कर्णाली प्रदेशसभा : ज्येष्ठ सदस्य साहले लिए शपथ- कर्णाली - कान्तिपुर समाचार

कर्णाली प्रदेशसभा : ज्येष्ठ सदस्य साहले लिए शपथ

हरिहरसिंह राठौर

सुर्खेत — कर्णाली प्रदेशसभा दैलेखमा एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले कर्णाली प्रदेशप्रमुख तिलक परियारबाट  शपथ ग्रहण गरेका हुन् । 

साह ६६ वर्षका भए । दैलेख निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित उनी एमालेका प्रदेश अध्यक्षसमेत हुन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य साहले सोमबार नै प्रदेशसभा बैठक कक्षमा अन्य सदस्यहरूलाई शपथग्रहण गराउनेछन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार अन्य प्रदेश सांसदहरूको शपथ सोमबार अपराह्न ३ बजे हुनेछ ।

शपथ ग्रहण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर साहीलगायत अन्य नवनिर्वाचित सांसदहरूको सहभागिता पनि रहेको थियो ।

प्रकाशित : पुस ११, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

दुर्लभ रेडपान्डाको बासस्थान संकटमा

५ महिनाको अवधिमा ३ वटा रेडपान्डा मृत भेटिएका छन्
हरिहरसिंह राठौर

जाजरकोट — कुशे गाउँपालिका–९ पैंकमा रेडपान्डा पटकपटक मृत भेटिन थालेका छन् । पैंकस्थित वडा कार्यालय नजिकै शनिबार रेडपान्डा मृत अवस्थामा फेला परेको थियो । मृत रेडपान्डालाई सबडिभिजन वन कार्यालय कुशेका वन रक्षक बालकृष्ण ओलीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

विश्वमै लोपोन्मुख अवस्थाको रेडपान्डा जाजरकोटको कुशे र बारेकोट गाउँपालिका तथा नलगाड र छेडागाड नगरपालिकाका जंगलमा फेला परेको वन तथा वातावरण मन्त्रालयले ४ वर्षअघि गरेको अध्ययनमा देखिएको थियो । जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधिमा रेडपान्डाको छाला र आखेटोपहारसहित ५ जनामाथि मुद्दा चलाएको छ । ‘प्रहरी र वन कार्यालयमा त कमै मात्रामा यस्ता घटना जान्छन्, लुकीछिपी चोरीतस्करी गर्नेहरूको संख्या बढिरहेको छ,’ स्थानीय अगुवा लक्ष्मण शाहीले भने, ‘सरकारले बेवास्ता गरेपछि तस्करीहरूको मनोमानी झन्झन् बढिरहेको छ ।’

जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले महिनैपिच्छे रेडपान्डा मृत भेटिँदा संरक्षणमा चिन्ता थपिएको बताए । उनका अनुसार ५ महिनाको अवधिमा ३ वटा रेडपान्डा मृत भेटिएका छन् । केही रेडपान्डा भने कुकुरको सिकार हुने उनको भनाइ छ । ‘आफ्नो बासस्थान सुरक्षित नहुँदा पनि रेडपान्डा गाउँमा पस्न थाले,’ उनले भने, ‘गाउँमा पस्दा झन् उनीहरू असुरक्षित भए ।’

बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले पाटन क्षेत्रमा बर्सेनि हुने आगलागीबाट सबैभन्दा धेरै रेडपान्डा मारिएको बताए । ‘सोझो जनावर भएकाले भाग्ने थाहा नपाउँदा मर्ने र मारिने गरेको छ,’ उनले भने, ‘पाटन क्षेत्रमा जडीबुटी संकलन गर्न आएकाहरूले पनि थाहा पाइ/नपाइ रेडपान्डा मार्ने गरेका छन् ।’ हिउँदयाममा सिकार गरिएका रेडपान्डाको अवशेषहरू गर्मीसमयमा जंगलभरि भेटिने गरेको उनको भनाइ छ । उनले प्रहरीको जानकारी नआएका चोरी–पैठारीका घटनाहरू गाउँघरमै वन सव डिभिजन कार्यालयको मिलेमतोमा मिल्ने गरेको आरोप लगाए । कुशेको दुई र बारेकोटको चार सामुदायिक वन समूहसग सहकार्य गरेर रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेडपान्डा नेटवर्कका भूपलाल खत्रीले बताए ।

डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेडपान्डा पाइने गरेको छ । गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले रेडपान्डा संरक्षणका लागि विशेष महत्व दिएर रेडपान्डा संरक्षणका कामहरू गरिरहेको भए पनि बासस्थान विनाश, चोरीसिकारी, खण्डीकरण, चोरीसिकारीलगायत कारण समस्या भइरहेको बताए ।

नागरिक अगुवा राजेन्द्रैविक्रम शाह भने रेडपान्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था नहुनु प्रमुख समस्या रहेको आरोप लगाउँछन् । उनले लजालु स्वभावको वन्यजन्तु रेडपान्डाको बासस्थान भनेको निगालोको जंगल नै भएकाले त्यसको संरक्षण गरिनुपर्ने बताए । ‘वन क्षेत्रमा हुने आगलागी, गाईबस्तु चरिचरन र बढ्दो मानवीय गतिविधिले पनि रेडपान्डाको संरक्षण चुनौतीपूर्ण देखिएको छ,’ उनले भने, ‘यसमा ३ वटै तहका सरकार गम्भीर बन्नु जरुरी छ ।’

वन्यजन्तुविज्ञ विकास नेपालीले उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपान्डाको आयु ८ देखि १० वर्षसम्म हुन्छ । उनका अनुसार रेडपान्डाको पुस र फागुनमा भाले लाग्छ भने जेठदेखि साउनसम्म गर्भाधान हुन्छ । रेडपान्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेडपान्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने र कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने उनको भनाइ छ । समुद्र सतहबाट झन्डै ३ हजार ६ सय मिटर आसपास रेडपान्डाको बासस्थान प्रभावकारी मानिएको छ ।

प्रकाशित : पुस ३, २०७९ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×