१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साहित्य अकादमीमा संयोग र वियोग 

'ब्रम्ह्पूत्रका छेउछाउ नामाकरण गरिदिए ईश्वर बरालले'
लीलबहादुर क्षत्री

काठमाडौँ — भारतीय साहित्य अकादमी,  नयाँ दिल्लीले नेपाली भाषा औ साहित्यलाई स्वीकृति प्रदान गरेको पनि साढे चार दशकको समय बितिसकेछ । सन् १९७५ मा अकादमीले मान्यता प्रदान गरेको हो र सन् १९७७ देखि नेपाली भाषाका साहित्यकारलाई पुरस्कार दिन थालेको हो ।

साहित्य अकादमीमा संयोग र वियोग 

नेपाली साहित्यमा पहिलोपटक राष्ट्रियस्तरको यो प्रतिष्ठित पुरस्कार पाउने श्रेय इन्द्रबहादुर राईलाई जान्छ । उनले आफ्नो समीक्षात्मक कृति 'उपन्यासका आधारहरू' का लागि यो पुरस्कार पाएका हुन् । त्यसपछिका नौवटा पुरस्कारहरू लगातार पश्चिम बङ्गाल दार्जिलिङतिरै हुइँकिन्छन् ।

यो पुरस्कार कृति र साहित्यिक योगदानलाई पनि विचारेर दिइने हुँदा गुनासो गर्ने ठाउँ पनि छैन । संयोगले सन् १९८७ को एघारौं पुरस्कार भने यस पूर्वोत्तर भारतको द्वारभित्र पसेर नपत्याउने पाराले मेरै टाउकामा आएर बज्रियो । संयोगै त हो, त्यस वर्ष असमले भिन्नाभिन्नै तीनवटा भाषामा अकादमी पुरस्कार भित्र्याएर एउटा अभिलेख बनायो । त्यसअघिसम्म कुनै पनि राज्यले एकै वर्षमा तीन-तीनवटा अकादमी पुरस्कार पाएको थिएन । असमिया साहित्यमा त असमले पुरस्कार पाउने नै भयो, त्यस वर्ष यसका साथै अन्य दुईवटा भाषामा पनि असमका साहित्यकारले यो पुरस्कार जिते । सन् १९८७ मा असमिया भाषामा तत्कालीन पुलिस उपमहानिरीक्षक (डिआइजी) हरेकृष्ण डेकाले आफ्नो कविता सङ्कलन 'आन एजन' का लागि साहित्य अकादमी पुरस्कार पाएका थिए । त्यसै वर्ष संयोग के पर्‍यो भने संस्कृतजस्तो शास्त्रीय भाषामा लेखिएको गहन साहित्यका लागि पनि असम राज्यले नै पुरस्कार प्राप्त गर्‍यो । पुरस्कार विजेता थिए- डा. विश्वनारायण शास्त्री अनि पुरस्कृत कृति थियो- संस्कृत भाषामा लेखिएको ऐतिहासिक उपन्यास 'अविनाशी' । अर्को वर्ष अर्थात् सन् १९८८ को अकादमी पुरस्कार पनि असममै भित्रियो । कवि बाबु पुष्पलाल उपाध्यायले आफ्नो कृति 'उषा मञ्जरी' का लागि यो पुरस्कार प्राप्त गरे।

पुरस्कार प्राप्तिको संयोगमा मेरो हकमा भने केही वियोग पनि घटेको छ । हुन त पुरस्कार भन्ने कुरा सम्मानको वस्तु हो र यसलाई धनराशिसित जोड्न मिल्दैन, तथापि पुरस्कारको स्तर यसको धनराशिसित जोडेरै हेरिन्छ र पुरस्कृत व्यक्तिको आर्थिक लाभ धनराशिमै निर्भर गर्छ । प्राथमिक अवस्थामा नेपाली साहित्यले अकादमी पुरस्कार पाउँदा यसको धनराशि पाँच हजार रुपियाँ थियो । केही वर्षपछि यसमा वृद्धि गरियो र यो दस हजार रुपैयाँ भयो । सन् १९८८ मा यो राशि २५ हजार रुपैयाँ बनाइएको थियो । पच्चीस हजार रुपैयाँको पुरस्कार राशि पाउने गोर्खे स्रष्टामध्ये पुष्पलाल बाबु पहिलो थिए । यो राशि वृद्धि हुँदै अहिले एक लाख पुगेको छ । मलाई लाग्छ, साहित्य अकादमी पुरस्कारको सम्मान यसको धनराशिभन्दा कैयौं गुणा माथि छ।

