शत्रुको खोजी- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शत्रुको खोजी

रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’
शरच्चन्द्र वस्ती

विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध कथा हो, ‘शत्रु’ । त्यसमा ‘गाउँका सबभन्दा भद्र’ र प्रतिष्ठित मानिस कृष्ण रायमाथि एक रात कसैले लठ्ठी प्रहार गर्छ । संयोगवश लठ्ठीको प्रहार उनीमाथि पर्दैन, तर भित्तामा लागेर लठ्ठी भाँचिन्छ । आक्रमणकारी उनले देख्न नपाउँदै भागिसक्छ ।

जीवनमा कसैलाई आफ्नो शत्रु नबनाएको सन्तोषमा बाँचिरहेका कृष्ण रायको मनमा त्यसपछि अचानक थुप्रै शत्रु प्रकट हुन पुग्छन् । भोलिपल्ट प्रहरी उनीकहाँ पुग्दा सम्भावित आक्रमणकारीका रूपमा उनले धेरैको नाम लिन्छन् । प्रस्तुत छ, त्यसपछिको कथा ।

प्रहरी इन्स्पेक्टर प्रबल कार्कीले पाइन्टको गोजीबाट सेतो पन्जा निकालेर दुवै हातमा लगायो र भाँचिएको लठ्ठीका दुवै टुक्रा सरक्क उठाएर पोलिथिनको थैलोमा हाल्यो । सब इन्स्पेक्टर रोशन रौनियारलाई थैलो थमाएर चूपचाप बाहिर निस्क्यो र झ्याल वरपर निरीक्षण गर्न थाल्यो ।

‘आक्रमणकारी झ्यालबाटै भागेको त होला नि ?’ कार्कीको प्रश्न थियो ।

कृष्ण रायले भने, ‘भनिहालें नि, राति बत्ती निभाएर सुत्न लागेको थिएँ । अकस्मात् आक्रमण भयो । म उठुन्जेलमा आक्रमणकारी भागिसकेको थियो ।’

‘कसैलाई हारगुहार गर्नुभएन ?’

‘निकै बेरसम्म दिमागले कामै गरेन । त्यसपछि निदाएँछु ।’

‘चिन्ता नलिनोस्, हामी अपराधी पत्ता लगाउँछौं,’ कार्कीले भन्यो, ‘बरु हजूर एकचोटि प्रहरी चौकी सवारी भएर जाहेरी दर्ता गराइदिनुपर्ला ।’

प्रहरी चौकीमा ‘तपाईंलाई कसैमाथि शंका छ ?’ भनेर सोध्दा कृष्ण रायले अघि घरमा भनेझैं गम्भीर भएर उत्तर दिए, ‘रामे, बलभद्र, केदार युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ।’

उनलाई चिया ख्वाएर बिदा गरेपछि रौनियारले भन्यो, ‘बूढालाई मान्नैपर्छ । त्यत्रो आक्रमण भएपछि पनि कसरी ढुक्कसँग निदाउन सक्या होला ? म भए त रातभरि आँखा झिमिक्क पार्न सक्तिनथें ।’

कार्कीले ‘अँ’ मात्र भन्यो । उसका आँखा लठ्ठीका टुक्रामा केन्द्रित थिए । एकै छिनमा ऊ डटपेन टोक्न थाल्यो । दिमागमा केही नयाँ कुरा खेल्न थाल्यो कि डटपेन टोक्ने उसको पुरानो बानी थियो । एक छिनपछि लामो सास फेरेर उसले भन्यो, ‘यो लठ्ठी फिंगरप्रिन्ट एक्सपर्टकहाँ पठाइदे । बूढाले चिया खाएको गिलास पनि सँगै पठाइदिनू । भरे एकपल्ट फेरि घटनास्थलमा जानुपर्छ ।’

साँझ पाँचबजेतिर उनीहरू कृष्ण रायकहाँ पुग्दा उनी सधैंझैं गाउँ घुम्न निस्किसकेका थिए । घरमा सुधो नोकर रामे र भान्से बाहुनी मात्र थिए । दुवैले रातिको घटनाबारे भोलिपल्ट प्रहरी आएपछि मात्र थाहा पाएको बताए । बूढाको धर्मपुत्र पुष्पराज भने घरमा थिएन ।

