कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कविता : यो अश्लील सत्ता कसको हो ?

यादव देवकोटा

काठमाडौँ — हिजो,

दुई तल्ले माटे घर

ट्याङ्कामा केही हजार रकम

केही मुरी धान फल्ने खेत र पाखोबारी

गाउँमा त्यत्ति भएको मानिसलाई सामन्त भन्नेहरु को थिए ?

सामन्त भन्दै तिनको टाउको गिँड्नेहरु को थिए ?

कविता : यो अश्लील सत्ता कसको हो ?

आज,

सबैभन्दा आलिसान महल

सबैभन्दा महँगो जीवनशैली

एकसाथ आधा दर्जन गाडीको ताँती

विदेशी अस्पतालमा उपचार

विदेशी रिसोर्टमा ऐस–आराम

सहरमा यो सब व्यवस्था जुगाड गरिसकेकाहरु को–को हुन् ?


हिजो

गरिखानेको व्यवस्था

श्रमजीविको सरकार

सर्वहाराको संसार

शिक्षा, स्वास्थ्य, रोजगार

मजदुर, किसान, हरितन्नमहरुको अधिकार भन्दै

सपना बेच्नेहरु को थिए ?


आज,

युगीन संकटको दिनमा

सत्ता भनेको फगत लास गन्ने

संवेदनाहीन मेसिनमात्रै हो भन्नेहरु को–को हुन् ?


हातमै नाम्लो च्यापेर

सडकपेटीमा मरिरहँदा सूर्यबहादुरहरु

देशमा कोही भोकै मर्दैन भन्दै

अश्लील गफ बेच्ने सत्ता कसको हो ?


उपचारको रकम तिर्न नसकेर नागरिकहरु

अस्पतालबाट आफन्तको शव बुझ्न सक्दैनन् !

गोजीमा केही हजार चुनदाम नहुँदा

खसेको पाठेघर च्यापेर क्यान्सर उमारिरहँदा आमाहरु

महामारीको दिनमा किनिएको स्वास्थ्य सामाग्रीमा

कमिसनको हिसाब जोडिरहेको सत्ता कसको हो ?


कलिला नानी ढाडमा बाँधेर

खाली खुट्टा हप्ता दिन लामो बाटो हिँडेका

आमाहरु कहाँका हुन् ?

पेटको भोकको राँको खप्न नसकेर

एक प्लेट भातको लागि

खुलामञ्चमा ओइरिएका नागरिक कहाँका हुन् ?

यी निरीह भोका पेटहरुलाई

समृद्धिको ठट्टा सुनाउने शासक कसको हो ?


सत्तामा सवार यो निर्लज्जतालाई

खसाउन अश्लीलताको घोडाबाट

गरिखानेहरुले

‘पाखुरी’को खिया टक्टक्याउने कहिले हो ?

प्रकाशित : कार्तिक ६, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?