पुच्छरहीन- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुच्छरहीन

विश्‍व सिग्देल

म निस्कँदा घरबाट
छिँडीको कुकुरले यस्तरी पुच्छर हल्लायो
कि हल्लँदै छन् विजय पताका
महान् योद्धाको जितमा

म सिकन्दर

मुस्कुराएँ

सोचेँ,

यो मेरो रोटीको टुक्रामा बाँच्छ

सक्दो हो त

जसरी हल्लाउँछ सारा घर,

यो हल्लाउँदो हो

गल्ली, टोल र सडक


घरबाहिर

टोलको गल्लीमा

उसैगरी हल्लायो पुच्छर

घरविहीन एउटा कुकुरले

जो यदाकदा

म मातिएर घरमा आउँदा

पाउँथ्यो केही टुक्रा सुँगुरको बोसो,

कुखुराको खुट्टा वा खसीको आन्द्राभुँडी

म चंगेज खान

मुस्कुराएँ

सोचेँ,

यो मेरो रोटीको टुक्राको आशामा बाँच्छ

सक्दो हो त पुच्छरको साटो

यो हल्लाउँदो हो

सहर, देश र समग्र विश्व

पुच्छरको साटो


विरानो ठाउँमा

मेरो ठाँट, रवाफ र अत्तरले लटपटिएर

केही कुकुरहरूले यसरी पुच्छर हल्लाए

कि हल्लाउँदै छन्

पिटिएर समर्थनमा

साराका सारा संसद्का टेबलहरू

म महान् सम्राट् अशोक

मुस्कुराएँ

सोचेँ

यी मेरा रोटीका टुक्राका आशीर्वादका भोका

सक्दा हुन् त

पुच्छरको साटो

यी हल्लाउने थिए निकालेर आफ्नो मगज

जसरी हल्लाइरहेछन् अहिले आफ्ना

विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू

एक एक इमान, जमान र जिब्रोलाई

राखेर हातमा

यी तैयार देखिएका छन् मोहर राखेर

मेरा खुट्टामा भेटी चढाई ढोग गर्न


म निस्केर गन्तव्यमा पुग्दा

कुकुरको पुच्छर हल्लाउने लामभन्दा लामो लाम

र त्यो लामको पुच्छरमा आफूलाई पाएर

विस्मित छु


सत्यले कुनै सम्बन्ध राख्दैन मेरो विस्मयसँग

सत्य त यो हो

यो हाम्रो युग

पुच्छर नभएका कुकुरको युग भएको छ ?

प्रकाशित : कार्तिक १, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वपीडित महिलामा मानसिक समस्या

सशस्त्र द्वन्द्व सकिएको डेढ दशक भयो तर धेरै द्वन्द्वपीडितको मानसिक अवस्था अझै अशान्त छ । परिवारका सदस्य गुमाउँदाको पीडा र यातनाले उनीहरूमा मानसिक तनाव बढ्दो छ ।
‘निद्रा नलागेर रातभर हजारौं पटक माला जपेकी छु, द्वन्द्व सकियो भन्छन् तर मभित्रको द्वन्द्व अझै छ ।’
मधु शाही

नेपालगन्ज — यहाँ सञ्चालित एक कार्यक्रममा सहभागीले सशस्त्र द्वन्द्वका तीता अनुभव सुनाउँदै थिए । गलामा रुद्राक्षको माला लगाएकी पार्वती खड्का (नाम परिवर्तन) ले सुन्न सकिनन् । उनको शरीर थर्थर काँपेको थियो । डरले आत्तिएको मन शान्त पार्न उनी गलाको रुद्राक्षको माला मन्त्रसहित जप्न थालिन् ।

कोहलपुरकी उनी सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट यातना पाएकी पीडित हुन् । द्वन्द्व सकिएको डेढ दशकपछि पनि उनीजस्ता धेरै द्वन्द्वपीडितको मानसिक अवस्था अशान्त छ । ३० वर्षीया पार्वती रातभर सहजै निदाउन सक्दिनन् । बत्ती निभाएर सुत्न सक्दिनन् । अँध्यारोदेखि उनलाई डर लाग्छ । कालो लोग्ने मान्छे आएर आफूमाथि गरेको यौनजन्य दुव्र्यवहार उनको मानसपटलमा अझै ताजा छ । ‘निद्रा नलागेर रातभर हजारौं पटक माला जपेकी छु,’ उनले भनिन्, ‘द्वन्द्व सकियो भन्छन् तर मभित्रको द्वन्द्व अझै छ ।’

२०५८ मा विद्यालय गएका बेला आफू राज्यपक्षबाट अपहरणमा परेको उनले बताइन् । योसहित तीन पटकसम्म उनी अपहरणमा परिरहिन् । राज्यले यातनापीडितलाई प्रमाण जुटाउन भनेको छ । तर, यौन हिंसामा परेका महिलाले पर्याप्त रूपमा प्रमाण जुटाउन नसक्दा न्याय पाउन मुस्किल रहेको उनले सुनाइन् । ‘यातनाको घाउ कसरी देखाउने ?,’ उनले भनिन्, ‘यस्ता थुप्रै दिदीबहिनी, जो पीडा सहेर पनि मौन छन् ।’

एक संस्थाले नेपालगन्जमा मंगलबार र बुधबार दुई दिन मनोसामाजिक सहयोग तथा अभिलेखीकरण तालिम दिएको थियो । जहाँ बाँके, बर्दिया र दाङका द्वन्द्वपीडितले मानसिक रूपमा विक्षित भावना पोखेका थिए । उनीहरूको मनोदशालाई अभिलेखीकरण गरिएको थियो ।

