एक 'विखण्डनकारी महिला'को आँखामा दसैँ- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक 'विखण्डनकारी महिला'को आँखामा दसैँ

सावित्री गौतम

काठमाडौँ — दसैँ नामक चाडको बारेमा सुनिने परम्परागत परिभाषाहरु उनै हुन् । पुनर्मिलनको चाड, सरद ऋतुको सुन्दरतासँगै थपिएको उमङ्गलाई दोब्बर बनाउने चाड आदि । दसैँको बारेमा सानी हुँदा, अझै बिहे हुनुअघिसम्म मलाई पनि यस्तै लाग्थ्यो । त्यतिन्जेल पनि मेरो दसैँ फुक्काफाल त हुँदैनथ्यो ।

घरको कामको बोझले थिचिएको र अस्तव्यस्त अवस्थाको नै हुन्थ्यो । तर पनि यसको कथित उमंगभित्र लुकेका संरचनात्मक कुराबारे आज जति थाहा थिएन । त्यसैले हुनसक्छ, मलाई आजको तुलनामा दसैँ रमाइलो लाग्थ्यो ।

आज मसँग दसैँबारे बहस गर्नको लागि 'सकारात्मक' कुरा छैनन् । र, नभएकोमा खासै अफसोस पनि छैन । म सधैँ भनिरहन्छु 'मन कुँढिने घटना छिनछिनमै घटिरहने समाजमा बसेर म मन बहलाउने कुरा लेख्न सक्दिनँ ।' लेख्न सक्नेहरु, मान्छेलाई यो दिक्कलाग्दो दुनियाँबाट केही क्षणको लागि भए पनि पर लगिदिनसक्ने मान्छेहरुलाई बहुतै कदर गर्छु ।

आज मेरो दिमागमा दसैँका दुइवटा चित्र छन् । एउटा बाल्यकालदेखि बिहे हुनु अगाडिको आंशिक उमङ्गको दसैँ । त्यसपछिका वर्षहरुको, अन्धविश्वासमा आधारित , पितृसत्तात्मक र दर्ज्यानीयुक्त दसैँ ।

'दसैँ फ्रेममा हामी इन कि आउट ?' चार वर्ष अगाडिको दसैँमा कान्तिपुर कोसेलीमा यो शीर्षकको लेख लेखेको थिएँ । दसैँको लागि भनेर पोखराबाट चितवन गएको दिन शुक्रबार थियो । दसैँमा जानुपर्ने र दसैँभरि 'खानुपर्ने' घर अर्थात् श्रीमानको पैत्रिक घरभन्दा पहिला बाटोमा मेरो पैत्रिक घर पर्छ नारायणगढ बजारमा । त्यहाँ पसेर एक घन्टाजति रोकिएको बेला आमालाई 'आमा भोलि (फूलपातीको दिन) आउने लेख हो यो' भनेर कम्प्युटरमै पढेर सुनाएँ । मैले सुनाइरहँदा आमा रुनुभो । नवमीको दिन बजार गएको बेला उही बजारमा बिहे भएकी (भान्जी) दिदीकहाँ पसेको थिएँ । दिदीले तेरो लेखले कस्तो मुटु चसक्क भो भनेर कुरा निकाल्नुभो, त्यसपछि दिदीकी सासूले के लेखेको थियौ भनेर सोधेपछि दिदीसहित दिदीकी सासू र सानी दिदी (दिदीकी देउरानी)लाई पनि पढेर सुनाएँ । तिनैजना भावुक हुनुभो । दिदीकी सासूले भोलिपल्ट दिदीलाई भन्नुभएछ, 'रातभर तिम्री बहिनीको लेख र आफ्नो पहिलाको भोगाइ सम्झिरहेँ ।'

