जित्दाजित्दै हार्न पुगेको नेपाल

अन्तिम ओभरको छिनोफानोले शशीलाई २० वर्षअगाडिको याद दिलाएको थियो । उनी भन्दै थिए, ‘२००४ मा पनि यस्तै भएको थियो । माहोल यही खाले थियो । हामीले चाहिँ त्यो तनावपूर्ण क्षण पार गरेका थियौं । तर, नेपालले वेस्ट इन्डिजमा जसरी खेल्यो, त्यो पनि अविश्वसनीय छ ।’

वेस्ट इन्डिज — नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा शनिबार इतिहास रच्ने क्रममा पुगिसकेको थियो । सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा पहिलो पटक फ्लड लाइटमा खेलिएको खेलमा दक्षिण अफ्रिकामाथि नेपालको ऐतिहासिक विजयको कथा लगभग तय भइसकेको थियो ।

जित्दाजित्दै हार्न पुगेको नेपाल

दक्षिण अफ्रिकालाई १ सय १५ रनमा समेटेपछि नेपाल सहज लक्ष्यसहित विजय उन्मुख देखिन्थ्यो । टेस्ट राष्ट्रविरुद्ध पहिलो जित नजिक पुगेको थियो, नेपाल । नतिजा नेपालको पक्षमा आएको भए यो ट्वान्टी–२० विश्वकप इतिहासकै सनसनीपूर्ण नतिजा हुने निश्चित थियो ।

जवाफमा नेपालले १६ रन बनाइसकेको थियो । विजयका लागि अझ १ सय रन बनाउनुपर्ने अवस्था थियो । ‘वी लभ साउथ अफ्रिका’ भन्दै नेपालका पूर्व यू–१९ खेलाडी शशी केसरीले म्यासेज पठाए । उनको म्यासेजको भाव स्पष्ट थियो, नेपालले दक्षिण अफ्रिकाविरुद्ध सधैं राम्रो खेल्छ र विगतमा जस्तै जितको नतिजा निकाल्छ ।

उनै शशीले विजयी चौका प्रहार गरेपछि नेपालले सन् २००४ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा दक्षिण अफ्रिकालाई १ विकेटले पराजित गरेको थियो । शक्ति गौचनको धैर्यले भरिएको अर्धशतकपछि अन्तिम ३ बलमा ३ रन आवश्यक हुँदा शशीले प्रहार गरेको चौकाले नेपाललाई उमेर समूहमा ऐतिहासिक विजय दिलाएको थियो ।

श्रीलंकामा सन् २००० मा भएको यू–१९ विश्वकपमा दक्षिण अफ्रिकाले अझ ठूलो दुर्भाग्य भोगेको थियो । ज्याक रुडोल्फको १ सय ५४ र ग्रिम स्मिथको ७४ रनमा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९५ को स्कोर बनाएको थियो । पहिलो पटक यू–१९ विश्वकप खेलिरहेको नेपालले जवाफमा १२ ओभरमै मात्र २४ रन बनाएर ४ विकेट गुमाइसकेको थियो । तर, वर्षाका कारण उक्त खेल रद्द भएपछि भने अंक बाँडियो । सोही खेलबाट प्राप्त १ अंकको मद्दतले नेपाललाई सुपर सिक्समा पुर्‍याउन ठूलो भूमिका खेलेको थियो ।

नेपालका लागि योभन्दा ठूलो भाग्य र दक्षिण अफ्रिकाको दुर्भाग्य सन् २००६ को विश्वकपमा भएको थियो । कोलम्बोमा प्लेट सेमिफाइनलमा नेपालले पहिला ब्याटिङ गरेर बनाएको २१४–४ को स्कोर रक्षा गर्नुपर्ने थियो । वसन्त रेग्मीले १० ओभरमा ३१ रनमात्र खर्चेर ३ विकेट लिएपछि नेपालले दक्षिण अफ्रिकालाई २१२–५ मा रोकेर २ रनको सनसनीपूर्ण विजय निकालेको थियो । अर्थात् नेपाली टिम यू–१९ स्तरमा पराजित भएकै थिएन ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

