडौंमा दूतावास स्थापना गरेका थिए । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध सुमधुर छ । सार्कमा मिलेर काम गरिरहेका छन् ।

‘नेपालको उत्कृष्ट पक्ष महिला सहभागिता हो’

द्विपक्षीय सम्बन्धलाई थप बलियो र सशक्त बनाउने जिम्मेवारी बोकेर काठमाडौं आएका नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हासमीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो ? यहाँको भौगोलिक अवस्थाबारे यहाँको धारणा ?

गत वर्षको अप्रिलमा म पछिल्लो पटक नेपाल आएको हुँ । मिति नै तोकेर भन्नु पर्दा अप्रिल १० अर्थात् हामीले मनाउने मुख्य चाड इदभन्दा चार दिनअघि नेपाल आएको थिएँ । हामीले बूढानीलकण्ठमा इद मनायौं । राजदूतका रूपमा काठमाडौं आउनुभन्दा अघि नै मलाई नेपालका बारेमा थाहा थियो । किनभने, यसअघि म तीन पटक नेपाल आइसकेको छु । नयाँदिल्लीमा जिम्मेवारी निर्वाह गरिरहेका बेला र पानीसम्बन्धी क्षेत्रीय कार्यक्रममा सहभागी हुने सिलसिलामा म नेपाल आएको थिएँ । सार्कको पानीसम्बन्धी ‘हिमालय र थर्ड पोल’ संवादमा सहभागी हुनका लागि काठमाडौं हुँदै भुटान गएको थिएँ । यहाँको हावापानी एकदमै राम्रो छ । म पाकिस्तानको तल्लो हिमालय क्षेत्रबाट प्रतिनिधित्व गर्छु । यहाँ र त्यहाँको हावापानीमा खासै फरक छैन । मेरो आफ्नो सहर पाकिस्तानको एबटाबाद हो । यो इस्लामावाददेखि उत्तरमा पर्छ । त्यहाँ र काठमाडौंको हावापानी झन्डैझन्डै उस्तै छ । हाम्रोमा भन्दा काठमाडौंमा जनघनत्व बढी छ । यहाँभन्दा हाम्रोमा अलिक बढी चिसो छ । हिउँ पनि धेरै पर्छ । नेपालमा आएर बस्दा मलाई आफ्नै घरमा बसेको अनुभव भइरहेको छ । पाकिस्तानका हिमालहरूमा सल्लोका रूख र त्यसको हावाको बहाव सुनिन्छ । धेरैलाई यो थाहा नहुन पनि सक्छ– पाकिस्तानी क्षेत्रमा टिमुर राम्रै उत्पादन हुन्छ । नेपालमा जस्तै पाकिस्तानमा पनि टिमुर खाने उत्तिकै छन् ।

नेपालमा काम गर्दा तपाईंले धेरै मानिससँग भेट गर्नुभयो । त्यस दौरान नेपाली मनहरू कस्तो पाउनुभयो ?

नेपालीहरू धेरै मायालु स्वभावका छन् । उनीहरूको आतिथ्यता पनि उस्तै राम्रो छ । नेपाली र पाकिस्तानीहरूको आतिथ्यतामा समानता देख्छु । दुवै उत्कृष्ट रूपमा आतिथ्यता गर्न मन पराउँछन् । नेपालीहरू मित्रवत् छन् । उनीहरू नेपाल र पाकिस्तानको सम्बन्धलाई धेरै माया र सत्कार गर्छन् । दुई मुलुकबीचको जनस्तरको सम्बन्ध पनि उत्कृष्ट रहेको छ । हामीले नेपाललाई धन्यवाद दिनुपर्छ । साथमा पाकिस्तानले पनि आफ्नो काम गरिरहेको छ । हामीले सामान्य अवस्थामा र संकटका बेलामा पनि असल मित्रका रूपमा काम गरिरहेका छौं । यसले पनि दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ बनाइरहेको छ जस्तो लाग्छ ।

नेपालको मौसमबारे यहाँको धारणा ?

नेपालको मौसमका बारेमा कुरा गर्दा मलाई पाकिस्तानको मौसमको पनि कुरा गर्न मन लाग्छ । पाकिस्तानमा चार सिजन छन् । जुन लामो समयावधिका हुन्छन् । तर, नेपालमा छोटो अवधिका छन् । पाकिस्तानको भूगोल उत्तर–दक्षिणतर्फ फैलिएको छ भने नेपालको भूगोल पूर्व–पश्चिमतर्फ फैलिएको छ । पाकिस्तानको दक्षिणी क्षेत्रमा लामो गर्मीयाम र सुक्खा हुन्छ । र, उत्तरमा लामो जाडोयाम चल्छ । तर नेपाल पूर्व–पश्चिम फैलिएको हुनाले सिजनहरू छिटो परिवर्तन हुन्छन् । नेपालमा धेरै तातो र धेरै चिसो हुँदैन, त्यसैले यहाँ बस्नका लागि धेरै आनन्द छ ।

तपाईंलाई मन पर्ने नेपाली खाना ?

