कथा : पटाक्षेप - दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथा : पटाक्षेप 

पद्मावती सिंह

काठमाडौँ — कति नरमाइलो त्रासाद दिन भोग्न परेको होला ! कसैले कल्पनासमेत गर्न सकेका थिएनन्, कुनै दिन यस्तो पनि आउँछ मान्छेहरु घरमै थुनिएर कैदीझैं जीवन बिताउन पर्छ भनेर । 

कहाँबाट यो कोभिड– १९ को माहामारी विश्वलाई तहसनहस गर्न आयो । यसले संसारभरि उधुम मच्चाई कतिको ज्यान लिइसक्यो । मान्छेलाई त्राही–त्राही गरी यसले विश्व भ्रमण गरिरहेको छ । ६० वर्ष नाघेका डाइबेटिजको रोगी हुनाले म ५ महिना भो घरमा थुनेको थुनियै छु । अनलाइनबाट किनमेल गरी घरमा कैदी जीवन बिताउन बाध्य छु ।

श्रीमतीजी छोरीको सुत्केरी स्याहार्न बिलायत गएकी लकडाउनले गर्दा उताको उतै छिन् । आज खुल्ला, भोली खुल्ला भनी ५ महिना बितिगो, कोरोनाको संत्रास कतिञ्जेल कायम हुने हो केही थाहै छैन । जताततै यही कोरोनाको चर्चाबाहेक केही सुनिँदैन । टिभी र समाचार सुन्दा अब त एलर्जी भइसक्यो । कोरोनाको बारे फेसबुक र मिडियाहरुको गन्थन पनि कति हो कति... !

अब हेर्नुस् न, जीवन कति निरस र उदेकलाग्दो भएको छ । न कसैकहाँ जानु, न कोही आफूकहाँ आउनु..., कोही आउलान् भनेर डराउनु पर्ने...! आफन्तदेखि पनि टाढै बस्नु पर्ने । योजस्तो दुखद् र त्रासद स्थिति कुनै हुन सक्छ र... !!

अब त आफन्त भन्नु नै मोबाइलमात्र हो । सुत्नुभन्दा पहिले उही मोबाइल, फेसबुक, युट्युब र टिकटक नहेरी निन्द्रै लाग्दैन । टिभीमा समाचार सुन्नु भने उही कोरोनाका खबर, अखबारमा पनि त्यही चर्चा कोरोनाको कहर । चर्चा सुन्दासुन्दा कानै पाकिसक्यो । अब त संसार कोरोनामय भइसक्यो ।

यहीबीच एउटा अनौठौ घटना घट्यो मेरो जीवनमा ।

बिहान चिया खाएर कौसीमा टहलिएरहेको थिएँ । एक्कासी मेरो आँखा पल्लो घरको कौसीमा तरकारी केलाएर बसिरहेकी छिमेकीका गएर टाँस्सिए ।

उनी नुहाईधुवाई पुजापाठ गरी तरकारी केलाइरहेकी मैले सधैँ देख्थें । उनी केही न केही गरिरहेकी हुन्थिन् । श्रीमान जवानीमै बितेकी एउटी छोरी विदेशमा पढ्न गएकी उतै घरजम गरेर बसेकी हुँदा उनी एक्लै बस्छिन् । तलको तल्ला बहालमा दिई गुजारा गरिरेहेकी छिन् । उमेर ५०/५५ को गोरी अलि डल्ली भए पनि राम्री नै देखन्छिन् ।

मेरो आँखा केहीबेर उनको अनुहारमा टाँस्सिइरह्यो ।

उनले अनुहार उठाएर ‘सञ्चै हुनुहन्छ ?’ भनेर आज मसित बोलिन् ।

‘सञ्चै छु,’ मैले जवाफ दिएँ ।

‘उता बिलायतमा सबैलाई कुसल मंगल त होला नि !’

‘राम्रै छन् । लकडाउनले गर्दा उतै हुनाले मलाई धेरै गाह्रो भा’छ ।’

‘तै त, एक्लो लोग्नेमान्छेलाई पकाई खान त गाह्रो नै भो होला ।’

‘हुनसम्म भएको छ । तर के गर्नु परिस्थिति नै यस्तो भएपछि कस्को के लाग्छ र ?’

