कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन

विप्लव महर्जन

सल्यान — संसदीय निर्वाचनमा सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन भएको छ । २०५२ पछि निरन्तर पराजय भोग्दै आएको कांग्रेसका सुरेश अधिकारीले प्रदेशसभा २ बाट जितेपछि पुनरागमन भएको हो । अधिकारीले २० हजार ४ सय ८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलाजंग शाहले १६ हजार ६ सय १८ मत ल्याए । अधिकारीले शाहलाई ३ हजार ७ सय ९० मतले पछाडी पारेका हुन् ।

सल्यानमा २८ वर्षपछि कांग्रेसको पुनरागमन

दुई निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रजातन्त्र आएपछि २०४८ र आ/ब २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नं . १ बाट कांग्रेसका राजेन्द्रबहादुर शाह र २ बाट छवि देवकोटाले जितेका थिए । त्यसपछि निरन्तर कांग्रेसले २०७४ सम्म पराजित हुनु परेको थियो ।

२८ वर्षपछि कांग्रेसका सुरेश अधिकारी सल्यान २ बाट प्रत्यक्षमा निर्वाचित भएपछि पार्टीले पुर्नजिवन पाएको कांग्रेस नेता ध्रुवराज पुरीले बताए । गत २०७९ को स्थानीय निर्वाचनबाट जिल्लामा पहिलो पार्टी साबित भएको कांग्रेस आउँदा दिनमा संसदीय निर्वाचनमा पनि पहिलो हुने उनले जानकारी गराए ।

नेता पुरीका अनुसार २०७४ अघि दुई निर्वाचन क्षेत्र मात्र रहेको सल्यानमा २०५६ मा क्षेत्र नं. १ बाट राजेन्द्र शाह, २ बाट महेश मल्ल, २०६४ र २०७० मा १ बाट ध्रुवराज पुरी, २ बाट डिल्लीराज रेग्मी, २०७४ मा १ बाट एकराज डाँगी , २ बाट डिल्लीराज रेग्मी र प्रतिनिधिसभाका लागि राजेन्द्रबहादुर शाह निर्वाचनमा लडेका थिए । २०५६ मा क्षेत्र नं १ बाट एमालेका प्रकाश ज्वाला, क्षेत्र नं २ बाट राप्रपाका नेत्रलाल श्रेष्ठद्वारा पराजित भएका थिए । २०६४ मा १ बाट नेकपामाओवादी केन्द्रका टेकबहादुर बस्नेत र २ मा उमाकान्त शर्मा, २०७० र ०७४ मा १ मा एमालेका गुलावजंग शाह, २ मा एमालेकै प्रकाश ज्वालाबाट र प्रतिनिधिसभामा नेकपा माओकादीकै नेता टेकबहादुर बस्नेतबाट कांग्रेस नेताले पराजित हुनु परेको थियो ।

१० वर्षीय तत्कालीन माओवादी जनयुद्धका कारण कांग्रेसको बिउ समेत मासिएको सल्यानमा पछिल्नो समयमा संगठन धेरै बलियो भएको र त्यही कारण सुरेश अधिकारीले निर्वाचनमा जित हासिल गरेका पार्टी सभापति केशबहादुर विष्टले बताए । कांग्रेसले धेरै वर्षपछि पार्टीको विरासत जोगाएको उनले जानकारी दिए । ‘तत्कालीन माओवादी जनयुद्धका कारण कांग्रेसको संगठन कमजोर भएको थियो । त्यो बेला ज्यान बचाउन भएका अलिअलि पनि विस्थापित भएका थिए,’ उनले भने, ‘जनयुद्ध समाप्त भएपछि देशमा शान्ति कायम हुँदा पुन संगठन बिस्तारकै कारण अहिले पुरानै लयमा फर्किएको छ’ ।

सल्यान २ बाट निर्वाचित भएका सुरेश अधिकारीले पहिला गुमेको विरासत बचाइराख्ने बताएका छन् । निर्वाचित भएपछि जिल्लामै बसेर जिल्लाको भौतिक , आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि विकासमा निरन्तर खटिरहने प्रतिबद्धत्ता जनाएका उनले पार्टीलाई पनि बलियो बनाउँदै लग्ने जानकारी गराएका छन् ।

प्रकाशित : मंसिर ११, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?