म यहाँ रेस्टुरेन्टकै नाम लिन त चाहन्नँ । तर यो सहरमा मलाई मन पर्ने रेस्टुरेन्ट त्यो हो, जहाँ नेपाली खाना पाइन्छ । विशेष गरी नेपालमा जसरी खाना दिइन्छ, त्यसैगरी पाकिस्तानमा पनि दिने गरिन्छ । घरेलु घिउलाई खानामा माथिबाट हालिन्छ, पाकिस्तानको उत्तरी क्षेत्रमा पनि त्यही गरिन्छ । पाकिस्तानमा पाइने खाना पनि नेपाली हावापानी सुहाउँदा छन् । नेपालमा पाइने मःम र मुस्ताङी आलु स्वादिला लाग्छन् । मुस्ताङी आलुमा पाकिस्तानको टिमुर हालेर खाँदा अझ उत्कृष्ट स्वाद मिल्छ । हिमाली क्षेत्रको हावापानीमा पाइने आलुको स्वाद नै फरक हुन्छ ।


नेपाली चालचलन र रीतिरिवाजलाई लिएर कस्तो धारणा बनाउनुभएको छ ?

नेपाल दक्षिण एसियाकै ऐतिहासिक परम्परा भएको मुलुक हो । आफ्ना चालचलन र रीतिरिवाजलाई नेपालीहरूले आफ्नो मनको नजिकै राखेका हुन्छन् । खाना, भेषभूषा, दैनिक काम, संस्कृति, सहरका केन्द्रमा जम्मा भएर कुराकानी गर्ने चलन, सँगै बसेर चिया खाने लगायतका परम्परा उत्कृष्ट लाग्छ । त्यो नै नेपाली जनताको बलियो पक्ष हो । मुलुक आधुनिकीकरणमा प्रवेश गरे पनि परम्परा जीवन्त छन् ।

तपाईं नेपाली चाडपर्व कत्तिको मनाउनुहुन्छ ? मनपर्ने कुनै चाडपर्व ?

मैले गत वर्ष दसैं र तिहार मनाउन पाइनँ । यसपालि मनाउने कार्यतालिका बनाएको छु । जब जनताले आफ्नो परम्परालाई मन पराउँछन् भने चाडपर्व त्यसका पक्ष हुन् । जनतालाई एकीकृत गर्नका लागि त्यो पनि एउटा रमाइलो कार्य हो । समुदायको भावना चाडपर्वमा झल्किन्छ । नेपालमा मनाइने चाडपर्व निकै आकर्षक पनि छन् ।

तपाईं नेपाली भाषा बोल्न सक्नुहुन्छ ? नेपालमा बोलिने भाषाबारे कत्तिको जानकारी राख्नुभएको छ ?

म नेपाली भाषा सिक्दै छु । धन्यवाद र नमस्कारसम्म भन्न सक्छु । त्यसबाहेक धेरै आउँदैन । धेरै नेपाली शब्द भने म बुझ्न सक्छु । जब नेपाली भाषा बोलिरहेको सुन्छु, त्यसको आधा अर्थ बुझ्छु । तर, बोल्न भने सक्दिनँ । किनभने, उत्तरी पाकिस्तानमा उर्दु र हिन्दी बोल्छन् । जुनसँग नेपाली भाषाका शब्द मेल खान्छन् । तर, जब नेपालका युवा कुरा गर्छन्, उनीहरूले धेरै अंग्रेजी शब्द मिसाएर बोल्छन् । त्यसबेला नेपाली बुझ्न सहज हुन्छ । तर, मैले नेपाली भाषा पढ्न धेरै बाँकी छ ।

नेपाली गीत–संगीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मनपर्ने कुनै नेपाली गीत ?

म नेपाली गीत–संगीत सुन्छु । बिहानदेखि समय मिल्नेबित्तिकै म रेडियोमा नेपाली गीतहरू सुनिरहेको हुन्छु । नेपाली संगीत सुमधुर लाग्छ । नेपालको राष्ट्रिय गान त उत्कृष्ट नै छ । म यो पनि भन्छु कि नेपाल र पाकिस्तानबीचमा धेरै पुराना नाटक, संगीत लगायतका विषय आदानप्रदान गर्नुपर्छ । किनभने, हामीबीचमा धेरै समानता छन् ।


तपाईं नेपाली साहित्यबारे कत्तिको जानकार हुनुहुन्छ ? सबैभन्दा मनपर्ने कुनै साहित्यिक कृति ?

