कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्ला पुग्दा जे देखेँ

राजनीतिक व्यवस्था बदलियो तर हुम्ली जनताको अवस्था बदलिएन । काठमाडौं, नेपालगन्ज, सुर्खेतमा जग्गाजमिन र घर नहुने अगुवा हुम्लाका गाउँमा कमै रहेछन् ।
निरज आचार्य

काठमाडौँ — कर्णाली प्रदेशमा पर्ने हुम्ला नेपालको सबैभन्दा दुर्गम जिल्ला हो । क्षेत्रफलको हिसाबले डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला तर जनघनत्वको हिसाबले सबैभन्दा कम जनघनत्व भएका जिल्लामध्ये दोस्रो श्रेणीमा पर्छ । यस जिल्लाको विकास सूचकांक ०.४३२ छ ।

हुम्ला पुग्दा जे देखेँ

अतिकम मानव विकास सूचकांक भएका पाँच जिल्लाभित्र पर्छ । सडक सञ्जाल जोडिन नसकेको एकमात्र जिल्ला हो यो । जिल्ला पुग्ने साधन भनेको नेपालगन्जदेखि सिमकोट वा सुर्खेतबाट हवाइयात्रा वा नेपालगन्जदेखि बाजुराको कोल्टीसम्म हवाईमार्ग हो ।

कोल्टीदेखि धुलाचौर हुँदै कुवाडीखोला पुल तरेर ताजाकोट हुम्ला मोटरबाट पुग्न सकिन्छ । कर्णाली करिडोरमा ताजाकोट, कुवाडी, पुइमाखोला हुँदै दोमुख, तुम्च सलिसल्लासम्म गाडी पुग्छ । सर्केगाडको गिउसीज्यूलासम्म सडकको प्रारम्भिक ट्य्राक खोल्ने काम भएको छ । खार्पुनाथ गाउँपालिकाको छारेपुलदेखि सर्केगाड गाउँपालिकाको ग्यूसीसम्मको खण्डमा नेपाली सेनाले कर्णाली करिडोरको ट्य्राक खोल्ने काम गरिहेको छ । २०८० वैशाखसम्म ट्य्राक खोल्ने लक्ष्य छ । आशा गरौँ २०८०/८१ सालदेखि सुर्खेत–हुम्ला–सिमकोटसम्म मोटरबाटो पुग्नेछ ।

जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटीहोम लगाइएको थियो । होम लगाइएको अर्थात् होमंलाबाट अपभ्रंश भई जिल्लाको नाम नै हुम्ला रहन गएको भन्ने एकथरी मत छ भने अर्कोथरीका अनुसार हुल्मलङ्रिङ अर्थात् साँगुरो नदीबाट अपभ्रंश भई हुम्ला भएको भन्ने भनाइ पनि छ । यहाँका मानिसहरुको जीविकोपार्जनको प्रमुख आधार खेतीपाती र पशुपालन हो । बहुमूल्य जडीबुटी, कोदो, फापर, चिनो, उवा प्रमुख बाली हुन् ।

मौलिक संस्कृति

संस्कृति, सम्पदा र संस्कार हुम्लाका आफ्ना परिचय हुन् । हुम्ला विकास सूचकांकका हिसाबले निकै पछाडि छ । तर सामाजिक, परम्परागत एवं संस्कृतिका हिसाबले धेरै माथि छ । बाहिरी दुनियाँसँग खासै लगाव छैन । आफ्नै संस्कृति र परम्परामा रमाइरहेका छन् हुम्ली । देउडा यहाँको मुख्य मनोरञ्जनको माध्यम हो । यसमा निकै रोचकघोचक र बेजोड साहित्य भेटिन्छ । मान्छेहरु एकापसमा कुरा गर्दा पनि देउडाको टुक्का मिसिएर गर्छन् । त्यसैले देउडा यहाँका जनजनको मनमनमा भिजेको छ ।

