कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डीबी बुढा

जुम्ला — बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डोल्पाका पाटन जाने पैदल र मुगुका पाटन जाने नाग्चेलाग्ना सडक हुँदै मुगुको छाइलासम्म गाडीमा जाने गरेका छन् । यो सिजनमा जुम्लादेखि मुगु जाने सवारीसाधनको चाप बढेको छ । दैनिक पाॅचदेखि १० वटा गाडीसम्म यार्सा संकलक लिएर छाइलासम्म जाने गरेका छन् । दुई महिना खटिएर पाटनमा यार्सा टिप्न सके कालापहाड जानुनपर्ने बाध्यता हट्ने युवाहरु सुनाइरहेका छन् ।

गाउँमा रोजगारका कुनै अवसर नभएपछि जोखिम मोलेर भए पनि यार्सा टिप्न पाटनतिर जानु परेको पातारासी–६ का चक्रबहादुर बोहोराले सुनाए । उनका अनुसार युवाहरु समूह बनाएर पाटनतिर गइसकेका छन् भने गाउँमा बालबालिका, बृद्धबृद्धा मात्रै छन् । ‘सबै युवा पाटन उक्लिएपछि गाउँमा बिरामी पर्दा अस्पतालसम्म लैजान समेत मुस्किल पर्छ,’ उनले भने,‘हाम्रा लागि विदेश भने पनि रोजगारी भने पनि पाटन क्षेत्र नै हो । यार्सा भेटिए परिवारको खर्च धानिन्छ, नत्र उल्टै ऋणको भारी बोकेर आउनु पर्छ ।’

अहिले १६ देखि ५५ वर्षसम्मका प्रायः पाटनतिर गएका हुन् । यार्सा पातारासी, गुठिचौर र कनकासुन्दरी गाउॅपालिकाबासीको प्रमुख आम्दानीको स्रोत हो । स्थानीय धनसिंह बोहोरा पछिल्लो समयमा अन्नबाली खासै उत्पादन नहुने भएकाले अन्नपातकै जोहोका लागि भए पनि जोखिम मोलेर पाटन उक्लिनुको विकल्प नभएको बताउँछन् ।

‘बारीको उत्पादनले तीन महिनामात्रै धान्छ । घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन, लुगाफाटो फेर्न समेत यार्साको पैसाले धानिरहेका छौं,’ उनले भने । यतिबेला बस्तीमा गहुँ र जौं भित्र्याउने र मकै, आलु, कोदो, चिनु, कागुनो गोड्मेल गर्ने काम घरमा बसेका महिलाहरुले गरिरहेका हुन्छन् ।


पहिले जेठमा पाटनतिर जाने यहाॅका युवायुवती यो पटक बैशाखमै पाटनतिर हानिएका हुन् । कतिपय बच्चा बोकेर पाटनतर्फ हिँडेको पातारासी–२ बिष्णु कामीले बताइन् । माथिल्लो कक्षमा पढ्ने विद्यार्थी समेत पाटनमा यार्सा संकलन गर्न हिँडेपछि पठनपाठन समेत प्रभावित हुने गरेको छ । पातारासीका शिक्षा शाखा प्रमुख अविराज उपाध्यायका अनुसार वडा १, २ र ३ का विद्यार्थी, युवायुवती धेरै संख्यामा पाटन पुगिसकेका छन् ।

अघिल्ला वर्ष भन्दा विद्यार्थी भने कम संख्यामा गएको प्रधानाध्यापकहरुले प्रतिवेदन बुझाएको उनको भनाई छ । शिक्षा शाखा प्रमुख अविराज उपाध्यायले केही दिनअघि बसेको प्रधानाध्यापकहरुको बैठकमा ७५ प्रतिशत हाजिर नभए तथा ३३ प्रतिशत पढाइ नभएको भए विद्यार्थी स्वतः फेल गर्ने निर्यण गरिएको बताए ।

यो सूचना विद्यालयले अभिभावकलाई पत्राचार गरेका छन् । पालिकाभित्र माध्यमिक ६ र आधारभूत विद्यालय १० गरी १६ सामुदायिक विद्यालय छन् । यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै नआउने गरेका छन् । गुठिचौर–२ का वडाध्यक्ष दिपबहादुर ऐडीले वैशाख पहिलो सातादेखि १ र २ वडाका युवायुवती पनि दिनदिनै यार्सा टिप्न पाटन जान लागेको बताए । प्रतिदिन १० देखि २० जनाको लहर लागेको उनको भनाई छ ।

प्रकाशित : वैशाख १७, २०८१ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?