१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

कर्णालीमा ७१ प्रतिशत जनसंख्या बिमाको पहुँच बाहिर

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा स्वास्थ्य बिमाको पहुँच निकै कम भएको पाइएको छ । स्वास्थ्य बिमा लागू भएको ८ वर्ष पुगेपनि यहाँ ७१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । यो अवधिमा २९.२६ प्रतिशत जनसंख्या मात्रै बिमामा आवद्ध भएका छन् । 

कर्णालीमा ७१ प्रतिशत जनसंख्या बिमाको पहुँच बाहिर

बिमा बोर्डकी कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले आशा गरेजति जनसंख्या स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको बताइन् । उनका अनुसार कर्णालीको जनसंख्या १५ लाख ६७ हजार ६ सय ६४ रहेकोमा २९.२६ अर्थात् ४ लाख ५८ हजार ८ सय २१ जना मात्रै बिमामा आवद्ध भएका छन् । अझै ७१ प्रतिशतलाई बिमामा आवद्ध गराउनुपर्ने ठूलो चुनौती रहेको उनको भनाई थियो ।

कर्णाली प्रदेशमा सवैभन्दा बढी जुम्लामा ८३ प्रतिशत बिमामा आवद्ध छन् । १ लाख ८ हजार ९ सय २१ जनसंख्यामा ९० हजार ४ सय ११ जना बिमामा आवद्ध छन् । सवैभन्दा कम सल्यानमा छन् । २ लाख ४१ हजार ७ सय १६ जनसंख्यामा ६ प्रतिशत अर्थात् १४ हजार ६ सय ५० जनाले मात्रै बिमा गरेका छन् ।

प्रदेश राजधानी समेत रहेको सुर्खेतमा २५.७८ प्रतिशतले बिमा गरेका छन् । ४ लाख १७ हजार ७ सय ७६ जनसंख्या रहेको सुर्खेतमा १ लाख ७ हजार ७ सय ६ जनाले बिमा गरेको बिमा बोर्डकी प्रदेश संयोजक पौडेलले बताइन् ।

यसैगरी रुकुम पश्चिममा १ लाख ५४ हजार २ सय ७२ जनसंख्यामा ८० हजार ५ सय २७ अर्थात् ५२.१९ प्रतिशतले बिमा गरेका छन् । यस्तै जाजरकोटमा १ लाख ७१ हजार ३ सय ४ जनसंख्यामा ४९ हजार ९ सय ४२ अर्थात् २९.१५ प्रतिशत, कालीकोटको १ लाख ३६ हजार ९ सय ४८ जनसंख्यामा ५३ हजार ८ सय १९ अर्थात् ३९.२९ प्रतिशत स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।

यस्तै दैलेखको २ लाख ६० हजार ८ सय ५५ जनसंख्यामा ३३ हजार २ सय ३६ अर्थात् १२.७४ प्रतिशत, मुगुको ५५ हजार २ सय ८६ जनसंख्यामा ७ हजार ८ सय १५ अर्थात् १४.१३ प्रतिशत, डोल्पाको ३६ हजार ७ सय जनसंख्यामा ४ हजार ८ सय ५४ अर्थात् १३.२२ प्रतिशत र हुम्लाको ५० हजार ८ सय ५८ जनसंख्यामा १५ हजार ८ सय ६१ अर्थात् ३१.१८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको बिमा बोर्डको कर्णाली प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बोर्डकी प्रदेश संयोजक पौडेलले अव सरकारले कर्मचारीहरुलाई पनि बिमामा आवद्ध गर्ने योजना गराएको, पहिले सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था बढ्ने विश्वास गरिन् ।

प्रदेश स्वास्थ्य बिमा समितिका संयोजक एव सामाजिक विकास मन्त्रालयका सचिव दिर्घबहादुर पोख्रेलले बिमा साक्षरता कार्यक्रम आवश्यक रहेको हुँदा आगामी दिनमा प्रदेश सरकारले सवैलाई पहुँच बढाउन बिमा साक्षरता कार्यक्रम संचालने गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : वैशाख २, २०८१ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?