संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मुगु — हिमाली जिल्ला डोल्पामा दुर्लभ हिउँ चितुवाको संख्या नेपालकै उच्च मानिए पनि संरक्षणमा चुनौती देखिएको छ । डिभिजन वन कार्यालयले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डिभिजन वन सामुदायिक क्षेत्रमा ३० वटा दुर्लभ हिउँ चितुवा भेटिएको तथ्यांक सार्वजनिक गरे पनि संरक्षणमा चुनौती देखिएको जनाएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/untitled-3-2242024060032-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
चोरीसिकार, आहारा, डढेलोले बास स्थानमा परेको जोखिम जलवायु परिर्वतनको असर लगायतका कारण हिउँ चितुवा संरक्षणमा मुख्य चुनौती देखिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
उनका अनुसार हिउँ चितुवाको अति मन पर्ने आहारा र बासस्थान निगालो हो । स्थानीयले आफ्नो प्रयोजनको लागि निगालो प्रयोग गर्न थालेपछि मासिदै जाँदा हिउँ चितुवालाई समस्या हुन सक्ने देखिएको छ ।
‘निगालोको टुसा हिउँ चितुवाको मुख्य आहारा हो,’ उनले भने, ‘निगालो मासिँदै जान थालेपछि हिउँ चितुवालाई आहाराको कमी हुन सक्छ ।’ हिउँ चितुवाको छाला बिक्री गर्न र घरमा सजाएर राख्नको निम्ति चोरी सिकारीको नजरमा रहेको श्रेष्ठले सुनाए ।
‘कतै–कतै ठाउँमा धामीझाँक्रीले समेत हिउँ चितुवाको छाला ओछ्याउन प्रयोग गरेको देखियो । यो अवस्थाले गर्दा पनि हिउँ चितुवा संरक्षणमा समस्या देखिएको छ,’ उनले भने । हिउँ भएको सेरोफोरोमा बस्ने यो जनावर जलवायु परिर्वतनले हिउँ कम पर्न थालेको र हिमाल नांगा हुन थालेपछि जोखिम हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ ।
अर्कोतिर जलवायु परिर्वतनले तापक्रम तलमाथि हुँदै जाँन थालेपछि हिउँ चितुवालाई असर पर्न सक्ने अनुमान गरिएको छ । डोल्पा हिउँ चितुवाको प्रमुख अनुसन्धान बन्न सक्ने श्रेष्ठले बताए । जलवायु परिवर्तनले हिउँ चितुवालाई के कस्तो असर पारेको छ भन्ने विषयमा अनुसन्धान जरुरी रहेको उनको भनाई छ ।
नेपाल सरकार र विश्व वन्यजन्तु कोषले पहिलो पटक २००९ मा साइन सर्भे अर्थात हिउँ चितुवाको पाइला दिशा पिसाब प्रबिधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमान गरिएको थियो । २०१९ मा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरी ट्रयापिङ्ग सर्भेक्षण प्रविधिबाट गणना गरेको थियो । यो प्रविधिको प्रयोग गरी हिउा चितुवाको गणना डोल्पामा पहिलो पटक गरिएको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए ।
विश्वभरि हिउँ चितुवाको संख्या ४ हजारदेखि ६ हजार ५ सयको हाराहारीमा रहेको कोषले जनाएको छ । एसियाका १२ देशमा पाइने हिउँ चितुवा जनघनत्वको हिसाबले डोल्पामा पाइएको संख्या उच्च मानिएको डिभिजन वन अधिकृत रावतको भनाइ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)