‘तै त, कहिल्यै नचिताएको परिस्थिति सिर्जना भएको छ । म पनि छोरीकहाँ जाऔं भनेर सबै मिलाएकी थिएँ, लकडाउनले गर्दा यतै गुम्सिएर बस्नु पर्‍या छ ।’

आज हामीबीच लामै कुराकानी भो । पहिले पनि यसो कुराकानी त हुन्थ्यो तर अति संक्षिप्तमात्र भलाकुसारीमा नै टुङ्गिन्थ्यो हाम्रो कुराकानी ।

हाम्रो बोल्ने सिलसिला धेरैबेर जारी रह्यो । आज उनले मसित खुलेर कुरा गरिन् । लकडाउनले कसैसित कुरा गर्न नपाएका हामी दुईलाई एकअर्कासित संवाद गर्न पाउँदा धेरै रमाइलो अनुभव भयो । कुराकानी गर्न नपाई उकुसमुकुस भइरहेकोले होला उनले पनि रमाइलो अनुभव गरिन् होल् ी।

अब एक प्रकारले कौसीमा चिया पिउँदै एकअर्काका मनमा कुरा गरी हामीले धेरै सन्तोष अनुभव गर्न थाल्यौं । एक प्रकारले कौंसीमा बसी कुराकानी गर्ने हाम्रो आदत नै बस्यो । उनी चिया हातमा लिएर मेरो बाटो हेर्थिन् भने म पनि हातमा चिया बनाएर कौंसीमा पुगिहाल्थें ।

कुन्नी कस्तो आनन्द हो यो...?! यो उमेरमा विपरित लिङ्गीप्रतिको सानिध्य पाउने लालस... । श्रीमतीले छाडेर गएकी ६ महिना भइसकेकोले उनको अनुपस्थिति साह्रै खड्किरहेको बेला एउटी बोलीचाली गर्ने सङ्गिनी भेटिनु साह्रै सुखद् प्रतीत हुँदो रहेछ !

हामीबीच युवा–युवतीको जस्तो दैहिक आकर्षण थिएन– मात्र एक आत्मीयताको आभासले हामीलाई एक अर्काप्रति आर्कषित गरेको थियो । सायद एक्लोपनले हामीलाई नजिक्याएको होला । मैले दाल भात र मासु खाने रहर व्यक्त गरें, उनले राम्ररी पकाएर मकहाँ ल्याई दिइन् । त्यसो त मेरो श्रीमतीसित भेटघाट गर्न उनी दुई चारचोटी घरमा नआएकी होइनन् तर उनको अनुपस्थितिमा पहिलोचोटि आएकी थिइन्— राम्रै पहिरन र कोरीबाटी छरितो भइकन ।

त्यस दिन मलाई उनले पकाएको खाना यति स्वादिष्ट लाग्यो कि मैले खुद आनन्द मानी अघाउञ्जेल खाएँ र हार्दिक धन्यवाद दिएँ । आफ्नो खानाको तारिफ सुनी उनी फुरुङ्ग भइन् ।

‘तपाईंलाई पकाउन दुःख भए बिहान–बिहान म पकाइ दिउँला नि ! आखिर मलाई पकाउन परी हाल्छ ।’

‘तपाईंलाई दुःख दिन चाहन्न ।’

‘केही दूःख हुन्न, बरु खुसी नै हुन्छ ।’

‘हो र...!’ उनको आँखामा खुसी झुलुक्क झुल्किएको देखें ।

‘हुन्छ नि त... तर एउटा शर्तमा ।’

उनले प्रश्नसूचक दृष्टि मतिर फ्याँकिन् ।

‘सित्तै खान्न म ।’

उनले केही बोलिनन् । मात्र मुस्कुराइन् ।

एक महिना जति उनले बिहान पकाएर खुवाइन् । रातिचाहिँ आफैं खान्थें । उनले खाना पकाई हटकेसमा राखी कौसीबाट दिन्थिन् । म कौसीबाट हटकेस लिई कौसीमै बसी खान्थें ।

