एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्धार- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्लो रातिदेखि नै परेको वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर सडकसहित केही घर पनि ध्वस्त बनायो ।

यहाँ माथिल्लो भेगबाट भास्सिरहेको पहिरो मिसिएको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र यात्रुहरू सडकछेउमा नै रोकिएका थिए । वरपर अलपत्र परेका त्रसित स्थानीय र रोकिएका सवारीका लस्कर, बीचमा उर्लँदो खोला तल भोटेकोसी । त्यसैबेला हतारमै बाह्रबिसे नगरले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन थाल्यो ।

त्यसबेला पारि एउटा एम्बुलेन्स देखिन्थ्यो । उक्त एम्बुलेन्सभित्र आफ्नो शिशुसहित थुनिएकी थिइन् २३ दिने सुत्केरी समीक्षा तामाङ । बाह्रबिसे नगर ५ की २८ वर्षीया समीक्षमा जन्डिसले सिकिस्त बिरामी छोरालाई काभ्रेको धुलिखेल अस्पताल पुर्‍याउन आतुर थिइन् । साथै उनी स्वयं पनि स्वासप्रश्वास समस्याले तनाबमा थिइन् ।

तर बाढीले सडक अवरुद्ध भएपछि उनीसँग कुनै उपाय भएन । यतिन्जेलसम्म यहाँ स्थानीयहरूको घुइँचो लागिसकेको थियो । कोही बाटो अवरुद्ध भएर आत्तिँदै थिए । कोही रमिता हेरिरहेका थिए ।

यस्तैमा अचानक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ एक्स्काभेटरको छेउमा आइपुगेर केही इसारा गरे । त्यहीबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतको गाडी अवरुद्ध सडकको पारिपट्टि रोकिएको मेयर बस्नेतले नै भने । तर खोला पार गर्न मुस्किल थियो । मेयर बस्नेतले नै सुत्केरी तामाङलाई भने ,‘सडक बन्न अझै दुई घण्टा लाग्छ, उता पारि नगरकै सवारी कुरिरहेको छ आउनुहोस् ।’

तब सुत्केरी र उनीसँगै आएका आफन्तहरू हतारहतार निस्किएर झोला समाउन थाले । फेरि उपाय निकालियो, एक्स्काभेटरको बकेटबाट सुत्केरीको उद्धार गर्ने । मेयर बस्नेतले एक्स्काभेटर चालकलाई बोलाएर सुत्केरीको परिवारलाई बकेटमा राख्न लगाए र आफू पनि त्यसैमा चढे ।

पूरा पढ्न : एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्धार

प्रकाशित : श्रावण २०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा ५ जीका लागि नोकियाले सघाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाललाई ५ जी युगका लागि तयार पार्न नोकियाले सघाउने भएको छ । शुक्रबार नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे’ आयोजना गरेको थियो । गिगाबिट युगमा गति बढाउँदै लैजाने विषयमा छलफल भएको थियो । नेपालमा मेसिनरीहरुलाई निर्वाध रुपमा जडान गर्ने, नयाँ सेवाहरु विकास गर्ने सम्बन्धमा नोकियाले विशेषज्ञहरुबाट राय लिएको छ । 

सार्वजनिक स्थल, यातायात, स्मार्ट शहर तथा उद्योग क्षेत्रमा ५ जी प्रयोग गर्नेबारे विशेषज्ञहरुले विभिन्न सुझाव दिएका थिए । नोकियाले हाल १० लाख भन्दा बढी नेपाली घरहरुसम्म उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्‍याउन सफल भएको दाबी गरेको छ । उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्याण्ड अबको उद्देश्य रहेको नोकियाले जनाएको छ ।


प्रकाशित : श्रावण २०, २०७९ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×