कृष्ण रायका सन्तान थिएनन् । पत्नी दुई वर्षअघि दिवंगत भइसकेकी । सन्तानको अभाव पूर्ति गर्न उनले टाढाको भतिजो पुष्पराजलाई धर्मपुत्र बनाएर पालेका थिए । ऊ अलिक पुलपुलिएको र फजूलखर्ची रहेछ । नयाँ साइकल किनिदिएनन् भनेर एक हप्ताअघि कृष्ण रायसँग झगडा गरेको रहेछ । त्यसपछि बूढासँग बोलेको थिएन रे । कृष्ण रायकी दिदी नजीकैको शहरमा बस्थिन् । लठ्ठी काण्ड भएको दिन ‘फुपूलाई आँप लगिदिन्छु’ भनेर पुरानो साइकलमा आधा बोरा आँप हालेर दिउसै शहर गएको, फर्केको रहेनछ ।

घरपछाडि खोरमा एउटा कुकुर थियो । त्यो चूपचाप बसिरहेको देखेर कार्कीले सोध्यो, ‘यो भुक्तैन ?’

‘दिउसो भुक्तैन हजूर,’ रामेले जानकारी दियो, ‘राति खोरबाट निकाल्छौं । त्यसपछि भुक्छ । रातभरि घर वरिपरि कसैलाई पाइला हाल्न पनि दिंदैन ।’ ‘तर हिजो राति त यो पनि भुकेन,’ भान्से बाहुनीले भनिन् । चौकीमा फर्केपछि रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’

‘ठीक भनिस्,’ कार्कीले भन्यो, ‘बूढाले जसजसका विरुद्ध किटानी जाहेरी दिएका छन्, अब तिनका बारेमा पत्ता लगाउनुपर्छ ।’

दोस्रो दिन, दिनभरि दौडधूप गरेर दुई भाइले धेरै कुरा पत्ता लगाए । तदनुसार :

बलभद्र कृष्ण रायको हिसाबकिताब हेर्ने मान्छे रहेछन् । हिसाबकिताबमा गोलमाल गरेको थाहा पाएर बूढाले दुई हप्ताअघि नराम्ररी गाली गरेपछि जागीर छोडेका रहेछन् । हिजो राति उनको छोराको बिहे रहेछ । त्यो पनि कृष्ण रायले नाम लिएका, पल्लो गाउँका रामचन्द्र पराजुलीकी छोरीसँग । गोविन्द पण्डित र कन्हैया मास्टर पनि जन्ती गएका रहेछन् । चारै जना रातभरि बिहामै रहेछन् ।

केदार युवक महीना दिनअघि कृष्ण रायकहाँ काम माग्न आएको, तर बूढाले काममा नराखेको मानिस रहेछ । ऊ बस दुर्घटनामा परेर तीन दिनअघि अस्पताल भर्ना भएको रहेछ । दुवै खुट्टा भाँचिएका रहेछन् । कृष्ण रायले बेइमानीको आरोपमा कामबाट निकालेको बुधे नोकर अर्को गाउँमा चोरी गर्दागर्दै समातिएर जेल परेको रहेछ । लीला चाहिँ कृष्ण रायको भाइ पर्ने रहेछ, काकाको छोरो । ऊ पाँचजना गाउँलेसँगै तीर्थ गएको रहेछ ।

कार्की र रौनियारले ठहर गरे, यिनीहरूमध्ये कसैले पनि कृष्ण रायमाथि लठ्ठी प्रहार गरेका होइनन् । यसपछि शंका स्वाभाविक रूपले पुष्पराजमा केन्द्रित भयो ।

ऊ त्यसै दिन साँझ गाउँ फर्क्यो र तत्काल चौकीमा हाजिर गराइयो । उसले भन्यो, ‘शहरको साथीले नयाँ सिनेमा आएको छ भनेपछि ऊसँगै सिनेमा हेर्न इन्डिया गएको थिएँ ।’ साइकलको निहुँमा बूढासँग झगडा गरेको त उसले स्वीकार्‍यो, तर भन्यो, ‘आफ्नै बाबुमाथि म कसरी आक्रमण गर्न सक्छु ?’

