कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

पहिरोले कालिकोटका ५१ बस्ती जोखिममा, राहत माग्दै ६ हजारभन्दा बढी निवेदन

कालिकोटमा पहिरोका कारण अहिलेसम्मकै बढी क्षति ।
तुलाराम पाण्डे

कालिकोट — देशभर निर्वाचनको माहोल सुरु हुँदा कालिकोटमा भने पहिरोको चिन्ता सकिएको छैन । वर्षा रोकिए पनि कालिकोटका थुप्रै बस्तीहरू पहिरोको जोखिममा रहेका छन् । चाडवाडका बीच कतिपय गाउँका बासिन्दाहरू सार्वजनिक भवन र खुला चौरमा रात कटाइरहेका छन् । दसैंपछि मात्रै ६ हजारभन्दा धेरै पीडितहरूले राहतको माग गरिरहेका छन् ।

पहिरोले कालिकोटका ५१ बस्ती जोखिममा, राहत माग्दै ६ हजारभन्दा बढी निवेदन

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालिकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । वर्षापछिको पहिरोले मानवीय क्षति पनि कालिकोटमा धेरै भएको छ ।

यहाँको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो । हालसम्म ७ जनाको शव भेटिए पनि १६ जना अझै बेपत्ता छन् । यहाँका ९ वटै स्थानीय तहमा गरी ५ सय ९० घर पूण रुपले भत्किएका छन् । ७ सय ४२ घर आशिंक रुपले भत्किएका छन् भने ७ सय १३ घर उच्च जोखिममा छन् ।

पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरसहित जिल्लाका स्थानीय तहमा खनिएका ६३ वटा ग्रामीण सडकमा क्षति पुगेको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा एक साता लगाएर दैलेख सदरमुकाम हुँदै साइखोला मिसिने मध्यपहाडी लोकमार्गको वैकल्पिक बाटोबाट कालिकोटको पिलीसम्म सडक संचालनमा आए पनि कर्णाली करिडोर पूरै अवरुद्ध छ ।

वर्षा सुरु भएदेखि गाडी नचलेकाले कर्णालीका कालिकोट, जुम्ला, मुगु र बाजुराको पूर्वी भेगमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको अभाव भएको छ । 'सडक छैन, ढुवानी नहुँदा खाद्यान्नकै हाहाकार होलाजस्तो छ,' कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले भने, 'मूल्य पनि अचाक्ली वृद्धि भएको छ । मध्यपहाडीको बाटो खुले पनि ढुवानीका साधान अझै सुरु हुन सकेका छैनन् ।'

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको पिली र जुम्लाको रारालिहीमा काम भइरहे पनि राजमार्ग खुल्न अझै दुई साताभन्दा बढी लाग्ने सडक डिभिजन कार्यालय जुम्लाको आकलन छ । कर्णाली करिडोरको कालिकोट र बाजुरा खण्ड पूरै अवरुद्ध छ । कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि छैन । कालिकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दाहरूले आवतजावत गर्ने रैंगिल हुँदै लालीघाट जितेको बाटो लुसाको पहिरोले अवरुद्ध हुँदा पैदल हिँड्न पनि जोखिम रहेको बताए ।

लुसा गाउँबाट निरन्तर बगिरहेको पहिरोले कर्णाली करिडोर खुले पनि आउजाउ गर्न कठनाइ हुने भएकाले नेपाली सेनालाई बगिरहेको ठाउँको पूरै माटो पानीले बगाएर पहिरो सफा गर्न आग्रह गर्नेबारे छलफल भइरहेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए । कर्णाली करिडोर पुन: सुरु गर्न र लुसाको पहिरो हटाउन वैकल्पिक उपाय खोज्दै सोमबार सान्नीत्रिवेणीका अध्यक्ष केसी, पूर्वअध्यक्ष डम्बरबहादुर शाही, रास्कोट नगर प्रमुख धर्मराज शाही, पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही, पलाता अध्यक्ष विष्णु रोकाया, कांग्रेस कर्णाली प्रदेश समिति प्रवक्ता दमनबहादुर शाही, मथुरा जैसीलगायतले जिल्ला प्रशासनमा प्रजिअसहित नेपाली सेना, जनपद र सशस्त्र प्रहरी तथा राष्टिय अनुसन्धान प्रमुखको ध्यानाकर्षण गराए।

कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्डमा ९३ ठाउँमा पहिरो गएकोमा कालिकोटको पिलीदेखि नाग्मसम्मको पहिरो हटाउने काम भइरहेको छ । असोज १९ गते दसैंको टीकाको दिनदेखि लगातार भएको भीषण वर्षाले कालिकोटको खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको थियो भने बाँकी दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भयो ।

कर्णालीवासीको भरपर्दो आवतजावत गर्ने एक मात्र माध्यम कर्णाली राजमार्ग अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको छ । हवाइजहाज पनि नचलेकाले जुम्ला, मुगु, हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दा पनि पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् । स्थानीयहरूले सडक अवरुद्ध भएपछि ३/४ दिन लगाएर पैदल हिँड्नु परेको गुनासो पोखे । मुगुबाट पैदल ५ दिन लगाएर मान्म पुगेको खल्याड ९ का बमबहादुर कार्कीले गुनासो पोखे ।

भिरालो जमिन, बढ्दो वन फडानी, अतिबृष्टिले बढी पहिरोको जोखिम रहेको कालिकोटमा ०७४ को स्थानीय चुनावबाट चुनिएका जनप्रतिनिधिले गाउँ गाउँमा सडक पुर्‍याउने चुनावी प्रतिबद्धता पूरा गर्न वातावरणीय प्रभाव मूल्यांकन बिना नै खनिएका सडकले धरै ठाउँमा पहिरो निम्त्याएको नागरिक समाजका अगुवा लिलाराम न्यौपानेले बताए ।

जथाभावी डोजर चलाउँदा पहिरो

यहाँका ९ वटै स्थानीय तहले गाउँ जोड्न बनाएका सडकले बस्ती मात्र जोखिममा पारेका छैनन् । कर्णाली राजमार्ग र करिडोर पनि जोखिममा पारेका छन् । 'वातावणीय प्रभाव मूल्यांकन नगरी नगरेर थालिएका विकास निर्माणका कामले बढी पहिरो निम्त्यायो,' खाडाचक्र ३ ताडीस्थित पाल्तमहादेव सामुदायिक वन उपभोक्ता समितिका सचिव चक्रबहादुर शाहीले भने । कमजोर भूगोल भएको कालिकोटमा डोजर प्रयोग गरेर जमिन थर्काउँदा जताततै पहिरो गएको उनको भनाइ छ ।

नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, शुभकालिका, महाबै, तिलागुफा, खाडाचक्र सबै पालिकाका सडकले वन क्षेत्र र बस्ती दुवै ठाउँमा असर गरेको यहाँका अगुवाहरू बतउँछन् । डिभिजन वन कार्यालयले गत वर्ष २ र यस वर्ष ४ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरे पनि हुर्किन नपाउँदै पहिरोले सबै नष्ट गरेको डिभिजन वन कार्यालय मान्मले जनाएको छ ।

जनप्रतिनिधिले डोजरबाट खनेका सडकले बाढीपहिरो निम्त्याएको बताउँछन् नेपाल मजदुर पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाही । सडकले जताततै चिरा पारेको जमिनमा वर्षाको पानीले गलाएर पहिरो गएको उनको दाबी छ ।

खाडाचक्र ३ सियालाका मदन पाण्डेका अनुसार गाउँमा जताततै पहिरो गएकाले बयालकाटिया पूरै गाउँ जोखिममा छ । ३० परिवार रहेको उक्त गाउँका सबैको उठिबास लाग्ने चिन्ता स्थानीयहरूले गरेको पाण्डे बताउँछन् ।

कालिकोटमा यस वर्षमा पहिरोले हालसम्मकै बढी मानवीय क्षति गरेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । उनका अनुसार असोज २३ गते मात्र ३ जनाले ज्यान गुमाए । ५ जना सक्त घाइते भए ।

