कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आयरल्यान्ड उल्भसद्वारा नेपाल ‘ए’ विरुद्धको शृंखला ‘क्लिन स्विप’

विनोद पाण्डे

काठमाडौँ — अर्जुन कुमालले शतक बनाए पनि आयरल्यान्ड उल्भस (ए) ले आइतबार तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई ६९ रनले पराजित गरेको छ । २ सय ८५ रनको लक्ष्य लिएर आएको नेपाल ‘ए’ ३९.४ ओभरमा २ सय १५ रनमा अलआउट भयो ।

आयरल्यान्ड उल्भसद्वारा नेपाल ‘ए’ विरुद्धको शृंखला ‘क्लिन स्विप’

कुमालले २ रन जोड्दै ३४ औं ओभरमा आफ्नो शतक पूरा गरेका थिए । उनले १ सय १४ बलमा आफ्नो शतक पूरा गरेका थिए । त्यसको अर्को ओभरमा कुमाल १ सय १ रन बनाई आउट भए । उनले कुल १ सय १८ बल खेली १४ चौका प्रहार गरे ।

कुमालले अर्जुन साउदसँग पहिलो विकेटमा १२ ओभरमा ६८ रनको साझेदारी गरी नेपाल ‘ए’ लाई राम्रो सुरुआत दिलाएका थिए । साउद ३० बल खेली ४ चौका र ३ छक्का प्रहार गरी ३६ रनमा आउट भए । देव खनालले पनि ११ रनमात्र बनाउन सके ।

नरेन भट्ट १५ रनमा आउट भए । नेपाली राष्ट्रिय टोलीका अनुभवी विनोद भण्डारी र भीम सार्कीले पुनः निराश बनाए । कप्तान विनोद ४ र भीम पहिलो बलमा डकआउट भए । रुपेश सिंहले १६ बलमा ३ चौका प्रहार गरी १५ रन बनाए । रिजन ढकाल पनि शून्यमा आउट भए । शाहव आलम ६ र विकास आग्री ३ रनमा आउट भए ।

यस खेल जित्दै आयरल्यान्ड ‘ए’ शृंखला ‘क्लिन स्विप’ गरेको छ । आयरल्यान्ड ‘ए’ ले पहिलो खेल २१ रनले र दोस्रो खेल १ सय १४ रनले जितेर यसअघि नै शृंखला जितिसकेको छ । आयरल्यान्ड ‘ए’ ले नेपाल विरुद्धको तीन ट्वान्ट्वी २० खेलको शृंखला २–१ ले जितेको थियो । नेपाली राष्ट्रिय टोलीसॅगको दुवै खेलमा भने आयरल्यान्ड ‘ए’ पराजित भएको थियो ।

आयरल्यान्ड ‘ए’ बाट बेन हृवाइटले ५ विकेट लिए । लेग स्पिनर उनले १० ओभरमा १ मेडन राख्दै ६२ रन खर्चे । ग्याभिन होयले ४ विकेट लिए । उनले ७.४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चे । एक विकेट म्याथ्यु फोस्टरको नाममा रहयो ।

यसअघि स्टेफन डहनीको शतकमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८४ रन बनाएको थियो । आइरिस खेलाडीले यस पटकको नेपाल भ्रमणमा बनाएको यो पहिलो शतक हो । उनले १ सय २६ बलमा आफ्नो शतक पुरा गरेका थिए । ओपनर डहनीले कुल १ सय २९ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । रिजन ढकालले ४७ औं ओभरमा उनलाई विकेटको पछाडि अर्जुन साउदबाट क्याच गराए ।

जेम्स म्याकलम ९ रनमा आउट भएपछि डहनीले पिटर मुरसँग दोस्रो विकेटमा ६६ रनको साझेदारी गरे । मुरले २५ बल खेली ४५ रन बनाए । मुरले शाहव आलमको बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । उनै शाहवले मुरलाई आउट गरे । मुरले कुल २ चौका र ५ छक्का प्रहार गरे ।

केड केरमाइकल ८, मोर्गन टपिङ २१, कप्तान निल रक १, ग्याभिन होय १४ रनमा आउट भए । फिओन हृयान्डले २० र म्याथ्यु हम्फ्रेजले रन बनाउँदै डहनीलाई राम्रो साथ दिए । हम्फ्रेज ३४ बल खेली २ चौका प्रहार गरि २३ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । बेन हृवाइट १२ बल खेली २ चौका र १ छक्का प्रहार गरि १९ रनमा अविजित रहे ।

नेपालबाट रन्जीत कुमार र रिजनले ३–३ विकटे लिए । शृंखलामा पहिलो खेल खेलिरहेका रन्जीतले १० ओभरमा १ मेडन राख्दै ५३ र रिजनले १० ओभरमा ७५ रन खर्चे । शाहवले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

प्रकाशित : चैत्र २५, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?