कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाढीपहिरोमा परी कर्णालीमा ३५ जनाको मृत्यु, २० बेपत्ता

चाँदनी कठायत

वीरेन्द्रनगर — एक सातादेखि लगातार परेको वर्षापछि आएको बाढी तथा पहिरोमा परी कर्णालीमा ३५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाका कारण प्रदेशभर २० जना बेपत्ता भएका छन् । 

विपद्का कारण मृत्यु हुनेमा जुम्लाका मात्रै दश जना छन् । प्रहरीका अनुसार मुगुका आठ, कालिकोटका पाँच र हुम्लाका चार जना रहेका छन् । यस्तै, जाजरकोटका तीन जना, डोल्पा र सल्यानका दुई/दुई जना र दैलेखका एक जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वर्षात्‌का कारण आएको बाढीमा परी बेपत्ता हुनेहरूमा जुम्लामा एक जना प्रहरी जवानसहित १८ जना, दैलेख र जुम्लामा एक/एक जना रहेका छन् ।

निरन्तर परेको वर्षाका कारण कर्णालीमा ४ सय ८० घरमा क्षति पुगेका कारण विस्थापित भएका छन् । प्रहरीका अनुसार दुई हजार आठ सय ८९ परिवार विस्थापित भएका छन्, जसमध्ये सबैभन्दा बढी जुम्लामा एक हजार एक सय १३ परिवार विस्थापित भएको प्रहरीको भनाइ छ । मुगुमा ७ सय परिवार विस्थापित हुँदा दैलेखमा ५ सय ११ परिवार बाढी तथा पहिरोका कारण विस्थापित भएका छन् । प्रदेशभरका ६० घरमा पानी पसेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

कालिकोटमा ३ सय ४४, हुम्लामा १ सय ५५, सुर्खेतमा ४५, जाजरकोटमा दश र रुकुम पश्चिममा ११ परिवार विस्थापित भएका छन् ।

बाढी तथा पहिरोमा परी प्रदेशभर २३ जना घाइते भएको प्रहरीले जनाएको छ । वर्षाका कारण आएको पहिरोका कारण कर्णाली राजमार्ग तथा त्यसका सहायक मार्गहरू अवरुद्ध भएपछि आवतजावतमा कठिनाइ भएको छ ।

विपद्‌बाट प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्धार कार्यमा खटिएको छ । प्रदेश प्रहरीका अनुसार प्रदेशभर एक हजार ३१ प्रहरी परिचालन गरी उद्धारको कार्य भइरहेको छ ।

प्रदेशभर घर क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया सुरु भएको छ । घाइतेहरूको उद्धारका लागि निरन्तर हेलिकोप्टर परिचालन गरिएको छ । बुधबार बिहान ९ बजेसम्म प्रहरीले १२ जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत तथा शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि ल्याएको बताइएको छ ।

प्रकाशित : आश्विन २६, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?