धेरै महिलाले इमेल गरेर, फेसबुकमा, ट्विटरमा म्यासेज पठाएर त्यो लेख आफ्नै बारेमा लेखिएको जस्तो लाग्यो भनेर उबेलादेखि आजसम्म पनि भनिरहन्छन् । त्यही लेख बारेमा मेरो श्रीमानका केही साथीहरुले चाहिँ 'एकतर्फी आगो ओकल्नभन्दा व्यबहारिक भएर लेखेको भए हुने' भन्नेजस्ता प्रतिक्रिया दिएका थिए । उनीहरुको प्रतिक्रियालाई मैले यसरी बुझेँ , 'दसैँसँगै (मर्दहरुका लागि मात्र) आउने एकतर्फी रमाइलाहरु त स्वाभाविकै हुन् नि । 'परिवार'को रमाइलो पनि रमाइलै हो नि, मान्दिन सक्नुपर्‍यो नि ।' म खेद व्यक्त गर्दछु, म रमाइलो 'मान्दिन' सक्दिनँ । रमाइलो मान्न नसक्नुका अनगिन्ति कारणमध्ये केही यसप्रकार छन् ।

'बुहारी'हरूले हारिरहने दसैँ

बिहे गरेको पहिलो वर्षको जनै पूर्णिमाको दिन 'यता' (बुबाआमाको घर) आएपछि गफैगफमा कान्छी काकीलाई सोधेको थिएँ, 'कान्छीआमा, किन हो चाडबाड पहिलाजस्तो रमाइलो नै लागेन ।' बिहेपछिका दुई दशक मेरो पैत्रिक घरमा बिताइसकेकी उहाँले भन्नुभो, 'मलाई आजसम्म त रमाइलो लाग्दैन, तँलाई कसरी लागोस् ।' लगत्तै दसैँ आयो र नभन्दै त्यो वर्षको दसैँ आजसम्मकै सबैभन्दा नरमाइलो र उदास दसैँ बनेर रह्यो । तीन महिनाकी गर्भवती, यसै पनि नाजुक मानसिक-शारीरिक अवस्थामा रहेकी मलाई दसैँका अनेकौँ पितृसत्तात्मक प्रचलन देखेर धेरैपटक मानसिक झट्का लागे ।

बिहेपछिका दुई दशक बिताउन्जेलसम्म चाडबाड बारेको मेरो धारणा पनि उतिबेला कान्छीआमाले भनेको भन्दा एकरत्ति फरक छैन । केही वर्षपछि नौरथामा एक घन्टा पसेको बेला, मेरो पैत्रिक घरमा पहिलो वर्षको दसैँ बिताइरहेकी, दसैँसम्बन्धी थुप्रै काममा सक्रियतापूर्वक सहभागी भइरहेकी भाइबुहारीलाई पनि सोधेको थिएँ , 'तिमीलाई भित्रभित्र नरमाइलो लागिरहेको छ होला है ?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनेकी थिइन्, 'एकदमै नरमाइलो लागिरहेको छ ।'

सात आठ वर्षअघि एकजना साथीले त यतिसम्म भनेकी थिइन्, 'दसैँमा जुठो परोस् नै त भनिहाल्न सक्दिन, मान्छे मरुन् भन्न भएन तर सुत्केरा परोस् र दसैँ थुनियोस्जस्तो लाग्छ ।' उनलाई दसैँसँगै थपिने आर्थिक, शारीरिक र मानसिक बोझले वाक्क भएको कारण यस्तो लाग्न थालेको रे !

दसैँमात्र किन ? सबैजसो चाडबाड मनाउने पितृसत्तात्मक तरिकाका कारण कुनै चाडसँग पनि आजको दिनमा मेरो कुनै लगाव छैन । यीसँग सम्बन्धित अनेकौं मिथकबाट पनि विश्वास उठिसक्यो । एउटा 'आज्ञाकारी नास्तिक'को रुपमा मात्रै आज सबै चाडबाडमा सहभागी हुन्छु । मनाउँछु भन्न सक्दिनँ, किनभने मनाउनको लागि मनभित्र कुनै उमङ्ग हुँदैन । छोराछोरी पैसा पाइन्छ वा नयाँ लुगा लगाउन पाइन्छ भन्ने उमेरमै छन् । उनीहरुले रमाइलो मानिन्जेल 'चाडबाडकी आमा' अनुपस्थित भइदिँदा उनीहरुले नै नानाथरी सुन्नुपर्ला भनेर पनि सहभागी हुन्छु । चाडबाडलाई एक्लैले बहिष्कार गर्न र त्यसपछि आइलाग्ने मानसिक झन्झटसँग एक्लै जुध्नको लागि हाल मसँग उर्जा छैन र सहभागी हुन्छु । आजको दिनमा मेरो लागि दसैँ 'बालमतलब' वाला दसैँ हो । अर्थात् चाडबाडसँगै आउने प्रक्रियाहरुप्रति उदासीन अर्थात अंग्रेजीमा 'इनडिफ्रेन्ट' भएर सहभागी भइदिने । किनभने जुन दिन यो निर्णय लिने अनुकूलता आफ्नो हातमा हुन्छ त्यो दिन 'हेरौँला' भन्नेबाहेक हाललाई मसँग अरु उपाय छैन ।

