कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

मार्सी धान भित्र्याउने चटारो

डीबी बुढा

जुम्ला — विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।

मार्सी धान भित्र्याउने चटारो

‘नदी किनार र खहरे खोलाको छेउछाउमा रोपिएका सबै धान खेत बगे,’ उनले भने, ‘दसैंलगत्तै भित्र्याउने योजना थियो, तर वर्षाले समस्या भयो, अब तिहारअघि नै भित्र्याउने योजना छ ।’

स्थानीय सत्यदेवी रोकायाले जिउलोमा धान पाकिसकेको बताइन् । उनका अनुसार प्रतिकूल मौसमका कारण दसैंअघि धान भित्र्याउन समस्या भएको थियो । ‘मौसममा सुधार आएपछि जिउलोभरि मार्सी धान भित्र्याउने लहर नै चलेको छ,’ उनले भनिन्, ‘बिहान सबेरैदेखि साँझ अबेरसम्म धान भित्र्याउनै व्यस्त छौं ।’ उनका अनुसार एक हप्तासम्म वर्षा नभएको खण्डमा सबै धान घरमा भित्र्याइन्छ ।

जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सी धान निकै लोकप्रिय र ख्यातिप्राप्त धान बाली हो । पछिल्लो समय रोगकिराको संक्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन् । केही धान खेतमा बाढी पसेर पुरिसकेको छ । बचेको खेतमा धानको राम्रो उत्पादन भएको स्थानीय कमल न्यौपानेले बताए । उनका अनुसार बढी उचाइमा फल्ने र धेरै समयपछि पाक्ने हुँदा मार्सी धानबाट प्रशोधित रातो चामलको स्वाद अन्य धानभन्दा भिन्नै हुने गरेको छ । मार्सी धानको चामल १ सय ५० देखि २ सय रुपैयाॅ प्रतिकेजीमा बिक्री हुने उनले जानकारी दिए ।

जुम्ली मार्सी धानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । उनीहरू प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गर्छन् । यो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिन्छ । १६ गते भिजाएको बीउ सुकाउने र २० गते ब्याडमा लिएर छर्ने चलन स्थानीय किसान अकबर देवकोटाले बताए । उनका अनुसार जेठ पहिलो साताबाट धान रोप्न सुरु गर्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडमेल गर्ने चलन छ । ‘यहाँ एक दशकअघिसम्म चैत १२ गते नआएको जुम्ली मर्‍यो भन्ने उखान प्रचलित थियो,’ उनले भने, ‘हामी बर्सेनि असोज दोस्रो साता धान भित्र्याउँछौं, तर योपल्ट वर्षाले ढिलो भयो ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष ९ सय ५० हेक्टरमा धान खेती गरिएकामा ६ हजार ७ सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । जसमा एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सी धान फल्ने गरेको कार्यालयका प्राविधिक लछीराम महतले बताए । उनका अनुसार पछिल्लो समय मार्सी धानको उत्पादन घटे पनि बजारमा माग भने धेरै छ ।

‘जुम्लाको पहिचान यही धान बनेको छ, तर पछिल्लो समय विभिन्न रोगले यसको उत्पादनमा गिरावट आएको छ,’ उनले भने, ‘त्यसैले अहिले किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिरहेका छौं ।’ समुद्र सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको छुमचौर जिउलोमा पनि मार्सी धान फल्ने गरेको उनले बताए ।

प्रकाशित : कार्तिक ४, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?