लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र

सिँचाइका लागि आकासे पानीको भर
विप्लव महर्जन

सल्यान — सल्यानको बन्गाड कुपिण्डे नगरपालिका २ बामेको राइरा लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीले काम गर्नेभन्दा बढी लापरबाही गर्दा लिफ्ट सिँचाइ योजना अलपत्र परेको हो । 

लिफ्ट सिँचाइ योजना दुई वर्षदेखि अलपत्र

खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानको ७३ लाख अनुदानमा २०७६ मा योजना सञ्चालन गरिएको थियो । भेरी नदीबाट पानी तानेर बाँमेको राइरा बस्ती नजिकै भएको खेतीयोग्य जग्गा सिँचाइ गर्ने उद्देश्यले उक्त योजनाको काम गर्ने जिम्मेवारी न्यु मिलन कन्स्ट्रक्सनले पाएको थियो ।

योजना अलपत्र पर्दा राइराका ३० हेक्टर खेतीयोग्य जग्गा सिँचाइविहीन भएको छ । स्थानीय किसान आकासे पानीको भरमा मकै र तोरी लगाउन बाध्य छन् । सिँचाइको अभावमा ३० हेक्टरमध्ये चार हेक्टरभन्दा बढी जग्गा बाँझै रहेका छन् । सिँचाइको व्यवस्था भए घर नजिकैको खेतीयोग्य जग्गामा धान बाली लगाउने सपना देखेका स्थानीयको सपना अधुरो रहेको छ‚ जसका कारण ६० घरधुरी प्रभावित भएका छन् ।

ठेकेदार कम्पनीले चार महिनाजति मात्र काम गरेर एउटा पोखरीमात्र निर्माण गरेको र त्यसपछि विभिन्न बहाना बनाई कामै नगरेको स्थानीय मानबहादुर विष्टले बताए । झन्डै एक वर्षदेखि योजनास्थलमा उनी देखिन छाडेको उनले जानकारी गराए । उनका अनुसार सिँचाइको व्यवस्था भए स्थानीय किसानले तीन बाली लगाउन सक्थे । उनीहरू विगतदेखि मकै, तोरीमात्र लगाउन बाध्य छन् । उनीहरूको धान बाली लगाउने सपना अधुरो रहेको छ ।

सिँचाइ योजनाको काम अधुरै रहेकाले राइरा बस्ती नजिकै रहेको खेतीयोग्य जग्गा वर्षात् नभएमा सधैं बाँझो रहने गरेको र जग्गा हुनु र नहुनु एकै भएको धनबहादुर बुढाथोकीले बताए । नजिकै भेरी नदी भए पनि जहिले पनि सिँचाइका लागि आकासे पानीको भर पर्दै आएको उनले जानकारी दिए ।

‘सिँचाइको व्यवस्था भएर धानबालीसहित तीन बाली लगाउन सके स्थानीय किसानलाई खेतीपाती छाडेर मजदुरीका लागि भारतका विभिन्न ठाँउमा जानु पर्दैनथ्यो । अधिकांश किसानले आफ्नै जग्गामा उत्पादित खाद्यान्नले खान पुग्थ्यो‚’ उनले भने ‘सिँचाइको अभावमा पर्याप्त मात्रामा बाली उत्पादन गर्न नसक्दा वर्षभरिको खर्च जुटाउन भारतका विभिन्न स्थानमा जानुपर्ने बाध्यता छ ।’

सिँचाइ योजनाको काम अधुरै रहेकाले स्थानीय किसानलाई बाली लगाउन गाह्रो भएको बन्गाड कुपिण्डे नगरपालिका २ बामेका वडाध्यक्ष मानबहादुर खत्रीले बताए । खेतीयोग्य जमिनमा सिँचाइका लागि सञ्चालन गरेको योजना छिटो सक्न ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयलाई जानकारी गराउँदै आए पनि कसैले नसुनेको उनले जानकारी दिए ।

‘योजनाको काम समयमै ठेकेदार कम्पनीले नगर्दा सरकारी बजेटको दुरुपयोग भएको छ‚’ उनले भने‚ ‘खानेपानी तथा ऊर्जा विकास कार्यालयद्वारा सञ्चालित योजना भएकाले पालिकाले दबाब सृजना गर्नेभन्दा अरु केही गर्न सक्दैन । अहिले योजना अलपत्र पर्दा पनि हेरेर बस्नुपर्ने अवस्था छ ।’

२०७७ देखि सञ्चालित योजना एक वर्षभित्रमा सक्नुपर्ने भए पनि ठेकेदार कम्पनीले दुई/चार महिनामात्रै काम गरेर छाडेका खानेपानी तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले बताए । ठेकेदार कम्पनीले अहिलेसम्म १५ प्रतिशतमात्र काम गरेको र लिफ्ट योजनाको पानी संकलन गर्ने पोखरीमात्र बनाएको उनले जानकारी गराए । ‘हामीले ताकेता गर्दै आएका छौं तर उनले काम गर्छु भन्दै टार्दै आएका छन्‚’ उनले भने ।

प्रकाशित : कार्तिक १, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x