दसैँको बारेमा 'नकारात्मक' कुरा सुरु गर्न यतिबेला धेरै टाढा जान पनि पर्दैन । यतिबेला कोरोनाले आक्रान्त पारेको दसैँको बारेमा सामाजिक सन्जालका केही पोस्टहरु मात्र हेरे पनि पुग्छ । मेरो चिनजानका केही अविवाहित छोरा र छोरीहरुले लेखेका छन् ,'यसपालि घर जान्न, बुढाबुढी बाउआमालाई कोरोना सार्दिनँ ।' विवाहित छोराहरुका पोस्ट यस्ता छन्, 'दसैँ आफ्नै घर'मा मात्र यसपालि, म जान्न ससुराली' आदि ।

दसैँका दुई हप्ता मरुन्जेल भान्सा र जुठेल्नामा जोतिएपछि टीकाको साँझ वा भोलि वा पर्सीपल्ट 'माइती' मा गएर बिस्तरासँग आत्मसमर्पण गर्ने सोचिरहेका बुहारीहरुको निरासाको त योबेला हिसाबकिताबै छैन । जो सात महिनादेखि नजरबन्दमा छन्, परिवारका सबै चौबिस घन्टा घरमै भएको कारण थपिएको कामको बोझले थलिइसकेका छन् । उनीहरुको निरासाभन्दा ठूलो उनीहरुका बाउआमा भाइरसबाट बच्नु हो भन्नेमा कुनै दुइमत भएन पनि । तर यस्ता पोष्ट देखेपिच्छे मेरो दिमागमा एउटै कुरा आइरहेको छ, यतिबेला काम विशेषले वा कामै नभइकन पनि लोग्नेको पैत्रिक घरबाट टाढा बसिरहेका कतिजना विवाहित महिलालाई यसैगरी 'योपटक म 'घर' जान्न, सासू ससूरालाई कोरोना सार्दिनँ' भन्ने छुट छ होला ? 'कोरोना न सोरोना, टाउकोले टेकेर भएपनि 'घर' आइज' भन्ने प्रत्यक्ष वा अप्रत्यक्ष दबाब भोग्नु नपरेका कतिजना बुहारी होलान् यतिबेला ? दसैँका बेला सरक्क बडेमानको झोला बोकेर घुम्न हिँडिदिन मिल्ने छुट विवाहित छोरा वा आंशिक रुपमा अविवाहित छोरीलाई पनि भएजस्तै विवाहित छोरी-बुहारीलाई कत्तिको छ ? यो वर्ष मलाइ दसैँ मनाउन मन छैन भनेर बुहारीले झोला बोकेर हिँडे त बुहारीका बाउआमासमेत छोरीले 'घर नखाइदिएको' कारण आफूलाई पनि गाल आइलाग्ने भो भनेर थरथर काम्छन् । त्यसैले विवाहित हुँदैमा एउटी महिलाले चाड कसरी र कहाँ मनाउने, मनाउने कि नमनाउने आदि निर्णय गर्न पाउने अधिकार कुन्ठित गरिएको, उसको व्यक्तिगत एजेन्सीलाई नकारिएको, उसलाई स्वतन्त्र मानवको हैसियत नदिने प्रचलन भएको चाड मलाई 'मातृशक्तिको पूजा गरिने चाड' कदापि लाग्दैन ।

दसैँमा जाने 'घर'