ओपनर ब्याटर आसिफ शेख र कुशल भुर्तेलको राम्रो सुरुआतसँगै आसिफ र अनिल शाहको अर्धशतकीय साझेदारीमा बलियो स्थितीमा रहेको नेपाल त्यसपछि तबरेज साम्सीको सनसनी बलिङसामु लडखडाउन पुग्यो । नेपालको मध्यक्रम पतन हुँदै १८ औं ओभरको ‘क्लाइमेक्स’ मा आइपुगेको थियो । अन्तिम १८ बलमा १८ रन बनाउनुपर्ने अवस्थामा पुगेको नेपालसामु अझै ७ विकेट सुरक्षित नै थियो । ३ ओभरमा १७ रन मात्र दिएर २ विकेट चड्काइसकेका साम्सी आफ्नो अन्तिम ओभरको बल फाल्न १८ औं ओभरमा आए । क्रिजमा आशिफ ४१ रन बनाएर सेट भइसकेका थिए भने दीपेन्द्रसिंह ऐरी रनिङ विटविन्द विकेट आशिफलाई राम्रो साथ दिएर लय समात्दै थिए । तर साम्सीले ओभरको तेस्रो र छैटौं बलमा ऐरी र आसिफलाई आउट गरेपछि नेपाललाई जितका लागि १२ बलमा कम्तीमा १६ रन बनाउनुपर्ने भयो । खेल अझै पनि नेपालको हातबाट गुमिसकेको थिएन । १९ औं ओभरको दोस्रो बलमा एनरिच नोकिएले नेपालका देब्रेहाते ब्याट्सम्यान कुशल मल्ललाई मात्र १ रनमा आउट गरे ।

त्यसपछिको दुई बल डट फालेर ८ बलमा १६ रन बनाउनुपर्ने दबाबमा राखेका एनरिचलाई सोमपाल कामीले अन्तिम दुई बलमा क्रमशः छक्का र २ रन जोड्दै राहत दिलाए । ४ बलमा ८ रन जोडेर आशा दिलाएका सोमपालले स्ट्राइक भने पहिलो बल नै फेस नगरेका गुलशनका लागि छोडिदिए । गुलशनले २० औं ओभरको पहिलो २ बल डट खेले । जितका लागि ४ बलमा ८ रन बनाउनुपर्ने दबाबलाई गुलशनले तेस्रो बलमा चौका र चौथो बलमा २ रन प्रहार गरेपछि नेपाल जितका लागि मात्र २ रन टाढा थियो । सनसनीपूर्ण जितका लागि नेपालसँग २ बल नै बाँकी थियो । उमेर समूहका खेलमा दक्षिण अफ्रिकासँग बारम्बार भाग्यशाली रहँदै आएको नेपालका लागि यसपटक नतिजा सुखद निस्केन ।

अन्तिम दुई सर्ट बलमा गुलशनले कुनै रन लिन नसकेपछि नेपालले १ रनको ‘दुर्भाग्यपूर्ण’ हार ब्योहोर्नुपर्‍यो । खेलको अन्तिम बलमा १ रन लिएर स्कोर ‘टाई’ बनाउँदै खेललाई सुपर ओभरमा लग्न गुलशन र सोमपालले गरेको अन्तिम प्रयास पनि सफल भएन । गुल्सन रनआउट भएपछि नेपाल ऐतिहासिक जितको हकदार हुनबाट चुक्यो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रन मात्र बनाउन सक्यो । आसिफले ४९ बलमा ४२ रन बनाए ।

