कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर 

डीबी बुढा

जुम्ला — अविरल वर्षाका कारण सडक मार्गमा पहिरो र जहाजको अनियमितता भएपछि जुम्ला सदरमुकाम खलंगामै थन्किएका विद्यार्थी र बिरामी लिएर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । 

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार परीक्षामा सामेल हुनु पर्ने विद्यार्थी र टिकट पाए पनि जान नपाएका बिरामीलाई सेनाको हेलिकप्टरले लगेको हो । नन्दा बक्सगणका गणपति रविन थापाले परिक्षा छुट्न लागेका विद्यार्थी पठाएको बताए ।

गणपति थापाले भने,‘बाढी र पहिरोले सडक क्षतविक्षत छ । जहाजको नियमितता छैन । यो अवस्थामा कि परीक्षा छुटाउनु पर्ने कि त कुनै वैकल्पिक उपाय अपनाएर पठाउनु पर्ने अवस्था थियो । हेलिकप्टर लिएर गएपछि निकै ठूलो राहत मिलेको छ । ’

एक सातादेखि विद्यार्थीहरु विमानस्थलमा टिकटका लागि लाइनमा बसेका थिए । उनीहरुले सहजै रुपमा टिकट नपाउने भएपछि परीक्षामा सहभागी हुने वातावरण बनाइदिन स्थानीय प्रशासनसमक्ष माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जहाज ल्याउन अधिकतम पहल गर्दा पनि नआउने भएपछि सेनाको हेलिकप्टरमा विद्यार्थी र बिरामी पठाएको बताए । उनले भने,‘विद्यार्थीले परीक्षा दिन पाउने भए । बिरामीले उपचार गराउन पाउने भए यसैमा खुसी मिलेको छ । ’

सेनाको हेलिकप्टर जुम्लाको हिमा गाउँपालिकामा बाढीपहिरोले क्षति बेहोरेका नागरिकका लागि राहत सामग्री ल्याएर आएको थियो । गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग ठप्प छ । जहाज सबै पर्यटक बोक्न पूर्वतिर हिँडेकोले नियमित उडान हुन सकेको छैन । यदि उडान भइहालेको खण्डमा पनि पहुँचवालामात्रै उड्न पाउने भएकोले विद्यार्थीहरु र बिरामीलाई हेलिकप्टरमा पठाइएको हो ।

जहाजको उडान संख्या बढाउन सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरकारलाई आग्रह गरिएको भए पनि सुनुवाइ हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय जुम्लाले संकलन गरेको विवरण अनुसारका विद्यार्थी र बिरामी हेलिकप्टरबाट पठाइएको थियो ।


प्रकाशित : आश्विन २९, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?