अर्को दिन इन्स्पेक्टर कार्की शहर गयो । भारतीय सीमा नजीकैको शहर जिल्ला सदरमुकाम पनि थियो । उसले जिल्ला प्रहरी कार्यालयबाट लठ्ठीका टुक्रा सहित फिंगरप्रिन्टको रिपोर्ट संकलन गर्‍यो । रिपोर्ट पढेपछि उसका आँखा चम्कन थाले । ऊ डटपेन टोक्तै कृष्ण रायकी दिदीकहाँ पुग्यो ।

कार्कीलाई चिया दिन लाग्दा उसले झुन्ड्याएको पोलिथिनको थैलोमा लठ्ठीका टुक्रा देखेर उनी चिच्याइन्, ‘लौन नि, यो लठ्ठी कसरी भाँचियो ?’

‘तपाईं यो लठ्ठी चिन्नुहुन्छ र ?’ कार्की छक्क पर्‍यो ।

‘किन नचिन्नु बाबु, छ महीनाअघि मैले देहरादूनबाट दश रुपैयाँ हालेर कृष्ण भाइलाई ल्याइदिएको लठ्ठी त हो नि यो । यस्तो बुट्टा भएको लठ्ठी यताहुँदि कसैसँग छैन । लठ्ठीको मूठमुन्तिर मैले भाइको नाम पनि खोप्न लगाएकी थिएँ । नपत्याए हेर त !

नभन्दै, लठ्ठीको समात्ने ठाउँमुन्तिर मसीना अक्षरमा ‘कृष्ण’ लेखिएको रहेछ । कार्की फेरि डटपेन टोक्न थाल्यो ।

ऊ गाउँ फर्केपछि रौनियारले भन्यो, ‘त्यो पुष्पेलाई तुरुन्तै गिरफ्तार गरौं । लठ्ठी हान्ने उही हो । त्यसको कारण पनि छ, उद्देश्य पनि छ र उसको व्यवहार शंकास्पद पनि छ ।’

कार्कीले ‘अँ...’ भन्यो र कृष्ण राय तथा पुष्पराज दुवैलाई बोलाउन पठायो । उनीहरू आएपछि ‘अरू कसैलाई भित्र पस्न नदिनू’ भन्ने आदेश दिएर रौनियारलाई आफ्नो अफिसको ढोका ढप्क्याउन लगायो । र, गम्भीर स्वरमा घोषणा गर्‍यो, ‘यो बदमाशी कसको हो, मैले पत्ता लगाइसकें ।’

कृष्ण राय ट्वाल्ल परेर उसलाई हेर्न थाले । पुष्पराजका आँखामा कताकता डरजस्तो देखियो र रौनियारका आँखामा प्रसन्नता । ऊ पुष्पराजलाई पक्रन उसको कुर्सीनेर उभियो । कार्कीले कृष्ण रायका आँखामा आँखा जुधाएर भन्यो, ‘हजूरले यो के नाटक गर्नुभएको ? आफैंले लठ्ठी भाँचेर आफूमाथि आक्रमण भयो भन्ने, अनि बिनसित्ती हामीलाई दुःख दिने ?’

अब पुष्पराजको आँखाको डर कृष्ण रायका आँखामा सर्‍यो । रौनियार भने अलमल्ल परेको थियो ।

कार्की भन्दैगयो, ‘कच्चा इँटाको भित्तामा लागेर यति दरो लठ्ठी भाँचिएको भन्दा मलाई शुरूमै अनपत्यार लागेको थियो । हुन त घटनाक्रम र परिस्थितिले पुष्पराजमाथि शंका गर्ने पर्याप्त ठाउँ दिएको हो । तर मेरो दिमागले अर्कै शंका गरिरहेको थियो । फिंगरप्रिन्टको रिपोर्टले मेरो शंका पुष्टि गर्‍यो । लठ्ठीमा कृष्ण रायजी बाहेक अरू कसैको औंलाको छाप छैन । चियाको गिलासमा भएको र लठ्ठीमा भएको औंलाको छाप एउटै व्यक्तिको भनेर विशेषज्ञले प्रमाणित गरिसकेका छन् । त्यसमाथि दिदीले समेत यो लठ्ठी मेरो भाइकै हो भनेर प्रमाण नै देखाइदिएपछि त यो सब हजूरकै नाटक हो भन्ने कुरामा कुनै सन्देह बाँकी रहेन ।’