म पार्टी कार्यक्रमको सिलसिलामा हुम्ला र बाजुराको सीमामा पर्ने ताजाकोट आइपुगेको थिएँ । ठीक त्यतिबेला केन्द्रको राजनीतिक समीकरणमा बदलाव आउँदै थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अन्तिमजस्तो छलफल चल्दै गरेको समाचार सुनिएको थियो । ठीक त्यसैबेला ताजाकोटमा भने देउडा सुरु हुँदै थियो । देउडामा प्रश्न–उत्तर चल्छ । एउटा पक्षले प्रश्न गर्दै थियो :

‘के के भन्यो प्रचण्डले के भन्यो केपीले ?’ भनेर एक पक्षकाले सोधनी गरेपछि अर्को पक्षमा रहेकी विपना भण्डारीले उत्तर फर्काइन्

शेर्यान छोड्डीन भन्छ, प्रचण्ड रोट्याले

देशले सुख पाउन्या थियो, यी दुवै लोट्याले’

सुन्दा निकै रोचक लाग्ने उल्लेखित हरफका देउडामा गरिएको सवाल–जवाफको यो प्रसंग निकै रोचक थियो । अर्को प्रसंगमा दृष्टिविहीन लोक देउडा गायक मिलन नेपालीले सुनाए :

‘गोठालो बाइगयो खर्क, सल्ली टुपा राम नाई

पार्टी नभई राजनीति नाई, सूर्य नभई घाम नाई’

धेरै शब्द खर्चिंदा पनि गार्‍हो हुन्छ यो गीतका हरफले दिएको सन्देश व्यक्त गर्न । हुम्लाका ग्रामीण बस्तीको भुल्नै नसकिने अनौठो परिवेश के छ भने स्थानीय मानिस काठमाडौं आएर गाउँ फर्कियो भने गाउँमा नगरा बाजा बजाएर उत्सव गर्ने भात बाख्रो (खसी काटेर भोजभतेर) लगाउने प्रचलन आज पनि उत्तिकै जीवन्त र सामाजिक प्रतिष्ठाको विषय बनेकै छ ।

ताजाकोट गाउँपालिका–४ गल्लावाडाको माथिपट्टि केही घरहरु थिए । त्यहाँको घरमूली त्यति नै बेला काठमाडौं पशुपतिनाथको दर्शन गरेर फर्केका रहेछन् । त्यहाँ नगरा बाजा बजाएर भोज गरिरहेका थिए । अर्को दिन दुईजना युवाले बाग्लुङबाट शिक्षकको आधारभूत तह (प्रावि तह) मा लिखित र मौखिक परीक्षा पास गर्दै स्थायी शिक्षकमा नाम निकालेर घर फर्कने क्रममा गाउँ नै थर्कनेगरी दमाहा बजाएर त्यो खुसीमा घरपरिवारले समाजलाई खुसी भोज दिइरहेका थिए । यस्ता अनेकौँ परिवेश, रीतिरिवाज र संस्कारहरु हुम्लामा छन् । पीडा भए पनि खुसी हुनका लागि पनि त्यति धेरै ठूलो कारण चाहिन्न ।

महिलाहरुले स्थानीय परम्परागत गहना पोते, कौडाका माला, खँगालो, मुगा र सिक्काका मालाहरुका साथै फुली, बुलाकी, टप, औँठी आदि लगाउने गरेको पाइन्छ । बौद्ध धर्मावलम्बी महिलाहरुले कानमा आङ, गलामा मोतीका माला र औँलामा औँठी लगाएका भेटिन्छन् । यस जिल्लाका हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु धामी, झाँक्री तथा लामामा विश्वास गर्छन् । बूढापाकाहरुले भन्ने एउटा मिथक छ : देवपुरी हुम्लो, ब्रम्हपुरी जुम्लो । अर्थात् देवताले मानेको भूमि हुम्ला हो भने ब्राम्हणले भरिएको जिल्ला जुम्ला हो ।