सन् १९८७ को डिसेम्बर महिनाको तेस्रो सातातिरको कुरा हो । म दक्षिण भारतको यात्रामा थिएँ । साथमा श्रीमती र सानो छोरो पल्लव थियो । अर्की एउटी छिमेकी महिला पनि साथ लागेकी थिइन् । गुवाहाटीबाट बिहान ८ बजे छुटेको रेल कोचबिहार पुगेर झन्डै छ घन्टा त्यहीँ रोकियो । आखिर सारा जीवन संयोग र वियोगकै त खेला रहेछ । गाडी अब छुट्छ, अब छुट्छकै धरमरमा बल्ल विस्तारै चल्न थाल्यो र साविक समयभन्दा दस घन्टाजति ढिलाएर पर्सिपल्ट हामीलाई चेन्नई पुर्‍यायो । ट्रेन ढिलाएकाले चेन्नईमा रोकिने हाम्रो कार्यक्रम वियोग गरेर सोझै बङ्गलुरू पुगेर राति एउटा होटलमा थान्को लाग्यौं ।

बङ्गलुरू पुगेपछि विचार आयो- त्यहाँदेखि नजिकै पर्ने सत्य साई बाबाको धाम पुट्टवर्ती (प्रशान्त निलयम) पनि पुगौं । ती अलौकिक शक्ति भएका साई बाबाको पनि सम्भव भए दर्शन गरौं । सरकारी बस सेवा उपलब्ध थियो । बङ्गलुरूदेखि पुट्टवर्ती पुग्न बसमा चार घन्टाजति समय लाग्दो रहेछ । हामी अपराह्न दुई बजेतिर पुग्यौं । त्यो दिन डिसेम्बरको २५ तारिख थियो । ईसाई धर्मावलम्वीहरूको बडा दिन । येशु ख्रिस्टको जन्म जयन्ती पर्वको दिन ।

हाम्रो जानकारीमा पुट्टवर्ती धाममा साधारणतया वैदिक संस्कृतिभित्र पर्ने चाडपर्व अर्थात् सनातन धर्मावलम्वीहरूका मात्रै चाडबाड मनाइन्छ भन्ने थियो, तर यहाँ आज येशु ख्रिस्ट मसिहको जन्मजयन्ती मनाउने तरखर चलिरहेको देख्ता साई बाबाको उदार दृष्टिकोणप्रति मनैमन नतमस्तक भएँ । हामीसित समय छोटो थियो; भोलिपल्ट फर्किहाल्नु पर्ने । यति छोटो समयमा बाबाको दर्शन हुन्छ हुँदैन भन्ने धरमरमा थियौं । यात्रीहरूले हप्तौं रुँगेर पनि दर्शन नपाएको कुरा हामीले सुनेका थियौं ।

संयोग कस्तो पर्‍यो भने त्यस दिन बडादिनको उपलक्ष्यमा येशु ख्रिस्ट, ईसाई धर्मका मसिहामाथि बाबाको प्रवचन रहेछ । हामीले दर्शन मात्रै होइन, डेढ घन्टाजति बाबाको प्रवचन पनि सुन्ने अवसर पायौं । अर्ध चन्द्राकार भव्य भवनमा चार बजेदेखि आरम्भ भएको प्रवचनमा बाबाले क्राइस्टको दर्शनका कुरासितै ग्रिसेली दार्शनिक एरिस्टोटल, प्लेटो, सक्रेटस आदिको दार्शनिक चिन्तन र नीतिसम्बन्धी कुराहरूको गहन व्याख्या गरेका थिए । उनको भाषण आफ्नो मातृभाषा तमिलमै थियो तर एकजना विद्वान भक्तले त्यसलाई तुरुन्तै अङ्ग्रेजीमा अनुवाद गरिदिन्थे । भोलिपल्ट बिहान पनि पुष्प उद्यानमा सारा भक्तहरूका माझ डुलिरहेका बाबाको नजिकैबाट दर्शन पाइयो । हामी भने नजिकबाट बाबाको दर्शन गर्न पाएरै सन्तुष्ट भयौं । केहीपछि नै सरकारी बसमा खाँदिएर हामी बङ्गलुरू आइपुग्यौं ।

