३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

मनोज बडू

दार्चुला — यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन् ।

यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई साताका लागि विद्यालय बन्द गरिन लागेको उनले बताए । गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा संकलनको समयमा बिदा गरिने समझदारी भएको साउँदले बताए ।

उनका अनुसार केही विद्यालय मंगलबारबाट बन्द गरिएका छन् भने केही शुक्रबारसम्म सञ्चालन गरेर बिदा दिइने तयारी छ । ‘जेठ ४ देखि पालिका सबै विद्यालय बन्द हुने अवस्था छ,’ उनले भने । अपीहिमाल–६ स्थित छिपुलाकेदार आधारभूत विद्यालय धङक्ङ र महादेव आधारभूत विद्यालय खडियानले मंगलबारदेखि कक्षा सञ्चालन बन्द गरेका छन् । मंगलबार भवानी मावि सौकान्नाले पनि बन्द गर्ने जानकारी गराएको उनले बताए । जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने निर्णय गर्दै आएकामा यसपालि व्यवस्थापन समितिलाई आफू अनुकूल निर्णय गर्ने सहमति भएको शिक्षा शाखा अधिकृत साउँदले बताए । गाउँपालिकाभरीका २४ वटा सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । अन्न उत्पादन कम हुने स्थानीयले जेठ–असारमा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् ।

यार्सा सिजन सुरु भएसँगै जिल्लाको अपीहिमाल, मार्मा, नौगाड, दुहु, व्यासलगायत गाउँपालिका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय अपीहिमालका विशनसिह बुढाथोकीले बताए । अपीहिमालको लोलु, रिङ्देपानी, रौन्याड, सतगंगा कालीढुंगालगायत पाटनमा बढी यार्सागुम्बा संकलन हुने गर्छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व संकलन गर्दै आएको छ । संरक्षण क्षेत्र कार्यालयले जेठ दोस्रो साताबाट यार्सा संकलन गर्नुपर्ने सूचना जारी गरे पनि स्थानीय वैशाख दोसो सातादेखि नै लेकतिर गइसकेका छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?