क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो कर्णाली राजमार्ग- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो कर्णाली राजमार्ग

डीबी बुढा

जुम्ला — जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरिको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ । तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर खलंगातिर आउँदै गरेको कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले सडक ठप्प पारेका थिए ।

उनीहरुले सडकमै पर्खाल लगाएर,काठ तेर्स्याएर सडक बन्द गरेका थिए । बन्दका कारण सयौं सवारीसाधन रोकिएका थिए ।

कनिका निशा विद्यालय र मृतकका परिवारबीचको सहमतिपछि सडक खुलेको हो । मृतकका आफन्त तुलराज गिरीले सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको जानकारी दिए ।

सहमतिपछि आफन्तले शव बुझेका छन् । तर समय अभावका कारण पोस्टमार्टम भोलि हुने उनले बताए । बसचालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ । ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम रह्यो । बंगलादेश भने सात अंकमै सीमित रह्यो । तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो

महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रो पल्ट हो । दक्षिण एसियाली फुटबलमै नेपालले उपाधि जितेको भने यो पहिलो पल्ट हो । यसअघि नेपालले २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजनल च्याम्पियनसिप जितेको थियो । नेपालले बंगलादेशविरुद्धको दोस्रो खेलमा सुशिला केसीको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।

दोस्रो हाफको ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन । यसपछि खेल रोमाञ्चक बनेको थियो । यसै क्रममा खेलको अन्त्यतिर विपना स्नेहीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेश गोल गर्न चुकेको थियो । बंगलादेशले उपाधि हात पार्नका लागि नेपालमाथि यस खेलमा निश्चित जित निकाल्नु आवश्यक थियो ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×