कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी ट्वान्टी–२० विश्वकपका लागि वेस्ट इन्डिजमा छ । सोमबार बिहान बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दैछ । दक्षिण अफ्रिकाविरुद्ध शुक्रबार सनसनीपूर्ण प्रदर्शन गर्दै नेपालले विश्व क्रिकेटको ध्यान तानेको थियो । यता विश्वकप छनोट हुँदा नेपाल सरकारबाट घोषित पुरस्कार रकम भने आइतबार एक कार्यक्रमबीच प्रदान गरिएको छ । 

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार वितरण

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरमा दोस्रो हुँदै नेपाल छनोट भएको थियो । त्यसवापत सरकारको कार्यविधिअनुसार खेलाडीले जनही १३ लाख पाउनुपर्ने थियो ।

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, सन्दीप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारीले जनही १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाइले ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही, व्यवस्थापक सुमनराज कार्की र फिजियो विक्रम न्यौपानेले समान १ लाख ९५ हजार रुपैयाँ पाएका थिए । क्रिकेटले सर्वाधिक २ करोड ४ लाख ७५ हजार रुपैयाँ पाएको थियो । रकम भने सम्बन्धितको बैंक खातामा पठाइएको जानकारी गराइयो ।

नेपाली खेलकुदमा अहिलेसम्म एउटा खेलले सरकारबाट प्राप्त गरेको सबैभन्दा धेरै पुरस्कार रकम हो । नेपाल क्रिकेट संघका सचिव तथा पूर्वकप्तान पारस खड्काले सरकारबाट प्राप्त यस पुरस्कारले खेलाडी र समग्र क्रिकेटको मनोबल बढेको स्मरण गराए ।

युवा तथा खेलकुद मन्त्रालयले क्रिकेटसँगै एसियाली खेलकुदमा पदक जितेका खेलाडीलाई पनि पुरस्कार प्रदान गरेको थियो । चीनको हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी कराते खेलाडी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ प्रदान गरियो । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार तथा सहायक प्रशिक्षकद्वय छोरी डंगोल र वीरकृष्ण शाहीले ७८–७८ हजार पुरस्कार पाए । टिम व्यवस्थापक निवासगोपाल वैद्यले १ लाख ९५ हजार पाए । करातेतर्फ २५ लाख ३५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।


एसियाडमै ऐतिहासिक कांस्य विजेता जितेको नेपाली महिला कबड्डी टोलीले कुल ४८ लाख १० हजार पुरस्कार पायो । मेनुका राजवंशी (कप्तान), मानमति विष्ट, जयन्ती बडू, सुनीता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नीतु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु र कलावती पन्तले जनही ३ लाख ९० हजार रुपैयाँ प्राप्त गरे । प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले समान १ लाख ३० हजार पुरस्कार हात पारे । एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पहिलो सहभागितामै पदक जितेको हो ।

हाङचाउमै भएको चौथो पारा एसियाली खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कांस्य जितेकी पलेशा गोबर्धनले १३ लाख रुपैयाँ पुरस्कार पाइन् । पारा एसियाली खेलकुदमा पलेशाले पाएको नेपालको एकमात्र पदक हो । अघिल्ला तीन संस्करणमा नेपाल सहभागी भए पनि पदक जित्न सकेको थिएन । प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाए ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले पदक जितेका खेलाडीलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

पुरस्कार ग्रहणपछि रजत विजेता एरिका, कांस्य जितेकी पलेशा र कबड्डी कांस्य विजेता अनुजा कुलुङको एउटै स्वर थियो यो पुरस्कारले आफूमात्र नभई भावीपुस्ताका खेलाडीलाई पनि खेलप्रति प्रेरित गर्नेछ । एरिकाले भनिन्, ‘मैले गर्व साथ भन्न सक्छु खेलमा लागेर सरकारबाट यति ठूलो सम्मान र पुरस्कार पाएको छु । यसले मलाई मात्र होइन, खेलमा लाग्ने जो कोही खेलाडीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको छु ।’

राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई गत वैशाख ७ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । अर्थ मन्त्रालयबाट शुक्रबार पुरस्कार रकम खेलकुद मन्त्रालयको खातामा आएपछि खेलाडीलाई आइतबारै प्रदान गरिएको हो ।

मन्त्री श्रेष्ठले शासकीय बेथितिका कारण सरकारको कार्यविधि रहेको पुरस्कार खेलाडी प्रदान गर्न ढिलाइ भएको स्मरण गराउँदै त्यही बेथिति सुधार्न आफूहरू लागिपरेको बताए ।

सोही कार्यक्रमका दौरान मन्त्री विराजभक्त श्रेष्ठले १०० दिन पूरा गरेकामा आफ्नो कार्यप्रगति र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित : असार २, २०८१ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?