कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

पहिरोपीडितको कहर : दाताको भरमा ३ महिना गुजारा

तुलाराम पाण्डे

कालीकोट — तिलागुफा ४ राचुलीकी ४६ वर्षीया सीता शाहीको घर गत असोज २३ गते पहिरोले भत्काएपछि छिमेकीको घरमा ओत लाग्दै आएकी छन् । घर पहिरोले नभत्काउनुअघि होटल सञ्चालन गरेर गुजारा गर्दै आएकी सीता असोजदेखि मागेर गुजारा चलाउनुपर्ने अवस्थामा पुगिन् । दुई छोराछोरीसहित छिमेकी कृष्णबहादुर शाहीको घरमा बस्दै आएकी उनको गाउँको खेतबारी पनि पहिरोले बगायो । घरजग्गा केही बाँकी छैन । उनले भनिन् बाच्नै कठिन छ । उनका पति रनबहादुर शाही ३ वर्षदेखि घर आएका छैनन् । अर्की पत्नीसँग कैलालीतिर बस्छन् । 

पहिरोपीडितको कहर : दाताको भरमा ३ महिना गुजारा

कर्णाली राजमार्गको छेउमा राचुली बजारमा घर हुँदा होटल सञ्चालन गरेर दुई छोराछोरीलाई पढाउन, आफूलाई खान/बस्नको दुःख नभए पनि घर पहिरोले लगेपछि बिचल्ली भएको उनको गुनासो छ ।

घर पूरै पहिरोले बगाएपछि उनको परिवारले कात्तिकको महिना सहयात्रा परियोजनामार्फत एक बोरा चामल, ५ केजी दाल, ५ पाकेट तेल, २ पाकेट नुन दिएर गुजारा चलेकोमा यसपटक थप सहयोग पाएर खुसी छन् ।

मंसिर ९ गते स्टार्टफन्ड नेटवर्कको सहयोगमा वर्ल्डभिजन र किर्डाक नेपालले १३ हजार ५ सय मूल्यको ४ बोरा मसिनो चामल, २० केजी दाल, १० पाकेट खानेतेल, ५ केजी चिनीसहितको खाद्य सामग्री दिएको छ । अहिलेको राहातले त ३ महिना पुग्छ‚’ उनले भनिन्‚ ‘घर बनाउने कुरा सुनिएको मात्र छ, काम सुरु भएको छैन ।’ उनको परिवार हिउँदको चिसोमा कसरी बस्ने भन्ने चिन्तामा छ । ‘खाना त दाताले दिए‚’ सीताले भनिन्‚ ‘बास सरकारले दिए हुन्थ्यो । कहिले हुने हो ? ठेगान छैन ।’

८ जनाको परिवार भएकी अप्सरा शाहीको घर पनि पहिरोले भत्किँदा जहानबच्चाको बिचल्ली छ । स्थानीय भन्दरी शाहीको घरमा बसेको उनको परिवारले पनि स्टार्ट फन्डको सहयोगमा १३ हजार ५ सय रुपैयाँ खाद्यान्न सहयोग पाएको छ ।

यहाँको तिलागुफा-४ राचुलीमा असोज १९ देखिको अविरल वर्षाले घरमाथिबाट आएको पहिरोले राचुली बजारका घरसहित मलामी गएका १३ जनाको एकैपटक भएको थियो । एक जनाको मात्र शव भेटिए पनि १२ जना अझै बेपत्ता छन् । त्यति बेलाको पहिरोले कालीकोटमा मात्र २३ जनाले ज्यान गुमाए भने सयौ परिवार घरबार विहीन बने । यहाको तिलागुफा र खाडाचक्रका पहिरोपीडित ३ सय ४० परिवारलाई दाताको सहयोगमा प्रति परिवार १३ हजार ५ सयको खाद्यान्न सहयोग भएको कालीकोटका प्रजिअ रामहरि शर्माले बताए । उनले कालीकोटको इतिहासमा कहिल्यै नभएको क्षति यस पटकको वर्षाले पुर्याएको दावी गरे ।

स्थानीय बजारबाट दरभाउ संकलन गरेर पीडित परिवारले रोजेअनुसारको खाद्यान्न सहयोग गरिएको दाता र स्थानीय सरकारबीच सहजीकरण गरेका किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले सुनाए । उनका अुसार प्रतिपरिवार १३ हजार ५ सय मूल्यको खाद्यान्न, ननफुड आइटम, ज्येष्ठ नागरिक, एकल महिला, ५ वर्षमुनिका बालबालिका र सुनौला हजार दिनका आमालाई पोषिलो खाना र किशोरीलाई सरसफाइ तथा स्वच्छता किट पनि वितरण गरिएको छ । उनले पहिरोले कर्णालीका कालीकोट, जुम्ला र मुगुमा बढी क्षति पुर्‍याएकाले जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा सहयोग गरिएको जानकारी दिए ।

पहिरोपीडितलाई तत्काल सहयोग गर्न पहल भए पनि दसैँतिहारजस्ता चाड, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण केही ढिलो भए पनि पीडितको घरसम्म राहात पुगेको तिलागुफा नगर प्रमुख शंकर उपाध्ययायले बताए । नगरपालिकाको क्षमता बाहिरको क्षति भएकाले दाताहरुको सहयोग महत्त्वपूर्ण भएको नगर प्रमुख उपाध्यायले सुनाए ।

‘सरकार जंक फुड निषेध गर्ने भन्छ । आफैँ हेलिकोप्टरमा चाउचाउ‚ बिस्कुट ल्याएर बाँड्छ‚’ जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललितजंग रोकाले गुनासो पोखे‚ ‘जंक फुड स्वास्थ्यकर्मीले मात्र निषेध गरेर हुँदैन ।’

प्रकाशित : पुस ४, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×