प्रायःजसो हुम्लाका घरपरिवारका सदस्यहरु बिरामी पर्दा होस् वा कृषि तथा पशुलाई रोग लाग्दा समाधानका लागि धामी, झाँक्री तथा लामालाई गुहार्ने प्रचलन छ । उपचार गर्ने माध्यम भनेकै धामी, झाँक्री वा लामा गुहार्ने रहेको छ । दुवै धर्मावलम्बीले आ–आफ्ना संस्कारअनुसार जन्मदेखि मृत्युसम्मका संस्कारहरु जस्तैः पास्नी, व्रतबन्ध, विवाह र मृत्यु संस्कार गर्छन् । बुबा मर्दा छोराले एकवर्षसम्म मासु नखाने, आमा मर्दा एकवर्षसम्म दुध नखाने परम्परागत चलन अहिले पनि हुम्लाका बस्तीहरुमा यथावतै छ । बौद्ध धर्मावलम्बीहरुको भने लासलाई लामाले जोखाना हेरी जलाउने, जमीनमा पुर्ने, काटेर चिल वा गिद्धलाई खुवाउने चलन हुम्लामा अहिले पनि देख्न सकिन्छ । हिन्दु धर्मावलम्बी महिलाहरुमा नछुने (छुई) हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा १५–४५ दिनसम्म अछुत मानेर पशु राख्ने गोठमा राख्ने र त्यहीँ खाना दिनेजस्ता कुरीति विद्यमान छन् । ब्राम्हण, ठकुरीजस्ता ‘माथिल्लो जात’ काले आफूभन्दा ‘तल्लो जातका’ ले छोएको नखाने चलन कायमै छ ।

व्यवस्था बदलिए पनि अवस्था बदलिएन

अचेल राजनीतिक सन्दर्भमा एउटा भाष्य स्थापित भएको छ ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन’ । यो प्रसंग हुम्लामा हुबहु लागु हुन्छ । व्यवस्था बदलियो तर हुम्ली जनताको अवस्था बदलिएन । व्यवस्थाले केही सुकिला मुकिलाहरुको जीवनशैलीमात्र बदल्यो । काठमाडौं, नेपालगञ्ज, सुर्खेतमा जग्गाजमीन र घर नहुने अगुवा हुम्लाका गाउँमा कमै रहेछन् ।

सडक यातायात, शिक्षा, स्वास्थ्यका समस्या भनिसाध्य छैन । बाल मृत्युदर, कुपोषण, सुत्केरी हुन नसकेर मृत्यु हुने महिलाको संख्या, स्कुल छाड्ने छात्रछात्राको संख्यालाई वास्तविक तथ्यांकमा हेर्दा निकै डरलाग्दो अवस्था छ । भौगोलिक कठिनाई र आवागमनको समस्याको फाइदा सीमित वायुसेवा कम्पनी र यातायातका मालिकहरुले उठाइरहेका छन् । महंगो भाडा लिने, तोकिएको समयमा नउड्ने, मौसमको अनुकूलता र प्रतिकूलतामा पैसाको बार्गेनिङ गरिरहेका हवाई कम्पनीहरुले भर्ने उडानको महंगो र जोखिमपूर्ण यात्रा हुम्लीका लागि बाध्यता हो ।

ट्रयाक खोलिएको सडकमा चर्को भाडा तिर्नु त्यसमा पनि भनेको समयमा यातायातका साधन नपाउनु, खाद्यान्न अभाव, गरिबी, बेरोजगारी, आर्थिक अभाव, सामाजिक विभेद, जातीय छुवाछुत, छाउपडीप्रथा, बहुविवाह, अनमेल विवाह, बहुपतिप्रथाजस्ता कुसंस्कार र महिला, बालबालिकाका उत्पीडनका समस्या धेरै छन् । जाती अनुसारको ढोगभेटको अनौठो चलन रहेछ ।

