घटेन महिला हिंसा- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घटेन महिला हिंसा

छोरी जन्मिँदा खासै चहलपहल नहुने यहाँका बस्तीमा छोरा जन्मिँदा तामझाम 
तुलाराम पाण्डे

कालीकोट — छोरा जन्मिएको खुसीयालीमा नरहरिनाथ–३ भैसाखालका जैसिगे विश्वकर्माले गत बिहीबार कुमालगाउँको स्वास्थ्य चौकीसम्म हुड्के नचाउँदै पञ्चेबाजामा नवजात शिशुलाई स्वागत गरे । छोरी जन्मिँदा खासै वास्ता नगर्ने छिमेकी पनि उनको छोराको पर्छो (स्वागत) गर्न लाम लागेर डाँडामाडुस्थित प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँ पुगे ।


सबै गाउँलेले नाचगान गर्दै पञ्चेबाजा बजाउँदै नवजात शिशु र पत्नी अमनालाई घर ल्याए । छोरी जन्मिँदा खासै चहलपहल नहुने यहाँका गाउँबस्तीमा छोरा जन्मिँदा निकै तामझाम हुने गरेको छ । छोरा जन्माउने आमाको गलामा समेत घरपरिवारले नगद रुपैयाँको माला लगाइदिए । ‘नाति पाउन्या (जन्माउने) बुहारीकन त माला लाइनै (लगाउनै) पड्यो (पर्‍यो),’ अमनाका ससुरा मनवीरे विकले स्थानीय लवजमा भने, ‘घर पुग्यापछि खसी पनि ढाल्न्या (काट्ने) हो ।’ कालीकोटका गाउँगाउँमा छोरा जन्मिदैदेखि विभेद झल्किने गरी सकीनसकी खर्च गर्ने चलनले छोराछोरीबीचको चर्को विभेद वर्षौंदेखि कायमै छ ।

जति छोरी जन्मिए पनि छोरा नजन्मिँदासम्म परिवार नियोजनका स्थायी वा अस्थायी साधन प्रयोग नगर्ने, दोस्रो विवाह गर्ने चलनमा केही कमी भए पनि अझै हट्न सकेको छैन । खाडाचक्र–४ का ३५ वर्षीय खड्क विश्वकर्माका ५ छोरी छन् । तर छोरा नजन्मिएकाले अझै परिवार नियोजन गरेका छैनन् । उनी छोरा नजन्मिँदासम्म परिवार नियोजन नगर्ने बताउँछन् । उनी छोरा नजन्मिनुमा आफ्नो भाग्यको दोष देखाउँछन् । ‘वंश थाम्ने छोरा चाहियो भन्दै गाउँमा सबैले हेला गर्छन्,’ उनले भने, ‘भाग्यमै नभएपछि मैले के गर्ने ?’

शिक्षा, चेतना र गरिबीजस्ता समस्याले कालीकोटमा सामाजिक विभेद अझै हट्न नसकेको खाडाचक्र नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख रिता चौलागार्इं पाण्डेले बताइन् । उनका अनुसार लैगिंक हिंसा कम गर्न नगरपालिकाले यस वर्ष विभिन्न अभियान सञ्चालन गरेको छ । तर सबै अभियान निरर्थक बन्दै गएको उनको गुनासो छ । ‘हामी दिउँसो अभियान सञ्चालन गर्छौं तर साँझ मदिरा सेवन गरेर दैनिकजसो घरेलु हिंसा गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भनिन्, ‘नयाँ पुस्तामा लैंगिक तथा जातीय विभेद, महिनाबारी स्वच्छता, परम्परागत रुढिवादी चलनलगायतमा कमी आए पनि पुरानो पुस्तामा उस्तै व्यवहार छ ।’

खाडाचक्र नगरसभाले दुई वर्ष छोराछोरीबीचको विभेद कम गर्न दुई छोरी मात्र जन्माएर स्थायी रूपमा परिवार नियोजन गर्ने दम्पतीलाई १ लाख रुपैयाँ पुरस्कार दिने नीति ल्यायो । आफ्नो कार्यकालमा कोही पनि पुरस्कार दाबी गर्न नआएको नगरपालिकाकी पूर्वउपप्रमुख विजया विष्टले बताइन् । लैंगिक विभेद कम गर्न छोरीको शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ ।

छोराछोरीबीचको चरम विभेदले नै महिला हिंसाका घटना हुने गरेको मनोविर्मशकर्ता दीपा खत्रीले बताइन् । ‘बालविवाह, बहुविवाह र अनमेल विवाहले महिला पीडित छन्,’ उनले भनिन्, ‘छोरा जन्माइनस् भनेर कुटपिट गर्ने, सौता हाल्ने र घरबाट निकाल्ने समस्या कायमै छन् ।’ उनले कालीकोटमा बालविवाहको समस्या पनि भयावह रहेको सुनाइन् ।