बैजनाथ गाउँपालिका–५ जी गाउँकी उषा दाहाल बेपत्ता परिवारकी सदस्य हुन् । उनका श्रीमान् र जेठाजु सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए । यति मात्रै होइन, राज्यबाट पटकपटक कुटपिट, असभ्य व्यवहार र मानसिक यातनाले उनी अहिलेसम्म विक्षिप्त छन् । बोल्दाबोल्दै थर्थराउने, मुखले जिब्रो टोकेर रगत आउँदासम्म थाहा नपाउने, एकोहोरो टोलाउने र रातभरि ननिदाउने लक्षणले उनी पीडित छन् । ‘म आर्मी र पुलिसको बर्दी देख्नै सक्दिनँ,’ उनले भनिन्, ‘आत्तिएर पल्टिहाल्छुजस्तो हुन्छ । डर लाग्ने, ढकढक मुटु काँप्ने, हात झमझमाएजस्तो हुने, सुतेका बेला आफै जिब्रो टोकिने हुन्छ ।’

नेपालगन्ज उपमहानगरपालिका–२२ की तुलसी विष्टलाई चाडपर्व आएपछि बेपत्ता श्रीमान्को झल्को लाग्छ । श्रीमान् कतैबाट टुप्लुक्क आइपुग्ने हुन् कि भन्ने झिनो आशाले उनका प्रत्येका दिन बित्ने गरेको छ । ‘रातभरि छिटो आउनू न भन्दै बर्बराउँदी रहेछु,’ उनले भनिन्, ‘निद्रामै कति पटक त ढोका खोल्न पुगेकी छु ।’ २०६० मा आमासँग सामान किन्न बजार गएका श्रीमान् अहिलेसम्म फर्किएका छैनन् । चिन्ताले उनलाई हातखुट्टा झमझमाउने रोगले समाएको छ ।

गुन्द्रुक र भात देख्दा नेपालगन्ज धम्बोजीकी चन्द्रकला उप्रेतीका आँखा रसाउँछन् । त्यसमा उनका बेपत्ता श्रीमान्को माया र सम्झना जोडिएको छ । २०६० मंसिर २३ मा गुन्द्रुक र भात पकाऊ भन्दै पसलमा गएका श्रीमान्को अहिलेसम्म अत्तोपत्तो छैन । मन शान्त पार्न उनी भगवान्को पूजा गर्छिन् । तर, न्याय पाउन राज्यसँग निरन्तर संघर्ष गरिरहेकी छन् । ‘लास नभेटिँदासम्म आस छ,’ उनले भनिन्, ‘उनको सम्झनामा घन्टौं हराउँछु, एक्लै हुँदा खिन्न भएर आँसु बर्बर खस्न थाल्छन् ।’ यस्तो बेला उनी मन शान्त पार्न मन्दिर र आश्रम धाउँछिन् ।

दाङकी सुशीला चौधरीले सशस्त्र द्वन्द्वकालमा दाजु गुमाइन् भने दिदीको खोजीमा अझै लागिपरेकी छन् । २०५९ वैशाख ३ मा अस्पतालमा उपचार गर्न जाने क्रममा राज्यपक्षबाट उनकी दिदी अपहरणमा परेकी थिइन् । सानैदेखि राज्य र विद्रोही दुवै पक्षबाट पाएको यातनाले उनको परिवार तनावग्रस्त छ । आमा र बुबाको मानसिक अस्थिरता सम्हाल्न उनलाई हम्मेहम्मे पर्छ । यसैमा आर्मीले सानैमा गरेको अभद्र व्यवहार उनका आँखावरिपरि अझै नाचिरहन्छ । ‘के गर्नु मन आक्रोशित हुन्छ,’ उनले भनिन्, ‘सम्झिँदा पनि मस्तिष्क चिडचिड हुन्छ ।’

पीडितहरूको समस्या सुनेपछि त्रिवि शिक्षण अस्पतालका डा. सगुनबल्लभ पन्थले ‘भर्चुअल’ माध्यमबाट तनाव व्यवस्थापनको तरिका सिकाएका थिए । उनका अनुसार खास गरी द्वन्द्वपीडितमा एक किसिमको ‘एन्जाइटी’ देखा पर्छ । यो मानसिक, शारीरिक र वैचारिक गरी तीनवटै रूपमा देखिन सक्छ ।

द्वन्द्वपीडित मनोविमर्शकर्ता कमला बुढाथोकीले मनको कुरा खुलस्त भन्न नसक्दा समाजमा धेरै द्वन्द्वपीडित मानसिक तनावमा पर्दै गएको बताइन् । एड्भोकेसी फोरम नेपालगन्जका संयोजक वसन्त गौतमका अनुसार पीडितले आफैं आफ्ना भोगाइ नखुलाउँदासम्म न्यायको पाटो फितलो हुने हुँदा मनोसामाजिक परामर्श दिन आवश्यक रहेको सुनाए ।

‘पीडित आफैं बोल्नुपर्छ भनेर काउन्सिलिङ गर्न जरुरी छ,’ उनले भने, ‘यसले उनीहरूको मन हल्का हुन्छ र आत्मविश्वास पनि बढाउँछ ।’

प्रकाशित : कार्तिक १, २०७७ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×