हिमाली क्षेत्रमा तोतङरी ल्होसार मनाइँदै- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाली क्षेत्रमा तोतङरी ल्होसार मनाइँदै

जनकबहादुर शाही

हुम्ला — हिमाली क्षेत्रका लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५० शनिबारबाट सुरु भएको छ । पुष कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरिए पनि तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष पर्व भने पुष शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

तोतङरी ल्होसार पर्व पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको रुपमा मनाउने गरिन्छ । ल्होतर पात्रो (लामा समुदायको पात्रो) अनुसार पुष शुक्ल प्रतिपदा शनिबारदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । पूर्वको सोलुखुम्बुदेखि चीनको स्वशासित तिब्बतको डिघर्चीसम्म हिमाली क्षेत्रमा बसोबास गर्ने लामा भोटे र ब्यासी समुदायमा यो पर्व प्रचलित रहेको लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मानन्द लामाले बताए । हरेक वर्ष पुष शुक्ल प्रतिपदाका दिनदेखि मनाइने चाड लामा र ब्यासी जातिको मुख्य पर्व हो । यो पर्व वसन्त पञ्चमिसम्म मनाइने उनले जानकारी दिए ।

ल्होसारका १२ वट वर्ष मुसा, हात्ती, बाघ, खरायो, मेघ, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा तोतङरी ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले लामा र ब्यासी समुदाय प्रकृतिपूजक रहेको पनि बताइन्छ ।

सोनाम, तमु र ग्याल्बु ल्होसारमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको भए पनि तोतङरी ल्होसारमा सरकारले सार्वजनिक बिदा दिने गरेको छैन । तोतङरी ल्होसार तथा लामा र ब्यासी समुदायको नव वर्ष २१५० को अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना सन्देश दिँदै कर्णालीवासीसँगै सम्पूर्ण नेपालीहरुबीच एकता, सदभाव र सहिष्णु कायम गरी समृद्ध कर्णाली निर्माणमा सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रकाशित : पुस १०, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता लिन सकस

जनकबहादुर शाही

हुम्ला — विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता लिन सकस भएको छ । चीनको सिमानासँग जोडिएको हिमालपारीको गाउँ हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तिल, हाल्जी र जाङ्ग तीनवटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्न लाग्दा समेत पाउन सकेका छैनन् ।


सामाजिक सुरक्षा भत्तामै अनियमितता हुन थालेपछि सरकारले विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता सिधै सेवाग्राहीको बैंक खातामा जम्मा गर्ने नीति ल्याउँदा सेवाग्राहीले समयमा केवाईसी अपडेट नगरेका कारण भत्ता पाउन नसकेको नाम्खा गाउँपालिकाका लेखा अधिकृत अश्विनीकुमार देवकोटाले बताए ।

मौसमी जटिलताका कारण वर्षको २ पटक असार र असोजमा सामाजिक सुरक्षा भत्ता पाउने गरेका लिमिका सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको भत्ता १७ महिना बित्दासम्म नपाएको तिल गाउँका सेवाग्राही कुन्ज्योक लामाले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता नहोस् भनेर सकारले ल्याएको नयाँ नियमका कारण लिमीका सेवाग्राहीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको नाम्खा-६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । सेवाग्राही लिमीबाट खाता सञ्चालन गरेको बैंक रहेको स्थान पालिका केन्द्र याल्वाङ पुग्न तीन दिन लाग्ने र पालिका केन्द्रमा आई सेवाग्राहीको नाममा खोलिएको खाताको केवाईसी अपडेट गर्न सेवाग्राहीहरुलाई आउजाउमा सहज नभएको कारण भत्ता पाउन नसकेको उनले बताए । पहिला कर्मचारी सेवाग्राहीको घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्थे तर अहिले पालिकाले सिधै सेवाग्राहीको खातामा जम्मा गर्ने गरेकाले हिमाल पारिको गाउँबाट आफ्नो खाताको केवाईसी अपडेट गर्न आउन नसक्ने भएकाले भत्ता निकाल्न नसकेको अध्यक्ष तामाङले बताए ।

कतिपय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिका सामाजिक सुरक्षा भत्ता बैंकबाट निकाल्न आउन नसक्ने, आउन सक्नेले पनि पाउने सेवा सुविधा सबै आउजाउमै खर्च गर्नुपर्ने भएका कारण पनि आउन नमानेका हुन् । लिमीको विकटता र दुर्गमतालाई मध्यनजर गरेर सेवाग्राहीले सहज रुपमा सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्थाका लागि बैंक र गाउँपालिकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने स्थानीयको भनाइ छ ।

सरकारले ल्याएको नयाँ व्यवस्थाका कारण लिमीका २ सय २४ जना सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म पाउन नसकेको नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए । अहिलेको विद्युतीय भुक्तानी प्रणालीको व्यवस्थाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सिधै रकम सिटिजन्स बैंकको खातामा गएको तर लिमीका सेवाग्राही बैंक खाता सञ्चालनका लागि केवाईसी अपडेट गर्न आउन नसकेकाले हालसम्म भत्ताको रकम बैंकको खाता रहेको उनको भनाइ छ ।

लिमीका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ताका लागि ९० लाख रकम बैंकमा जम्मा भएको र सेवाग्राही केवाईसी अपडेटका लागि गाउँपालिका केन्द्र याल्वाङमा स्थापना भएको सिटिजन्स बैंकको शाखा वा सिमकोटको शाखामा आउन नमान्ने भएका कारण रकम बैंकमै रोकिएको अधिकृत शाहीले बताए ।

प्रकाशित : मंसिर २८, २०७९ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×