कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुन-चामल डिपो माग्दै हस्ताक्षर संकलन

डीबी बुढा

जुम्ला — लामो समयदेखि नुन र चामलको अभाव खेपिरहेका जुम्लाको पातारासी क्षेत्रका स्थानीय बासिन्दा तथा अगुवाहरूले नुन र चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनुपर्ने माग गरेका छन् । लामो समयदेखि माग गर्दा समेत नुन र चामलको डिपो पाउन नसकेको भन्दै घरदैलोमा पुगेर यहाँ हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

नुन-चामल डिपो माग्दै हस्ताक्षर संकलन

पाँच केजी नुन र २५ केजी चामलका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्तक्षर अभियान चलाइएको स्थानीय भक्तबहादुर बुढाले बताए । उनका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनु पर्ने विषयमा दबाब दिन हस्ताक्षर संकलन भइरहेको छ । यसका लागि अहिलेसम्म १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरिसकेका छन् ।

'गाउँगाउँमा सिंहदरबार भनिएको छ । तर वास्तविकतामा जनताको आधारभूत आवश्यकता पनि गाउँका केन्द्रमा पाइँदैन । सरकार घरदैलोमा आएको अनुभूति कसरी गर्ने ?,' भक्तबहादुरले भने, ‘सामान्य नुनदेखि सुनसम्म पालिका केन्द्रमै पाइनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता पूरा गर्न दबाब दिन यो अभियान थालिएको छ ।’

भक्तबहादुरको अगुवाइमा हस्ताक्षर संकलन अभियान चलिरहेको हो । सदरमुकाम खलंगादेखि पूर्वमा पातारासी गाउँपालिका पर्छ । जसलाई चौधविस क्षेत्र पनि भनिन्छ । उनले भने, ‘भौगोलिक रुपमा विकट छ भन्दैमा राज्यका हरेक सेवा सुविधाबाट बञ्चित गर्न मिल्दैन । अब पातारासीमै नुन र चामलको डिपो सिर्जना गरेर अनुदानको चामल नुन ल्याउनुपर्छ ।’

स्थानीयहरूले संकलन गरेको हस्ताक्षर स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय हुँदै साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय र खाद्य तथा ब्यापार कम्पनी लिमिटेडमा पठाइनेछ ।

पातारासीमा ७ वडा छन् । तर चामलका लागि यहाँका बासिन्दालाई सदरमुकाम खलंगा धाउनुको विकल्प छैन । पातारासी ३ हुरीमहरी गढीगाउँबाट सदरमुकाम खलंगा आउजाउ गर्न दुई दिन लाग्छ । त्यसैमाथि कच्ची सडकमा निवमित सवारी चल्दैन । गाडीमा ढुवानी गरिएको खाद्यन्न भने अत्यधिक महंगो पर्ने स्थानीयहरूको गुनासो छ ।

त्यसैले पनि पालिकाको केन्द्रमा रहेको लासी बजारमा डिपो चाहिने भन्दै स्थानीयहरूले दबाब दिन थालेको बुढाको भनाइ छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने पातारासीका जनताको माग जायज रहेको प्रतिक्रिया दिए । तर केन्द्रीय कार्यालयबाट स्वीकृत नहुँदा डिपो स्थापना गर्न मुस्किल भएको उनले संकेत गरे ।

‘पातारासी गाउँपालिकामा पेस भएको हस्ताक्षर कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ । जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाएर केन्द्रीय कार्यालयदेखि स्वीकृत भएको खण्डमा उनीहरुको माग सम्वोधन हुन्छ,’ मल्लले भने । अहिले सदरमुकाम खलंगामा पुगेर घण्टौंसम्म लाइन बसेर पनि पर्याप्त नुन र चामल नपाइने भन्दै स्थानीयहरूले वर्षौंदेखि गुनासो गर्दै आएका छन् ।

प्रकाशित : पुस ९, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?