‘लक्ष्य खासै ठूलो थिएन, विकेटचाहिँ ब्याटिङका लागि अलिक कठिन थियो, राम्रो सुरुआत दिलाउँदै साझेदारी बनाउने योजना थियो,’ आसिफले भने, ‘कुशलसँगको राम्रो साझेदारीपछि मेरो जिम्मेवारी स्कोरलाई अन्तिमसम्म लैजानु थियो । अनिल (शाह) दाइको विकेट अलिक महत्त्वपूर्ण भयो जस्तो लाग्छ ।’ हारमा दुःखी भए पनि नेपाली टोली जित्न खेलेको र दक्षिण अफ्रिकाजस्तो टोलीसँग देखाएको यो प्रदर्शनले खेलाडीको मनोबल झनै उच्च भएको आसिफले बताए ।

अनिलले २४ बलमा ३ चौका र १ छक्का मद्दतमा २७ रन बनाएका थिए । स्पिनर केशव महाराजको स्थानमा खेलिरहेका साम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । ७ ओभरमा बिनाक्षति ३४ रन बनाएर खेलिरहेको नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आठौं ओभरमा र दीपेन्द्र र आसिफलाई १८ औं ओभरमा आउट गर्दै साम्सीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो उत्कृष्ट बलिङ गरे ।

दक्षिण अफ्रिकाले नेपालविरुद्ध बनाएको स्कोर ट्वान्टी–२० विश्वकपमा टोलीको दोस्रो न्यून स्कोर हो । पावर प्लेको पहिलो ६ ओभरमा दक्षिण अफ्रिकालाई ३८–१ तथा १० ओभरमा ५७–१ को अवस्थामा राख्दै खुलेर खेल्न नदिएका नेपाली बलरले त्यसपछि झनै किफायती बलिङ गरेका थिए । दक्षिण अफ्रिकी ब्याटरले ठूला सट खेल्न सकेका थिएनन् । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । हेन्ड्रिक्स ३२ बलमा ३० रन बनाएको अवस्थामा अविनाश बोहराको बलमा भुर्तेलले लङअफमा सहज क्याच छाडेका थिए । त्यसको अर्को ओभरमा नै बलिङका लागि आएका भुर्तेलले कट एन्ड बोल्ड गरेर त्यसको भर्पाइ गरे ।

चौथो ओभरमा आउट फर्म रहेका क्विन्टन डी ककलाई दीपेन्द्रले कट एन्ड बोल्ड गरी नेपाललाई पहिलो सफलता दिलाए । डी ककले ११ बलमा १ चौकासहित १० रन मात्र बनाउन सके । कप्तान एडेन मारक्रमले पनि २२ बलमा २ चौकासहित १५ रन मात्र बनाउन सके । उनी भुर्तेलकै सिकार भएका थिए । हेनरिक क्लासेनलाई आउट गरी भुर्तेलले दक्षिण अफ्रिकालाई अर्को ठूलो झट्का दिलाए । डेबिड मिलर पनि धेरै बेर टिक्न सकेनन् । उनलाई दीपेन्द्रले ७ रनमा आउट गरे । ट्रिस्टन स्टब्स १८ बलमा २ चौका र १ छक्का प्रहार गरी २७ रनमा अविजित रहे । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर पनि बलिङ गरेका भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको यो उत्कृष्ट बलिङ पनि हो । उनले आफ्नो पहिलो ३ ओभरमा १० रन मात्र दिएका थिए ।

अन्तिम ओभरको छिनोफानोले शशीलाई २० वर्षअगाडिको याद दिलाएको थियो । उनी भन्दै थिए, ‘२००४ मा पनि यस्तै भएको थियो । माहोल यही खाले थियो । हामीले चाहिँ त्यो तनावपूर्ण क्षण पार गरेका थियौं । तर, नेपालले वेस्ट इन्डिजमा जसरी खेल्यो, त्यो पनि अविश्वसनीय छ ।’

दक्षिण अफ्रिकाको यो विश्वकपमा लगातार चौथो विजय हो । पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो । नेपाल यस हारपछि समूह चरणबाटै बाहिरिएको छ । जितविहीन रहेको नेपालले बंगलादेशसँग सोमबार बिहान समूह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित : असार २, २०८१ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x