३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

खाद्यान्न उत्पादन घट्दै

डीबी बुढा

जुम्ला — तातोपानी गाउँपालिका–७ का ६४ वर्षीय अमरसिंह रावतलाई अहिले गहुँको भित्र्याउने चटारो छ । जुम्लामा असारमा बारीबाट काटेर ल्याएको गहुँ–जौं को बाला असोज–कात्तिकमा चुटेर दाना निकाल्ने चलन छ ।

खाद्यान्न उत्पादन घट्दै

‘बारीबाट असारमा काटेर ल्याउँछौं र ३/४ महिना कुन्यू लगाएर राख्छौं,’ उनले भने, ‘अहिले कुन्यूबाट गहुँ निकालेपछि १/२ दिन सुकाएर दाना निकालिरहेका छौं ।’ तर योपल्ट गहुँ–जौंको उत्पादन राम्रो नभएको उनले गुनासो गरे ।

उनका छिमेकी कर्णबहादुर रावत पनि वर्षैसाल उत्पादन घट्दै गएपछि चिन्तित छन् । ‘परिवारका पाँचै जना वर्षेभरि बारीको कुनै न कुनै काममा संलग्न भइरहेका छौं,’ उनले भने, ‘तर ५ वर्षअघिसम्म वर्षभरि खान पुग्थ्यो, अहिले ६ महिना पनि नपुग्ने भयो ।’ उनका अनुसार कुन्यूमा राखिएको गहुँको ठूलो मुठा चुट्दा पनि एक माना अन्न निस्कँदैन ।

तातोपानीका अधिकांश परिवारलाई आफ्नो उत्पादनले ६ महिना पनि खान पुग्दैन । आफ्नो उत्पादनले नपुगेपछि उनीहरू बाहिरको खाद्यान्न उपभोग गर्न बाध्य छन् । ‘जग्गा त्यही हो, हामीले अहिले झन् थप परिश्रम गरिरहेका छौं, बीउ पनि उन्नत जातको आएको छ,’ स्थानीय मानबहादुर रावतले भने, ‘खेतीपातीबाहेक अरु पेशा व्यवसाय नहुँदा ऋण लिएर बाहिरको खाद्यान्न खरिद गर्नुपरिरहेको छ ।’ उनका अनुसार तातोपानीमा चामल २५ केजीको प्रतिबोरा २ हजार २ सय रुपैयाँसम्म किनेर खानुपर्ने बाध्यता छ । उनको झन्डै ७ रोपनी जग्गाबाट वर्षमा ४ मुरीसम्म गहुँ उत्पादन हुन्छ ।

युवाहरू कृषि पेशामा नलाग्दा व्यावसायिक कृषि अँलाग्न नसकिएको उनले बताए । अहिले गाउँमा अन्न उत्पादन घट्दै गएपछि गाउँका अधिकांश युवाहरू भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘घरको अन्नले खान पुग्दैन, गाउँमा रोजगारी पाइँदैन,’ उनले भने, ‘त्यसैले परिवारको वर्षभरिको खर्चको जोहो गर्न पनि युवाजति बाहिर जानुपर्ने बाध्यता छ ।’ उत्पादनशील जनशक्ति बाहिर भएपछि किनुवा खाद्यान्नको विकल्पै नभएको उनले बताए ।

तातोपानी मात्र होइन, जुम्लाका सबैजसो स्थानीय तहका बासिन्दालाई बाहिरको खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । खलंगाकी लछ्या रावतले ६ महिना बाहिरको खाद्यान्नको भर पर्नुपरेको बताइन् । ‘आफैंले उत्पादन गरेको अन्नले ६ महिना पनि पुग्दैन,’ उनले भनिन्, ‘पहिले थोरै खेतीले धेरै उत्पादन दिन्थ्यो, अहिले धेरै खेती गरेजस्तो लागे पनि उत्पादन निकै कम हुन्छ ।’ उनको झन्डै ५ रोपनी जग्गामा गहुँ र मकै खेती हुने गरेको छ । वर्षमा उत्पादन हुने ३/५ मुरी गहुँ र मकैले खान नपुग्ने उनले बताइन् । उनको परिवारले वार्षिक झण्डै १ देखि २ लाखसम्मको बाहिरको खाद्यान्न किन्ने गरेको छ । उनले पछिल्लो समयमा खेतीतिर सबैको कम चासो गएकाले र खेतीयोग्य जमिनसमेत बाँझो हुने क्रम बढ्दै गएकाले अन्नमा परनिर्भर हुनुपरेको बताइन् । पढेलेखेको जनशक्तिले कृषिकर्म नअँगाल्दा सबै खेतबारी ज्येष्ठ नागरिकको भरमा रहेको उनको भनाइ छ ।

अहिले पशुपालनको चलन कम भएकाले पनि अन्न उत्पादन घट्दै गइएको पहिले सिंजाका साउन्ने रावतले बताए । उनका अनुसार पशुपालन घटेपछि मलको अभाव हुँदा पनि अन्न उत्पादन घटिरहेको हो । ‘पहिले एउटाको घरमा अन्नले नपुग्दा अर्को घरको उत्पादन बाँडेर खाइन्थ्यो, पर्याप्त भेडाबाख्रा र गाईभैंसी पाल्थ्यौं, न मलको अभाव थियो न त बालीमा रोगकिराकै प्रकोप,’ उनले भने, ‘२/३ दशकअघि खाद्यान्न उत्पादन प्रशस्त हुँदा भोकमरीको सम्भावना निकै कम हुन्थ्यो, तर अहिले किनुवा खाद्यान्न पनि नपाइँदा गाउँमा भोकमरी फैलिन्छ कि भन्ने लाग्छ ।’ बाहिरको खाद्यान्न आउन थालेपछि सिमी, आलुलगायत रैथाने तरकारी पनि लोप हुन थालेको उनको भनाइ छ । उनका अनुसार ०६३ सालमा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि स्थानीय किसान परनिर्भर बन्दै गएका छन् । जुम्लाको हरेक पालिकामा अहिले ग्रामीण बजार बनिरहेका छन् । ती बजारहरूमा बाह्य खाद्यान्नको पकड छ ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?