कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

गिडीदहमा पहिलोपल्ट सरकारी टोली

डीबी बुढा

जुम्ला — तातोपानी–४ स्थित गिडीदहमा पहिलो पटक सरकारी टोली पुगेको छ । टोलीले गिडीदहको अध्ययन गर्दै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित गर्न गुरुयोजना बनाउन पहल गर्नेछ ।

गिडीदहमा पहिलोपल्ट सरकारी टोली

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं नेतृत्वमा ७५ सदस्यीय टोली एक साताअघि गिडीदह पुगेको हो । २०४९ सालमा पहिलो पटक हराएको घोडा खोज्दै पुगेका तातोपानी–४ का दुर्गाप्रसाद पाण्डेले गिडीदहको संरक्षण गर्न सके पालिकाको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताउँछन् ।

उनका अनुसार घोडा खोज्न जाँदा पाटनमा कुहिरो लागेको थियो । ‘निकै नीलो र गहिरो देखिने गिडीदहले सुरुमा मनमा त्रास पैदा भयो,’ उनले भने, ‘तर जति हेरे पनि आँखा थाकेनन् ।’ उनले गिडीदहको गहिराइ, चौडाइ र लम्बाई नापजाँचका लागि पहल गर्न आग्रह गरे ।

टोली दुई दिन लगाएर गिडीदह पुगेको थियो । पहिलो दिन हाँकुदेखि सुरु भएको यात्रा गिडीखोला, भाडु, रातामाटा हुँदै फल्चाउले पुगेर सकिएको गाउँपालिका चौलागाईंले बताए । उनका अनुसार भोलिपल्ट मौलाहाल्न, तामाचौर, ऐरीजाल, गैरीगुम हुँदै गिडीदह पुगिएको थियो । सरकारी भ्रमणले कर्णालीको महत्त्वपूर्ण पर्यटकीय स्थलमध्येको गिडीदहमा पूर्वाधार निर्माणको रूपरेखा तयार गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति तथा गुरुयोजना निर्माणमा सहयोग पुगेको उनले बताए ।

यसअघि भूगोलविद् स्वर्गीय हर्क गुरुङले २०३० सालतिर गिडीदहसम्म जाने प्रयास गरेका थिए । तर उनी बाक्लो हिमपातका कारण दहसम्म पुग्न नसेकेको स्थानीयको भनाइ छ । सबैको पहुँच नहुँदा अहिलेसम्म गिडीदहसम्म जाने बाटो नभएको पालिका अध्यक्ष चौलागार्इंले बताए । ‘घना जंगलको बीचमा रहेको दहले हामीलाई पनि मन्त्रमुग्ध बनायो,’ उनले भने, ‘दह र दहको वरिपरिको सुन्दरताले जोसुकैलाई पनि रोमाञ्चक बनाउँछ ।’ उनका अनुसार गिडीदहको दक्षिण पूर्वी क्षेत्रमा शंखदह, पालेदह र जोगिनी दहसमेत छन् ।

समुद्र सतहदेखि ३ हजार ४ सय ८२ मिटर उचाइमा रहेको दह घनाजंगलको बीचमा छ । गाउँपालिका अध्यक्ष चौलागाईंले फुलचाउले पाटनसम्म मोटरबाटो पुर्‍याउने र त्यहाँदेखि गिडीदहसम्म ट्रेकिङ रुट पुर्‍याएर ताललाई पर्यटकीय स्थल बनाउने योजना बनाइएको बताए ।’

गिडीदह हाम्रो अमूल्य सम्पत्ति हो । यसको प्रचारप्रसारका लागि हामीले सकेको लगानी गर्छौं, थप सहयोगका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गरिनेछ,’ उनले भने, ‘रारा आएका पर्यटकलाई पनि तालसम्म ल्याउने गरी गुरुयोजना निर्माण गरिनेछ ।’

प्रकाशित : आश्विन २६, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×