रौनियारका आँखा आश्चर्यले फैलिएका थिए । ऊ सोच्तैथियो, ‘यो कस्तो हाकिम होला, जहिले पनि मैले कल्पनै नगरेको तरीकाले अपराधी पत्ता लगाउँछ ।’

कृष्ण राय घोसेमुन्टो लगाएर चूपचाप भुइँतिर हेरिरहेका थिए । कार्कीले कडा स्वर गर्‍यो, ‘यो कानूनलाई झुक्याउने षडयन्त्र हो । यसबापत हजूरले सजाय भोग्नुपर्ने हुन्छ ।’

कृष्ण राय आत्तिएका थिए । आँखाभरि आँसु पारेर हात जोडे, ‘मबाट गल्ती भो बाबु । दिनदशा लागेर बुद्धि बिग्रेछ । अब आइन्दा यस्तो गल्ती हुनेछैन । एकपल्टलाई मेरो इज्जत जोगाइदिनोस् । बिन्ती छ ।’

वातावरण निकै गम्भीर भयो । पुष्पराजले पनि बूढालाई माफी दिन अनुरोध गर्‍यो ।

‘यो अपराधभन्दा पनि मानसिक समस्या हो,’ कार्कीको स्वर नरम भयो, ‘हजूर यो गाउँको सबैभन्दा भद्र र प्रतिष्ठित मानिस । त्यही भएर एकपल्टलाई छाडिदिन्छु । आइन्दा बुद्धि नबिगार्नुहोला । जानोस्, जाहेरी फिर्ता लिनोस् ।’

कृष्ण राय हात जोडिरहेकै थिए, कार्की मुस्कुरायो, ‘हजूरले किन यसो गर्नुभो भनेर त सोध्दिनँ । तर एउटा कुरा भन्नोस् न, त्यति दरो लठ्ठी कसरी भाँच्नुभो ?’

‘मेरो बलले त भाँचिदैनथ्यो बाबु ∕ अर्कै अक्किल लगाउनुपर्‍यो,’ बूढाले ङिच्च गरे ।

विशुद्धीकरण : ‘शत्रु’ कथा पहिलोपल्ट १९९५ सालमा छापिएको हो । त्यसवेला नेपालमा सर्वसाधारणले चिया खाने चलन आइसकेको थिएन । प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टर जस्ता पद थिएनन् । ‘फिंगरप्रिन्ट एक्सपर्ट’ हुँदैनथे । डटपेन, पोलिथिनको थैलो, प्रहरीको गोजीमा सेता पन्जा आदि इत्यादि पनि थिएनन् । त्यसैले, विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसलाई ८२ वर्षपछि, २०७७ सालमा लेखिएको उत्तर कथा भनेरै बुझ्नु मनासिब हुनेछ ।

प्रकाशित : कार्तिक १, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा झापा र सुनसरीका कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत झापा र सुनसरीका कोरोना संक्रमित दुई  पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धरान उपमहानगरपालिका–१५ बाझगराका ६५ वर्षीय पुरुष र झापाको शिवगन्ज–११ बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये धरानका संक्रमितको शुक्रबार ७ बजेर १५ मिनेटमा र झापाका संक्रमितको ७ बजेर ४५ मिनेटमा मृत्यु भए पनि कोभिड अस्पतालले शनिबार बिहान १० बजेमात्र औपचारिक जानकारी दिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका उनका अनुसार पेटसम्बन्धी सेप्टिक सकका दीर्घ रोगी धरानका पुरुषको पीसीआर जाँच गर्दा असोज २८ गते कोरोना पोजिटिभ रिपोर्ट आएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नसासम्बन्धी रोगी झापाका संक्रमितको असोज २९ गते कोरोना पोजेटि भएको रिपोर्ट आएको भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : कार्तिक १, २०७७ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×