‘काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ’

जेष्ठ १, २०८१

कान्तिपुर संवाददाता

”Kathmandu and New Delhi should learn from Beijing”

काठमाडौँ — प्राध्यापक सी. राजा मोहनले काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ को तेस्रो संस्करणमा वक्ताको रुपमा नेपाल आएका भारतीय भूराजनीतिक विज्ञ तथा प्रा. राजा मोहनले भारत र नेपालले विचारधाराको आधारमा काम गर्न नहुने उल्लेख गर्दै बेइजिङबाट सिक्नु पर्ने बताएका हुन् ।

‘नेपाल–भारत सम्बन्धः सम्भावना र बाटोहरु’ बारे दिने क्रममा उनले भने, ‘बेइजिङलाई हेर्नुस्, चीन र जापान बीचको सम्बन्ध त राम्रो होइन । तर चीनले आफ्नो अर्थतन्त्रलाई अघि बढाउन जापानको लगानी ल्यायो र फाइदा लियो ।’ 

राजामोहनले दिल्लीमा मनमोहन सिंहको सरकारको कार्यकालमा कम्युनिष्ट पार्टीले अमेरिकासँगको न्यूक्लियर सम्झौता गर्दाको विषय र नेपालमा अमेरिकी आर्थिक अनुदान सहयोगको परियोजना एमसीसीको उदाहरण पनि दिए । उनले चीनले आवश्यक पर्दा रुससँग सम्बन्ध बलियो बनाएको, त्यसपछि फेरि अमेरिकासँगको सम्बन्धलाई बलियो बनाएको र अहिले आएर फेरि रुससँगको सम्बन्ध अघि बढाएको बारेमा पनि उल्लेख गरे । उनले विचारधाराले दुई पक्षीय सम्बन्धमा ठूलो समस्या निम्त्याएको पनि प्रस्ट पारे ।

प्राध्यापक राजा मोहनले दक्षिण एसियाका साना मुलुकहरुले त्रिपक्षीय प्रतिस्पर्धाको सामना गर्नु पर्ने बताए । उनले भने, ‘अहिले अमेरिका र चीन, चीन र भारत र भारत र अमेरिका बीचमा प्रतिस्पर्धा छ, त्यसको बीचमा दक्षिण एसियाका साना मुलुकहरु रहेका छन् । जसको सामना यो क्षेत्रका अन्य मुलुकहरुले गर्नु पर्ने हुन्छ ।’  

कार्यक्रममा राजा मोहनको प्रस्तुतिपछि सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत नजिकको छिमेकी रहेको उल्लेख इतिहासदेखिकै सम्बन्ध रहेको बताए । उनले दुई मुलुकबीच इतिहासले छाडेका केही विषय रहेको उल्लेख गर्दै त्यसलाई दुई मुलुक मिलेर समाधान गर्नु पर्ने प्रस्ट पारे । 

कार्यक्रमको सुरुआतमा बोल्दै परराष्ट्र सचिव सेवा लम्सालले ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ कार्यक्रम मन्त्रालयको एउटा कोसेढुंगा सावित भएको बताइन् । उनले खनालको स्मरण गर्दै कार्यक्रममा नेपालको विविध पक्ष र वर्तमान अवस्थाको बारेमा छलफल हुने बताएकी थिइन् ।

कान्तिपुर

Link copied successfully