कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रुकुममा माओवादी प्रभाव उस्तै

महेश केसी

रुकुम पश्चिम — २०६४ पछि निरन्तर जितिरहेका निर्वाचन क्षेत्रमा समेत माओवादीले हार बेहोरिरहेका बेला माओवादी आन्दोलनको उद्गम जिल्ला रुकुम भने अपवाद बनेको छ । २०६४ देखि निरन्तर उम्मेदवार बन्दै आएका माओवादी नेता जनार्दन शर्माले यसपटक २६ हजार बढी मतान्तरले विजयी बनेर माओवादीको साख राखे ।

रुकुममा माओवादी प्रभाव उस्तै

२०६४ पछि भएका संविधानसभाका दुई र दुई संसदीय निर्वाचन हेर्दा जिल्लामा माओवादी झनै बलियो बन्दै गएको देखिन्छ । तर स्थानीय तह निर्वाचनको मत परिणाम भने माओवादीले सोचेजस्तो छैन ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका अनुसार माओवादी नेता जनार्दन शर्माले प्रत्येक चुनावमा मतको प्रतिशत बढाउँदै लगेका छन् । उनले २०६४ सालमा ५७.११ प्रतिशत, २०७० सालमा ६३.२५ प्रतिशत, २०७४ सालमा ६६.२७ प्रतिशत र २०७९ सालमा ६९.०३ प्रतिशत मत प्राप्त गरेका छन् ।

संघीयतापछि रुकुम पूर्व र पश्चिम गरी दुई जिल्लामा बाँडिएको थियो । रुकुम पश्चिममा माओवादी प्रभाव एकछत्र रहे पनि रुकुम पूर्वमा भने यस्तो देखिन्न । रुकुम पश्चिममा माओवादी प्रभाव कायम रहनुलाई माओवादी जनताको काममा निरन्तर लाग्नु र चुस्त संगठनात्मक सक्रियता भएको तर्क जिल्ला संयोजक सचिन रोकाले बताए । ‘हामीले जनयुद्धताका गरेका वाचा–प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौं । यसकारण हामी निरन्तर जनअनमोदित भइरहेका छौं ।’

संसदीय निर्वाचनमा बलियो बने पनि स्थानीय तहको निर्वाचनमा भने माओवादी कमजोर बन्दै गएको देखिन्छ । जस्तो कि, २०७४ को निर्वाचनमा जिल्ला ६ वटै स्थानीय तहमा जितेको माओवादी २०७९ को निर्वाचनमा भने दुई वटा स्थानीय तहमा पराजित भयो । इन्चार्ज रोकाले पार्टीभित्रको आन्तरिक पक्ष कमजोर हुँदा चुनाव हार्नुपरेको तर्क गरे ।

पछिल्लो स्थानीय निर्वाचनमा एमालेको सहयोगमा कांग्रेसले मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको प्रमुख र अध्यक्ष जितेको थियो । २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार जनार्दन शर्मा कांग्रेसका गोपालजीजङ्ग शाहसित पराजित भएका थिए । यो निर्वाचनमा शर्मा र शाह एउटै गठबन्धनमा रहेर चुनावमा सहभागी भए ।

ठूला दलहरू एक्लाएक्लै चुनाव नलड्ने बरु कहिले कसको त कहिले कसको समर्थनमा चुनावमा प्रस्तुत हुने गरेकाले जिल्लामा माओवादी कति बलियो छ भनेर भन्न सकिने स्थिति भने छैन । नागरिक अगुवा नरेन्द्र केसीले रुकुम पश्चिममा माओवादीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा अरू दल नभएका कारण प्राविधिक हिसाबले जितिरहेको मान्छन् ।

उनले भने, ‘माओवादीले जनमत आफ्नो पक्षमा रहेको भने पनि अघिल्लोचोटि एमाले र यसपल्ट कांग्रेसका मतदाताको समर्थनमा जितेको हो । दलहरू एक्लाएक्लै चुनावी मैदानमा गएको भए माओवादीले चुनाव त जित्थ्यो होला तर उसको मत भने विगतको तुलनामा घट्थ्यो नै ।’ केसीले २०६४ पछि लगातार जितिरहेको माओवादीले जिल्लाको विकासका जनअपेक्षा पूरा गर्न नसकेको तर्क सुनाए ।

