कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हिमपातले सडक अवरुद्ध, हवाई सेवा प्रभावित 

राजबहादुर शाही

मुगु — जिल्लामा वर्षासँगै हिमपातले गमगढी नाग्मा सडक अवरुद्ध भएको र रारा विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । 

हिमपातले सडक अवरुद्ध, हवाई सेवा प्रभावित 

शनिबार र आइतबार लगातार वर्षासँगै हिमपात हुँदा जिल्ला सदरमुकाम जोड्ने गमगढी नाग्मा सडक अवरुद्ध र हवाई सेवा प्रभावित बनेको छ । मुगु र जुम्लाको सीमाक्षेत्र घुच्चीडाबमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी चल्ने सवारी साधन अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा केही दिनअघि जमेको बाक्लो हिउँ एक्स्काभेटरले फालेर सवारी साधान संचालन भएको एक साता नपुग्दै फेरि हिमपातले सडक अवरुद्ध बनेको छ । वर्षा र हिमपात भइरहेको बेला अवरुद्ध सडक खुलाउन गाह्रो भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिए ।

हिमपात र वर्षा रोकिनेबित्तिकै एक्स्काभेटर लगाएर सडकमा जमेको हिउँ पन्छाई सवारी साधन संचालन गरिने उनको भनाइ छ । सडकमा जमेको हिउँ पन्छाउन कर्मचारी र एक्स्काभेटर तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध बनेपछि सुर्खेत-नेपालगन्जदेखि मुगुतर्फ आउने मालबाहक ट्रक, ट्र्याक्टर, यात्रुवाहक जिप, गाडी बीच बाटोमा रोकिएका छन् । घुच्चीडाब, बुलबुले, जुम्ला गोठीज्यूला, नाग्मा, कालिकोटलगायत स्थानमा मुगुतर्फ आउने दर्जनौं सवारी साधन रोकिएको व्यापारी प्रेम बुढाले बताए ।

हिमपात र वर्षाले गर्दा नेपालगन्जबाट २ दिनदेखि हवाई सेवा उडान नहुँदा यात्रुहरु एयरपोटमा अलपत्र परेका छन् । मुगुबाट तराई झर्ने यात्रु र नेपालगन्जदेखि मुगु आउने यात्रु एयरपोर्टमै रोकिएका छन् । हिमपात र वर्षाले गर्दा मुगु जिल्ला सदरमुकामको संचारसेवासमेत प्रभावित भएको छ ।

छिनछिनमा नेटवर्क जाने आउने गर्न थालेपछि सेवाग्राही समस्यामा परेको नेपाल रेडक्रस सभापति जयबहादुर मल्लले सुनाए ।

प्रकाशित : फाल्गुन २०, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×