विकास बजेटको नकारात्मक भाष्य

संघ, प्रदेश र स्थानीय तहका सरकारमार्फत् वर्षेनी गाउँघरमा बजेट जान्छ । बजेट निश्चित आयोजनाका लागि जाने हो । उक्त आयोजना लक्ष्यअनुरुप सम्पन्न गर्नुपर्ने हो । तर हुम्लामा लक्ष्यअनुरुप बजेट कार्यान्वयन र गुणस्तर कायम नुहुनेजस्ता समस्या सामान्य देखिन्छन् । विकास गर्ने भन्दा विकास खाने भाष्य स्थापित थियो । अचेल नयाँ शब्दावली थपिएको रहेछ ‘विकास किन्ने’ । ‘यो विकास/योजना मैले किनेर ल्याएको हो’ भनेर केही मान्छे खुलेआम भन्दारहेछन् । सत्तापक्षका चल्दापुर्जा कार्यकर्ताले अमुक नेता/मन्त्री वा बजेट हाली दिनसक्ने तहका व्यक्तिलाई उस्को खातामा अग्रीम केही लाख पैसा जम्मा गरेपछिमात्र उस्ले भनेको ठाउँमा योजना पर्ने गरेको रहेछ । उसकैअनुसार उपभोक्ता समिति बनाउने, काम गर्ने र मुनाफा कमाउने काम डरलाग्दो छ । विकासमा विभेद छ । राज्यद्वारा प्राप्त साधनस्रोत जनतालाई दिँदा विभेद गरिन्छ । सरकारी तहबाटै योजना/बजेट पनि आफूभन्दा फरक पार्टीमा आस्था राख्ने वा आफूलाई मतदान नगर्ने पक्षलाई दिइँदैन । यो मेरो पार्टीको सरकारले पठाएको हो । तेरो पार्टीका नेता वा तेरै सरकारसँग माग, म दिन्न भनेर अरुलाई बजेट र सेवासुविधा नदिने समस्या रहेछ ।

‘हाम्मा ताजाकोट चउठ्या नेपालीभन्दा दाल्दी (गरिब) को आला ? उस्ले घर पाया नाई ऊ एमाल्या (एमाले) भयो पालिका माउवादी (माओवादी) भयो’ यो ताजाकोटबासीको आम भनाइ हो । कर्णाली प्रदेश सरकारको बस्ती विकास कार्यक्रम अन्तरगतको गाउँको अतिविपन्न परिवारलाई छनोट गरी घर बनाई दिनुपर्ने हो । रविन नेपाली अर्थात् चउठे नेपाली गाउँको दलित, दुवै आँखा नदेख्ने दृष्टिविहीनलाई फरक राजनीतिक आस्थाका आधारमा पालिका अध्यक्षले सूचीमा नपारेपछि उनले घर पाएनन् ।

सम्भावनाको ‘भर्जिन’ भूमि

वर्तमानमा हुम्लेलीहरुलाई लखेटिरहेका संकटहरु विस्तारै निवारण हुँदै जानेछन् । आधुनिक विश्वको चेतना, प्रविधि र सञ्चारमा आएको विकासको रफ्तार विकासउन्मूख अवस्थामा रहेका देशहरुसम्म पुगेको छ । नेपालमा राजनीतिक स्थायित्व र जिम्मेवार सरकार बनेर काम थाल्यो भने हुम्लाजस्ता जिल्लाहरु दुर्गमबाट सुगममा रुपान्तरण गर्न सकिन्छ । कर्णाली करिडोर हुम्लाको विकासको लाइफलाइन (जीवनरेखा) हो । सुर्खेत हुँदै कर्णाली नदी करिडोर भएर तिब्बतको सीमाना हिल्सा जोड्ने यो सडकले चीन र भारतलाई जोड्छ । अबको करिब दुईवर्षमा यो सडक जोडिनेछ । व्यापार र पर्यटनका हिसाबले यो जिल्ला अत्यन्तै महत्वूर्ण छ ।

खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमी उपत्यका, रलिङ्ग गुम्बा, मानसरोवर र कैलासपर्वत पुग्ने प्रमुखमार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरखखाङ हिमाल (२०७१ सालबाट खुल्ला गरिएको ) यस जिल्लाका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु हुन् । कर्णाली नदी, चुवाखोला, गल्फागाड, गोठीखोला, हनुमानेखोला, कारङ्गाखोला, तक्चीखोला, कवाडीखोला, हिल्दमखोला, टाकेखोला, कुमुचियाखोला, लुणप्याखोला, हेप्काखोला र दोजाङ्खोला जलविद्युत उत्पादनका लागि महत्वपूर्ण छन् । कर्णाली नदी तटमा विभिन्न स्थानमा पाइने तातोपानीका मुहानहरु पर्यटक लोभ्याउने स्थान हुन् । पशुपालन, व्यापार र पर्यटनका लागि हुम्ला ‘भर्जिन’ भूमि हो ।

(आचार्य नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित : चैत्र २२, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्