'मातृशक्तिको पूजा गरिने चाड' दसैँमा 'घर जाने' भनेर साना केटाकेटी कसको घर जाने हुन् ? उत्तर एकै झट्कामा आउँछ, घर भनेकै बाउको घर हो नि ! बरु त्यो तीन दिन पर नै किन नहोस् । छिमेकमै रहेको भए पनि आमाको त घर कहाँ हुन्छ ? त्यो त मामाहरुको घर हुन्छ जहाँ उनीहरु भ्याए टीकाको दिन टन्न मासुभातले अघाएर बेलुकीतिर, नभ्याए पूर्णिमासम्म वा नभ्याए त्यो वर्ष नगए पनि हुन्छ । साना केटाकेटीलाई बारबार दुवैतिर घोटाएर पिलाइन्छ, 'दसैँ त (बाउकै) घरमा मनाउन पर्छ ।' नजिकै रहेको आमाको पैत्रिक घर रमाइलो मानेर उनीहरु केही दिन 'उता' बसे नै भने पनि सके अष्टमी-नवमीकै साँझ नत्र टीकाको बिहानै पुर्‍याउन पठाइन्छ । आमाको घरमा पहिला टीका लगाएर केही बिग्रँदैन भनेर हामीले आजसम्म सोच्न सकेका छैनौँ । अझै 'दसैँमा पनि छोराछोरी माइताँ राख्ने' भनेर बुहारीकै कुरा काटिन्छ । आमालाई हदैसम्म अपमान गरिएको यस्ता पितृसत्तात्मक व्यवस्था कायम राखेपछि किन भन्नु मातृशक्तिको पूजा गरिने चाड भनेर ?

दुई वर्षअघिको दसैँमा 'निरुपाय दुर्गादेवी' (खास शीर्षक 'मातृशक्तिको शब्दजाल र दर्ज्यानीयुक्त दसैँ' थियो) मा मैले यो प्रसंग लेखेको थिएँ । त्यतिबेला केही व्यक्तिले 'बच्चाबच्चीले पहिला बाउको घर टीका लगाएपछि मामाघर (आमाको घर होइन) जाने प्रचलनमाथि किन आपत्ति ? सनातन हिन्दू परम्परामाथि यस्तो टिप्पणी त 'दसैँ खर्च उठाउने रणनीति' बाहेक अर्को लागेन ।' भनेका थिए । अर्थात् उनीहरुको आसय थियो, म 'क्रिस्चियन' हुँ र दसैँमा सनातन हिन्दू चाडको बारेमा अन्टसन्ट लेखेबापत मलाई कसैले पैसा दिन्छ । त्यतिबेला मनमनै हाँसे र भनेँ, 'क्रिस्चियन'लाई दसैँ खर्च के काम र ? क्रिसमसतिरै दिए हुन्छ नि दिन मन लाग्नेहरुले !

यतिबेला मेरो ससुराको मृत्यू भएको वर्ष भएकोले सासू-ससुराको घरमा दसैँको टीका छैन । तर मेरो बुबाआमाको घरमा त छ । मैले पाउँदिनँ तर तेस्रो पुस्ता भएकोले मेरा छोराछोरीले त्यहाँ गएर दसैँ मनाउन पाउँछन् । तर भेट हुने मान्छेले भनिरहन्छन्, दसैँमा जानुहुन्न होला है योपालि चितवन, 'घर'मा टीकासीका छैन क्यारे किन जानु ! बच्चाहरुको लागि बाउको र आमाको घर बराबर हो, बाउकोमा नभए नि आमाकोमा टीका छ नि, भनेर 'मातृशक्तिको पूजा गरिने पर्व' को बारेमा व्यक्तिपिच्छेलाई अर्थ्याउन अब त जाँगर लाग्न पनि छोडिसक्यो । दसैंमा जाने 'घर' भनेको बाउको घर, दसैंमा टीका लगाउने भनेको बाउको घरको टीका, बाउको घरमा जुठो परेको वर्ष जतासुकै जुठो, तर आमाको घरमा जुठो परे बाउको घरको दसैँको रमझमलाई कुनै असर नपर्ने ।