२०७३ असोजमा काठमाडौंमा आयोजित मदन पुरस्कार तथा जगदम्बाश्री वितरण समारोहमा जगदम्बाश्री विजेता लीलबहादुर क्षत्री (बायाँ) २०७२ को मदन पुरस्कार विजेता रामलाल जोशीका साथ ।

अब अर्को संयोग, सन् १९८७ डिसेम्बर २६ तारिखको साँझ हामी बङ्गलुरूको एउटा चोकमा उभिएर रेल स्टेसन जाने साधनको प्रतीक्षामा थियौं । ठीक त्यही साँझ बङ्गलुरूमा साहित्य अकादमीको कार्यकारिणी सभा बसेको रहेछ, त्यस वर्षको अकादमी पुरस्कारहरूको घोषणा गर्न । साँझ सात बजे बङ्गलुरूमै पुरस्कारको घोषणा भयो, जसमा पुरस्कार प्रापकमध्ये मेरो नाउँ पनि थियो । म भने त्यसबाट अनभिज्ञ त्यही सात बजे बङ्गलुरूबाट रेलगाडीमा त्रिवेन्द्रमतिर लागिरहेको थिएँ । दक्षिण भारतका केही दर्शनीय स्थल, भारत महासागर, अरब सागर तथा बङ्गोपसागरको त्रिवेणी, कन्याकुमारी आदि ठाउँको भ्रमण गरेर ३ जनवरी १९८८ का दिन आफ्नो घर गुवाहाटी आइपुग्दामात्र साहित्य अकादमी पुरस्कार पाएको कुरा मलाई थाहा भयो । घर आइपुग्दा तत्कालीन साहित्य अकादमीका सचिव प्रा. इन्द्रनाथ चौधुरीको तार पाएँ जसमा साहित्य अकादमी पुरस्कार घोषणा भएको र नेपाली साहित्यका निम्ति मैले पुरस्कार पाएको आधिकारिक सूचना दिइएको थियो । पुरस्कार वितरण समारोह १८ फेब्रुवरी १९८८ मा हुने निधो भयो। यो समारोह साताभरि नै चल्ने रहेछ।

....

१६ फेब्रुवरी १९८८ का बिहान नर्थइस्ट एक्स्प्रेस चढेर दिल्लीका लागि प्रस्थान गरियो । साथमा थिइन् छोरी कृष्णा, उनी त्यसताक आठ कक्षाकी छात्रा थिइन् । १७ फेब्रुवरी राति अलि ढिलाएरै ट्रेन दिल्ली स्टेसन पुग्यो ।

विभिन्न भाषाका २२ जना पुरस्कृत स्रष्टामध्ये सबैजसो नै यसै होटलमा बसेका थिए। अति छोटो समय र कार्यक्रमको व्यस्तताले गर्दा उही सभा-समारोहको जम्काभेटबाहेक कसैसित पनि निकट परिचय हुन सकेन । अँ, एक जनासित भने निकै घनिष्ठ सम्पर्क बनेको थियो। ती थिए पन्जाबी भाषाका साहित्यकार रामस्वरूप अणखी जसले पन्जाबी भाषाको उपन्यास 'कोठे खडगसिंह' मा अकादमी पुरस्कार पाएका थिए । एक त दुवैको रुचि उपन्यासमा रहेको र उपन्यास विधामै दुवैले पुरस्कार प्राप्त गरेकाले पनि होला घनिष्ठता बढेको । त्यसबाहेक उमेरले पनि हामी समकालीन नै थियौं । यसै घनिष्ठताले गर्दा पछि उनले मलाई अङ्ग्रेजीमा लेखेको किताब 'कथा सङ्कलन'को प्रति मेरो ठेगानामा हुलाकबाट पठाइदिएका थिए।