हामीले राष्ट्रियस्तरमा केही काम गरेका छौं । तिनमा समानता पनि छ । राष्ट्रिय सम्पदाका क्षेत्रमा काम गरेका छौं । हामीले केही किताब बुद्ध सम्पदाका बारेमा प्रकाशित गरेका छौं । जसलाई हामीले पाकिस्तानको बुद्धको सम्पदाका रूपमा पनि निकालेका छौं । साथै, हामीले दुई मुलुकबीचको ऐतिहासिक पाटोलाई झल्काउने रूपमा अन्य विभिन्न पक्षलाई समेटेर पुस्तक निकालेका छौं । त्रिभुवन विश्वविद्यालयमा पाकिस्तानका बारेमा अध्ययन हुने पनि व्यवस्था थियो, त्यसबेला आधा दर्जन पुस्तक नेपालीबाट उर्दु र उर्दुबाट नेपालीमा उल्था गरिएको थियो । तत्कालीन अवस्थामा त्रिभुवन विश्वविद्यालयले पाकिस्तान डेस्क बनाएर एक जना उर्दु र राजनीतिकशास्त्रका प्राध्यापकलाई नियुक्त गरेको थियो ।

तपाईंले हेर्नु भएको नेपाली चलचित्र ?

मैले नेपाली फिल्म हेरेको त छैन तर फिल्मका ट्रेलरहरू भने हेरेको छु । यो एकदम चलायमान उद्योग हो । यसमा मैले धेरै फ्युजन पनि देखें । साथै, अन्तर्राष्ट्रिय फिल्महरू पनि यहाँका हलहरूमा देखाएको पाएँ । मलाई एउटा कुराले आकर्षण गर्‍यो । त्यो हो, नेपालका फिल्म क्षेत्रको विकासका लागि फिल्म हलहरूमार्फत लिइने लेबी । उक्त रकम नेपालको फिल्म क्षेत्रको विकासका लागि प्रयोग गर्नु राम्रो काम हो ।

नेपालका कति ठाउँको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मनपर्ने नेपाली गन्तव्य ?

केही समयअघि चितवन घुमेर फर्कें । त्यसपछि सगरमाथा क्षेत्र हेर्न गएँ । नगरकोट, धुलिखेल र चन्द्रागिरि पनि गएको छु । यी सम्पूर्ण स्थान एकदमै उत्कृष्ट लागे । यसले के देखाउँछ भने नेपाल साँच्चै नै सुन्दर छ । साथै, हरेक दिन म शिवपुरीमा हिँड्ने गर्छु । म बूढानीलकण्ठमा बस्छु । शिवपुरीमा यात्रा गर्दा मलाई निकै आनन्द लाग्छ । मलाई नेपालका अन्य क्षेत्र पनि घुम्ने मन छ । यस वर्ष मुस्ताङ जानुपर्ने भएको छ । किनभने, केही समयअघि मात्र मुस्ताङलाई न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने स्थानका रूपमा सूचीकृत गरेको छ । आशा गरौं, यो वर्ष मुस्ताङमा धेरै पर्यटक आउनेछन् ।


नेपाली कला–संस्कृतिबारे तपाईंको धारणा ?

काठमाडौंको नाम आफैंमा काठबाट सिर्जित कला हो । यहाँको जस्तो काठमा बुट्टा भर्ने कला मैले संसारका अन्य कुनै पनि क्षेत्रमा देखेको छैन । काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रहरू निकै लोभलाग्दा र उत्कष्ट छन् । साथै, यी सम्पदालाई

नेपालले राम्रोसँग संरक्षण पनि गरेको छ । साथमा यी सम्पदाहरू विश्व सम्पदा क्षेत्रको सूचीमा पनि सामेल छन् । दक्षिण एसियाली क्षेत्रमै यहाँको पर्यटन, सम्पदा र संस्कृतिको महत्त्वपूर्ण भूमिका छ । नेपाली माटोका भाँडामा जुन कलात्मक प्रयोग छ, ती ज्यादै लोभलाग्दा छन् । नेपालमा काठ र माटोका भाँडामा कुँदिएका बुट्टा उत्कृष्ट छन् । नेपालको अर्को उत्कृष्ट पक्ष भनेको महिला सहभागिता हो, जुन दक्षिण एसियामै सबैभन्दा बढी छ ।



प्रकाशित : माघ २०, २०८० ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×