'माइत'को असाध्यै घनिष्ठ व्यक्तिको मृत्यू भएको होस्, महिलाले सासू-ससुराको घरमा मनाइने दसैँलाई अनुहारमा नक्कली उमङ्ग लिएर 'परिवार' का लागि मनाइदिनै पर्ने । मलाई शोक परेको छ भनेर बुहारी चुपचाप बसिदिए, एकातिर गइदिए त घरमा एउटा सिंगो दसैँ उम्काउन सक्ने जनसंख्या निस्क्रिय भइगो, घाटा परिगो, बरु 'घर' नै मुख्य भएकोले उसलाई जुठोसुठो नलागेपछि उदासी वा शोक पनि आफैं भाग्छ भनेर व्यवस्था गर्दियो ढुक्कै । बिहे भएको सुरु-सुरुका वर्ष म सोच्थेँ, सबै पुरुषले जसरी नै सबै महिलाले पनि आफ्ना बाउआमा र भाइबहिनीसँग अर्थात् आफ्नो आफ्नो घरमा दसैँ मनाउन किन पाउँदैनन् ? तर त्यो पनि कुनै सोच्नुपर्ने कुरो रहेनछ । बिहे भएका छोरीहरु 'आफ्नो घर'का पनि आफ्ना नरहने रैछन् । उनीहरु त कुशको टुक्रोसँगै गोत्र चुँडाएर परिवारसँग सम्बन्धविच्छेद गरिसकेका 'कुटुम्ब'मा सूचीकृत भइसकेका हुँदा रैछन् । सासू-ससुराको घरमा टीका नभएको कुनै वर्ष टीकाअघि नै 'माइत' जान पाए पनि टाढाबाट टीकाको रमाइलो हेर्न र खाली निधार राखेर घरका अरु काममा सघाउनको लागि मात्र काम लाग्ने हुँदारहेछन् ।

'पुनर्मिलन' कसको ?

पुनर्मिलनको चाड, बाल्यकालका साथीसँगी भेट्ने चाड आदि भनिने यो चाडको यो पुनर्मिलन खासमा होचाहिँ कुन लिङ्गका व्यक्तिको लागि ? यो प्रश्न त मैले दसैँसम्बन्धी आफ्ना हरेक लेखहरुमा सोधेको छु । किनभने सासू-ससुराको घरनजिकै रहेको आमा-बुबाको घरमा नौरथाभरि म दिउँसोमा डेढ घन्टाभन्दा दुईघन्टा बसें भने मेरै आमाबुबा डराउँछन्, 'दसैँकी बुहारी आएर यति बेर 'माइत' मा बस्दा 'घर'मा के भन्लान्' भनेर । टीका अगाडि एक रात बस्ने त कल्पनै नगरौँ । यस्तोमा म आफ्ना बाल्यकालका साथीसँग 'पुनर्मिलन' गर्न कहिले हिँड्नु ? अनि मेरा बाल्यकालका साथीमध्येका केटी साथीहरु पनि दसैँमा 'आफ्नै घर' अर्थात् सासू-ससुराको घर खाइरहेका हुन्छन् ।

कुनैबेला स्याङ्जाबाट तीन दिनको बाटो हिँडेर पुगिने बाग्लुङमा मेरो बुबा-काकाहरुको 'पुनर्मिलन' चल्थ्यो, आमा र काकीहरुले मरिन्जेल परिश्रम गर्दै उनीहरुको 'पुनर्मिलन'मा रमाइलो मानिदिन्थे । 'उ त्यहाँनिर छ' भनेर देखाउन पनि नमिल्ने दूरीमा भएको आफ्नो पैत्रिक घरको यादै नआएजस्तो गरेर नक्कली हाँसो हाँसिदिन्थे । उनीहरुका लागि न त्यो गाउँको पँधेरोसँग जोडिएको याद आफ्नो हुन्थ्यो, न चौतारो, न स्कुल, न बाटोसँग जोडिएको । त्यतिबेलादेखि आजसम्म हरेक घरमा बाउ, लोग्ने र दाजुभाइको मात्रै जोडतोडले 'पुनर्मिलन' चल्ने हो, आमा, श्रीमती र भाउजू-बुहारीको होइन । मेरो अवलोकनमा त अधिकांश बाहुन-क्षेत्री घरमा लोग्नेहरुले दसैँमा सकेसम्म छिटो श्रीमतीलाई घर ल्याएर भान्सा र जुठेल्ना सम्हाल्ने व्यक्तिको रुपमा 'हुल्दिएर' अनि आफूले मात्र पुनर्मिलनको नाममा छुट्टी मनाउने हुन् । यो 'पुनर्मिलन' परिवारका महिलाको लागि अतिरिक्त कामको बोझबाहेक केही होइन ।

