१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भासिएको पुल मर्मत भएन

विप्लव महर्जन

सल्यान — अविरल वर्षात्सँगै आएको पहिरोका कारण भासिएको सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाड बजार नजिकै भेरी नदीको झोलुंगे पुल मर्मत भएको छैन । पुल मर्मत नहुँदा बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते र कुरिल्लेका स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

भासिएको पुल मर्मत भएन

सम्बन्धित निकाय कसैले चासो नदेखाएको र पुलको विकल्पसमेत नभएपछि स्थानीय त्यही पुलबाट वारपार गर्न बाध्य भएका हुन् । भासिएको झोलुंगे पुलबाट एक जनाभन्दा बढी मानिस वारपार गर्न मिल्दैन । पुल धेरै हल्लिने भएकाले अहिले बामेका चार गाउँका बासिन्दा स्वास्थ्यसेवा र विद्यार्थी पढाइबाट प्रभावित भएका छन । बामेका चार बस्तीका तीन सयभन्दा बढी परिवार छन् । अविरल वर्षात्का बेला असोज १८ गते पुल भासिएको थियो ।

बन्गाड कुपिण्डे नगरपालिका २ बामेका चार बस्तीवासी दैनिक उपभोग्य वस्तु किन्न जाजरकोटको शिवालय गाउँपालिकाको छेडाबजार आउजाउ गर्छन् । उक्त बजार भेरीपारि भएकाले उपभोग्य वस्तु किन्न र गाउँमा उत्पादित वस्तु बिक्री गर्नका लागि जोखिम मोलेर भए पनि नगई नहुने बाध्यता रहेको स्थानीय गोपीलाल आचार्यले बताए ।

‘पहिरोले गर्दा झोलुंगे पुल भासिएपछि छेउको भाग ठाँडो र बीचको भाग तल झरेको छ । हावा लाग्नेबित्तिकै बेसरी हल्लिने गर्छ,’ उनले भने, ‘जोखिम बढी भएकाले बजार नगई नहुने पुरुषहरू पुलको जाली र लट्ठा समातेर जाने गरेका छन् ।’

एक जनाभन्दा दुई जना हिँड्न नमिल्ने भएकाले स्थानीय स्वास्थ्य सेवा र औषधि लिन जान पनि बञ्चित भएको स्थानीय मीनबहादुर रोकाले बताए । गम्भीर बिरामी परेमा बस्तीदेखि करिब चार घण्टाको दूरीमा अर्को झोलुंगे पुल पुग्नुपर्छ । त्यतैबाट स्ट्रेचरमा बोकी गाडी चल्ने सडकमा पुयाई नेपालगन्ज सुर्खेत लैजाने गरेका उनले सुनाए ।

झोलुंगे पुल नबन्दा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । स्थानीय उत्पादित वस्तु दूध, दहीलगायत सामग्री त्यत्तिकै खेर जान थालेको लीलु खत्रीले बताए । बस्तीबाट नजिकै पर्ने छेडाबजारमा जान कठिनाइ भएपछि केही दिनअघि दुई गर्भवती जोखिम मोलेर घरमै सुत्केरी हुन परेको उनले सुनाए ।

पहिरोले भासिएको पुलका बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि मर्मतका बारेमा कसैले चासो नदेखाएको उनको गुनासो छ । बन्गाडकुपिण्डे नगरपालिका २ बामेका वडाध्यक्ष मानबहादुर खत्रीले झोलुंगे पुल मर्मतका लागि पहल गरेको बताए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?