कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षाकर्मीको स-सम्मान बिदाइ

यसअघिका सबै निर्वाचनमा झडपदेखि ज्यानै जानेसम्मका घटना भएकोमा यसपल्ट जिल्लाभर शान्तिपूर्ण निर्वाचन
तुलाराम पाण्डे

कालीकोट — हरेक निर्वाचनमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपालि कुनै घटना भएन । प्रदेश र प्रतिनिधिसभा दुवै निर्वाचन एकै पटक भइरहे पनि शन्तिपूर्ण रूपमा सम्पन्न गर्न सकेको भन्दै सुरक्षाकर्मीलाई स–सम्मान बिदाइ गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले निर्वाचनमा खटिने म्यादीसहितका सबै सुरक्षा बलको सराहना गर्दै आइतबार सम्मान गरेका हुन् ।

सुरक्षाकर्मीको स-सम्मान बिदाइ

‘तपाईंहरूको उच्च सुझबुझ र सतर्कताले जिल्लाभर कुनै घटना भएन, सबैलाई बधाई छ । तपाईंहरूको योगदानको उच्च सम्मान व्यक्त गर्छौं,’ उनले भने । नेत्र विक्रम चन्द समूह यसपल्टको निर्वाचन बहिष्कारको घोषणा गरेको थियो । कालीकोटलाई उक्त समूहको प्रभाव क्षेत्रसमेत मानिन्छ । तर, कुनै पनि सामान्य झडपसमेत नभई निर्वाचन सम्पन्न हुनुमा सुरक्षाकर्मीको उच्च सतर्कता प्रमुख कारण रहेको उनले औंल्याए । ‘सधैं अभावसँग बाँच्ने हिमाली क्षेत्रको जनजीवन आफैंमा सहज छैन । असोज १९ देखिको लगातारको वर्षाले क्षतविक्षत सडक अझै मर्मत भइसकेको छ । कष्टप्रद यात्रा गरेर फिल्डमा पुगेर दिएको जिम्मेवारी पूरा गर्ने सबै सुरक्षाकर्मीलाई पुनः बधाई,’ उनले उच्च कार्यक्षमता देखाउने झन्डै २ दर्जन सुरक्षाकर्मीलाई सम्मानसमेत गरे ।

यसअघि ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा कांग्रेस, एमाले, मालेका कार्यकर्ताबीच कुटाकुट भएको कालीकोटमा ०६४ सालमा विभिन्न ९ ठाउँमा माओवादीले बुथ कब्जा गरेको आरोप लागेको थियो । ०७० मा म्यादी प्रहरीले सेवासुविधालाई लिएर सदरमुकाममा आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीले ज्यान नै गुमाएका थिए । ०७४ सालको स्थानीय निर्वाचनमा नरहरिनाथ–६ माल्कोटस्थित नन्दादेवी मावि मतदान केन्द्रमा मतपेटिका जलाउन खोज्दा प्रहरीको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवार धनरूप बटालाको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा चन्द समूहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरेको कालीकोटमा रास्कोट, पचालझरनालगायतका केही मतदान केन्द्रमा धाँधलीको प्रयास भए पनि यसपटक जिल्लाभरि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय अगुवाहरू बताउँछन् । प्रत्येक निर्वाचनमा मृत्यु हुने गरेको परम्पराजस्तै बनेको कालीकोटमा यसपटक भने कुनै ठाउँमा पनि हिंसात्मक गतिविधि नभएको स्थानीय अगुवा बाले विश्वकर्माले बताए ।

निर्वाचनको सुरक्षा संवेदनशीलता हेरेर जिल्ला सुरक्षा समितिले चन्द समूह र मदिरालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिँदै सुरक्षा रणनीति तय गरेको थियो । जसका लागि २ हजार बढी सैनिक, सशस्त्र, जनपद र म्यादी प्रहरी परिचालन गरिएको थियो । कठिन भूगोल र चन्द समूहको प्रभाव क्षेत्र कालीकोट भएकाले सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्दा कुनै हिंसात्मक गतिविधि हुन नपाएको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले दाबी गरे । ‘सुरुमा जिल्लामा उम्मेदवार र मतदातामा एक खालको त्रास देखिन्थ्यो,’ उनले भने, ‘सबै पक्षसँग समन्वय गरेर निष्पक्ष रूपमा प्रस्तुत हुँदा कुनै घटना हुन पाएन ।’ उनले पालिकाका संवेदनशील क्षेत्रमा सैनिक, सशस्त्र प्रहरीसहितको सुरक्षा घेराका कारण मतदाताले सुरक्षित महसुस गरेर मतदान गरेको सुनाएका बताए ।

कालीकोटमा सुरक्षा चुनौतीका रूपमा रहेको मदिरालाई प्रतिबन्ध लगाइएको थियो भने चन्द समूहसँग पनि सुरक्षा अधिकारी निरन्तर सम्पर्कमा रहेर समन्वय गर्नाले विस्फोटलगायतका गतिविधि नभएको एक सुरक्षा अधिकारीले सुनाए । उनका अनुसार दुई साताअघि यहाँको तिलागुफा–१० रानावाडामा बम विस्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको थियो ।

८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा १ सय २४ मतदान केन्द्र थिए । जिल्ला सुरक्षा समितिले ७४ मतदान केन्द्रलाई अति संवेदनशील, ३६ मतदान केन्द्रलाई संवेदनशील र १४ वटा मतदान केन्द्रलाई सामान्य भनेर वर्गीकरण गरेको थियो । मतदान केन्द्र र मतपेटिकाको सुरक्षाका लागि काठमाडौं, नेपालगन्ज, सुर्खेत, जुम्लालगायत जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी कालीकोट आएका थिए । त्यसैगरी, जिल्लामा भर्ना गरिएका १ हजार म्यादी प्रहरीको पनि शुक्रबार बिदाइ गरिएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?