कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत मत बदर 

विप्लव महर्जन

सल्यान — एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा आठ प्रतिशत मत बदर भएको छ । सम्बन्धित निकायले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका कारण प्रत्यक्ष र समानुपातिकमा धेरै मत बदर भएको हो । 

सल्यानमा प्रत्यक्षमा ७ र समानुपातिकमा ८ प्रतिशत मत बदर 

कुल खसेको मत अनुसार प्रत्यक्षमा ११ हजार ६ सय १५ र समानुपातिकमा १२ हजार ४ सय ४६ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि खसेको कुल मत ७६ हजार ३ सय ५ मा ७ हजार ३ सय ५९ , प्रदेशसभा अन्तर्गत सल्यान १ मा खसेको ४१ हजार १ सय ७६ मतमा २ हजार ३ सय ४८ र २ मा ४१ हजार ९ सय ६७ मत खसेकोमा १ हजार ८ सय ९८ मत बदर भएका छन् ।

यसैगरी समानुपातिकमा प्रतिनिधिसभाको लागि ८४ हजार ७ सय ८९ मत खसेकोमा ६ हजार २ सय १५ र प्रदेशसभामा ८२ हजार ९ सय ९८ मत खसेकोमा ६ हजार २ सय ३१ मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी बनाउन सरोकारवाला सबैको जिम्मेवारी रहेपनि प्रभावकारी नभएकै कारण खसेको मत बढी बदर भएको निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भटराईले बताए । प्रत्यक्षमा थोरै चिह्न र समानुपातिकमा धेरै चिह्न भएकाले मतदाता अलमलमा परेका कारण समानुपातिकमा बढी मत बदर भएको उनले जानकारी दिए । उनका अनुसार निर्वाचनमा कार्यालयले स्वयंसेवक भर्ना गरेर जिल्लाका सबै पालिकामा मतदाता शिक्षा दिए पनि एकै मतदाताले एक चिह्नमा मात्र नभइ धेरैमा छाप लगाएको पाइएको हो ।

सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकोमा जिल्लाभरिका २ सय ५ मतदान केन्द्रबाट कुल मतदाताको ८४ हजारले तथा ५३.२७ प्रतिशतले मतदान गरेका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?