सल्यानमा प्रदेशसभा २ मा कांग्रेसका सुरेश अधिकारी विजयी

सल्यान — सल्यानमा प्रदेशसभा २ बाट उमेदवारी दिएका कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलावजंग शाहलाई ३ हजार ७ सय ९० मतले पछि पार्दै कांग्रेसका अधिकारी विजयी भएका हुन् ।

मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पाँच दलीय गठबन्धनअन्तर्गत यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा २ बाट उमेदवारी दिएका सुरेश अधिकारीले २० हजार ४ सय ८ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उमेदवार गुलावजंग शाहले १६ हजार ६ सय १८ मत ल्याएका थिए ।
सल्यानमा एमालेबाट शाह र कांग्रेसबाट अधिकारी बलिया उम्मेदवार हुन् । दुबैमा कडा प्रतिस्पर्धा भएको थियो । मतगणनाको सुरुवातमा अग्रता लिएका शाहलाई मध्यान्तरमा अधिकारीले उछिनेका थिए । २०४८ सालदेखि राजनीतिमा सक्रिय अधिकारी २०७४ मा पहिलो पटक शारदा नगरपालिका मेयरमा निर्वाचित भएका थिए । निजामती कर्मचारीबाट उनी राजनीतिमा प्रवेश गरेका थिए ।
अधिकारीबाट पराजित भएका शाह विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका थिए । २०७४ मा एमाले र नेकपा माओवादीबीच भएको समीकरणअनुसार सल्यान १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेबाट कर्णाली प्रदेशका संयोजकसमेत रहेका थिए ।
प्रकाशित : मंसिर ८, २०७९ ०५:४२