दसैंको किनमेल गाउँमै

‘घरबाट चामल लिन सदरमुकाम जान ४ दिन हिँड्नुपर्थ्यो, अचेल सडकले घर नजिकै बजार आयो’
तुलाराम पाण्डे

कालीकोट — पलाता गाउँपालिका–९ थिर्पुका ६३ वर्षीय सज्जन कामी दसैंका लागि किनमेल गर्न सदरमुकाम मान्म जान छोडेको ५ वर्ष पुग्यो । गाउँमा सडक नपुग्दासम्म उनी सदरमुकाम आई खाद्य संस्थानमा घण्टौं लाइन लागेर दसैंका लागि चामल किनेर लैजान्थे ।

दसैंको किनमेल गाउँमै

अहिले कर्णाली करिडोर हुँदै घाटजिउलामा सुर्खेतबाट ट्रकले चामल ल्याउँछ । ४ छोरा, ३ छोरी र बूढाबूढी गरेर ९ जनाको परिवार पाल्न उनले लामो समय भारतमा ज्याला मजदुरी गरे भने युवा अवस्थामा बर्दियाको राजापुर, कैलालीको कटासे, चिसापानी, सुर्खेत र मान्मबाट पिठ्युँमा बोकेर दैनिक उपभोग्य सामग्री ल्याए ।

‘घरबाट चामल लिन सदरमुकाम मान्म जान पनि कम्तीमा चार दिन हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अचेल सडकले घर नजिकै बजार आयो, नुन–तेल र दाल–चामल गाउँकै पसलबाट किन्छौं ।’ उनका अनुसार मान्म गए पनि नेताको भनसुनमा प्रशासनले टाढाको मान्छे भनेर १५ केजी मात्र चामल दिने दिन्थ्यो ।

नरहरिनाथ–५ रुप्साकी ४२ वर्षीया संगीता सहकारी डोकोमा ५ धार्नी (२५ माना) घिउ र २ पाथी सिमी बोकेर सोमबार स्थानीय डाडामाडु बजार पुगिन् । घिउ प्रतिमाना २ सय रुपैयाँ र सिमी प्रतिकेजी १ सय ८० मा बिक्री गरिन् ।

त्यो पैसाले दसैंका लागि २५ किलो चामल, २ किलो चिनी, ५ किलो नुन, बालबालिकाका लागि केही लत्ताकपडा र एक पेटी साबुन किनिन् । ‘केही रैगो (खरिद गर्न छुट्यो) भन्या भोलिउडा (फेरि) आउला,’ उनले स्थानीय लवजमा भनिन्, ‘ आज्बेली (आजभोलि) त घरैथी (घर नजिकै) हाट (बजार) छ, मैथ हड्नु पड्डैन (धेरै हिड्नु पर्दैन) ।’

नुन, तेललगायत दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरिद गर्न सुर्खेत, कैलाली चिसापानी पुगेको सुनाउने बोगटीले सडकसँगै बजार पनि सर्दै आएर अहिले गाउँसम्म पुगेको बताइन् । तिलागुफा–१ नाग्मकी जयकन्या उपाध्यायको बजार पनि घर नजिकै छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्ममा दसैंको किनमेल गर्नेहरू बढेपछि अहिले बजार नै गुल्जार छ । तिलागुफा नगरपालिकाको प्रमुख बजार भएकाले पनि स्थानीयले घरमा उत्पादन गरेका स्याउ, सिमी, ओखर बेच्ने र तलबाट ल्याइएको खाद्यान्न तथा अन्य उपभोग्य वस्तु खरिद गर्छन् ।

सडकले दैनिकी सहज भएको उपाध्यायले बताइन् । ‘पहिलेका दुःख त भनिसाध्यै छैन,’ उनले भनिन्, ‘गाउँका आफन्तसँग बाटोमा खाने सामल (चामल र पिठो) बोकेर ओडारमा बास बस्दै चिसापानी पुगेर फर्किन १५/२० दिन लाग्थ्यो, उहिलेका मान्ठ (मानिस) दुःखारी भए पनि अहिले सुख गाउँमै आएको छ ।’

सडक पहुँच विस्तारसँगै महिनौ भारी बोकेर हाट बजार गर्नुपर्ने दूरदराजका बासिन्दाको गाउँमै बजार भएपछि दैनिकी फेरिएको छ । गाउँमा अहिले आर्थिक कारोबार पनि बढेको छ ।

दैलेखको टुनीबगर, कालीकोटको जीते हुँदै एक वर्षदेखि नरहरिनाथ–३ डाडामाडुमा होलसेल पसल सञ्चालन गर्दै आएका उमेश जनरल स्टोर्सका सञ्चालक रतनबहादुर सहकारीले गाउँमै दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्छन् । उनले स्थानीयले उत्पादन गरेको कृषि उपज बजार पठाउने र बजारका दैनिक उपभोग्य सामान दाल, चामल, नुन, तेल, चिनी, मैदा, साबुन, पेय पदार्थ, लत्ताकपडालगायत सामान पसलबाट बेचिरहेका छन् ।

कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघिसम्म कालीकोटको कर्णाली भेग ) रास्कोट, सान्नीत्रिवेणी, नरहरिनाथ, पचालझरना र पलाताका बासिन्दा एक दशकअघिसम्म दसैं मनाउने सामानको जोहो गर्न सुर्खेत झर्थे । गाउँमा सडकसँगै रोजगारी पनि पाइन थालेपछि मजदुरीका लागि भारत जाने चलनमा कमी आएको लुयाटाका विशाखर देवकोटाले बताए ।

संघीयताअघिसम्म कालीकोटको सदरमुकाम मान्म मात्र बजार केन्द्र रहेकोमा हाल स्थानीय तह बनेसँगै गाउँगाउँमा बजार केन्द्र स्थापना भएका छन् । साविकका ५ वटा गाविस मिलेर बनेको नरहरिनाथको केन्द्र कुमालगाउँमा अहिले झन्डै १ सय पसल र होटेल सञ्चालनमा छन् । स्थानीय सहकारीका अध्यक्ष हिरामणि उपाध्यायले आर्थिक कारोबार बढेपछि कुमालगाउँमा एउटा बैंक र ५ वटा सहकारी संस्था खुलेको बताए ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?