पुनर्मिलनको लागि घरमा दसौंजनालाई खानपिनको लागि निम्त्याउँदा, घरभित्र खानेकुरा पाक्दै गर्दा पिँढीमा बसेर 'ए आओ, फलानोथोक पाक्दैछ, खाएर जाओ' भनेर सदाबर्त लगाइरहेको कुनै लोग्ने वा उसको परिवारले हप्तौंदेखि घन्टौंको दरले भान्सा र जुठेल्नामा जोतिएकी श्रीमती वा बुहारीलाई सोधेका होलान् कि, 'म यतिजना मान्छेलाई खान बोलाउँ ? तिमीसँग पकाउने शक्ति वा त्योभन्दा पहिला इच्छा कि छैन ?' भनेर । दसैँमा बीसौं मान्छेको जमघट र खानपानको केसमा महिलाको इच्छा सोधिने, अंग्रेजीमा 'कन्सेन्ट' भनिने शब्दको प्रयोग कत्तिको गरिन्छ होला ?

पुनर्मिलनकै कुरा गर्दा एउटा कुरा कहिले बिर्सन्नँ । एउटा वर्षको दसैँको कुनै दिन म दिदीको घर थिएँ । बजारमा केही सामान मर्मत गर्न दिएको भएर कुर्दै थिएँ । दुईघन्टा जति बसेपछि भिनाजुले ठट्टाको स्वरमा सोध्नुभो, 'होइन तिम्रो घराँऽ दसैँ छैन ?' अर्थात् दसैँकी बुहारीसँग यति धेरै 'टाइम पास' गर्ने समय कसरी उपलब्ध भएको ? अघिल्लो दिनमात्र भिनाजुको आफ्ना दसौँ साथीहरुसँग घन्टौं लामो 'पुनर्मिलन' नामक खानपिन सकिएको थियो । त्यही 'पुनर्मिलन'मा बिहानदेखि साँझसम्म पकाउने, खुवाउने, भाँडा माझ्नुपर्ने कारण दिदीले मसँग बोल्ने फुर्सद पाउनुहुन्न भनेरै म भोलिपल्ट गएको थिएँ । दिदीसँगको मेरो पुनर्मिलन एक वर्षपछिको र दुई घन्टा मात्रको थियो । यो पुनर्मिलन, पुरुषले आफ्ना बाल्यकालका, जवानीका साथी र दाजुभाइसँग मात्र गर्ने हो । पुनर्मिलनको चाड भन्ने व्याख्या महिलाको आँखाबाट हेरेर गरिएको होइन भन्ने त मेरो ठम्याइ पहिल्यै थियो । भिनाजुको उक्त जिस्काइले त्यसलाई थप पुष्टि मात्र गरेको थियो ।