२०७४ सालको निर्वाचनमा एमालेको समर्थनमा माओवादीले रुकुम पश्चिममा जित हासिल गरेको थियो भने यसपटक कांग्रेसको समर्थनमा । माओवादी केन्द्र रुकुम पश्चिमका नेता धनवीर ओलीले एमाले र कांग्रेसको सहयोग नभएको भए पनि आफूहरूले जित्ने दाबी गर्छन् । ‘माओवादी केन्द्र यहाँको बलियो र लोकप्रिय शक्तिका रूपमा स्थापित भइसकेको छ ।’ उनले राष्ट्रिय परिस्थितिलाई मानेर अघिल्लोपल्ट एमाले र यसपटक कांग्रेससँग गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए ।

रुकुम पश्चिमको भन्दा रुकुम पूर्वको अवस्था फरक छ । २०७४ को निर्वाचनमा माओवादीले जितेको रुकुम पूर्वमा यसपालि माओवादीको उपस्थिति फरक देखियो । कांग्रेसलगायतका दलसँग गठबन्धन गरेर माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा पूर्णबहादुर घर्ती उम्मेदवार बनेका थिए । तर उनका विरुद्धमा माओवादीकै चन्द्रराज झाँक्रीले बागी उम्मेदवारी दिए । त्यस्तै प्रदेश १ मा माओवादीका जिल्ला इन्चार्ज तेजबहादुर ओली उम्मेदवार बन्दा प्रदेश कमिटी सदस्य सुरुल पुन बागी उम्मेदवारका रूपमा खडा भए ।

प्रदेश २ मा भने माओवादीले गठबन्धनको भागबन्डाबमोजिम कांग्रेसका धनबहादुर केसीलाई समर्थन गर्‍यो । यहाँ पनि माओवादीकै केशव रावल र नरहरि खड्काले बागी उम्मेदवारी दिए । निर्वाचनपछि प्रतिनिधिसभामा माओवादीका आधिकारिक उम्मेदवार पूर्णबहादुर घर्ती र प्रदेश २ माओवादी समर्थनमा उठेका कांग्रेस उम्मेदवार धनबहादुर केसीले जिते पनि प्रदेश १ मा बागी उम्मेदवार सुरुल पुनले जिते ।

पार्टीको आधिकारिक निर्णयलाई नमानेको भन्दै बागी उम्मेदवारी दिने चार जनासहित अन्य केही नेता–कार्यकर्तालाई माओवादी केन्द्र रुकुम पूर्वले कारबाही गरेको छ । सुरुल पुनसँगै उनलाई समर्थन गरेको भनेर लुम्बिनी प्रदेश कार्यालय सदस्य रहेका रामसुर बुढा र प्रदेश सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्षसमेत रहेका प्रदेश सदस्य पुनीराज घर्तीलाई कारबाही गरेपछि यतिबेला रुकुम पूर्वको माओवादीमा आन्तरिक कलह बढेको छ ।

अघिल्लोपल्ट पनि टिकट पाएर चुनाव जितेका तेजबहादुर ओली प्रदेशसभा सदस्यमा दोहोरिएर उम्मेदवार उठेपछि पुथाउत्तरगंगा र आसपासको क्षेत्रको प्रतिनिधित्व गरेर सुरुलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टीभित्र अवसरहरूको समान बाँडफाँट हुन नसकेकाले गर्दा आफूहरूले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको र कारबाही भोग्न तयार रहेको रामसुर बुढाको भनाइ छ ।

‘सधैं एउटै व्यक्तिले अवसर पाइराख्ने अनि पार्टीका लागि लडे–भिडेका अनि निरन्तर खटेकाहरू छुट्ने देखिएपछि हामीले विद्रोह गर्नुपरेको हो,’ रामसुर भन्छन्, ‘अब कसरी अगाडि बढ्न पार्टीले चाल्ने आगामी कदम लिने निर्णयमा निर्भर हुन्छ । अब जे पर्छ बेहोर्ने हो ।’

प्रकाशित : मंसिर १७, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×