खाउञ्जेल उनी कौसीमा बसिरहन्थिन् । मैले खाइसकेपछि बल्ल उनी खान तरखर गर्थिन् । राति उनको कोठामा पर्दा खुल्लै हुन्थ्यो । उनी टिभी हेरी बत्ती कातिरहन्थिन् । म पनि आफ्नो कोठाको झ्याल खुल्लै राखी टिभी हेरिरहन्थें ।

उनले झ्याल बन्द गरी बत्ती निभाएपछि म पनि झ्याल बन्द गरी बत्ती निभाउँथे । एवं रीतले मेरो जीवनमा सुगन्ध फैलिन थाल्यो । यो अति आत्मीय र सुखद् अनुभूति थियो ।

यसरी एक महिना बितिगो । हामीबीचको सम्बन्ध केही गहिरियो ।

लकडाउन खुल्यो ।

एक महिना खाएको मूल्य कसरी चुकाऊँ भन्ने सोचमा परें ।

मास्क लगाई पहिलोपल्ट लकडाउन खुलेपछि बजार गई एउटा हरियो सिल्क साडी किनी भोलि बिहानको प्रतीक्षा गरें ।

उनी हटकेस लिई कौशीमा देखा परेपछि मैले साडीको प्याकेट उनीतिर बढाइ आभार प्रकट गरे ।

उनले लिन अनकनाइन् ।

‘एउटा उपहार सम्झी लिनुहोस् । तपाईले लिनु भए मलाई धेरै खुसी मिल्ने छ,’ मैलै अनुरोध गर्दै भनें ।

उनी मुस्कुराइन् ।

‘धन्यवाद’ भनिन् र हटकेस मेरो हातमा राखी दिइन् ।

मेरो खुसीको सीमा रहेन । भोलि बिहान उनी त्यही साडी लगाई कौसीमा चिया पिइरहेको देख्दा म साह्रै मुग्ध भएँ । हामी दुवै खुसी थियौं ।

त्यसपछि हाम्रो अज्ञात सम्बन्धमा एक्कासी ब्रेक लाग्यो, मेरो श्रीमतीको आगमनले ।

आदतअनुसार चियाको कप हातमा लिई कौसीमा गई आँखा पल्लो घरको कौसीमा बिछाएँ । उनी कतै देखा परिनन् ।

राति सुत्नुअघि उनको झ्यालतिर आँखा दौडाए । झ्याल बन्द थियो । मलाई साह्रै नरमाइलो अनुभूति भयो । आँखाले उनलाई नै खोजिरह्यो ।

केही दिनपछि त्यही हरियो सिल्कको साडी लगाएर सुटकेस बोकी उनी टयाक्सी चढी कतै जान लागेको देखें ।

म झ्यालमा थिएँ । उनले एकपल्ट मलाई गहिरिएर हेरिन् ।

‘टाढै ?’ मैले अनायास सोधें ।

‘अष्ट्रेलियामा छोरीकहाँ जान लागेकी ।’

यति भन्दै दुई हात जोडेर उनी टयाक्सी चढी मेरो आँखाबाट ओझल भइन् ।

म केही हराएझैं एकटकले उनी गएकी बाटोतिर हेरेर झोक्राइरहेँ ।

‘किन, के भो ?’ श्रीमतीले सोधिन् ।

मैले केही जवाफ दिइनँ ।

मन साह्रै खल्लो भइरह्यो, कुनै अभिन्न आफन्तसित विछोड भएजस्तो लागिरह्यो ।

एउटा अज्ञात सम्बन्धको पटाक्षेप भयो ।

प्रकाशित : कार्तिक ६, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

रानीपोखरीका बाँकी रहेका काम चरणबद्ध रुपमा अगाडि बढाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पुनर्निर्माणपछि रानीपोखरीको उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्ध रुपमा अगाडी बढाउने भएको छ ।

महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्ध रुपमा निर्माण गरिने बताए । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिवाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणबद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइराखेको पनि उनले बताए ।

०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ । रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ ।

मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।

प्रकाशित : कार्तिक ६, २०७७ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×