साउनयता मात्र कालीकोटमा महिला हिंसाका २१ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । महिला हिंसा र बालबालिकामाथिका अपराध प्रहरीले गम्भीरतापूर्वक लिएर पीडितलाई न्याय दिलाउन सहयोग गर्ने गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए । ‘महिला र बालबालिकामाथिमा अपराधमा प्रहरीले कसैलाई छुट दिँदैन,’ उनले भने, ‘अहिले हिंसाका सामान्य घटनामा सम्झाइबुझाइ गरे पनि महिलाहिंसा, जबरजस्ती करणीका घटना प्रक्रियामा गएका छन् ।’

बालविवाह गर्नेमा छोरी बढी

कालीकोटमा विगतको जस्तो १२/१५ वर्षमै विवाह गर्ने दरमा कमी आए पनि २० वर्ष नपुग्दै विवाह गर्ने अझै ६२ प्रतिशत छन् । त्यसमा पनि ८० प्रतिशत बालिका रहेको जिल्ला समन्वय समितिले गत वर्ष गरेको अध्ययनले देखाएको छ । समितिका अनुसार जिल्लाका ५ वटा स्थानीय तह नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, शुभकालिका र तिलागुफामा गरिएको सर्वेअनुसार बालविवाह दलित समुदायमा बढी छ ।

पहिलेजस्तो घरपरिवारले मागेर बाजागाजा बजाउँदै बालविवाह गर्नेको संख्या नगन्य भए पनि आफैं भागेर ९२ प्रतिशत विवाह हुने गरेको बालअधिकार र बाल संरक्षणको क्षेत्रमा क्रियाशील अधिकारकर्मी बाले विश्वकर्माले बताए । बालविवाहलाई समाजले अपराधका रूपमा नलिएर परम्परा र चलनको रूपमा स्वीकार गरेकाले न्यूनीकरण हुन नसकेको प्लान इन्टरनेसनलका कार्यक्रम विशेषज्ञ कविता चापागाईंले बताइन् । उनले बालविवाह नै महिला हिंसाको प्रमुख कारक रहेको बताइन् । उनका अनुसार किशोरको तुलनामा कम उमेरमा विवाह गर्ने किशोरी बढी छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

पुरातत्वविद् रामनिवासको स्मरण

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धान तथा संस्कृति, पुरातत्व विषयका अध्येता, पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको स्मरण गरिएको छ ।

पाण्डेयको १९ औं स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बुधबार आयोजना गरिएको कार्यक्रममा संस्कृति, पुरातत्व क्षेत्रमा उनले पुर्‍याएको योगदानबारे परिचर्चा गरिएको थियो । पाण्डेयले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागमा प्रमुख हुँदा महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, निमित्त कुलपति डा. जगमान गुरुङ, निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेल लगायतकाले स्मरण गरे । पाण्डेयको स्मरणमा ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार–गोष्ठी समेत गरिएको थियो ।

निवर्तमान कुलपति उप्रेतीले पाण्डेयले अवधी भाषा र संस्कृतिको प्रवर्द्धनमा विशेष भूमिका रहेको बताए । नेपालले विश्वलाई दर्शन र सभ्यताको ज्ञान दिएपनि प्रचार प्रसार गर्न नसक्दा ती दक्षिण एसियाका भनी स्थापित भएको उनले बताए । ‘हिमवत्खण्डले विश्वमा नेपालको आकर्षण बढ्यो, धेरै विदेशी आए, पुरातात्विक अन्वेषण सुरु भयो’, उनले भने,‘नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण समेत भयो ।’

निमित्त कुलपति गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जाहेर गरे । प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै रहेको भन्ने प्रमाणित गर्न पाण्डेयको भूमिका महत्त्वपूर्ण रहेको उनले ठहर गरे । इशापूर्व एक हजार ३ सय वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खननका बेला फेला परेकाले यसलाई पुष्टि गर्ने उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुवात समेत पाण्डेयले नै गराएका थिए । त्रिवि संस्कृति विभागका पूर्व प्रमुख प्रा.डा. प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोडेकाले पुरातत्व एवम् संस्कृतिको महत्त्व बढेर गएको सुनाए । उनका अनुसार पाण्डेय जुनसुकै पुरातात्विक स्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याउँथे र ती सामग्रीलाई भिन्न–भिन्न पोका बनाएर राख्थे । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाएको खत्रीले जनाए ।

अवधी सांस्कृतिक परिषद्का सल्लाहकार तपानाथ शुक्लाले पाण्डेयले पुरातत्व क्षेत्रमा जत्तिकै योगदान अवधी भाषा र संस्कृतिको विकासमा पनि गरेको बताए । कपिलवस्तुलाई पुरातात्विक स्थलका रुपमा स्थापित गर्न पाण्डेयले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘कपिलवस्तुको सीमापारि विश्वविद्यालय, विमानस्थल लगायत संरचनाको विकास भइसक्दा पनि नेपालतिरको भागमा गौतम बुद्धको जन्मस्थलका रुपमा चिनाउन उल्लेखनीय काम हुन सकेको छैन ।’

प्रकाशित : मंसिर १६, २०७९ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×