अकादमीको यो पुरस्कार वितरण समारोहमा उपस्थित भएपछि मलाई के अनुभव भयो भने राम्रो साहित्यकार बन्न औपचारिक शिक्षा तथा शैक्षिक उपाधिको पनि ठूलो महत्त्व हुँदोरहेछ । साहित्यमा राष्ट्रियस्तरको सम्मान प्राप्त गर्ने म एकजना स्नातकोत्तर तथा प्राध्यापक पनि त हुँ भन्ने गौरवबोधले भित्रभित्रै मख्खिएको थिएँ । तर जब यहाँ भेला भएका विभिन्न भाषाका साहित्यकारहरूको पृष्ठभूमि मलाई थाहा भयो, भित्रभित्रै म लज्जाबोध गर्न थालें । त्यहाँ उपस्थित २२ जनामध्ये धेरैजसो विद्यावारिधि थिए । कोही तीन-तीन विषयमा स्नातकोत्तर थिए भने कसैमा स्नातकोत्तरका अतिरिक्त ऐनमा स्नातक, विदेशी भाषामा डिप्लोमा आदि थियो । कोही स्रष्टा यात्री-प्राध्यापकका रूपमा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन गरिसकेका पनि थिए । स्नातकोत्तर उपाधि नभएका दुईजना भने उमेरमा मभन्दा बीस वर्ष जेठा अनि देशको स्वाधीनता सङ्ग्राममा भाग लिएका र साहित्य-पत्रकारिताको क्षेत्रमा एउटा इतिहास बनाइसकेका व्यक्ति थिए । यो झन्डै साढे तीन दशकअघिको कुरो हो । आज हाम्रो गोर्खाली समाजमा पनि स्नातकोत्तर तथा विद्यावारिधि गर्ने अनगन्ती शिक्षाविद तथा साहित्यकार निस्किसकेका छन् । साहित्य सृजना पनि द्रुतगतिमा भइरहेको छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक वा कर्मचारीका कुनै अतिथि वा आफन्त व्यक्ति आउँदा आवासीय सुविधाका निम्ति जेएनयूको आफ्नै अतिथिशाला रहेछ । नाउँ थियो- गोमती गेस्ट हाउस । जेएनयूले आफ्ना भवनहरू जस्तै छात्रावास, प्राध्यापकका आवास आदिको नामाकरण भारतका नदीहरूको नाउँमा गरेको रहेछ । गोमती नदीको नाउँमा गोमती गेस्ट हाउस, कावेरी होस्टल आदि । कोठा ठीकठीकै थियो अनि लजिङको भाडा निकै सस्तो । जलपान तथा भोजनका निम्ति छेउमै क्यान्टिन जहाँ अति सस्तो दरमा खानेकुरा पाइन्थ्यो ।

तीनमूर्ति भवन धेरै अघिदेखि सुन्दै आएको प्रचलित नाउँ तर कहिल्यै नदेखेको । संयोगले आज हेर्ने सौभाग्य जुर्‍यो । अत्यन्त प्रवल व्यक्तित्वका धनी पण्डित नेहरूले व्यवहार गरेका सबै सामग्री, घडी, चस्मा, सुत्ने पलङ, मेच-कुर्सी, किताब-पत्र, दस्तावेज, सोफासेट, खाता-कलमआदि उनका आफ्ना रचना, मूल्यवान ग्रन्थहरू सबै सामग्री राम्ररी सजाएर सङ्ग्रहालयमा राखिएका थिए । सबै कुराहरू गहिरिएर हेर्न त दिनभरि नै लाग्दो रहेछ । हामीसित समय थोरै थियो । एक विहङ्गम दृष्टिसित तलमाथि एक फन्को मारेर हामी निस्क्यौं । बाहिर भवनको पछाडिपट्टि एउटा वनस्थली, भनौं एक लघु चिडियाघरकै दृश्य परिलक्षित हुन्थ्यो । अलि पर कता एउटा मृग पनि चरिरहेको थियो । साँझ त्यहाँ प्रकाश औ ध्वनि कार्यक्रम हुने कुरा पनि थाहा पायौं ।