पहिरोले पशुचौपाया, विद्युत, सडक, व्यक्तिगत घर, विद्यालय, स्वास्थ्य संस्था, पुल, बाटो खेतबारी बगाउँदा १ अर्बभन्दा बढीको सम्पत्ति क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिको आकलन छ । यद्यपि सबै स्थानीय तहबाट क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रजिअ चन्द्रप्रसाद गैरेले बताए । 'कालिकोटमा कोरोना महामारीभन्दा पहिरोको पीडा बढी छ । बरु कोरोनाबाट हालसम्म कसैले ज्यान गुमाउन परेको छैन,' प्रजिअ गैरेले बताए ।

कालिकोटमा यसपटक अनुमान नगरेको ठाउँमा पनि पहिरो गएको रेडक्रसका जिल्ला सभापति बलप्रसाद संज्यालले बताए । तिलागुफा, ताडी मान्म, पलाता, रास्कोट, सान्नीत्रिवेणी लगायत पहिरोको कम जोखिम भएका बस्तीमा पनि बढी क्षति भएको संज्यालले बताए ।

योजना बन्छन्, कार्यान्वयन हुँदैन

प्रत्येक वर्ष जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण हुँदै आए पनि कार्यान्वन नहुने समस्या रहेको पत्रकार भरतराज विष्टले बताए । योजनामा जिल्लामा पहिरो जाने ठाउँ र गर्नुपर्ने कामबारे उल्लेख भए पनि बजेट अभावमा कार्यान्वयन नहुने अवस्था रहेको उनले सुनाए । कालिकोट पहिरोको उच्च जोखिममा रहेको जिल्ला भए बस्ती स्थानान्त्रणमा सरकार चुकेको उनको भनाइ छ । जिल्लामा बन्ने योजना स्थानीय तहसम्म नपुगेरै अवधि सकिने गरेको छ ।

५१ गाउँबस्ती जोखिममा

कालिकोटको पहिरोले यहाँका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका ५ सयभन्दा बढी घर पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका हो । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।

रास्कोटका ११, सान्नीत्रिवेणीका ७, तिलागुफाका ७, खाडाचक्रका ७, शुभकालिकाका ४, महाबैका ५, पचालझरना र पलाताका ५ र ७ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । ती बस्तीका स्थानीयहरू साँझ पानी परेको बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जाने गर्छन् ।

वर्षामा पहिरोको जोखिम उच्च हुने कालिकोटमा यसअघि वर्षमा ८ देखि १० जनाले ज्यान गुमाउने तथ्यांक भए पनि यस वर्ष हालसम्मकै बढी क्षति भएको जिल्ला प्रशासनले जनाएको छ । पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिञ्चाइ कुलो, बाटोसहितको क्षति छ ।

यसवर्ष कालिकोटमा घर भत्किएकाले राहतका लागि रेडक्रसमा निवेदन दिनेको संख्या ६ हजार नाघेको सभापति बलप्रसाद संज्यालले बताए । पहिरोले घर, गोठ भत्कायो भनेर निवेदन दिने दिनहुँ आउने गरेको उनी बताउँछन् । तैपनि सबैलाई त्रिपाल दिन सकिने अवस्था नरहेको सभापति संज्यालले बताए ।

अझै पाएनन् पहिरो पीडितले राहात

कालिकोटको पहिरोमा ज्यान गुमाएका पीडित परिवारले अझै सरकारबाट पाउने नगद राहात रकम नपाएको गुनासो गरेका छन् । जिल्ला प्रशासनले स्थानीय तहबाट सिफारिससहित कागजात आएकालाई बैंकमार्फत् नगद राहात दिने जनाएको छ ।

पहिरोमा घर क्षति भएका केही परिवारलाई सरकारले हेलिकप्टरमार्फत पाल, खाद्यान्न लगायत सामग्री झारे पनि धेरैले पाएका छैनन् । अन्न, लत्ताकपडा र भाँडाकुँडा पहिरोले बगाएपछि पनि उनीहरूलाई सास्ती भएको तिलागुफा नागरिक समाजका अगुवा विक्रमबहादुर शाहीले बताए । यहाँका तिलागुफा, रास्कोट, खाडाचक्रलगायत केही स्थानीय तहले त्रिपाल र केही खाद्यान्न वितरण गरे पनि अपुग भएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×