कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजनाको रकम अनियमितताको आरोपमा १८ जनाविरुद्ध मुद्दा दायर

विप्लव महर्जन

सल्यान — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम अनियमितता गरेको आरोपमा १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शारदा नगरपालिका १५ स्थित सुन्दरडाँडा–थाङ्गनेखोला सडक , त्रिवेणी गाउँपालिका–१ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे सडक र त्रिभुवन जनमाध्यामिक विद्यालयको भवन निर्माणको रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

योजनाको रकम अनियमितताको आरोपमा १८ जनाविरुद्ध मुद्दा दायर

योजनामा परेको उजुरीअनुसार अनुसन्धान गर्दा कामै नगरी फर्जी बिल बनाई भुक्तानी गरेको, कानुनबमोजिम नभएको र लागत खर्चभन्दा बढी बिल पेस गरेर भुक्तानी गरेको खुल्न आएपछि आयोगले सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माणमा पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख इन्जिनियर बिनोदकुमार पुन, सब-इन्जिनियर प्रकाश शाही, कुमार बोहरा, निर्माण समितिका अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर, सचिव मानदेव कवरविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

यसैगरी रिखेबगर-गैरीकटेरी–बाघमारे सडक स्तरवृद्धिमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सब-इन्जिनियर नारायण ओलीलगायत निर्माण समितिका अध्यक्ष मनबहादुर खत्री, कोषध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी र त्रिभुवन जनता माविको भवन निर्माणमा प्रधानाध्यापक माधवकुमार जीसी, शारदा नगरपालिकाका इन्जिनियर तुफान जीजंग केसी, सबइन्जिनियर सरस्वति थापा, शारदा नगरपालिका २ का तत्कालीन वडाध्यक्ष केशव श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति तथा भवन निर्माण अनुगमन समितिका अध्यक्ष नवराज शर्मा, निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीको हस्ताक्षरित विज्ञप्तिमा पूर्वाधार कार्यालयले सञ्चालन गरेको योजनामा तत्कालीन कार्यालय प्रमुख लगायत ६ जनाले कामै नगरी नक्कली बिल बनाएर ७ लाख १४ हजार अनियमितता गरेको उल्लेख गरिएको छ । त्रिभुवन जन माध्यामिक विद्यालय लुहापिङ्गमा भवन निर्माण गर्दा टेन्डर नगरी कानुनी प्रक्रियासमेत नपुर्‍याई वास्तविक भएको कामभन्दा बढी बिल देखाई भुक्तानी गरी र कार्यसम्पन्न प्रतिवेदन तयार गरी उक्त मूल्यांकनमा हस्ताक्षर गरेर प्रधानाध्यापक लगायत ६ जनाले सरकारलाई ८७ लाख ३ हजार ३ सय १२ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याउने काम गरेको र जिल्लाकै त्रिवेणी गाउँपालिका १ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे सडक स्तरवृद्धिमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख पाण्डेलगायत ६ जनाले ४३ लाख २२ हजार भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।

आयोगले पूर्वाधार विकास कार्यालय सल्यानले सञ्चालन गरेको योजनाको हकमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) देहाय ‘ग’ र ‘ङ’ तथा बदनियतपूर्वक गरेको कार्य लुकाइछिपाई राखेको, गलत कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उक्त ऐनको दफा १९(२) बमोजिम र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र ७ लाख १४ हजार ४१ रुपैयाँ बिगोसहित असुल गर्न माग गरेको छ । यस्तै शारदा नगरपालिका २ लुहापिङ्गस्थित त्रिभुवन जनमाध्यामिक विद्यालयमा भवन निर्माणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम भ्रष्टाचारजन्य काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापक जीसीलगायत ६ जनाविरुद्ध कारबाही अगाडि बढाउन र बिगो असुल गर्न माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेशको कार्यालय सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले विशेष अदालतमा मुद्दा परेका तीन योजनाको उजुरी सुर्खेतस्थित आयोगको कार्यालयमा परेको बताएका छन् । अनुसन्धानपश्चात मुख्य कार्यालय टंगालमा पठाएको उनले जानकारी दिए । उनका अनुसार सल्यानको हकमा मात्र अहिलेसम्म एक सयको हाराहारीमा उजुरी परेका छन् । मुद्दा परेका बाहेक अन्यको अनुसन्धान भैरहेको उनले बताए । अनुसन्धान सम्पन्न भएपछि अन्य पनि मुख्य कार्यालयमा पठाइनेछ । ‘उजुरी परेका सबैलाई मुद्दा पर्छ भन्ने होइन । कार्यालयले अनुसन्धान गर्छ । अनुसन्धानबाट जे नतिजा आउँछ‚ त्यहिअनुसार प्रक्रिया अगाडि बढ्छ‚’ उनले भने ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले विशेष अदालतमा मुद्दा दायर गर्दा निकालेको विज्ञप्ति ।

प्रकाशित : मंसिर १५, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?