यता डा. ईश्वर बरालले उनको आवासमा पनि पुगिदिने आग्रह गरेका थिए । जेएनयू प्राध्यापक आवासमा डा. बराललाई भेट्न पुग्यौं । डा. ईश्वर बरालसितको मेरो पहिलो भेट पनि निकै रोचक छ । उनलाई मेरो उपन्यास 'अतृप्त' विशेषत: त्यसको शैलीले यति प्रभाव पारेको रहेछ कि असीकै दशकताक एकचोटि शिलाङ, पूर्वोत्तर पर्वतीय विश्वविद्यालयको कुनै सङ्गोष्ठीमा भाग लिएर फर्कंदा मसँग भेट्नकै निम्ति शिलाङको नेपाली समाजले राखेको कार्यक्रम पनि छोडेर, एउटा ट्याक्सी लिएर गुवाहाटीको मेरो झुप्रामा राति दस बजेतिर सोध्दै-खोज्दै आइपुगेका थिए र रात त्यहीं बिताए । राति दुई घन्टाजति उनको साहित्यिक ज्ञानगुणका कुरा सुन्ने मौका मलाई मिलेको थियो ।

यो असीको दशककै कुरा हो । साहित्य अकादमीद्वारा पुरस्कृत मेरो उपन्यास 'ब्रह्मपुत्रका छेउछाउ' नलेख्दैको कुरा । त्यसताक यो उपन्यास भर्खर लेख्न थालेको थिएँ । शीर्षक मैले 'ब्रह्मपुत्रको छेउछाउ' पारेको थिएँ । डा. बरालले 'छेउछाउ' बहुवचन भएकाले 'ब्रह्मपुत्रका...' हुन्छ भन्ने सल्लाह दिएकाले मैले 'ब्रह्मपुत्रका छेउछाउ' पारें । तर, पछि केही भाषाका विद्वानले 'को' नै शुद्ध हो भन्ने मत पनि प्रकट गरेका थिए । भोलिपल्ट उनको दिल्ली उडान भएकाले उनी विदा भए । यसपछि पनि डा. बरालले उनको पूर्वोत्तर भारतको यात्राको क्रममा दुई-तीनचोटि मेरो झुप्रामा रात बिताएका छन् । यी व्यक्तिहरू तर हाम्रा बिर्सन नहुने सम्पदा हुन् र मेरो स्मृतिपटलमा अमेट भएर बसेका छन् ।

यहाँ यी कुराहरू त्यति प्रासङ्गिक होइनन् तापनि केवल दृष्टान्तका निम्ति उपरोक्त दुई व्यक्तिसम्बन्धी केही कुरा राख्न चाहन्छु । जेएनयू, दिल्लीजस्तो प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापक बनेर हाम्रो गौरव बढाउने डा. ईश्वर बराल नै ती व्यक्ति हुन् जसले भारतीय नेपाली साहित्यको लिपिबद्ध सूत्रपात पूर्वोत्तर भारतको मणिपुरबाट सन् १९८३ तिर तुलाचन आलेद्वारा रचित 'मणिपुरको सवाई' र सन् १८९४ तिर धनवीर भँडारी विरचित 'अब्बर पहाडको सवाई'बाट भएको हो भन्ने कुरा प्रथमचोटि लिपिबद्ध रूपमा घोषणा गरेर हराएर गएको हाम्रो साहित्यिक इतिहासको जानकारी हामीलाई गराएका हुन् । त्यसरी नै सन् १९४० तिर काठमाडौंबाट प्रकाशित 'शारदा' पत्रिकामा प्रकाशित भएको टङ्कनाथ उपाध्यायको कथा 'पुड्के हवल्दार'ले तत्कालीन वृहत्तर असममा मौलिक भन्न सकिने कथाको जग बसालेको हो भनेर प्रथम प्रस्ट्याइदिने पनि डा. बराल नै हुन् । भारतीय नेपाली साहित्य विशेषत: पूर्वोत्तर भारतसम्बन्धी डा. बरालले धेरै खोजपूर्ण लेखहरू लेखेर साहित्यसम्बन्धी हाम्रो ऐतिहासिक जानकारी बढाइदिएका छन् ।