दसैँ अर्थात् दर्ज्यानी

दसैँको बारेमा प्रसिद्ध अर्को भनाइ हो, 'यो ठूलाबडासँग टीका आशीर्वाद थाप्ने चाड हो ।' कोही व्यक्ति उमेरकै आधारमा कोहीभन्दा 'ठूलो' कसरी हुने हो र मनभित्र सम्मान होस् नहोस्, उसँग टीका थाप्न, पाउ नै पर्न कोही बाध्य किन हुनुपर्ने हो भन्ने कुरा त बहसमा आउनै कति युग बाँकी छ थाहा छैन । त्योभन्दा पहिला यो प्रचलनले विवाहित महिलाको मानवरूपी 'दर्जा' विवाह भएको वर्षदेखि नै घटुवा गराउँछ भन्ने कुरा नै बहसमा आएको छैन । उसले श्रीमानको घरभरिका आफूभन्दा ठूला उमेरका (कतिपय साना पनि) मान्छेको गोडा समातेर टीका थाप्नुपर्छ र उनीहरुलाई ढोग्नुपर्छ । त्यति मात्रै होइन, 'बराबरीको पार्टनर' भनिने लोग्नेको हातबाट महिलाले टीका थाप्नुपर्छ र उसलाई ढोग्नुपर्छ । आमाले पहिला बाउको हातबाट टीका थापेर नढोगेसम्म छोराछोरीलाई टीका लगाइदिन योग्य बन्दिनन् । आफूभन्दा उमेरमा ठूला मान्छेको हातबाट टीका थाप्ने भन्ने यो चाडमा लोग्ने भने आफूभन्दा उमेरमा सानो नै भए पनि महिलाले टीका थापेर ढोग्नैपर्छ किनभने उमरमा जेसुकै भए पनि दर्जामा उ श्रीमतीभन्दा 'ठूलो' हो । मातृशक्तिको पूजा गरिने भन्ने चाडको सबैभन्दा मुख्य दिनको समारोह नै घरकी मातृशक्तिलाई अर्थात् आमालाई 'तिमी बाउभन्दा तल्लो दर्जाकी हौ' भन्ने महसुस गराएरमात्र सुरु हुन्छ । अझै बाबुको मृत्यू भएपछि 'माइत' आएका वयोवृद्ध महिलाले भाइबाट वा भाइको पनि मृत्यू भइसकेको भए भाइको बालक छोराको हातबाट समेत टीका लगाउने चलन छ । उदेकमाथिको उदेक यो छ कि, उमेरको आधारमा त्यतिबिघ्न ठूली त्यो 'फुपू' नामकी महिला दर्ज्यानीको आधारमा भने आफ्नो भाइको छोराको हातबाट समेत टीका थाप्नुपर्ने गरी सानी रहन्छिन् ।

आजको मितिमा मलाई यो भन्न कुनै हिचकिचाहट छैन कि दसैँको संकेत दिने शारदीय हावा चल्न लागेपछि मेरो मन उदास हुन्छ । कारण माथि लेखिसकेँ । कहिलेकाहीँ भित्रभित्र एक्लै बोल्छु पनि, 'यो शारदीय बतास मलाई सिंगै मेरैमात्र नाममा चाहिएको छ ।' शरदको सुन्दरता अवलोकन गर्न पाइयोस् तर 'चाडबाड उम्काउने प्रमुख जनशक्ति' को रुपमा बोझले हायलकायल परेर मनाउन नपरोस्जस्तो लाग्ने कति महिला होलान् ? चाडबाड मनाउन पाइयोस् तर चाडबाडका चटारासँगै जोडिएर आउने बीसौं पितृसत्तात्मक व्यवस्था र त्यसले घरी चिडचिडे र घरी उदास बनाउने क्षणहरु नआउन्जस्तो लाग्ने कति महिला होलान् !

लोग्नेको परिवारले 'हेला' नगरेको भए पनि, आफ्ना बुहारीमाथि हामीले 'हेला' नगरे पनि दसैँले धेरैजसो विवाहित महिलालाई उदास बनाउने किन होला ? यसका कतिवटा र कस्ताकस्ता कारण होलान् ? यो प्रश्न हामीले आफ्नो घरमा बिहे गरेर भित्रिएका महिलासँग सोध्यौं होला, उनीहरुको नरमाइलोलाई कम गर्ने कोसिस पनि गर्‍यौं होला कि 'सधैँ 'माइत' कोजस्तो रमाइलो खोजेर त कहाँ पाइन्छ त, बुहारी भएसी अल्लारे केटी हुँदाको जस्तो खोजेर कहाँ हुन्छ ?' भनेर उनीहरुको भावनालाई 'पेलेरै' हिँड्यौँ होला ?

'तिमी किन उदास र दुखी देखिन्छौ ?' भनेर सोध्ने लेठो कतिजना विवाहित महिलाको (लोग्नेको)'परिवार' ले गर्छ होला ? उल्टै अँध्यारी, 'परिवार'को रमाइलोमा रमाइलो मान्न नसक्ने, घोसे स्वभावकी, यस्तो उमङ्गमय वातावरण र समयलाई अँध्यारो अनुहार लगाएर बिथोल्ने 'अलच्छिनी' आदि भनेर व्याख्या गरिएला ।

