कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

बैंकको पहुँचमा छैनन् दुर्गमका नागरिक

गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अछाम — सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट अनिवार्य गरेपनि यहाँका दुर्गम गाउँहरुमा भने स्थानीय तहले अहिले पनि नगद बोकेर गाउँ-गाउँ पुर्‍याउने गरेका छन् । अछामका दश वटै स्थानीय तहको केन्द्रमा बैंकहरु पुगे पनि भत्ता पाउने नागरिकहरु भने बैंकको पहुँचमा पुग्न सकेका छैनन् ।

बैंकको पहुँचमा छैनन् दुर्गमका नागरिक

भौगलिक विकटता, स्थानीय तहको केन्द्रबाट वडा र टोलको दुरी धेरै हुने भएकाले तुर्माखाँद, ढकारी, चौरपाटीलगायतका स्थानीय तहले प्रत्येक तीन महिनामा बैंक र सुरक्षाकर्मीको सहयोग लिएर गाउँमै सुरक्षा भत्ता पुर्‍याइदिने गरेका छन् ।

स्थानीय तह गठन भएपछि सरकारले २०७३ सालबाट नै सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने र सामाजिक सुरक्षा भत्तासमेत बैंकबाट सिधै व्यक्तिको खातामा पठाउने निर्णय गरेको थियो । सरकारले यस्तो निर्णय गर्नुअघि वडा सचिवले टोलदेखि घरघरसम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्थे । तर दुर्गममा भने अहिले पनि स्थानीय तहका कर्मचारी, बैंकका कर्मचारी र सुरक्षाकर्मीसमेतको सहयोगमा वडामा नै भत्ता वितरण भइरहेको छ ।

प्रत्येक तीन महिनाको एक पटक वडा कार्यालयमा गएर बैंकसम्म आउन नसक्नेका लागि भत्ता वितरण गर्ने गरेको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बताए । ‘प्रभु बैंकको शाखा गाउँपालिकाको केन्द्रमा छ । बैंक र वडाको दुरी धेरै छ । साविकको गाविस नै एक वडा बनाइएकाले अपांग र बृद्ध अवस्थाका भत्ता लिनेहरुको सहजताको लागि वडामा जान्छौं’ उनले भने ,‘नगद नै बोकेर जानु पर्ने भएकाले सुरक्षाका हिसाबले पनि गाह्रो छ । सुरक्षाकर्मीको साथमा भएपनि नगद बोक्दा समस्या नै हुन्छ ।’

वडा कार्यालयबाट टोलको दुरी पनि टाढा भएकाले धेरै जसो छुट्ने गरेको थापाले बताए । टोली गएर वितरण गर्ने बेला छुटेकाहरुलाई बैंकबाट नै दिने गरेको उनले बताए ।

भौगलिक रुपमा विकट रहेको ढकारी गाउँपालिकाले पनि बैंक र सुरक्षाकर्मीको सहयोगमा वडामा गएर नै भत्ता वितरण गरिरहेको गाउँपालिकाका सूचना अधिकारी विक्रम बोहराले बताए ।

‘एक वडामा कम्तिमा १५ जना ज्येष्ठ नागरिक वडासम्म पनि पुग्न नसक्ने अवस्थाका छन् । उनीहरुको हकमा घरमै पुगेर पनि दिने गरेका छौं’ उनले भने ,‘ प्रहरी चौकीमा आफैंमा प्रयाप्त जनशक्ति छैन । नगद रुपैया बोकेर जादा हामीले पनि खासै सुरक्षाको प्रत्याभुति गर्न सकेका छैनौं । अहिलेसम्म अप्रीय घटना घटेको त छैन । तर डर भने छ ।’

उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ , ३ , ५ , ६ , ७ का धेरै जसो टोलमा एक दिन हिडेर नै भत्ता वितरण गर्नु पर्ने अवस्था रहेको छ । साँफेबगर नगरपालिकाले एक पटक गाउँमै पुगेर बैंकसँगको सहकार्यमा भत्ता वितरण गरेपनि दोस्रो पटक निरन्तरता दिन नसकेको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुवँरले बताए ।

‘नगद नबोकेर वडामा गएर बैंकिङ प्रणालीबाट नै दिने प्रयास गरेका हौं । तर वडामा नेट नचलेपछि स्थगित भयो । अहिले सबैले साँफेबगरमा आएर नै लिनु पर्छ । अशक्तको हकमा इच्छाइएको व्यक्तिले मन्जुरीनामासहित वडाको सिफारिस ल्याएर भत्ता लिन पाउँछ ।’

नगरपालिकाको खब्तड, बाब्ला, पातलकोट, बुढाकोट, देवीस्थानलगायतका बासिन्दालाई समस्या भएको उनले बताए । ‘भत्ता लिका लागि साँफेबगर आउँदा दोब्बर खर्च हुन्छ । भनेको बेला गाडी पाइदैन’ उनले भने ,‘पहिले घरछेउबाट पाउने भत्ता अहिले बैंकमा जानु पर्यो भनेर गुनासो आइरहन्छ । ’

गाउँपालिकाको केन्द्र पैदल हिडेर तीन दिनजति लाग्ने तुर्माखाँद गाउँपालिका १ रहफ र २ भुलुका सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिलाई वडामा पुगेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए । पालिकाको केन्द्रबाट धेरै टाढा रहेका अपागं ज्येष्ठ नागरिकको समस्यालाई बुझेर बैंक र सुरक्षाकर्मीको सहयोगबाट नगदमा वितरण गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?