कर्ण सिंह छेत्री शिलाङकै स्थायी बासिन्दा हुन् । शिलाङ छँदा उनी अखिल भारतीय गोर्खा लीगदेखि लिएर अन्य थुप्रै सङ्गठनसित जडित थिए । त्यसताक सङ्गठनका प्रस्ताव, स्मारकपत्र आदिको मसौदा तयार पार्नुपर्दा अङ्ग्रेजीमा राम्रो दखल भएका भारत सरकारको समाचार सेवा विभागका संवाददाता कर्ण सिंहको खोजी हुन्थ्यो । असमका गोर्खाहरूको माउ सङ्गठन असम गोर्खा सम्मेलनको सन् १९६६ को गडपाल अधिवेशनमा पारित भएका प्रस्तावहरूको अङ्ग्रेजीमा रूपान्तरण, स्मारकपत्रको अङ्ग्रेजीमा मस्यौदा तयारी आदि कार्य कर्ण सिंहले गरेका हुन् । त्यसका निम्ति उनलाई विशेषरूपमा दिल्लीबाट झिकाइएको थियो। कर्ण सर दिल्लीमा जागिरमै छँदा साठीकै दशकमा, दिल्लीमा 'अखिल भारतीय नेपाली साहित्य सङ्घ'को स्थापना भएको हो । सन् १९६० तिर यस सङ्गठनको भव्य अधिवेशन पनि दिल्लीमै भएको हो जसमा नेपालको काठमाडौंबाट एउटा साहित्यिक टोली नै आएको थियो । त्यस टोलीको अध्यक्षता नाट्यसम्राट बालकृष्ण समले गरेका थिए । त्यस अधिवेशनमा वृहत्तर असमबाट पनि थुप्रै साहित्यकार सहभागी भएका थिए । यो साहित्य सङ्घको स्थापना गर्नमा र भव्य अधिवेशन गराउनमा दिल्लीका कार्यकर्तामध्ये कर्ण सिंहको भूमिका अग्रणी थियो ।

कर्ण सरले असम आएर गुवाहाटीमा अखिल भारतीय नेपाली साहित्य सङ्घको एउटा शाखा पनि खोलेका हुन्, जुन शाखाको संस्थापक अध्यक्ष म थिएँ अनि सचिव थिए पद्म ढकाल । सीबी गुरुङ, गोविन्द रावल, डा. राजा सिङ्ग लिम्बू आदिको नाउँ सदस्यका रूपमा अझ सम्झना हुन्छ जहाँ २१ सदस्यको समिति बनिएको थियो । साहित्य सङ्घको यस गुवाहाटी शाखाले एक समयमा अभूतपूर्व कार्यहरू गरेको हो तर यसको रेकर्ड अब हामीसित छैन । केवल कर्ण सरले दिल्लीबाटै दिएको प्रेरणा बेला बेला सम्झन्छु र उनकै प्रसङ्गमा यहाँ यति लेखियो ।

ओहो ! जेएनयूका मेधावी छात्र बिचरा सुमनराज ! पछि गएर अमेरिकाको सान्फ्रान्सिस्कोतिर कार्यरत डा. सुमनराज तिम्सिना । अकादमीको पुरस्कार समारोहपछि, दिल्लीका हाम्रा सामाजिक सङ्गठनद्वारा अभिनन्दन समारोह राख्ने र दिल्लीवासी गोर्खाली समाजसित हाम्रो परिचय गराउने मूलस्तम्भ नै उनी ! तर अभिनन्दन समारोहपछि फेरि उनीसित भेट भएन । एक त उनको छात्रावास पनि अलिक टाढै पर्ने, दोस्रो हामीलाई भेट्न भनी दुई दुईचोटि अतिथिशाला आएछन् तर विभिन्न कार्यक्रम लिएर डुलिहिँड्ने हामीलाई के फेला पारून् ? त्यसताक अहिलेको जस्तो चलभाष सेवा पनि त अचल नै थियो ।

