१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कर्णालीमा गठबन्धनको अग्रता

कृष्णप्रसाद गौतम

सुर्खेत — मतगणना जारी रहेका कर्णालीका सुर्खेत क्षेत्र नं. २, दैलेख–१, जुम्ला र सल्यानमा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन् । सोमबार राति अबेरसम्म सुर्खेत, दैलेख, जुम्ला र सल्यानको मतगणना मात्र सुरु भएको छ । कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालीकोट र रुकुम पश्चिममा भने मतपत्र सदरमुकाम नपुग्दा मतणनाको काम सुरु भएको छैन । 

कर्णालीमा गठबन्धनको अग्रता

सोमबार रातिसम्म सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका अमृत बिसीले पछ्याइरहेका छन् । थानीको ३ हजार ५ सय २ मत हुँदा बिसीको २ हजार ३ सय २४ मत छ । ७ हजार ३ सय ७३ मत गणना हुँदा २ सय ५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेत–१ मा भने सिम्तास्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदान स्थगित भएपछि मतगणना रोकिएको छ । सिम्तामा मंगलबार निर्वाचन हुनेछ । जहाँ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपत्रको बाकसमा परेको पाइएपछि दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको हो ।

त्यस्तै दैलेख–१ मा एमालेका रविन्द्रराज शर्माभन्दा एकीकृत समाजवादीका अम्मरबहादुर थापा अगाडि छन् । थापा ८ सय २३ मतले अघि हुँदा शर्माको ८ सय ४ मत छ । सल्यानमा ज्वालाले स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहलाई ६ सय मतले पछि पार्दै र एमालेका उमेदवार राजेन्द्रवीर रायलाई १ हजार ६ सय ६६ मतले पछि पार्दै अग्रता हासिल गरेका हुन् । ५ हजार ४६ मत गनना गर्दा ज्वालाले २ हजार ५८, स्वतन्त्र उम्मेदवार शाहले १ हजार ४ सय ९३ र रायले ४ सय ३२ मत ल्याएका छन् ।

सल्यान १ (१) मा गठबन्धनका उम्मेदवार भीमप्रकाश शर्मा र २ मा एमालेका उमेदवार गुलावजंग शाहले अग्रता लिएका छन् । शर्माले १ हजार ३ सय ४४ मत ल्याएका छन् भने एमालेका कुलबहादुर गिरीले १ हजार ७ मत ल्याएका पाएका छन् । सल्यान १ (२) मा गठबन्धनका उमेदवार तथा कांग्रेसका सुरेश अधिकारीले १ हजार २६ र एमालेका गुलावजंग शाहले १ हजार ८३ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार सल्यानमा अहिले कालीमाटी र कुमाख गाउँपालिकाको मतगणना भइरहेको छ । जुम्लामा भने राप्रपाका ज्ञानेन्द्र शाही अघि छन् । ४०० मत गन्दा उनले २५४ मत प्राप्त गरेका छन् । गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी गोमा कुँवरले ८५ र एमालेका रतननाथ योगीले २४ मत प्राप्त गरेका छन् ।

मतदातामा देखिएन उत्साह

कालीकोट– यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कालीकोटका मतदातामा खासै उत्साह देखिएन । यसअघिका चुनावमा ७० देखि ८० प्रतिशत मत खस्दै आएकोमा यस पटक ५५ प्रतिशत मात्र खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विप्लव समूहको बहिष्कारको आह्वान, दलहरूबीच गठबन्धन, मौसमी बसाइँसराइ, युवा पलायनजस्ता कारणले कम मत खसेको नागरिक समाजका अगुवा कालीबहादुर मल्लले बताए ।

सुरक्षाको राम्रो प्रबन्ध गरेकाले कुनै ठाउँमा पनि अप्रिय घटना नभएको प्रजिअ रामहरि शर्माको भनाई छ । उनले मंगला सैनी मावि लालुमा अर्काको नाममा मत हाल्ने खोज्ने ५ जनालाई नियन्त्रणमा लिएर छाडेको जानकारी दिए । पचालझरना–५ बाझकोटस्थित पञ्चकालिका मावि बाझकोट मतदान केन्द्र नजिकै भेटिएको शंकाष्पद वस्तु नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको प्रजिअ शर्माले बताए । उनका अनुसार तार बेरेर तर्साउन राखिएको वस्तु भेटिएको थियो । यस पटक जिल्ला बाहिर रहेका अधिकांश मतदाता घर फर्केनन् । यहाँका करिब २० प्रतिशत मतदाता जिल्ला बाहिर छन् । घरमै भएकाले पनि मतदान गर्न चासो नदेखाएको स्थानीय देवेन्द्र पाण्डेले बताए ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?