अझै मुख्य घरबाहिर सहरमा बस्ने बुहारी भए 'यस्ती अँध्यारी आइमाईसँग छोराको जिन्दगी कसरी कटेको होला, उसलाई कति दुख हो' भनिएला । छोराले श्रीमतीलाई 'मेरा बाउआमासँग दुई दिन बिताउन पर्दा, यहाँ आएर दुई दिन काम गर्नुपर्दा तेरो अनुहार कति अँध्यारो हुन्छ है ?' समेत भन्ला, जुन छोराले उसकी श्रीमतीको बाउआमाको घर दुई घन्टा टेकिमात्र दिए पनि ससुराली उसँग 'अनुगृहित' होलान् र घुँडा धसेर सत्कार गर्लान् । मातृशक्तिको पूजा गरिने चाड भनेर गुड्डी हाँकिने यो चाडसँग जोडिएका हरेकजसो प्रचलनले विशेषगरी विवाहित महिलालाई अपमानित र अमर्यादित महसुस गराउँछन् । त्यसैले म चाडबाडमा रमाउन छोडेको धेरै वर्ष भइसक्यो । चाडबाडका पितृसत्तात्मक व्यवस्थाबारे धेरैपटक आफूलाई चिमोटिरहने तर अरुलाई 'नकारात्मक' लाग्ने कुरा धेरैपटक लेखिसकेको छु । जतिन्जेल चाडबाडको संरचना यस्तै रहिरहन्छ, चाडबाडबारेको आफ्नो 'नकारात्मक' विचार नै दोहोर्‍याएर लेखिरहने छु ।

प्रकाशित : कार्तिक ४, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशसभाका नेकपा सांसदहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाका नेकपाका सांसदहरुले दसैं भत्ताबापत प्राप्त रकम कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेशसभा सचिवालयले असोज २२ गते नै वितरण गरेको दसैं भत्ताबापत्‌को रकम नेकपा संसदीय दलको बैठकले कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । ‘हामीले आन्तरिक छलफल गरेर प्रदेशले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निष्कर्षमा पुगेका हौं’, सचेतक पाण्डेले भने ।

कोरोना भाइरसको महामारीको समयमा जनप्रतिनिधिहरुले दसैं भत्ता लिएको भन्दै सर्वत्र विरोध भएपछि सम्पूर्ण दलहरुले उक्त रकम फिर्ता गरिरहेका छन् । प्रदेशसभामा नेकपाको ८० जना सांसद्हरु रहेका छन् । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुले प्राप्त गरेको सेवासुविधासमेत कोषमा जम्मा गरिने भएको छ ।

यसैगरी, कांग्रेसले आफ्ना सांसदहरुले पाउने दसैं भत्ता बापतको रकम गरिब, विपन्न, एकल महिला र दलितका लागि खर्चिने निर्णय यसअघि नै गरिसकेको छ । कांग्रेसका २२ जना सांसदहरु रहेका छन् । सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७ सय ९० रुपैयाँ भत्ताबापतको रकम संसद् सचिवालयले वितरण गरिसकेको छ ।

दसैं भत्ता बापतको रकम सांसदहरूलाई ५४ लाख ७९ हजार ८ सय ४० रुपैयाँ र स्वकीय सचिवहरूलाई २७ लाख ७० हजार ९ सय ५० रुपैयाँ सम्बन्धित बैंक खातामार्फत दाखिला गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेशमा १ सय १० सांसद रहेका छन् ।

दसैं भत्ताबापत सभामुखले ६१ हजार ४ सय ५०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले ५८ हजार, संसदीय समितिका सभापतिहरूले ५६ हजार ८ सय ४०, सचेतकहरुले ५४ हजार ५ सय २० र प्रदेशसभा सदस्यले ५२ हजार २ सय रुपैयाँ लिएका छन् ।

सभामुखका स्वकीय सचिवले उपसचिवसरह ४० हजार ३ सय ८०, शाखा अधिकृतसरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताका स्वकीय सचिवले शाखा अधिकृतसरह ३५ हजार ९ सय ९० र बाँकी सांसदहरूको स्वकीय सचिवले नायब सुब्बासरह २८ हजार २ सय रुपैयाँ चाडपर्व भत्ता खर्च शीर्षकमा दसैं भत्ता बुझेका हुन् ।

प्रकाशित : कार्तिक ४, २०७७ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×