फर्कंदाको रेलको टिकटको आरक्षणको जिम्मा पनि उनैले लिएका थिए । अन्तमा केही नलाग्दा, निकै प्रयास गर्दा पनि भेट हुनसकेन । 'अब भेट नहोला । टिकट प्रतीक्षासूचीमा छ तर पक्का हुन्छ' भन्ने लेखेको चिटसित टिकट गोमती गेस्टहाउसको म्यानेजरको हातमा छोडेर गएछन् । टिकट हात पर्‍यो । बिहान चार बजे छुट्ने गाडी रहेछ । त्यसका निम्ति आधा घन्टाअघि साढे तीन बजेसम्म स्टेसन पुग्नु पर्¬यो । ठाउँ पहिल्याउनु पर्‍यो । गेस्ट हाउसबाट तीनै बजे निस्किनु पर्‍यो । त्यति सखारै ट्याक्सी वा टेम्पो कहाँ पाउनु ? कसरी पुग्नु स्टेसन ?

तर धन्य हुन्, डम्बरमणि प्रधान ! त्यस दिन बिहान हामी पोका पन्त्यौरा ठीक पारेर तीन बजेतिर निस्कन खोज्दै थियौं, डम्बर भाइ टुप्लुक्क आइपुगे । उनैले कतैबाट एउटा ट्याक्सीको जोगाड गरेर हामीलाई स्टेसनसम्म पुर्‍याइदिए । गाडीको डब्बा र आरक्षित सिट नम्बर पत्तो लाएर हामीलाई गाडीमा बसालेर उनी फर्किए ।

मानिसका कतिपय गुण वा अवगुण, जीवनका केही घटना अविष्मरणीय हुन्छन् । बरु मानिसको आकृति बिर्सिएला तर घटनाहरूको सम्झना स्मृतिमा रहिरहन्छ । आज साढे तीन दशक समय बितेर गइसक्यो तर उपरोक्त कुराहरू, जीवनका सङ्कटापन्न मोडमा स्नेही डम्बरमणि, सुमनराजजस्ताले लाएको मित्रसुलभ गुन मेरो स्मृतिमा छँदैछ ।

अब यस निबन्धसम्बन्धी मैले केही भन्नुपर्ने हुन्छ । मैले जीवनमा साहित्यिक वा सामाजिक वा शैक्षिक क्षेत्रमा अनेक पुरस्कार र सम्मान प्राप्त गरेको छु। पुरस्कार ग्रहण गर्न पुरस्कार वितरण समारोहको निम्तोमा अनेक ठाउँ पुगेको पनि छु । पुरस्कारबाहेक अभिनन्दन वा सम्बर्द्धना कति पाएँ त्यसको कुनै लेखाजोखा मसित छैन । ती अनगन्ती छन् । तर पाएका पुरस्कार वा पुरस्कार समारोहमा भएको उपस्थिति अथवा भव्य अभिनन्दन समारोहको ब्योहोरासम्बन्धी मैले कुनै संस्मरण लेखिनँ । अब त पुरस्कार वा अभिनन्दनका धेरै कुराहरू बिर्सी पनि सकें । मैले पाएको साहित्य अकादमी पुरस्कारसम्बन्धी मैले कुनै संस्मरण वा आत्मकथा लेखिनँ र लेख्ने विचार पनि थिएन ।

(भारतको आसाम निवासी जगदम्बाश्री सम्मान विजेता लेखक क्षेत्रीका ‘बसाई’, ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायतका उपन्यास नेपाली साहित्यमा स्थापित छन् ।)

प्रकाशित : कार्तिक ५, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?