यातायातको कठिनाइले जिल्ला पुग्न सकेनन् कर्णालीका उम्मेदवार

राजबहादुर शाही

मुगु — भारी वर्षाका कारण कर्णालीमा यातायात सेवा अवरुद्ध हुँदा मनोनयन दर्ताका लागि उम्मेदवार जिल्ला पुग्न नसकेपछि नेपालगन्जमै अलपत्र परेका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोटमा सडकदेखि हवाई सेवा ठप्प हुँदा दलका उम्मेदवारलाई आ-आफ्नो जिल्लामा पुगेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन कठिन भएको हो । 

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आइतबार १० बजेदेखि उम्मेदवारी मनोनयनको समय निर्धारण गरिएको भए पनि यातायात सेवा अवरुद्ध हुँदा कर्णालीका उम्मेदवारहरू नेपालगञ्जमै मौसम सुध्रिने आशमा जहाजको प्रतीक्षा गरिरहेका छन् ।

‘कर्णालीमा सत्ता गठबन्धनदेखि प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरू मौसम हेर्दै जहाजको प्रतीक्षामा नेपालगन्ज राँझा एयरपोर्टमै छन्‚’ मुगु कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार ऐनबहादुर शाहीले भने‚ ‘यदि चार बजेसम्म पुग्न सकिएन भने वारेसनामामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुपर्ने अवस्था हुन सक्छ ।’

कर्णालीका जिल्लाबाट राजनीतिक दलमार्फत उम्मेदवारमा नाम सिफारिस भएका उम्मेदवारहरू टिकट लिन काठमाडौं गएका र टिकट पाएर फर्किने बेला वर्षाले सडकदेखि हवाई सेवा बन्द हुँदा जिल्लामा पुग्न सास्ती भएको छ ।

उम्मेदवार नपुग्दा कर्णालीका मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान देखिएका छन् । कर्मचारी तथा सुरक्षाकर्मी उम्मेदवारको प्रतीक्षा गर्दै बसिरहेका छन् ।

कर्णालीका हिमाली जिल्लाहरूमा यातायात सेवा अवरुद्ध भएको मध्यनजर गरी उम्मेदवारलाई सहज बनाउन काठमाडौं निर्वाचन कार्यालयबाट पनि उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था मिलाएको बुझिएको छ ।

चार दिनदेखिको भीषण वर्षाले कर्णालीमा यातायातदेखि सञ्चार सेवासमेत प्रभावित बनाएको छ ।

प्रकाशित : आश्विन २३, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?